टिप्पणी बुधबार, असोज १, २०७६

बुद्ध यहीँ जन्मे तर खोइ त बौद्ध परम्परा ?

वसन्त महर्जन

गौतम बुद्ध (इ.पू. ५६३–४८३) सँग सम्बन्धित आठ महत्वपूर्ण स्थानलाई बौद्ध समाजमा ‘अष्टमहास्थान’ भनेर चिनिन्छ । आठमध्येको एउटा जन्मस्थान ‘लुम्बिनी’ नेपाली भूमिमा पर्दछ । यी आठै ठाउँको एउटा समान विशेषता छ– केही कारणले पुरिएर पुरातत्व विज्ञानको सहायताले फेरि भेटिएका यी स्थलहरूमा जीवित बौद्ध परम्परा भेटिंदैन ।

भारत र नेपालले बौद्ध धर्मसँगको साइनो–सम्बन्ध जतिसुकै बखान गरे पनि विश्व बौद्ध समाजले दुवै देशबाट बौद्ध संस्कृति वा परम्परा हराइसकेको बुझछन् । यो बुझइमा सुधार ल्याउने अवस्था नेपालमा भए पनि यसतर्फ खासै ध्यान गएको पाइँदैन ।

‘अष्टमहास्थान’ मध्ये सबैभन्दा चर्चित तथा पर्यटक ओइरिने ठाउँ बोधगया हो । इ.पू. ५३५ मा गौतम बुद्धले यहाँ बुद्धत्व प्राप्त गरेको भएर मात्रै होइन, गौतम बुद्धभन्दा अघिल्ला सबै बुद्ध (अतीत बुद्ध) र भविष्य हुने मैत्रेय लगायतका अन्यले यही स्थलमा बुद्धत्व लाभ गरेको मान्यता बौद्ध समाजमा छ ।

त्यसपछि विस्तृत भूक्षेत्रमा फैलिएको र प्रचारप्रसार हुनसकेको स्थल ‘सारनाथ’ हो जहाँ बुद्धले पहिलो पल्ट ‘देशना’ (आचारविचार, शीलस्वभाव सुधार गर्न दिइने उपदेश) दिएका थिए ।

अर्को ठाउँ नेपालमै अवस्थित बुद्ध जन्मस्थान लुम्बिनी हो जहाँ विकासका दृष्टिले धेरै काम भइसकेको छ ।

इटुंबहाल, काठमाडौं । तस्वीरः वसन्त महर्जन

लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघकै पहलमा विश्वविख्यात जापानी वास्तुविद् केन्जो टाँगेले तयार गरेको गुरुयोजना अनुसार अहिले पनि काम भइरहेको छ । गुरुयोजनाले विस्तृत भूक्षेत्रमा फैलिएको लुम्बिनीलाई ‘विश्व बौद्ध समाजको केन्द्र’ का रूपमा कल्पना गरेको छ । एउटा यस्तो केन्द्र जहाँ विश्वभरको बौद्ध संस्कृति देख्न पाइयोस् ।

लुम्बिनीमा नेपाली बौद्ध समाजको गतिविधि वा झलक देख्न पाइन्छ तर त्यसैलाई बौद्ध इतिहास वा परम्पराकै रूपमा बुझ्न भने सकिन्न । नेपाली समाजमा पनि सयौं वर्षदेखि बौद्ध परम्परा अटुट रूपमा रहेको छ । त्यसैले सामाजिक तथा सांस्कृतिक रूपमा यहाँको जनजीवन बौद्ध धर्मसँगको सान्निध्यमा रहेको देखाउन विश्वलाई लुम्बिनी बाहिरको समाज देखाउनुपर्दछ ।

भारतले बौद्धस्थल र त्यस वरिपरि जीवित परम्परा देखाउन नसक्नु उसको विवशता हो तर नेपालमा त्यस्तो छैन । लुम्बिनीक्षेत्र वरिपरि बौद्ध धर्मावलम्बीको नभएर हिन्दू तथा इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास हाम्रो वास्तविकता हो ।

यद्यपि ती धर्मावलम्बीहरूमा बौद्ध विषयवस्तुप्रति हार्दिकता हुनु त्यत्तिकै सुखद पक्ष हो । सानो आकारमा भए पनि बुटवल भैरहवातिर ‘परम्परागत बौद्ध समाज’ को उपस्थिति छ । यसलाई जीवित बौद्ध परम्परा र संस्कृतिको रूपमा विश्वसामु प्रस्तुत गर्न सकिन्छ ।

बौद्ध धर्मको संरक्षक राज्यको रूपमा बाह्रौं शताब्दीमा उदय भएर पन्ध्रौं शताब्दीमा विलय भएको विशाल खस साम्राज्यका दुई राजधानी दुल्लू (दैलेख) र सिञ्जा (जुम्ला) मा बौद्ध इतिहासलाई चिनाउने अनेकौं कुरा अझै देख्न पाइन्छ ।

यस्तै पाल्पा जिल्लाको सदरमुकाम तानसेन लगायत अन्य क्षेत्रमा पनि परम्परागत बौद्ध समाजको बाक्लो उपस्थिति देखाउन सकिन्छ । यति थोरै दूरीमा पनि विभिन्न बौद्ध सम्प्रदाय हुनु र ‘जीवित परम्परा’ देखाउन पाउनु हाम्रा लागि अवसर र आकर्षण दुवै हो ।

कुनै बेला स्वतन्त्र रूपमा रहेको ‘लो’ राज्य (वर्तमान मुस्ताङ) लगायत विस्तृत हिमाली क्षेत्र बौद्ध इतिहास, संस्कृति, परम्परा र सामाजिक जीवनका भण्डार नै हुन् । बौद्ध धर्मको संरक्षक राज्यको रूपमा बाह्रौं शताब्दीमा उदय भएर पन्ध्रौं शताब्दीमा विलय भएको विशाल खस साम्राज्यका दुई राजधानी दुल्लू (दैलेख) र सिञ्जा (जुम्ला) मा बौद्ध इतिहासलाई चिनाउने अनेकौं कुरा अझै देख्न पाइन्छ ।

लुम्बिनीबाट ३०० किलोमिटर पूर्वमा रहेको राजधानी काठमाडौं उपत्यकाले गौतम बुद्धको जीवनकालदेखिकै बौद्ध इतिहासलाई अक्षुण्ण राखेको छ । ‘अष्टमहास्थान’ बाट थोरै दूरीमा नै यति धेरै जीवित बौद्ध परम्परा भारतमा पाइँदैन ।

लुम्बिनी आएका बौद्ध तीर्थयात्री एवं पर्यटकलाई अन्यत्र र अन्यत्रबाट आएकालाई लुम्बिनीमा आकर्षित गर्ने नीति लिनुपर्दछ । लुम्बिनीको पहिचानलाई केन्द्रमा राखेर अन्य बौद्ध स्थल तथा बौद्ध समाजलाई जोड्ने हो भने लुम्बिनीले बेग्लै अर्थ बोक्छ ।

भारतमा जस्तो बाहिरबाट आउने तीर्थयात्री वा पर्यटकले मात्रै धानिदिएको वा जीवित परम्परा हराइसकेको स्थलभन्दा बेग्लै पहिचान लुम्बिनीले बोक्न पाउनु गौरवको विषय हो । विश्व बौद्ध समाजकै लागि यो सुखद पक्ष पनि हो । 

 

प्रतिकृया दिनुहोस