टिप्पणी मंगलबार, भदौ ३१, २०७६

कांग्रेसमा ‘हिन्दूराष्ट्र’को अजेण्डाः कसको स्वार्थ ?

शेखर खरेल

 आफ्ना संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस अहिले देशव्यापी जागरण अभियानमा छ । एउटा जागृत मानिसले मात्र अरूमा जागरण ल्याउन सक्छ । राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि धर्मदेशना मार्फत मानिसमा जागरण ल्याए । कांग्रेसको सन्दर्भमा भने आफैं मस्त निद्रामा रहेको नेतृत्व पंक्तिबाट कार्यकर्ता, समर्थक र आम मतदातामा जागरण ल्याउन संभव छैन ।

शेखर खरेल

कांग्रेससँग आम नागरिक आकर्षित गर्ने कुनै अजेण्डा छैनन् । हिजो ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को नारा बोक्ने कांग्रेससँग गणतन्त्र स्थापनापछि नारा, नीति वा निर्देशक सिद्धान्त केही पनि छैन ।

कांग्रेसका मतदाताको त कुरै छोडौं, पार्टीका नेता र कार्यकर्ता पनि पार्टीको नीति निर्देशक सिद्धान्त के हो भन्नेमा विलखबन्दमा छन् । जसमध्येको एउटा कारण हो, पार्टीको धर्मप्रतिको दृष्टिकोण ।

गएको २२ असारमा शुरू भई १७ भदौमा टुङ्गिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेका १७ प्रस्तावमध्ये १२औं बुँदा धर्मसँग सम्बन्धित छ । यसअघिका बैठकहरूमा धर्मबारे बिल्कुलै छलफल नहुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा यस पटक केही सदस्य धर्मबारे गरमागरम बहसमा उत्रिए ।

उनीहरूले सोझै हिन्दूराष्ट्रको पक्ष र धर्मनिरपेक्षताको विपक्षमा आवाज मुखरित नगरे पनि परोक्ष रूपमा भने २०६४ को अन्तरिम संविधानमा खुसुक्क छिरेको र नयाँ संविधानमा लिपिबद्ध ‘धर्मनिरपेक्षता’ प्रतिको असन्तुष्टि प्रकट भएको थियो ।

१९ भदौ २०७६ मा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेताहरु । तस्वीर: सरिता खड्का/बाह्रखरी

जसको पुष्टि बुँदा १२ मा यसरी गरिएको छ, “नेपाली कांग्रेस पार्टी हरेक नेपाली नागरिकको संविधानमा भएको व्यवस्था अनुसार आ–आफ्नो धार्मिक आस्था अनुसार धर्म मान्ने धार्मिक स्वतन्त्रताको सुनिश्चिततासँगै सनातन धर्म संस्कृतिलाई संरक्षण गर्ने दायित्व राज्यको हुने व्यवस्थाको पालना गर्नेतर्फ सरकार गम्भीर हुन समेत यो बैठक माग गर्छ ।”

धर्मबारेको संवैधानिक व्यवस्थालाई सीधै चुनौती नदिए पनि कांग्रेसले घुमाउरो गरी प्रयोग गरेको ‘सनातन धर्म संस्कृति’ अरू केही नभएर हिन्दू धर्म नै हो । सनातन अर्थात् मानव सभ्यताको सबैभन्दा पुरानो धर्म । सिन्धु घाँटी सभ्यताका कारण सिन्धुबाट अपभ्रंश भई हिन्दू भनिएको धर्म खासमा सनातन धर्म नै हो ।

त्यसैले कतिपय वैदिक धर्मका अनुयायीहरू आफूलाई हिन्दू भन्दा पनि सनातन धर्मावलम्बीका रूपमा परिचय दिनुमा गर्व गर्छन् । कांग्रेसको ‘सनातन धर्म संस्कृति’ शब्द चयन चातुर्यपूर्ण देखिन्छ । खासमा कांग्रेस नेतृत्वको सरकारका वेला संविधान जारी भएका कारण पनि संविधान निर्माणको श्रेय गुम्ने भयले कांग्रेसले सीधै धर्मनिरपेक्षताको विरोध गर्न नसकेको हो ।

