ब्लग शनिबार, भदौ २१, २०७६

बिटुलिएकाे तीज र निदाएका महिला संगठन

रघु पन्त

पञ्चायतकालमा महिला रूपान्तरणको मञ्च बनेको तीज अहिले नवधनाढ्यको तुजुक देखाउने अवसर बनिरहेको छ।

रघु पन्त

पञ्चायतकालमा भूमिगत वामपन्थी दलहरूले राजनीतिक उद्देश्य पूरा गर्ने सहयोगीको रुपमा सामाजिक सुधारका आन्दोलन पनि अघि बढाएका थिए । तीज– उनीहरूका लागि महिला समानता र हकहितको कुरा गर्ने एउटा मञ्च थियो ।

पञ्चायतकालमा पनि तीजको वेला पशुपति मन्दिरमा ठूलो संख्यामा महिला भेला हुन्थे । वामपन्थी दल सम्बद्ध महिला सङ्गठनहरूले सांस्कृतिक कार्यक्रम गर्न महीनौंदेखि तयारी गर्थे ।

राजनीतिक र सांस्कृतिक चेतनाले भरिएका गीतहरू गाएर र तिनै गीतमा नाचेर उनीहरू महिलालाई उत्प्रेरित गर्थे । सम्पर्क–सम्बन्ध बढाउँथे र आ–आफ्नो सङ्गठनमा तान्थे । कुनै समयमा यसरी नै सङ्गठनसँग जोडिएका महिलाहरू अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता बनेका छन् ।

तस्वीर : माेनिका देउपाला

रूपान्तरणको प्रयत्न
तीजलाई अधिकांश नेपाली महिलाहरूले आफ्नो विशेष चाड मान्छन् । नेपाली ग्रामीण जीवनका दुःख, अप्ठ्याराका साथसाथै महिलाहरूले भोग्ने असमानता, घरायसी पीरदेखि माइतीसँगको सम्बन्धका दुःख–सुख जस्ता कुराहरू तीज गीतका विशेषता हुन्थे । तिनै गीतहरूमा नाच्दै आफ्ना दुःख–पीर भुल्न खोज्थे– नेपाली दिदीबहिनी । अहिले पनि ग्रामीण महिलाहरूले रचेका गीतमा यी विषय पाइन्छन् ।

राजनीतिक रुपमा सचेत महिलाहरुले समानता र हकहितको आवाज उठाउने अवसरका रुपमा तीजलाई प्रयोग गर्न थालेदेखि तीजका गीतहरुमा पनि परिवर्तन आउन थालेको हो । २०४० देखि २०५० सम्मको कालखण्डमा यस्तो प्रयत्न सङ्गठित रूपबाट देशव्यापी रूपमा अघि बढेको थियो । त्यस वेला विभिन्न जिल्लाहरूबाट प्रगतिशील र क्रान्तिकारी गीतहरू गाएर तीजका भेला र कार्यक्रम हुने गर्थे ।

लोकतन्त्र, महिला हक–हित र बराबरीका पक्षमा रचिएका त्यस्ता गीतहरूले ग्रामीण महिलाहरूसम्म राजनीतिक चेतना पुर्‍याउन र उनीहरूलाई केही हदसम्म भए पनि रूपान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान गरेको थियो ।

घरको आँगन र मन्दिरमा मात्र सीमित तीजलाई त्यस्ता कार्यक्रमहरूले सामूहिक चाड, सङ्गत र सङ्गठनको फराकिलो घेरामा ल्याउने काम गरेको थियो । राजनीतिक दलका महिला सङ्गठनहरूलाई देशव्यापी रूपमा फैलाउने काममा महत्वपूर्ण सहयोग पुर्‍याएको थियो ।

रूपान्तरणको अवसर र सङ्गठन विस्तार गर्ने मौकाको रूपमा यसलाई वामपन्थी दलका महिला सङ्गठनहरूले उपयोग गर्न शुरू गरे र पछि अरू दलहरू पनि यसमा सामेल भए । जेहोस् यस्तो प्रयासले सामाजिक र सांस्कृतिक रूपान्तरणमा भने सहयोग नै पुर्‍यायो ।

