अन्तर्वार्ता/विचारशनिबार, ४ आश्विन , २०७६

‘हाम्रो अनुहार आयो, कथा आएन’

हिमालखबर

दर्शक, समीक्षकको अपेक्षा थियो– मूलधारको चलचित्रमा दयाहाङ राई (३९) को सफलताले ‘आम अनुहार’ मात्र होइन ‘आम चरित्र’ पनि पाउनेछ, दयाहाङहरूले नै यसको नेतृत्व गर्नेछन् । तर, आठ वर्षयता झण्डै ४० चलचित्रमा काम गरिसकेका अहिलेका व्यस्त अभिनेतामध्येका एक दयाहाङले इमानदार अभिनेताको छाप कायम राखे पनि आम अपेक्षा भने पूरा गर्न सकेनन् । के परिवर्तनको कुरा गर्ने दयाहाङ आफैं परिवर्तन भए ? उनीसँग नुनुता राईले गरेको वार्ताको सारः

 

तस्वीरहरूः मोनिका देउपाला

मल्टिप्लेक्समा कबड्डी, कबड्डी कबड्डी, थिएटरमा महाभोज; दुवैमा तपाईं । यो संयोग हो या योजनाबद्ध ? 
यसलाई आधाआधा मान्नुपर्ला । अरु बेला म सिनेमा खेल्दै गर्दा मैले नै निर्देशन गरेको नाटक मञ्चन भइरहेको हुन्थ्यो । यसपटक सिनेमा खेल्दाखेल्दै नाटकको रिहर्सल गर्नुपर्‍यो । प्रदर्शन पनि एकसाथ भयो ।

खासमा एक वर्ष अघिदेखि नै यो नाटक बनाउने, खेल्ने योजना थियो । अनुप (बराल) सरको निर्देशन मार्फत पछिल्लो पुस्ताले पनि नाटक निर्माणको ‘प्रोसेस’ बुझ्ने, सिक्ने अवसरका रुपमा हामीले यो नाटकलाई लिएका छौं ।

आठ वर्षअघि लुट को व्यावसायिक सफलतापछि अहिलेसम्म करीब ४० हाराहारीमा फिल्म खेलिसक्नुभयो । मुख्य क्षेत्र रङ्गमञ्चलाई चाहिं उपेक्षा गर्नुभएको हो ?
पहिले मेरो दिमागमा नाटक नै खेल्छु, निर्देशन गर्छु, लेख्छु भन्ने थियो । सिनेमा चाहिं हदै भए निर्देशनसम्म गर्छु कि भन्ने लाग्थ्यो । नाटक गर्दागर्दै सिनेमाका साथीहरूको पनि ‘सर्कल’ बन्यो । कुरा गर्दागर्दै काम पनि शुरु भयो । अहिले त मलाई एउटा दिन र अर्को रात जस्तो लाग्छ ।

दिन रङ्गमञ्च अनि रात चाहिं फिल्म ?
शायद हो कि ! अँध्यारोमा सपना देखिन्छ (लामो हाँसो), उज्यालोमा बाटो ।

तपाईंलाई विश्वास चाहिं फिल्म या नाटक केमा छ ?
जीवनमा दिन र रात दुवै आवश्यक हुन्छ । तर, यसको जवाफ यति मात्र दिएर पुग्छ जस्तो मलाई लाग्दैन । 

फर्केर हेर्दा हामी समवयीहरू जे, जत्रो सोच बोकेर रङ्गमञ्च क्षेत्रमा पसेका थियौं, त्यो प्राप्त गर्‍यौं । शुरुआतमा आफू नाटक खेल्ने, खेलाउनेमै सीमित थियौं । त्यसपछि मञ्चन गर्ने थलो र यसको निरन्तरता, युवा रङ्गकर्मीको उपस्थिति र हदै सोचे दर्शकमा ध्यान दियौं । तर, कस्तो प्रकारको नाटक गर्ने सोचेकै थिएनौं । 

सिनेमा शुरु गर्दा पनि अब म जस्तो मान्छेको कथा पनि आउने भयो भनेर मक्ख परेको थिएँ । तर त्यस्तो हुन सकेन । पाँच/सात वर्षअघि लुट, कबड्डी कै शैलीमा सिनेमाहरू बने । विश्वबजारमा देखाउन लायक हाइवे, सेतो सूर्य, कालो पोथी, तान्द्रो, बुलबुल जस्ता केही सिनेमा मात्रै बने । त्यस्ता सिनेमा कम्तीमा पनि वर्षको दुई वटा आउनुपथ्र्यो कि !