धर्मको प्रश्नमा कांग्रेसका शीर्ष र केन्द्रीय तहका नेताहरू तटस्थ झैं देखिए पनि धर्मनिरपेक्षताको बचाउ गर्ने भन्दा हिन्दूराष्ट्रको पक्षमा आवाज बुलन्द गर्नेहरूको संख्या पार्टीमा प्रष्ट रूपमा बढी छ । यस पटकको कार्यसमिति बैठकमा शेखर कोइराला, बालकृष्ण खाँण, एनपी साउद लगायतका नेताहरूले हिन्दूराष्ट्रको पक्षमा मुलुक र पार्टीमा अभिमत बन्दै गएकाले यसबारे गम्भीर विवेचना गरिनुपर्ने धारणा राखेका थिए ।

हिजोसम्म पार्टीका महामन्त्री शशाङ्क कोइरालाले हिन्दूराष्ट्रको पक्षमा जनमतसंग्रह गर्न सकिने विचार राख्दै आएकोमा अब कोइराला विरासतका अर्का हस्ती शेखर पनि हिन्दूराष्ट्रप्रति सकारात्मक देखिएको आभास भएको छ ।

कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा अभिमत बलियो रहेको तथ्य गत वर्षको पुसमा सम्पन्न महासमितिको बैठकमा ८२० सदस्यले हिन्दूराष्ट्रको पक्षमा जनमतसंग्रह वा संविधान संशोधनको माग राख्दै प्रस्ताव दर्ता गराउनुबाट पनि प्रष्ट हुन्छ ।

महासमितिका कुल १४०० भन्दा बढी सदस्य संख्याको हिसाबले पनि उक्त संख्या बहुमत त थियो नै, त्यसका केही हस्ताक्षरकर्ता जनजाति र दलितदेखि मुस्लिमसम्म थिए । महासमितिमा सहभागी एक सदस्य उक्त बैठक हिन्दूराष्ट्रको पक्ष/विपक्षमा बहस गरिएको बृहत् सम्मेलन जस्तै भएको सम्झन्छन्।

यस्तै, हिजो हिन्दूराष्ट्र रहँदा पनि अन्य धर्मप्रति कुनै वैरभाव नरहेको सहिष्णु मुलुक किन रातारात धर्मनिरपेक्ष हुनुपर्‍यो, त्यो कुरा संविधान निर्माणकर्ता राजनीतिक नेतृत्वपंक्तिले जनतालाई कहिल्यै स्पष्ट गर्न सकेनन् वा चाहेनन् ।

संविधान निर्माणको रस्साकस्सी चलिरहेकै वेला हिन्दूराष्ट्रको पक्षमा पार्टीलाई दबाब दिन कांग्रेसका दिवङ्गत नेता खुमबहादुर खड्का संयोजक तथा लक्ष्मण घिमिरे उप–संयोजक रहेको हिन्दूराष्ट्र पक्षधर कार्यकर्ताको एक समूहले हस्ताक्षर सहित पार्टीलाई लिखित सुझाव बुझाएको थियो । तर, संविधानमा उक्त सुझाव नसमेटिंदा र नेता खड्काको निधनपछि त्यो अभियान निष्क्रिय झैं रह्यो ।

संविधानमा हिन्दूराष्ट्र समावेश गराउन दबाबमूलक अभियान चलाउँदाको एउटा घटना त्यसका एक अभियन्ता कांगेस नेता लोकेश ढकाल अहिले पनि सम्झिन्छन् ।

