टिप्पणी बुधबार, भदौ १८, २०७६

स्वादको शक्ति, शक्तिको स्वाद

केदार शर्मा

“एकादेशमा एकजना धनी राजा थिए । उनको भान्सामा दिनहुँ छत्तीस पकवान र चौरासी व्यञ्जन पाक्थे । राजा ती सबै खानेकुरा चाख्न पनि भ्याउँदैनथे । तर कुनै दिन कुनै परिकार मन पराएर थपे भने त्यो परिकार पकाउने भान्सेले एउटा असर्फी बक्सिस् पाउँथ्यो...”

केदार शर्मा

के के खान्थे होला ती राजाहरू ? के के पाक्थ्यो होला कथादेखि इतिहाससम्ममा राजाहरूको भान्सामा ? कति मान्छे लागेका हुन्थे होलान् खानेकुराको ज्यूनार तयार गर्न/गराउन ? कस्ता कस्ता खाद्यपदार्थ, मरमसला र मेवा–मिष्ठान्नहरू जुटाइन्थे होला भँडारमा ?

कहाँ कहाँदेखि भान्से र खानसामाँ (परिकारविद्का लागि प्रयोग हुने फारसी शब्द) झिकाइन्थे होला दरबारमा ? तिनले कसरी नयाँ–नयाँ परिकारहरू विकास गर्थे होला ? कसरी नयाँ–नयाँ परिकारका नाम राखिए होला ?

कुरा ‘राजा’ को होइन, ‘पुगिसरी’ को हो । कथा वा इतिहासको राजा भनेको आफ्नो आवश्यकता, रहर वा चाहनाका लागि भएका स्रोत–साधनको निर्वाध प्रयोग गर्न सक्ने शक्तिशाली पात्र हो । उहिले राजा बाहेक कमैसित मात्र रोजीछाडीको सुविधा हुन्थ्यो ।

जससित जति धेरै पुगिसरी हुन्थ्यो, ऊ त्यति नै ठूलो राजा हुन्थ्यो । उहिले मात्र होइन, केही दशक अघिसम्म पनि सर्वसाधारणका सामुन्ने छनोटको स्वतन्त्रता ज्यादै कम थियो । गरीबगुरुवाको त कुरै भएन, ‘हुनेखाने’ कहलिएकाहरू पनि निकै कम स्रोतसाधनका भरमा जीवन बिताउँथे ।

यद्यपि मन लागेका खानेकुरा खान राजा नै हुनुपर्दैनथ्यो । सामूहिकताको बलका कारण पनि मानिसहरू शक्तिशाली हुन्थे र चाहेको खानेकुरा बनाएर खान्थे । गुठीका माध्यमबाट एकजुट भएर अत्यन्त स्वादिला खानेकुरा खाने नेवारहरू पनि खानपिनमा कुनै ‘राजा’ भन्दा कम थिएनन् ।

चयनको स्वतन्त्रता कम भए पनि पहिलेको समाजमा आफ्नोपन भने मनग्गे थियो । खानपिन र पहिरनमा बाहिरी प्रभाव विस्तारै आउने भएकाले तिनमा स्थानीयताको पनि प्रशस्त प्रभाव पर्थ्याे ।

एउटा उदाहरण, चामलको पीठोको रोटीभित्र चाकु आदि हालेर, बफ्याएर पकाइने महाराष्ट्रको मोदकको प्रभावमा काठमाडौंमा योंमरी बन्यो वा योंमरी खाएर उता गएकाहरूले मोदक बनाउन सिके – थाहा पनि हुँदैनथ्यो, खासै मतलब पनि हुँदैनथ्यो । समाजको गति सीमित भएकाले आफ्नोपनको विकास हुन प्रशस्त समय उपलब्ध हुन्थ्यो ।

सभ्यता र संस्कृतिको गति धिमा हुन्छ तर बजार घस्रिनमा विश्वास गर्दैन । बजारको धर्म नै हाम्फाल्नु, दौडिनु, फैलिनु र भेटेजति कुरा ढाक्नु हो । जोसित पैसा छ, उसलाई बजारले किन्ने शक्ति दिन्छ । बजारकै कारण हिजो राजा महाराजाहरूले गरे जस्तो सोख र मोज आज सर्वसाधारणले पनि गर्ने दिन आएको छ ।

बजारकै कारण हिजो गुठीका भोजमा मात्र पाक्ने खानेकुरा गुठी नै नबुझेकाले पनि खान पाउने समय आएको छ । आज केही हजार रुपैयाँ खर्चन सक्ने कुनै पनि व्यक्ति विश्वभरका खानेकुरा पाइने शानदार रेस्टुराँमा शानसित रोजेको खान पिउन सक्छ ।

हामी संसारभरका खानेकुराका बारेमा जान्ने र तिनको स्वादको परख गर्न सक्ने भएका छौं । तर अहिलेको प्रश्न हो, के हामी आफ्ना परिकारहरू बारे पनि त्यति नै चाख राख्छौं ? त्यति नै प्रेमका साथ खान सक्छौं त ? जे पनि खाइरहेका छौं, जानेरै खाइरहेका छौं त ?

