टिप्पणी शुक्रबार, भदौ २७, २०७६

सम्झाैं,पकाऊँ, खाऊँ !

केदार शर्मा

बसाइँसराइ, जीवनशैली वा अनेक कारण विस्मृतिमा पुगेका हाम्रा गाउँघरका प्रिय खान्कीहरू अब सम्झेर ल्याउनुपर्ने वेला भएको छ।

केदार शर्मा

“भोटेहरूका घरमा बसेर

चिङ्फिङ् र ढिके नून साथ खूब

खाए मजैले उसिनेर आलु

छन् लेकमा आलु मकै पिंडालु ।”

– भानुभक्त पोखरेल

मेक्सिकोबाट आएको मकै, पेरुबाट पसेको आलु र हाम्रो रैथाने पिंडालु नेपालभरि नै कविताका यी हरफमा जसरी नै उम्रेका, फलेका र पाके–पकाइएका पाइन्छन् । हामी नेपाली मकै र आलु विनाको भान्सा कल्पना पनि गर्न सक्दैनौं । धेरैलाई त करीब २०० वर्ष अघिसम्म यस भूभागमा मकै र आलुको चिनुबानुसम्म थिएन भन्ने कुरा पनि अपत्यारिलो लाग्छ ।

तस्वीर : केदार शर्मा

हाम्रा धेरै लोक–परिकार मौसमी हुन्छन् । चैत–वैशाखमा पाउलिने चिन्डे र सिप्लिकानका मुना अरू बेला पाइँदैनन् । जरिङ्गो चैतदेखि भदौसम्म मात्र खान मिल्छ । ग्रीनहाउसभित्र वर्षैभरि गोलभेंडा फलाए जसरी रुख कटहर फलाउन सकिंदैन, बेमौसमी काउली उब्जाए जसरी कोइरालोको फूल फुलाउन सकिंदैन । टुसा उमारेका गेडागुडी त मन लागेको वेला जहिले पनि खान सकिन्छ, तर मालिङ्गाका टुसा वा निगुराका मुन्टा खान तिनैको याम पर्खिनुपर्छ ।

मकैको भात, ढिंडो, आँटो, रोटो वर्षभरि खान पाइन्छ । मकैको पीठोबाट बनाइने विशिष्ट मदिरामय पेय हुर्रे खान पनि कुनै मौसम पर्खिनु पर्दैन । तर फ्याप्लो सधैं खान पाइँदैन ।

यो लेखले फ्याप्लोकै प्रसङ्गबाट आकार पाएको हो ।

गएको साता हामी अन्तिम छिमलका मकै स्याहार्दै थियौं, दूध सुक्न थालेका केही पुड्कापुड्की र थोते मकै भेटिए । उहिले आँगनमा थुपारिएका डोकाका डोका मकैका रासबाट यस्ता मकै छानेर फ्याप्लो पकाउने चलन थियो । हामीले पनि फ्याप्लै पकाउने निर्णय ग‍र्‍यौं ।

म हुर्किंदासम्म मकै पहाडी कृषि अर्थतन्त्रकै मेरुदण्ड थियो । जसका घरमा मकैका ठूला वा जोर थाङ्ग्रा हुन्थे तिनीहरू धनी मानिन्थे । पुग्दो धान फलाउनेहरूका घरमा पनि सानै भाँडामा सही, एक भाँडो ‘मकैको भात’ अनिवार्य जसरी नै पकाइन्थ्यो । हाम्रातिर मकैको ढिंडो वा आँटो खाने चलन थिएन । मकै पिंधेर, ढिकीमा फलेर, टुप्पा (खोयामा टाँसिएको खोस्ट्याइलो भाग) र पीठो छुट्याएपछि बाँकी रहेको ‘मकैको चामल’ बाट मकैको भात पकाइन्थ्यो ।

त्यसैले हाम्रा हजुरबालाई बारीबाट ठूल्ठूला घोगा ल्याएर मकै पोलेको उति मन पर्दैनथ्यो । किनभने उहाँको मुख्य चासो मकैको थाङ्ग्रो कसरी गतिलो बनाउने भन्ने नै हुन्थ्यो र ठूला घोगा थाङ्ग्रैमा चाहिन्थे, सुहाउँथे । उहाँको त्यस्तो चाहना स्वाभाविक पनि थियो । त्यसवेलासम्म पनि खान लाउन पुग्ने किसानका लागि अन्न बेसाउनु कल्पना बाहिरको कुरा थियो ।

नखाइने होइन, पोलेको मकै पनि मनग्गे खाइन्थ्यो तर हरियो मकैको फुर्माइसी उपयोग भने बारीभरिका सुकेका मकै ल्याएर सिकुवामा थुपारेपछि शुरू हुन्थ्यो । अलौटा मकै भुटेर च्याउँ मकै खाइन्थ्यो, छोडिने खालका मकै पोलेर खाइन्थ्यो ।