“हाम्रै पार्टीका एक उच्च तहका नेताले आँखा तर्दै ‘लोकेशजी अब तपाईंहरूको पार्टीमा काम छैन, बरू हिमानी (पूर्व युवराज्ञी) अलि लोकप्रिय छिन्, उनैलाई अध्यक्ष बनाएर भारतीय जनता पार्टी जस्तै एउटा हिन्दूवादी पार्टी खोल्नुस्’ भनेका थिए” ढकाल सुनाउँछन्, “तर हिजो हामीलाई खिसिटिउरी गर्ने तिनै नेता आज हिन्दूराष्ट्र त चाहिने रहेछ भन्न थालेका छन् ।”

धर्मको तुरुप वा ‘कोर्स करेक्सन’

विगतमा कांग्रेसभित्र धर्मबारे खासै बहस भएको पाइँदैन । २००३ सालमा बीपी कोइराला नेतृत्वमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा सुवर्णशमशेर राणाको नेतृत्वमा स्थापित नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा एकीकरण भई नेपाली कांग्रेस बनेको थियो ।

त्यस क्रममा सुवर्ण नेतृत्वको प्रजातन्त्र कांग्रेसले क्रान्तिका लागि तयार गरिसकेको चार तारा सहितको झण्डालाई नै एकीकृत पार्टीले आफ्नो झ्ण्डा अनुमोदन गरेको थियो । चार अमर शहीद झ्ल्काउने चार तारालाई नयाँ पार्टी गठनपछि अर्कै प्रकारले व्याख्या गर्दै एक तारालाई ‘धार्मिक स्वतन्त्रता’ का रूपमा अर्थ्याइयाे । रमाइलो चाहिं, कांग्रेस सबै धार्मिक आस्थाको साझ चौतारी जस्तै थियो र छ ।

बीपी आफूलाई आस्तिक वा नास्तिक भन्दा पनि ‘एग्नोस्टिक’ (अज्ञेयवादी) भन्न रुचाउँथे । अर्का नेता कृष्णप्रसाद भट्टराईको जीवनपद्धति भने पक्का सनातनी रह्यो । राजा महेन्द्रको ‘कु’ पछि तत्कालीन गोर्खा परिषद्बाट नेपाली कांग्रेसमा समाहित भरतशमशेर राणा आफूलाई कट्टर नास्तिक बताउँथे ।

यस हिसाबले पनि कांग्रेसमा धार्मिक विश्वास पार्टीगत भन्दा पनि व्यक्तिगत आस्थाको विषय रहँदै आयो । तर, यो विश्वास २०६४ सालतिर आउँदा एकाएक धर्मरायो, जब कांग्रेसले धार्मिक मात्र नभएर आफ्ना सबै सिद्धान्त र मुद्दा छाड्दै तत्कालीन नेकपा माओवादीका रणनीतिक मुद्दा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गर्‍यो ।

भारतमा हिन्दू राष्ट्रवादका पक्षपाती नरेन्द्र मोदी दुईतिहाइ बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा पुग्नु र भारतीय संस्थापनका नेता अनि गुप्तचर एजेन्सी ‘रअ’ का व्यक्तिहरूसँग नेपाली राजनीतिज्ञले खुला तथा गोप्य रूपमा हिमचिम बढाउनु संयोग मात्र नहुन सक्छ । अर्कातिर, निर्वाचनको हार र कमजोर प्रतिपक्षीका कारण जनताको नजरबाट हराउँदै गएको कांग्रेसले राष्ट्रिय राजनीतिमा फर्किन हिन्दूराष्ट्रलाई अस्त्र बनाउन खोजे झैं देखिन्छ ।

२०६४ सालको अन्तरिम संविधानमा हिन्दू अधिराज्यको ठाउँमा धर्मनिरपेक्ष लेखाउने तत्कालीन माओवादी र नेकपा (एमाले) को अभियानमा कांग्रेस फड्के किनाराको साक्षी बस्यो । कुनै बहस र औचित्य विना नै नेपाल रातारात हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा कायाकल्प भयो ।