ढिंडो खोज्ने र ढिंडो छाड्ने 

करीब दुई दशकअघिको एउटा प्रसङ्गले मलाई बारम्बार झक्झक्याइरहन्छ । त्यसवेला ‘ढिंडो’ भर्खरै शहरी मध्यमवर्गको फेशनको परिकार बन्दैथियो ।

खानपिनको विश्वव्यापी प्रवृत्ति हेर्दा देखिन्छ, पचास वर्षको अवधिमा मासुको प्रतिव्यक्ति खपत दोब्बर भएको छ (१९६१ मा २० किलोबाट, २०१४ मा ४३ किलो प्रतिव्यक्ति प्रति वर्ष) । पश्चिमी युरोपेली देशहरूमा मासुको खपत विश्वव्यापी सरदरको झण्डै दोब्बर छ ।

नेपाली खानेकुराको त्यसरी हुन थालेको उत्थानप्रति उत्साहित केही पत्रकार साथीहरू काठमाडौंको बाहिरीभागको एउटा रेस्टुरेन्टमा गयौं । गाडीका चालक थिए दोलखाका युवा । ‘आठ वटा ढिंडो सेट’ भनेर समूहका नाइकेले अर्डर गरेपछि ड्राइभरले भने, “ढिंडो होइन । म त भात नै खान्छु ।”

कुरा सामान्य थियो । तर एकजनाले सोधे, “तिमीलाई ढिंडो मन पर्दैन ?”

“ढिंडो त ढिंडो नखाई हुर्केकालाई पो मन पर्छ त सर ! किक्लिक् किक्लिक् गर्दै ढिंडो निलेर हुर्केका म जस्ता मान्छेका लागि यो पैसा तिरेर खाने कुरा होइन ।”

“होइन, म पनि ढिंडो खाएरै हुर्केको हुँ । तर नखाएको धेरै भयो र यहाँ आएको...” एक जना साथीले भने । चालक भाइले थप केही भनेनन् । हामी सबै आफूलाई मन पर्ने खानेकुरा खाएर फर्कियौं । तर मैले पछि उनीसित थप कुराकानी गरें ।

उनले बताए अनुसार त्यसवेलासम्मका उनका सबै प्रयत्न ‘ढिंडोबाट मुक्ति पाउने प्रयास’ मात्र थिए । उनी छोराछोरीलाई चामलको भात ख्वाएर हुर्काउन चाहन्थे, जस्तो खानेकुरा उनी सानो छँदा उनको गाउँका मुखियाका छोराछोरीले मात्र खान पाउँथे ।

त्यसदिन हामी ढिंडो खान जानुको आफ्नै महत्व थियो, तर ती भाइले ‘म ढिंडो खान्न’ भन्नु मेरा लागि चयनको स्वतन्त्रता मात्र थिएन, त्यहाँ शक्तिको सानो झिल्को पनि प्रवाहित भएको थियो । मेरा लागि त्यो सामाजिक लोकतन्त्रको अभ्यासको स्रोत पनि थियो । लाग्यो, मन नपरेको कुरा खान्न भन्न पाउनु मन परेको खानेकुरा खान पाउनुभन्दा महत्वपूर्ण कुरा हो ।

मान्छेको सम्पन्नता सबभन्दा पहिले खानपिनबाट झल्किन थाल्छ । सम्पन्नताले पहिलो चरणमा हिजो खान नपाएका खानेकुरा खाने र हिजो कर लागेर खाएका खानेकुरा छाड्ने सुविधा दिन्छ ।

खानपिनको विश्वव्यापी प्रवृत्ति हेर्दा देखिन्छ, पचास वर्षको अवधिमा मासुको प्रतिव्यक्ति खपत दोब्बर भएको छ (१९६१ मा २० किलोबाट, २०१४ मा ४३ किलो प्रतिव्यक्ति प्रति वर्ष) । पश्चिमी युरोपेली देशहरूमा मासुको खपत विश्वव्यापी सरदरको झण्डै दोब्बर छ ।

सबैभन्दा धनी मानिएका देश फिनल्याण्ड, स्विडेन, नेदरल्याण्डस् र स्विट्जरल्याण्ड आदिमा सबभन्दा बढी प्रतिव्यक्ति दूधको खपत हुन्छ । संसारमा सबैतिर जस्तै आम्दानी बढ्दै जाँदा नेपालमा पनि मासु र दुग्ध पदार्थको खपतमा उल्लेखनीय वृद्धि भएको छ ।

