टिप्पणी शनिबार, असोज ४, २०७६

दशैंमा बालबालिकालाई डाडु–पन्युँ चिनाऔं

केदार शर्मा

अर्ति–उपदेश नदिई सन्तानलाई मूल्यमान्यता सिकाउने सबभन्दा सजिलो र राम्रो ठाउँ भान्सा नै हो । त्यहाँ उनीहरूलाई आफ्नो आर्थिक अवस्था, बजार, अर्थतन्त्र, पारिवारिक, कृषि, वातावरण, परम्परा, समाज र संस्कारका आधारभूत पाठ थाहै नपाई सिकाउन सकिन्छ ।

केदार शर्मा

पाठकसित एउटा प्रस्तावः घरमा पाँच वर्ष माथिका बालबालिका छन् भने यस पटक दशैंमा उनीहरूलाई पकाउन\बनाउन पनि सामेल गराऔं । वसन्तपञ्चमीमा अक्षर चिनाए जस्तो दशैंमा हातहतियार, भाँडाकुँडा र डाडु–पन्युँ चिनाए हुन्छ ।

५–६ वर्षकी छँदा एक दिन भान्सामा राखेको कुखुराको फुल देखाएर हाम्री छोरीले सोधी, “यसलाई ‘ह्याच’ गर्‍यो भने चल्ला निस्किन्छ ?”

“निस्किँदैन छोरी !”

“किन ?”

उसकी आमा र मैले मुखामुख गर्‍यौं । जवाफ दिनै थियो, “यो फुल पार्दा पोथीले भालेसित सल्लाह गरेको छैन, त्यसैले !”

“ए, हजुरहरूले सल्लाह गरेर हामीलाई पाएको हगि ?”

“हो नि त ! आमाले आफूखुशी पाएको भए म कसरी बाबा हुन्थें र ?”

उसको प्रजनन् शिक्षाको पहिलो पाठ भान्साबाटै शुरू भएको थियो ।

करीब सात वर्षको हुँदा एक दिन छोराले सोध्यो, “चाउचाउ केबाट बन्छ ?”

“मैदाबाट ।”

“अनि सिन्के नूडल्स नि ?”

“त्यो पनि मैदाबाटै बन्छ ।”

“त्यसो भए किन नूडल्स खानुहुन्छ, चाउचाउ खानुहुन्न त ?”

जवाफ थियो, तर उपयुक्त खोज्न एकैछिन लाग्यो । सल्लाह गरेर जवाफ दियौं, “चाउचाउ कहिलेकाहीं फुकै र कहिले उसिनेर मात्र पनि खाइन्छ, हो?”

“हो ।”

“नूडल्स कहिल्यै त्यसरी खाइन्छ ?”

“खाइँदैन ।”

“मैदा त एउटै हो । तर नूडल्स खाँदा तरकारी, अण्डा, मासु आदि पनि खाइन्छ । तिनमा शरीरलाई चाहिने धेरै कुरा पाइन्छन् । त्यसैले चाउमिन, थुक्पा, स्पागेट्टी आदि चाउचाउभन्दा अलि राम्रा खानेकुरा हुन् ।”

मैले उसलाई मोनो सोडियम ग्लुटामेट (एमएसजी वा अजिनोमोटो) को कुरा भनिनँ । किनभने त्यसबेलासम्म एमएसजीको राजनीति केही हदसम्म मैले बुझिसकेको थिएँ ।

हामीले घरमा निकै कम मात्र चाउचाउ पकायौं । जंकफूड (त्यसबेलासम्म डा.अरुणा उप्रेतीले ‘पत्रु खाना’ शब्द चलाइसक्नुभएको थिएन) शब्द र अवधारणा हाम्रा छोराछोरीले भान्साबाटै सिकेका हुन् ।

हामीले छोराछोरीलाई पकाउन\बनाउन त खासै सिकाएनौं, तर खानेकुरालाई यथोचित प्रेम र सम्मान गर्न भने सानैदेखि सिकायौं । उनीहरूकी आमाका शब्दमा, “मुखमा स्वाद बसाइदियो भने पकाउन आफैं सिक्छन् ।” उनीहरूले सिके पनि !

टेलिभिजनबाट अनेकथरी खानेकुराको विज्ञापन आउँदा हामीले विज्ञापन किन बनाइन्छन् र बजारले हाम्रो छनोटको स्वतन्त्रतालाई कसरी कब्जा गर्छ भन्ने कुरा समेत उपयुक्त तरिकाले, उपयुक्त भाषामा सजिलै बुझाउन सक्यौं ।

पछि उनीहरूले खानेकुराको विश्वव्यापी अर्थशास्त्र, राजनीति र बजारनीति पनि बुझ्दै गए । हामीलाई लाग्छ, उनीहरू संसारको जुन कुनामा पुगे पनि उब्जाउने र पकाउने मान्छेलाई विशेष सम्मान गर्ने भएका छन् । जहाँको खानेकुरा पनि स्वाद मानेर खाने भएका छन् ।

केही खास खानेकुरा मीठो नलाग्नेको सूचीमा पर्नु अस्वाभाविक होइन, तर उनीहरूलाई हामीले खाने सबै लोकपरिकारका बारे जानकारी छ ।