यसरी तीज महिलाहरूको एउटा महत्वपूर्ण चाडको रूपमा मात्र सीमित नरहेर जनचेतना जगाउने र विशेष रूपले महिलाहरूलाई आफ्ना हकअधिकार र समानताको पक्षमा उत्प्रेरित गर्ने अवसर पनि बन्यो । यसो हुनुमा मूल रूपले वामपन्थी राजनीतिक दलहरू र तिनसँग सम्बन्धित महिला एवं अन्य भ्रातृ सङ्गठनहरूको सक्रियता र नेतृत्वकारी भूमिका निर्णायक रह्यो ।

कम खर्चमा, तडकभडक नगरी सबै महिला मिलेर तीज मनाउँ भन्ने सन्देश दिने त्यसवेलाको प्रयत्नले नेपाली समाजमा जागरण र रूपान्तरण पनि ल्यायो ।

छोरीहरूलाई छोरो सरह नै शिक्षा दिनुपर्ने, छोराछोरीमा भेदभाव गर्न नहुने, छोरासरह नै छोरीहरू पनि सबै काम गर्न समर्थ हुने, उनीहरूलाई पनि देश हाँक्ने मौका दिनुपर्ने जस्ता कुराहरूलाई नेपाली समाजमा स्थापित गर्ने र वातावरण बनाउन ती वेलाका तीजसँग सम्बन्धित गीत र सांस्कृतिक कार्यक्रमहरूले आफ्नो समयमा महत्वपूर्ण भूमिका खेले । नेपाली महिलाहरूको रूपान्तरणमा यसरी तीज एउटा कालखण्डमा सहयोगी बन्यो ।

खेतीपातीको काम सकिएर अलिकति फुर्सद भएको मौकामा माइत जाने अवसरको रूपमा तीज नेपाली ग्रामीण जीवनमा अहिले पनि महिलाहरूले पर्खेर बस्ने चाड हो ।

रूपान्तरणको अवसर र सङ्गठन विस्तार गर्ने मौकाको रूपमा यसलाई वामपन्थी दलका महिला सङ्गठनहरूले उपयोग गर्न शुरू गरे र पछि अरू दलहरू पनि यसमा सामेल भए । जेहोस् यस्तो प्रयासले सामाजिक र सांस्कृतिक रूपान्तरणमा भने सहयोग नै पुर्‍यायो ।

विकृतिको प्रवेश
पञ्चायतको पराजय र बहुदलीय व्यवस्थाको स्थापनासँगै नेपाली समाज राजनीतिक रूपमा खुला भयो । राजनीतिक स्वतन्त्रताले आर्थिक र सामाजिक क्षेत्रमा पनि खुलापन विस्तार गर्दै गयो । माओवादी आन्दोलनका कारणले गाउँबाट शहर पस्नेको संख्यामा अप्रत्याशित वृद्धि भयो ।

शहरमा आर्थिक गतिविधि बढ्न थाल्यो । दोहोरी रेस्टूराँहरू भटाभट देखा पर्न थाले । आर्थिक क्रियाकलापको विस्तार र सामाजिक आवश्यकताका कारणले पार्टी प्यालेसहरू जताततै खुल्न थाले । पूँजीवाद र बजार अर्थतन्त्रले नेपाली महिलाहरूको चाड तीजलाई पनि समात्यो । सुनका गहना, मोटामोटा तिलहरी र नयाँ–नयाँ सारी लगाएर पार्टी प्यालेसमा महीनौंअघिदेखि दर खाने र नाच्ने प्रचलन बढ्यो ।

नेपाली तीज पूँजीको पञ्जामा पर्‍यो । नक्कली सुनका गहना लगाएर भए पनि दर खाने भेलाहरूमा जानुपर्ने, विभिन्न समूह, क्लब र टोलहरूका तीज भेलाका लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताले कम आय भएका परिवारहरूमा द्वन्द्व र अशान्ति समेत उत्पन्न गर्‍यो ।

विभिन्न शपिङ मल, बजार र गहना पसलहरूको आयोजनामा तीजका मेलाहरू लाग्न थाले । वर्गीय विषमता र हुने तथा नहुनेहरू बीचको आर्थिक खाडल तीजको अवसरमा झन् गहिरो देखिन थाल्यो ।

विवाह गरेर गएका छोरी–चेलीहरू माइत आएर भेटघाट गर्ने, पुरानो मित्रतालाई नवीकरण गर्ने, आफ्ना सुख–दुःख बाँड्ने, आफ्नो घरआँगनमा नाच्ने तीज औपचारिक भेटघाट र पार्टी प्यालेसको नाचगानमा निसासिन पुग्यो ।