किन त्यसो हुन सकेन त ? 
बजारका कारण । अहिले सिनेमा र नाटक दुवै बजारमुखी भएका छन् ।

तर, समयसँगै तपाईं स्वयं परिवर्तन भएर बजारको पछि लाग्नुभयो नि होइन ?
हो, यसलाई म अस्वीकार गर्दिनँ । आफ्नो मनको आवाज सुनेर इच्छाएको काम मात्रै गर्छु भन्ने अवस्था छैन । मैले स्थानीय बजारदेखि विश्वबजारसम्मको फराकिलो क्षेत्रमा काम गरेको छु । आफैंलाई गर्व गर्नलायक केही राम्रा सिनेमामा पनि काम गरेको छु । बजारमै भुलिन्छु कि भन्ने डर चाहिं छ, तर ग्लानि छैन ।

कतिपयले रङ्गमञ्च पृष्ठभूमिका तपाईं, सौगात मल्ल, खगेन्द्र लामिछाने जस्ता अभिनेताबाटै अबको नेपाली फिल्मको सही दिशानिर्देश हुने अपेक्षा गरेका थिए । त्यो गलत थियो ? 
खासगरी सिनेमामा हाम्रो उपस्थिति दुई किसिमबाट भयो । पहिलो, दर्शकले हाम्रो अनुहारमा आम अर्थात् आफ्नो अनुहार देखे, कतै कतै चरित्र, कथा पनि आफू नजिकको लाग्यो होला । 

दोस्रो, हामी अभिनय सिकेर आयौं । नाटक पढेर आउनुभएका गुरुहरू सुनिल पोखरेल र अनुप बरालले सिकाउनुभयो । त्यो स्कूलिङले बजारमा एक किसिमको तरङ्ग ल्यायो । तर मार चाहिं हामीमाथि नै पर्‍यो । किनभने, सिनेमाका अधिकांश निर्देशकमा पढ्नुपर्छ, सिक्नुपर्छ भन्ने भावना भएन । अहिले भइरहेको त्यही हो । पहिले जस्तै फेरि निर्देशकहरू ‘कन्टेन्ट’ भन्दा पनि बिकाउ अनुहारमै भर पर्न थाले ।

राम्रो चलचित्र कसरी बन्छ भन्ने समझ भएका तपाईंहरूले पनि त निर्देशक, निर्मातालाई सुझाव दिन सक्नुहुन्थ्यो होला नि ? 
फिल्म केही कलाकारले मात्रै धान्न सक्ने क्षेत्र होइन । फिल्म राम्रो हुन कथा राम्रो हुनुपर्छ । पात्रलाई न्याय गर्न राम्रो कलाकार चाहिन्छ । हामीकहाँ यो कलाकारबाट यसरी कथा भन्न लगाउँछु भन्ने निर्देशक एकदम थोरै छन् । 

अर्को समस्या चाहिं हाम्रो हतारोपन हो । रातारात स्टार हुनु छ, धैर्य छैन । कोही निर्देशक राम्रो चिज लिएर आउनुहुन्छ, त्यसबाट अझै राम्रो चिज निकाल्न सकिन्छ भनेर थाहा हुन्छ । तर, त्यसका लागि हामीसँग समय नै हुन्न । 

कतिपय फिल्ममेकर पटकथा लिएर आउनुहुन्छ, दुई महीनापछि सूटिङ छ भन्नुहुन्छ । म यसो गरौं, यसरी तयारी गरौं भन्छु । उहाँ पूरै तयारी सकिए जसरी मलाई विश्वस्त पारेर जानुुहुन्छ । तर, सूटिङ स्थलमा पुगेपछि भने उहाँको कुरा त मलाई मनाउने औजार मात्र रहेछ भन्ने थाहा हुन्छ ।

रङ्गमञ्चका कलाकारहरू चलचित्रमा आउँदा भूमिका छनोटमा कमजोरी देखिन्छ । अधिकांशमा उस्तै चरित्र (टाइपकास्ट) को समस्या पनि छ । यस्तो किन भइरहेको छ ?
चलचित्र र नाटकको अभिनय फरक–फरक हुन्छ । नाटकमा अभिनय गर्दा मञ्चको एक ठाउँमा बसेर पछाडिसम्मका दर्शकलाई सुनाउनुपर्ने हुँदा हामी ‘लाउड’ हुन्छौं ।