सिलौटामा पिसेर हरियो मकैको रोटी पनि नखाइने होइन, तर त्यसरी घरभरिका जहानलाई पु‍र्‍याउन नसकिने भएकाले त्यो चाहिं विशिष्ट परिकार मानिन्थ्यो । फ्याप्लो चाहिं मकैका रासमा भेटिएका रहलपहल दुधे मकैबाट पकाइन्थ्यो ।

दुधे मकैलाई ढिकीमा सकभर मसिनो गरी कुटेर, पानीमा मुछेर तथा मिचेर र बाँसको चाल्नीले छानेर मकैको दूध–दूध मात्र निकालिन्थ्यो । त्यो मकैको दूध पकाएर बनाएको नुनिलो परिकारलाई फ्याप्लो भनिन्थ्यो ।

भदौको केही समय घरै मकैमय हुन्थ्यो ।

(हरियो मकैका खोयामा बसेपछि झिङ्गा मासिन्छन् भन्ने चलन तपाईंहरूकहाँ पनि थियो ? हाम्रामा त्यसो भन्ने चलन थियो । दशैंसम्ममा हाम्रातिर झिङ्गा लगभग मासिइसकेका हुन्थे । वातावरण चिसिंदै गएर झिङ्गा कम हुने होलान् कि हरियो मकैमा झिङ्गालाई हानि गर्ने कुनै पदार्थ हुने भएर होला ? के होला त्यसको कारण ?)

किन हो, हाम्रा घरमा विस्तारै फ्याप्लो खान छाडिएछ ।

मकैको भात, ढिंडो, आँटो, रोटो वर्षभरि खान पाइन्छ । मकैको पीठोबाट बनाइने विशिष्ट मदिरामय पेय हुर्रे खान पनि कुनै मौसम पर्खिनु पर्दैन । तर फ्याप्लो सधैं खान पाइँदैन ।

२०४७ भदौमा काठमाडौंमा फ्याप्लो पकाएर खाँदा पो थाहा भयो, मेरो मस्तिष्कको स्वादकेन्द्रमा त्यसको हलुका स्मृति मात्र बाँकी रहेछ । त्यसैवेला काका हाम्रामा आउनुभएको थियो । फ्याप्लो चाखेर भन्नुभयो, “यिनीहरूले त बिर्सिइसकेको स्वाद पो सम्झाए त !”

हामीकहाँ फ्याप्लोले पुनर्जन्म पाउनुको कारण थियो, त्यसवेला हामी बसेको घरको करेसाबारीमा फलेका मनग्गे मकै र बिजुलीले चल्ने ग्राइन्डर !

अर्थात्, न थाङ्ग्रामा मकै राख्ने आवश्यकता वा सम्भावना थियो, न मकै पिस्न ढिकी नार्ने झन्झट । दुई घोगा मकै भाँच्यो, खरर्र पिस्यो, चाल्नीमा खोस्टा छान्यो, पितिक्क घिउमा छुस्स जीरा पड्काएर ओइरिएर चलाउँदै पकायो, लपालप खायो !

त्यसवेलासम्म पनि हाम्रो घरमा (इलाममा) बिजुली थिएन । हामीले चिनियाँ हाते ग्राइन्डर किनेर पठायौं । अनि भने घरमा पनि फ्याप्लो पाक्न थाल्यो ।

एउटा घरमा एउटा परिकार पाक्न छाड्नु भनेको एउटा परम्पराको अन्त्य हुनु हो । र फेरि पाक्न थाल्नु भनेको निकै ठूलो कुरा हो ।

मेरा मित्र, सुपरिचित लेखक मोहन मैनालीलाई फोन गरेर सोधें, तेह्रथुम छाडेपछि खान नजुरेको खानेकुरा के हो ? मैनालीले तेह्रथुम छाडेको पनि तीन दशक नाघिसक्यो ।

एकछिन केही गाउँले फलफूलको कुरा गरेपछि कुरो फ्याप्लोमै आएर अडियो । यो यामले पनि सम्झाएको हुनसक्छ फ्याप्लो ।

“बजारमा हरियो मकै पाइन्छ त, पकाइ हेर्न जाँगर चलेन ?” मैले सोधें ।

“मकै भनेर कहाँ हुन्छ र ? गाउँको मकैको ताजापन पनि त खोज्छ नि मनले !”

म नाजवाफ भएँ ।

हो त ! खानेकुरा भनेको खानेकुरा मात्र कहाँ हो र ? त्यसको पृष्ठभूमि र त्यससित जोडिएका स्मृति–संवेगको पनि त अर्थ हुन्छ नि !