सञ्चारका माध्यमहरूमा भइरहेको परिवर्तन र क्रान्तिले तीज र तीजका गीतहरूको पनि व्यापारीकरण गर्‍यो । तीज गीतहरू पनि पूँजीको चक्रमा फसे । तीजको अवसर पारेर निस्कने तीज गीतहरूमा समेत करोडौं लगानी हुन थाल्यो ।

महिलाहरूको गायन प्रमुख रहेको तीज गीतमा पुरुषहरू समेत गाउन र नाच्न थाले । तीजका अवसरमा निस्कने गीतहरू पूँजीवादी विकृतिको पञ्जामा परे । तीजको संस्कृति र शैली जीवनदेखि गायनसम्म अचम्मै लाग्दो पाराले फेरियो ।

तीज जस्तो सामाजिक र लाखौं महिला सामेल हुने चाडलाई पूँजी र बजारले आफ्नो प्रभाव तथा स्वार्थमा प्रयोग गर्न खोज्नु अस्वाभाविक थिएन । आफ्नो आर्थिक स्वार्थ पूरा गर्न जसरी बजार तीजलाई प्रयोग गर्न सफल रह्यो त्यसरी नै यो बीचमा तीजलाई विकृत हुनबाट रोक्न सामाजिक अभियन्ता र राजनीतिक दलहरू असफल रहे ।

एक डेढ दशकदेखि तीज र तीजका गीत सङ्गीतमा देखिएको भाँडभैलो नेपाली समाजले कहिले छक्क पर्दै, कहिले रमाइलो मान्दै, कहिले दिक्क हुँदै हेरिरह्यो । रमाइलो मान्नेले रमाइलो मानिरहे, छक्क पर्नेहरू छक्क परेर हेरिरहे र विरोध गर्नेहरूले विरोधको आवाज निरन्तर जारी राखे ।

तीज मनाउने नेपाली महिलाहरूको शैली र सङ्गीतमा देखिएको भद्दापन, छाडापन र सम्पन्नताको अश्लील प्रदर्शन वास्तवमा भन्ने हो भने नेपाली समाजमा देखापरेको नवधनाढ्य र भुइँफुट्टा वर्गहरूको भ्रष्ट आय आर्जनको करामत थियो ।

राजनीतिक, प्रशासनिक र आर्थिक क्षेत्रको भ्रष्टाचारबाट उदाएको नवधनाढ्य वर्गको अवैध आर्जन तिनका श्रीमती, छोरीहरूको गरगहना, लुगा–फाटा र खानपिनमा प्रदर्शन हुन थाल्यो र त्यसले तीजलाई समेत विकृत तुल्यायो ।

तीज जस्तो सामाजिक र लाखौं महिला सामेल हुने चाडलाई पूँजी र बजारले आफ्नो प्रभाव तथा स्वार्थमा प्रयोग गर्न खोज्नु अस्वाभाविक थिएन । आफ्नो आर्थिक स्वार्थ पूरा गर्न जसरी बजार तीजलाई प्रयोग गर्न सफल रह्यो त्यसरी नै यो बीचमा तीजलाई विकृत हुनबाट रोक्न सामाजिक अभियन्ता र राजनीतिक दलहरू असफल रहे ।

सामाजिक–सांस्कृतिक सुधार र रूपान्तरणको कार्यलाई नेपालका राजनीतिक दलहरूले गएको डेढ–दुई दशक पूरै बेवास्ता गरे । कतिपय अवस्थामा त तिनीहरू विकृतिका गतिविधिमा सामेल भए– जानी–नजानी । कुहिरोको काग जस्तो यताउता रुमल्लिइरहे । त्यसैले तीजमा विकृतिको प्रवेश कायमै रह्यो । अहिले पनि राजनीतिक दलहरूको हालत यस्तै छ । चेत आइसकेको छैन ।

अब के त ?
तीज अब पहिलेकै जस्तो होस् भनेर हुँदैन । तीजको शैलीमा पनि परिवर्तन आउँछ । हाम्रो जीवन र हामीले प्रयोग गर्ने विभिन्न माध्यमहरूमा जसरी परिवर्तन आउँछ, ती माध्यमहरूको प्रयोगबाट उत्पन्न हुने परिवर्तनले तीज लगायत हाम्रा अन्य चाडवाडहरू पनि प्रभावित हुन्छन् ।