शक्ति वा सम्पन्नताले पहिलो चरणमा रोजेका खानेकुरा खाने सुविधा दिन्छ भने दोस्रो चरणमा अति उपभोगतिर ठेल्छ । अहिले संसारमा खान नपाएका कारण वा खानेकुरा नपुगेका कारण जति मानिस स्वास्थ्य समस्या भोगिरहेका छन्, त्यसभन्दा धेरै मान्छे अति उपभोगजन्य स्वास्थ्य समस्याबाट ग्रसित छन् ।

अहिले हामी भिजिट नेपाल २०२० को सँघारमा छौं । यो वर्ष हाम्रा लागि पर्यटकहरू भित्याउने वर्ष मात्र होइन, आफ्नोपन बेचेर विश्वबजारमा चिनिने मौका पनि हो । तर विश्वबजारमा तब मात्र चिनिइन्छ, जब हामी आफूले आफैंलाई चिन्छौं । जब हामीले आफ्नो स्वादको शक्ति चिन्छौं ।

बढ्दो सम्पन्नताले आफ्नो घरको आवश्यकता अनुसार, किनमेलको सूची हेरेर होइन, सुपरमार्केटका र्‍याकहरूमा सजाइएका चाहिए/नचाहिएका खानेकुरा घर लैजाने प्रेरणा दिन्छ ।

फटाफट थाइल्याण्डका फलफूल, नर्बेको माछा, अष्ट्रेलियाको मासु, अमेरिकाको अंगुर, फ्रान्सको वाइन, स्कटल्याण्डको ह्विस्की आदि किनेको देख्दा लाग्छ, आफ्नो किनमेलका कारण वातावरण र अर्थतन्त्रमा पर्ने असर बारे सोच्ने सम्पन्नहरूले होइन । 

बजारले एकातिर सर्वसाधारणलाई राजा महाराजाको हैसियत प्रदान गरेको छ, अर्कातिर हाम्रो स्वाद र सम्पन्नताको चेतनालाई पनि आफ्ना हिसाबले फन्फनी घुमाइदिएको छ । बजारले नाफा मात्र हेर्छ, आफ्नोपन, मौलिकता, खाँटीपन– चिन्दैन । ती कुराको महत्व हामीले नै चिन्नुपर्छ र तिनलाई बजारको बाढीबाट जोगाउनुपर्छ ।

आफ्नोपनको शक्ति

अहिलेको संसार स्रोत–साधन, सामग्री, सेवा, श्रम, सीप आदिको खुला बजार भएको छ । बजारमा जसले राम्रो मूल्यमा धेरै कुरा बेच्न सक्छ त्यो धनी हुन्छ र जसले धेरै बेच्न सक्दैन ऊ गरीब हुन्छ । अर्थतन्त्रको विश्वव्यापी नियम यही नै हो ।

हामी नेपालीहरू अहिले मूलतः श्रम र सीप बेचेर गुजारा चलाइरहेका छौं र बजारले हुर्काएका भरमा चाहिने नचाहिने कुरा किनेर आफ्नो घरआँगन भरिरहेका छौं, फोहोर पारिरहेका छौं । अहिलेसम्म हामीले बजारमा निकाल्न नसकेको कुरा हो, हाम्रो आफ्नोपन । ‘आफ्नोपन’ को शक्तिको पहिचान हामीले गर्न बाँकी नै छ भन्ने कुरा पटक–पटक अनुभव हुन्छ ।

आफ्नोपन भनेको आफ्नोपनप्रतिको प्रेम मात्र होइन, ज्ञान र तुलनात्मक रूपमा त्यसलाई अभिव्यक्त गर्ने सीप र कला पनि हो । हामी दिनमा धेरै पटक खाने काम गर्छौं, तर खाने कुराकै बारेमा अध्ययन, छलफल र विश्लेषण भने सम्भवतः सबभन्दा कम गर्छौं ।

अहिलेको विश्वग्राममा संसार चिन्नुपर्छ; संसारभरका खानेकुरा खानु–चाख्नुपर्छ, तर आफ्नोपन बिर्सिनुहुँदैन । आफ्नोपनप्रति गर्व मात्र होइन, कमाइखाने माध्यम पनि बनाउन सक्नुपर्छ ।

अहिले हामी भिजिट नेपाल २०२० को सँघारमा छौं । यो वर्ष हाम्रा लागि पर्यटकहरू भित्याउने वर्ष मात्र होइन, आफ्नोपन बेचेर विश्वबजारमा चिनिने मौका पनि हो । तर विश्वबजारमा तब मात्र चिनिइन्छ, जब हामी आफूले आफैंलाई चिन्छौं । जब हामीले आफ्नो स्वादको शक्ति चिन्छौं ।

सामाजिक सञ्जालको ब्यानरमा भिजिट नेपाल २०२० को लोगो टाँस्ने साथीहरूलाई एउटा आह्वान, ब्यानर त राम्रो छ । तर आफ्नोपन र आफ्नो स्वादको अभिलेखीकरणका लागि पनि केही गरौं । तपाईं केही गर्दै हुनुहुन्छ ?

प्रतिकृया दिनुहोस