भान्सामा सघाउने ‘अवसर पाएका’ बालबालिकाले आमालाई अझ बढी चिन्छन् । आमाबाटै अन्न चिन्छन्, आँटा र मैदाको फरक चिन्छन्, मकैको पीठो र बेसन हेरेरै चिन्ने हुन्छन्, मरमसला चिन्छन्, बजार चिन्छन्, सस्तो महँगो चिन्छन् । भान्सामा काम गर्ने बालबालिकाले रोटी बेल्न सिक्छन् र अलि ठूला भएपछि त मसला पिस्न पनि सिक्छन् । र, कदाचित बाबु पनि यस्ता कुरामा सहभागी भए भने उनीहरूले बाबुलाई समेत फरक किसिमले चिन्छन्, फरक किसिमले मान र माया गर्छन् ।

आमाको मान
अपवादलाई छाडेर बालबालिकाका लागि भान्सा आमाको ‘अधिकार क्षेत्र’ हो । यो जस्तै आमाहरूको शैक्षिक योग्यता वा पेशागत विशिष्टताले फेर्न नसकेको अर्को कुरा हो, परिवारका सबभन्दा जान्ने मान्छे भनेका बाबु–हजुरबाबु वा अरू पुरुषहरू हुन् । यी दुवै कुरा सत्य होइनन् तर ‘यी कुरा सत्य होइनन्’ भनेर मात्र पुग्दैन ।

ती कुरालाई फरक कोणबाट हेरेर र देखाएर उनीहरूका मनमा पसेका रुढिवादी धारणा फेर्न र पस्नै नदिन विचारसित सचेततापूर्वक भिड्ने मैदान पनि भान्सा हो ।

भान्सा यस्तो ठाउँ हो, जहाँ बालबालिका आमासित बस्न पाउँछन् । उनीहरूले आमाको काम, व्यस्तता, दुःख, सीप, व्यवस्थापन क्षमता, व्यवहार कुशलता सबै कुरा देख्न पाउने ठाउँ त्यहीं हो ।

भान्सामा सघाउने ‘अवसर पाएका’ बालबालिकाले आमालाई अझ बढी चिन्छन् । आमाबाटै अन्न चिन्छन्, आँटा र मैदाको फरक चिन्छन्, मकैको पीठो र बेसन हेरेरै चिन्ने हुन्छन्, मरमसला चिन्छन्, बजार चिन्छन्, सस्तो महँगो चिन्छन् । भान्सामा काम गर्ने बालबालिकाले रोटी बेल्न सिक्छन् र अलि ठूला भएपछि त मसला पिस्न पनि सिक्छन् । र, कदाचित बाबु पनि यस्ता कुरामा सहभागी भए भने उनीहरूले बाबुलाई समेत फरक किसिमले चिन्छन्, फरक किसिमले मान र माया गर्छन् ।

प्रश्नहरू
भान्सामा बस्ने मौका पाएका बालबालिकाले बिस्तारै बुझ्छन्, बाबुहरू किन मासु पकाउन पारङ्गत हुन्छन् र कुराउनी घोट्न अघि सर्छन् । ‘म असाध्य स्वादिलो मासु पकाउँछु’ भन्ने पुरुषहरू किन छ्याप्छ्याप्ती भेटिन्छन् तर ‘म गहतको दाल वा सुक्खा रोटी वा घिरौंलाको तरकारी वा रायोको साग मीठो पकाउँछु’ भन्ने किन भेटिंदैनन् ?

मेरै कुरा गरौं, मलाई धेरै प्रश्न गर्न भान्साले सिकाएको हो । म सानो छँदा आमा पर सरेका बेला अहिलेभन्दा धेरै छुइन्थ्यो । म सोधिरहन्थें, गुन्द्रीले किन छुइन्छ र भुइँ किन छुइँदैन ? हजुरबा–बाहरूले अप्सानी (औसानी) हालेर भात खाँदा म सोध्थें, “किन ठूलाले मात्र चढाएको ? मैले पनि त्यसरी नै भातका सिता चढाउँदा के हुन्छ ? बर्तमन (व्रतबन्ध) गरेकाले बासीभात किन खानुहुँदैन ?” प्रश्नहरू पक्कै फेरिएका छन्, तर अहिले पनि सकिएका छैनन् ।

प्रश्न गर्न सिकाएका बालबालिकाले प्रश्न गर्छन् पनि । खाइसकेर टेबलबाट उठ्दा आआफ्ना थाल माझ्ने ठाउँसम्म पुर्‍याउने चलन भए पनि मैले केही पटक त्यसो गरिंनछु । एकदिन छोराले अलि ठूलै स्वरमा सोध्यो, “बाबा, हजुरले चाहिं थाल पर पुर्‍याउनु पर्दैन ?”

र मोबाइल
कुराको बिट अहिलेको जल्दोबल्दो समस्या उठाएर मारौं । केटाकेटीको मोबाइल–व्यसन धेरैका लागि समस्या भएको छ । भान्साको रमाइलो सहभागिताले बालबालिकालाई मोबाइल–व्यसनबाटै मुक्त गर्छ त नभनौं, तर मोबाइल–व्यस्तता भने घटाइदिन्छ । प्रशंसा सहितको भान्साको सहभागिताले उनीहरूलाई तत्कालै परिणाम आउने काम गर्ने मौका दिन्छ र आफूलाई पनि निकै मद्दत हुन्छ ।

 

प्रतिकृया दिनुहोस