दुधे मकैको एउटा खास परिकारको सम्झना स्याङ्जाली पृष्ठभूमिका मेरा मित्र बुद्धि कार्कीलाई पनि छ । “आमाले मकैको दूध पकाएर बडो मीठो खानेकुरा खुवाउनुहुन्थ्यो” मीठो सम्झना छ मनमा, तर बुद्धिजीलाई न त्यो खानेकुराको नाम सम्झना छ, न त्यसको पाकविधि नै ! हामी कुनै न कुनै कुरामा यसरी नै ‘नोस्टाल्जिक’ हुन्छौं । हुनु पनि पर्छ । नत्र त धेरै कुरा मासिइहाल्छन् नि !

चैते बाँको र बर्खे बाँको पकाउने विधि समेत वर्णन गर्दा बाँकोलाई बिख मान्ने ठाउँमा जन्मे–हुर्केको, बाँकोका परिकारका नाममा गुन्द्रुक (गुल्मीमा) बाहेक केही नचाखेको मेरा पनि स्वादग्रन्थी पग्लिए ।

हामीले घरमा फ्याप्लोसित नजिकका विविध परिकार बनायौं र छिमेकी समेत जम्मा भएर खायौं । कालुङ्गे च्याउसित पकाएको भात र फ्याप्लो मिसाएर बनाएको परिकारले सबभन्दा धेरै ‘लाइक’ पायो । फ्याप्लोको रोटी र मकैको दूध मात्र पकाएको नूनिलो फ्याप्लो दुई नम्बरमा परे ।

हाम्रातिर चलन नभएको तर मोहनजीले सुनाएको फ्याप्लोको खीर गजब मिष्टान्न सावित भयो । नछानी पकाएको गुलियो परिकार (खीर नै भनौं) भने उति जमेन ।

हिजो हामीले लिम्बूहरूको प्रिय व्यञ्जन लुङघाक्चा (बुझाउनका लागि मकैको मोमो भने हुने, बाफमा पकाइएको दुधे मकैको परिकार) बनाउन सकेनौं । सुदूरपश्चिममा सिकेको छाँछ हालेको मकैको फाँडो पनि पकाउन–खान बाँकी नै छ । हामीले देशका विभिन्न भागमा पकाइने वा पकाइन छाडेका हरियो मकैका धेरै परिकारका बारेमा थाहा पाउन पनि बाँकी नै छ ।

कुरा मकैको मात्र होइन । हामीले धेरै पाकपरम्परालाई माया र मान गर्न बाँकी छ । हामीमध्ये धेरै उहिले खाएका खानेकुराको सम्झना मात्र बोकेर बसेका छौं ।

पूर्वी सुर्खेतमा जन्मे हुर्केका भाषाविद् जिवेन्द्रदेव गिरीले ‘पिनापानी’ खान नपाएको जुग भइसक्यो । पिनापानी त्यस भेकमा खाइने मस्यौरा जसरी बनाइएको तोरीको पिनाको झोल हो । “यता त कुरै छाडौं, गाउँमा पनि पिनापानी खान छाडे”, काठमाडौंवासी गिरीको गुनासो छ । असुराको फूलको मस्यौरा पनि गिरीले सम्झिइरहने गाउँले परिकार हो ।

मैले सल्यानमा जन्मे हुर्केकी साहित्यकार उषा हमाललाई पनि सोधें, “सल्यान छाडेपछि खान नपाएको खानेकुरा के हो ?”

“बाँको !” हमालले चैते बाँको र बर्खे बाँको पकाउने विधि समेत वर्णन गर्दा बाँकोलाई बिख मान्ने ठाउँमा जन्मे–हुर्केको, बाँकोका परिकारका नाममा गुन्द्रुक (गुल्मीमा) बाहेक केही नचाखेको मेरा पनि स्वादग्रन्थी पग्लिए । ओदालको जराको लस्याइलो रस मिसाएर मुछिएको चामलको पीठोको बतास फिनी र चामलकै पीठोको कागते रोटी पनि उषाजीलाई याद आइरहने सल्यानी परिकार हुन् ।

हिजोआज ‌ओदालको जराबाट रस निकाली निकाली बतास फिनी बनाउने जाँगर सल्यानमै पनि कतिलाई होला र ? फ्याक्ट्रीमा बनेको भटमासको मस्यौराले धेरै प्रकारका ग्रामीण मस्यौराहरूको ठाउँ लिइसकेको यो समयमा अछाम, सुर्खेततिरै पनि कतिका भान्सामा पिनापानी पाक्दो हो र ?

जिल्ला जिल्लामा छन् त्यस्ता बिर्सिइँदै गरेका परिकार । गाउँगाउँमा छन् । घरघरमा छन् । धेरै मान्छेका मनमा छन् ।

जोगाउनुपर्ने कुरा धेरै छन् । खासगरी ती कुरा, जो एक पटक मासिएपछि मासिएको मासियै हुन्छन् । त्यसैले–

सम्झौं, सम्झाऊँ !

पकाऊँ, सिकाऊँ ! !

खाऊँ, खुवाऊँ ! ! !

प्रतिकृया दिनुहोस