टिप्पणीआइतबार, ५ आश्विन , २०७६

बुद्धलाई दार्शनिक मान्ने अल्पज्ञान

वसन्त महर्जन

बुद्धलाई शब्द–शृङ्गार गरेर विशिष्ट रूपमा चिनाउने र निश्चित भूखण्डमा जन्मिएको भनेर प्रचार गर्ने सबैले बुद्धको अर्थ बुझ्नु आवश्यक छ । बुद्ध व्यक्तिवाचक नाम नभएर बुद्धत्व प्राप्त गर्ने व्यक्तिलाई सम्बोधन गर्ने एउटा विशिष्ट शब्द हो ।

वसन्त महर्जन

विभिन्न क्षेत्रका सार्वजनिक व्यक्तिहरू आफ्नो साख जोगाइराख्न कुनै अभियानमा लाग्ने वा अभिव्यक्ति दिएर चर्चामा आउने तरिका नौलो होइन । बुद्ध र नेपालको साइनो पुष्टि गर्न नेपाली नोट र पासपोर्टमा बुद्धको तस्वीर अङ्कित गर्नुपर्ने अभियानमा गायक धीरज राई पछिल्लो समय लागिपरेका छन् ।

गायक धीरजले आफ्ना अभियान सफल पार्न विभिन्न चर्चित व्यक्तिसँग भेट्ने क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटेछन् ।

पूर्वप्रम भट्टराईले यो भेटघाटको तस्वीर ट्वीट् गर्दै बुद्धलाई धार्मिक नभई दार्शनिक चिन्तकको रूपमा स्थापित गर्ने कुरा विचारणीय लागेको लेखे । भट्टराईको एउटै ट्वीट्ले बुद्ध र बौद्ध धर्मका सम्बन्धमा उनीसँग सामान्य ज्ञानकै अभाव रहेको देखायो ।

बुद्ध महान् दार्शनिक भए पनि अनुयायीले उपल्लो दर्जा दिंदै देवता मानेको भनेर टिप्पणी गरिएको पाइन्छ । झट्ट हेर्दा यो व्याख्या आकर्षक लाग्छ । तर बुद्ध र बौद्ध धर्मदर्शनमा गहिरिनेका लागि यो बुझाइ निरर्थक मात्र होइन, हास्यास्पद छ ।

किनकि, बौद्ध जगतका लागि देवता भनेको बुद्धभन्दा उपल्लो स्थान होइन । बौद्धहरू थोरै राम्रो गरेर कमाइने पुण्यबाट पनि देवता बन्न सकिने र पुण्य क्षय भएपछि देवलोकबाट च्युत भएर अधम लोकमा पुग्ने मान्यता राख्छन् । राम्रो काम गर्ने र पुण्य कमाउने अवसरका रूपमा बौद्धहरू मनुष्य योनिलाई मान्छन् ।

बुद्धलाई शब्द–शृङ्गार गरेर विशिष्ट रूपमा चिनाउने र निश्चित भूखण्डमा जन्मिएको भनेर प्रचार गर्ने सबैले बुद्धको अर्थ बुझ्नु आवश्यक छ । बुद्ध व्यक्तिवाचक नाम नभएर बुद्धत्व प्राप्त गर्ने व्यक्तिलाई सम्बोधन गर्ने एउटा विशिष्ट शब्द हो ।

हालसम्म २८ जनाले बुद्धत्व प्राप्त गरेर बुद्ध बनिसकेका कारण ‘बुद्ध नेपालमा जन्मेको’ मात्र भनेर पुग्दैन, कुन बुद्ध भन्ने प्रश्न स्वतः उठ्छ । किनकि, आजको नेपाली सरहदभित्र जन्मेकामध्ये तीन जना बुद्ध बनिसकेका छन् । यसै कारण ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दा बौद्धहरू अलमलिन्छन् ।

इसापूर्व ५६३ को वैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्मेका गौतम बुद्ध र अन्य बुद्धहरूलाई समान रूपमा श्रद्धा गरिन्छ । बौद्ध जगतमा बुद्धशासन भन्ने शब्दावली पनि पाइन्छ, जस अनुसार अहिले गौतम बुद्धको शासन चलिरहेको छ ।

अहिले शासन चलिरहेको गौतम बुद्धलाई नै नेपालमा जन्मिएको भन्दै दार्शनिकका रूपमा चिनाउन खोजिएको हो भने पनि यो जुन रहर छ, अल्पज्ञान मात्र हो ।

बुद्ध र दार्शनिक पर्यायवाची शब्द होइनन् । बुद्धलाई दार्शनिकको दर्जा दिनु भनेको सम्मान नभई अपमान गर्नु हो । जीवन दर्शन सम्बन्धी ज्ञान भएका वा मौलिक विचार दिनसक्ने जोकोही व्यक्तिलाई दार्शनिक भन्न सकिन्छ ।

अभियान अन्तर्गत नेपाली नोट र पासपोर्टमा बुद्धको तस्वीर अङ्कित गर्ने सोच पनि उत्तिकै आपत्तिजनक छ । किनकि, मौद्रिक मूल्य भएका सामग्रीमा बुद्धको आकृति अङ्कित हुनु बौद्ध जगतका लागि पाच्य विषय होइन ।

तर बुद्ध शब्दले जन्मौं जन्मान्तरमा अनेकौं पारमी पूरा गरी, क्लेशावरण र ज्ञेयावरण (ज्ञान आवरण) हटाई जागृत भएका र पुनः जन्म लिनु नपर्ने गरी निर्वाण भइसकेको अर्थ दिन्छ ।

अभियान अन्तर्गत नेपाली नोट र पासपोर्टमा बुद्धको तस्वीर अङ्कित गर्ने सोच पनि उत्तिकै आपत्तिजनक छ । किनकि, मौद्रिक मूल्य भएका सामग्रीमा बुद्धको आकृति अङ्कित हुनु बौद्ध जगतका लागि पाच्य विषय होइन ।

बौद्धहरू बुद्धका हरेक कुरामा अत्यन्तै श्रद्धा गर्छन्, तर नोट\सिक्का जस्तो मौद्रिक मूल्यको वस्तुमा बुद्धको आकृति राख्दा उचित आदरभाव व्यक्त गर्न नसकिएला भन्ने भावनाले त्यस्तो गर्न नहुने मनसाय राख्छन् ।

गौतम बुद्धलाई विश्वमा व्यापक बनाउने र नेपालसँगको साइनो देखाउने सोच आफ्नो ठाउँमा छ, तर यथार्थ के हो भने बुद्धलाई विश्वले चिनिरहँदा पनि नेपालले चिन्नै सकेको छैन ।

सर्वसाधारणदेखि विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूले समेत बुद्ध र बौद्ध धर्मदर्शनबारे वेलावेला व्यक्त गर्ने अनर्गल मन्तव्य यो कुराको दृष्टान्त हो । जीवनदर्शन सम्बन्धी अध्ययन र बहस अँध्यारोमा ढुङ्गा हान्ने कुरा नभई गहिराइमा पुगेर खनीखोस्री गर्नुपर्ने विषय हो । चर्चामा आउने कसैको रहरका लागि बुद्धको नाम प्रयोग हुनु र अपव्याख्या गरिनु दुःखद कुरा हो ।

प्रतिकृया दिनुहोस