नाटकबाट फिल्ममा आएका हामी कतिपयमा पात्रको विकास आफैं गर्ने, पात्र र निर्देशकको मनोविज्ञान समात्ने शैली छ । यसबाट निर्देशक नै अलमलिने, पटकथाबाट पात्र अन्तै बहकिने र अभिनय भद्दा देखिने डर हुन्छ । म चाहिं कथा वा चरित्रको पृष्ठभूमि समात्छु र निर्देशकले भने अनुसार गर्छु । तर, समस्या निर्देशकमै छ । जोकोही कलाकारलाई आफ्नो उपस्थिति बलियो होस् भन्ने लोभ हुन्छ । नियन्त्रण गर्ने क्षमता राख्नुपर्ने त निर्देशकले नै हो ।

समस्या निर्देशक र कलाकारमै रहेछ । तर वेलावेला निर्देशकहरूले दर्शकको चलचित्र चेतनामा प्रश्न गरेको पाइनु कत्तिको उचित हो ?
सिनेमाको स्वादको हिसाबले हामीभन्दा दर्शक निकै ‘स्मार्ट’ छन् । किनकि, उनीहरू संसारभरका सिनेमा हेर्छन् । दर्शकलाई ‘नेपालको यो फिल्ममेकरले यतिसम्म बनाउन सक्छ’ भनेर राम्रोसँग थाहा छ । त्यसो नहुँदो हो त ‘हामीले हिट सिनेमा बनाएका छौं हेर्न जानुहोस्‘ भन्दैमा दर्शकले किन पत्याउँदैनन् !

अब थोरै अनुहारकै कुरा गरौं । मूलधारको चलचित्रका नायककै रुपमा तपाईंलाई स्वीकार गरिए पनि तपाईं जस्तै समुदाय, जाति, वर्ग र पहिचानका अन्य मुद्दाका कथामा चलचित्र नबन्नुमा समस्या कहाँनेर छ ? 
एउटा दयाहाङ राईको अनुहार देखाएर समग्र जनजातिको प्रतिनिधित्व हुँदैन । म अभिनेता हुनु भनेको रामवरण यादव राष्ट्रपति भएर समग्र मधेशी जातिको स्थिति उकासियो वा विद्यादेवी भण्डारी राष्ट्रपति र सुशीला कार्की प्रधानन्यायाधीश भएर महिला वर्ग सम्मानित भए भन्नु जस्तै हो । 

अब रह्यो कथाको कुरा । समस्या नै त्यहीं छ । हामीले कथासम्म पुग्ने आँट नै गर्न सकिरहेका छैनौं । त्यसका लागि पर्याप्त ज्ञान पनि छैन । जस्तो– म राई, मेरो जीवनदर्शन अर्को राईसँग नमिल्न सक्छ । त्यति मात्र होइन, म वान्तवाभाषी, अर्को वान्तवाभाषीसँगै संस्कार बेग्लै हुन सक्छ । यसका लागि त गहिरो अध्ययन गर्नुपर्छ, जसका लागि फिल्मकर्मीमा धैर्य छैन ।

आफ्नो कथा भन्ने दायित्व त तपाईंको पनि होइन र ?
म लगायत हामी केही साथी हाम्रै कथाहरू भन्न रङ्गमञ्च र चलचित्रमा आएका हौं । तर, बाटो बनाउँदै जाँदा लोकप्रिय भइयो, अब यही लोकप्रियतामा भुलिएला कि भन्ने डर छ ।

बजारबाट जोखिमको अनुभूति भएको छ ?
पटक्कै छैन । चुनौती भने शुरु भएको छ । हिजोसम्म हामीले आफ्नो उपस्थिति मात्रै खोज्यौं । आज उपस्थिति स्वीकार भइसकेपछि थप सिर्जनात्मक हुनुपर्ने चुनौती छ । हिजोभन्दा आज स्पष्ट हुँदै गएको छु । 

केही गरी बजारले मलाई फ्याँक्नु भनेको हिजोका मेरो सोच पूरा गर्न समय दिनु हो । भोलि फरक किसिमको बजार निर्माण गर्न पनि सकिएला । 

प्रतिकृया दिनुहोस