कला/साहित्य शनिबार, भदौ १४, २०७६

मृत्युमा ‘महाभोज’

नुनुता राई

एकातिर विशुको लास लडिरहेको छ, अर्कातिर नेता भोजमा मस्त छन्। शासकहरूले आफ्नो स्वार्थका लागि सर्वसाधारणको जीवनलाई गोटी बनाउने गरेको विषय नाटकमा बुनिएको छ।

तस्वीरहरु : माेनिका देउपाला

प्रतिनिधिसभाको एउटा सीटका लागि घोषित उप–निर्वाचनको मुखैमा विश्वेश्वर उर्फ विशुको लास सीतापुरको पुलमुनि भेटिन्छ । शिक्षित र सचेत दलित युवा किसान, मजदूर र दलितको पक्षमा आवाज उठाउँथे । यहीबाट नाटक ‘महाभोज’ को कथा अगाडि बढ्छ ।

विशुको हत्या भएको छ । तर, उनको लासमाथि दलहरू राजनीति गर्छन् । पत्रकारहरू फाइदा उठाउनेतिर लाग्छन् । प्रहरी दलकै मतियार बन्छ । उनका साथी विनोद हत्यारालाई चिन्छन् । तर प्रहरीले षडयन्त्रपूर्वक विनोदलाई नै हत्यारा बनाउँछ । वास्तविक हत्यारालाई लुकाउँछ।

एकातिर विशुको लास लडिरहेको छ । अर्कातिर नेताहरू भोजमा मस्त छन् । शासकहरूले आफ्नो स्वार्थका लागि सर्वसाधारणको जीवनलाई गोटी बनाउने गरेको विषय नाटकमा देखाइएको छ । गरीब तर निर्दोष जनताको सुखको सपनालाई ‘मजाक’ बनाइएको घटना नै नाटकको विषय हो ।

भारतीय चर्चित लेखक मन्नु भंडारीको उपन्यास हो, महाभोज । सन् १९७९ मा लिखित यो उपन्यास भारतीय दलित युवाको हत्याबाट शुरु हुन्छ । त्यतिवेला त्यहाँ लोकसभा र विधानसभाको उपनिर्वाचन आइरहेको हुन्छ । तर, विशुको हत्या गराएर दलहरू लासमाथि नै राजनीति गर्छन् ।

उपन्यासको पहिलो अनुच्छेदमै लेखिएको छ, “बेवारिसे लासको गिद्ध नाच्दै–नाच्दै खाइरहेछ ।” गिद्धले नाच्दै सिनो खाएकोलाई मन्नुले भ्रष्ट नेताले विशुको हत्या गरेकोसँग तुलना गरेको समीक्षक पूजा मदानले उल्लेख गरेकी छन् । महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गरेकी थिइन् ।

भारतमा चर्चित यो नाटकको नेपाली अनुवाद भने कवि विप्लव प्रतीकले गरेका हुन् ।

करीब ४० वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजको यथार्थतासँग मिल्दोजुल्दो रहेको प्रतीक बताउँछन् । उनी भन्छन्, “यो नाटकमा ‘थ्री पी’ अर्थात् पोलिटिक्स, प्रेस र पुलिसमा भ्रष्ट सोच भएका व्यक्ति हुँदा समाजमा पार्ने असरलाई देखाउन खोजिएको छ ।”

नाटक अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । नाटकले नैतिकता सकिएका र अन्तरद्वन्द्वसँग जुधिरहेका सत्ताधारी, प्रतिपक्ष र कर्मचारीतन्त्रका अवसरवादी चरित्रमाथि पनि व्यङ्ग्य गरेको छ ।

“नाटकले सन्देश दिने मात्रै होइन स्थितिको सही चित्रण गर्नुपर्छ, जसले दर्शकको मनमा परिस्थितिको अनुभूति गराउनुको साथै प्रश्न र जिज्ञाशा उब्जाउन सक्नुपर्छ”, निर्देशक अनुप बराल भन्छन् ।

समग्रमा ‘महाभोज’ ले राजनीति, प्रहरी र मिडियाको चक्रव्यूहभित्र बन्दी बनाइएका जनता देखाउन खोजेको छ । “नाटक प्रायः चरित्रप्रधान या घटनाप्रधान हुने भए पनि ‘महाभोज’ विचारप्रधान छ”, बराल भन्छन् । यथार्थवादी कथालाई काव्यात्मक शैलीमा रङ्गमञ्चमा उतारिएको उनले बताए ।

नाटकको केन्द्रीय भूमिकामा कलाकार रमेश बुढाथोकी छन् । उनी राजनीतिकर्मी रमेशविक्रम भएका छन् । उनी भन्छन्, “मेरो भूमिकाले एउटा चतुर राजनीतिकर्मीले घटनालाई कसरी आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्छ भन्ने देखाउँछ । मैले चलाखीपूर्ण कथालाई ‘टर्न एन्ड ट्विस्ट’ गराएपछि महाभोज सकिन्छ ।”

नाटकमा इमानदार गर्भवती पुलिस इन्स्पेक्टरको भूमिकामा कलाकार सिर्जना सुब्बा सशक्त लाग्छिन् । गर्भवती हुनु असुरक्षित हुनु होइन भन्ने सन्देश दिन खोजिएको उनले बताइन् ।

नाटकमा कवि विप्लव प्रतीकको समसामयिक गीत पनि समावेश गरिएको छ । कलाकारहरूको सशक्त अभिनयले नाटक जीवन्त बनाएको छ । दयाहाङ राई, बुद्धि तामाङ, राजन खतिवडा, विप्लव प्रतीक, विजय बराल नाटकका प्रमुख कलाकारहरु हुन् । नाटक १७ असोजसम्म मञ्चन हुनेछ ।

 

प्रतिकृया दिनुहोस