आज संसारको जुनसुकै कुनामा रहेका छोरी–चेलीसँग माइतीले मोबाइल फोनबाटै प्रत्यक्ष संवाद गर्न सक्छन् । भेटघाट र कुराकानीका लागि तीज पर्खिरहनु पर्दैन ।

तडकभडक नगरिकन सामूहिक रूपले पार्टी प्यालेसमा तीज मनाउनुलाई पनि अन्यथा भन्नुपर्छ जस्तो लाग्दैन । महिलाहरूको यो चाडलाई सामूहिक र सामुदायिक रूपमा मनाउने कुरालाई प्रोत्साहित नै गर्नुपर्छ सँगसँगै यसको पारिवारिक महत्व, निजीपन र विशिष्टतालाई जोगाउनु पनि पर्छ ।

विवाह गरेर गएकी छोरी सकेसम्म तीज मनाउन माइतै आउँछन् । तीज महिलाहरूको अपनत्व रहेको आफ्नो चाड हो । यो यसको निजीपना र विशिष्टता हो । यसलाई सम्पन्नताको अहङ्कारले छोपिन दिनुहुँदैन ।

तीजको सन्दर्भमा मात्र होइन महिलाहरूसँग सम्बन्धित हरेक विषयमा महिला संघ–सङ्गठनहरूको क्रियाशीलता जरूरी छ तर अचेल यी संघ–सङ्गठनहरू नै मूर्च्छा परेको अवस्थामा छन् ।

तीज सम्पन्न र गरीब महिलाहरू बीच भेदभाव बढाउने, द्वन्द्व र असमानता बढाउने र अन्त्यमा सामाजिक द्वन्द्व बढाउने चाड होइन । यसलाई फेरि पनि समानता, न्याय, महिला अधिकार, मित्रता र हकको चाडकै रूपमा अगाडि बढाउनु पर्छ ।

माइती र छोरी–चेलीबीचको माया एवं अपनत्व बढाउने अवसरकै रूपमा विस्तार गर्नुपर्छ । तीजका गीत–सङ्गीतलाई पनि कम्मर मर्काउने र तिलहरी लगाएर नाच्ने सङ्कीर्ण घेराबाट फेरि फराकिलो फाँटमा लैजानुपर्छ ।

यसपालिकै तीजको लोकप्रिय गीत ‘चनमती फूलमती’ लाई पनि एउटा सकारात्मक उदाहरणका रूपमा लिन सकिन्छ । जुन गीतमा छुवाछूतदेखि देशमा विद्यमान समस्याहरू चित्रण गरिएको छ ।

तीजलाई विकृतिबाट मुक्त गर्ने अभियानमा अहिले अचेतावस्थामा रहेका महिला संघ–सङ्गठनहरू नै सक्रिय हुनु आवश्यक छ । जसरी हिजो भूमिगतकालमा सक्रिय हुन्थे त्यसको आधा मात्र सक्रियता देखाउने हो भने तीजमा देखिएको विकृतिलाई नियन्त्रण गर्न सकिन्छ ।

आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएको आलोचनाले गर्दा होला केही जिल्लामा प्रशासनले पार्टी प्यालेसमा हुने कार्यक्रम नगर्न उर्दी जारी गरे । तीजमा देखिने विकृतिलाई प्रशासनिक उर्दी हैन जागरण र चेतनाका आधारबाट रोक्नु राम्रो हो । यसको लागि दल र तिनका महिला सङ्गठनहरूको क्रियाशीलता आजको आवश्यकता हो ।

तीजको सन्दर्भमा मात्र होइन महिलाहरूसँग सम्बन्धित हरेक विषयमा महिला संघ–सङ्गठनहरूको क्रियाशीलता जरूरी छ तर अचेल यी संघ–सङ्गठनहरू नै मूर्च्छा परेको अवस्थामा छन् ।

यसपालिको तीजका सकारात्मक र नकारात्मक उदाहरणहरू बारे हाम्रा दल र महिला सङ्गठनहरूले घोत्लेर तीजलाई महिलाहरूको चेतना, सद्भावना र चेली–माइतीको सुमधुर सम्बन्धलाई सुदृढ बनाउने अवसरको रूपमा मनाउन भविष्यमा ध्यान दिनु जरूरी छ ।

प्रतिकृया दिनुहोस