अर्थ/बजारमंगलबार, ३१ भाद्र , २०७६

प्रदेश १ मा लगानी जुटाउन टोली अमेरिका प्रस्थान

कमल रिमाल

प्रदेश १ मा लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोली मंगलबार अमेरिका प्रस्थान गरेको छ ।

अमेरिका प्रस्थान गर्नुअघि नेपाली टोली

ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श अमेरिकाको निमन्त्रणामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खडका, उपाध्यक्ष राजेन्द्र राउत र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका निमित्त महानिर्देशक गोपाल तिवारीको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रदेश १ मा लगानीका सम्भावनाहरूका बारेमा सो टोलीले अमेरिकाका उद्योगी व्यवसायीलाई जानकारी गराउने बताइएको छ ।

महासंघ प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार, महासंघ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श अमेरिका बीच भगिनी सम्बन्धमा हस्ताक्षर गरेर नेपालमा लगानीको सम्भावना र दुई देश बीचको व्यापार प्रवद्र्धनका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ ।

२ असोजदेखि न्यूयोर्क चेम्बर अफ कमर्शले आयोजना गर्ने १८औं ग्रेटर न्यूयोर्क फेयर एण्ड कन्फरेन्समा भाग लिनुका साथै नेपाली टोलीले व्यापार सहजीकरणका बारेमा धारणा राख्ने बताइएको छ ।

न्यूयोर्क चेम्बर र महासंघ बीच भगिनी सम्बन्धमा हस्ताक्षर भएपछि नेपालका उत्पादनलाई पनि न्यूयोर्कमा पुर्‍याउन थप सहज हुने यहाँका उद्योगी व्यवसायीले आशा गरेका छन् ।

महासंघका केन्द्रीय सदस्य अभिनाश बोहराका अनुसार नेपालका प्रतिनिधिले कार्यपत्र मार्फत प्रदेश १ मा लगानी गर्ने सम्भावनाका बारेमा जानकारी दिने छन् ।

अमेरिका गएर त्यहाँको चेम्बर अफ कमर्शसँग नेपाली टोलीको छलफल गर्ने गर्ने वातावरण बनाएर आएका बोहराले भने, “महासंघका अध्यक्ष भवानी राणाकै नेतृत्वमा टोली जान तयार भएकोमा कारणबस उहाँहरू जान पाउनु भएन ।”

नेपाली टोलीले कुन कुन ठाउँमा नयाँ लगानी गर्न सकिने र लगानीबाट के फाइदा हुने भन्ने प्रष्ट पार्ने छन् । “त्यहाँका लगानीकर्ताले आउनसक्ने नीतिगत अप्ठ्यारा र उपायका बारेमा पनि ढुक्क भएर कुरा गर्दैछन्”, बोहराले भने ।

 

प्रतिकृया दिनुहोस