अहिले कांग्रेसमा जुर्मुराएको हिन्दूराष्ट्रको मुद्दाको एउटा बलियो पृष्ठभूमि हुँदाहुँदै पनि जुन समय र सन्दर्भमा यो मुद्दाले आकार ग्रहण गर्दैछ, त्यसबाट भने संशयपूर्ण प्रश्न पैदा भएको छ । जस्तो, यो मुद्दा कांग्रेसका नेता–कार्यकर्ताबाटै स्वस्फूर्त मुखरित हुँदैछ वा यसका पछाडि कुनै शक्तिराष्ट्रको पनि हात छ ?

भारतमा हिन्दू राष्ट्रवादका पक्षपाती नरेन्द्र मोदी दुईतिहाइ बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा पुग्नु र भारतीय संस्थापनका नेता अनि गुप्तचर एजेन्सी ‘रअ’ का व्यक्तिहरूसँग नेपाली राजनीतिज्ञले खुला तथा गोप्य रूपमा हिमचिम बढाउनु संयोग मात्र नहुन सक्छ । अर्कातिर, निर्वाचनको हार र कमजोर प्रतिपक्षीका कारण जनताको नजरबाट हराउँदै गएको कांग्रेसले राष्ट्रिय राजनीतिमा फर्किन हिन्दूराष्ट्रलाई अस्त्र बनाउन खोजे झैं देखिन्छ ।

यी कुरा भन्दा पनि महत्वपूर्ण चाहिं, धर्मनिरपेक्ष राष्ट्रको घोषणापछि क्रिश्चियन धर्म प्रचारकका धर्म परिवर्तनमा बढ्दो सक्रियता र ती अभियानमा स्वयं सत्ताका नेतृत्वकर्ताको उत्प्रेरक भूमिकाका कारण हिजोसम्म धर्मनिरपेक्षतालाई शङ्काको सुविधा दिनेहरू यस्तै अवस्था रहिरहे सनातनदेखि मान्दै आएको धर्म–संस्कृति लोप हुनसक्ने त्रासमा छन् ।

यस्तै, हिजो हिन्दूराष्ट्र रहँदा पनि अन्य धर्मप्रति कुनै वैरभाव नरहेको सहिष्णु मुलुक किन रातारात धर्मनिरपेक्ष हुनुपर्‍यो, त्यो कुरा संविधान निर्माणकर्ता राजनीतिक नेतृत्वपंक्तिले जनतालाई कहिल्यै स्पष्ट गर्न सकेनन् वा चाहेनन् ।

आफूलाई भौतिकवादी भन्ने तर क्रिश्चियन धर्मप्रचारको अभियानमा खुलेआम सरिक हुने (उदाहरण, गत वर्ष पुसमा काठमाडौंमा आयोजित युनिभर्सल पिस फाउन्डेसनको एशिया प्यासिफिक सम्मेलन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व तह आगामी दिनमा समेत धर्मनिरपेक्षताको पक्षमा बलियो गरी उभिने पक्का छ ।

उता, कांग्रेसभित्र भने आउँदो महाधिवेशनसम्म यो मुद्दाले ठूलै स्वरूप ग्रहण गरिसक्नेछ । भलै संविधान निर्माणको जस लिंदै आएको कांग्रेसले शाब्दिक रूपमा धर्मनिरपेक्षता खारेज नै नगर्ला, तर हिन्दूराष्ट्र वा सनातनदेखि मानिंदै आएको धर्मभित्रको धार्मिक स्वतन्त्रताको अर्थ मुलुक धर्मसापेक्ष नै हुनुपर्छ भन्ने हो ।

कांग्रेसजनमा यस्तो सोच र आँट हुने हो भने हिजो जुन लहडमा राष्ट्र धर्मनिरपेक्ष हुन गएको थियो, त्यसको ‘कोर्स करेक्सन’ हुनेछ ।

 

प्रतिकृया दिनुहोस