‘मधेशीलाई इन्डियन मान्ने मानसिकता तोड्न पनि फिल्म बन्नुपर्छ’
‘हामीकहाँ मधेशीलाई भारतीय भन्दै हेपिन्छ। लवजलाई मजाकको विषय बनाइन्छ। त्यसरी खिसी गर्नेलाई यो गलत हो भनेर सजग गराउन हामीले यसबारे बोल्नुपर्छ, लेख्नुपर्छ, फिल्म बनाउनुपर्छ।’
फिल्म निर्माता, कास्टिङ निर्देशक, लेखक र अभिनेत्री हुन्, आशा मगराती। कागबेनी, हाइवे, सेतो सूर्य, फोर नाइट्स हुँदै उनले अभिनय गरेको पछिल्लो फिल्म राजागंज प्रदर्शनको सँघारमा छ। क्राइम थ्रिलर जनरामा बनेको राजागंज आशाकै श्रीमान् दीपक रौनियारले निर्देशन गरेका हुन्।
आशाका लागि यो फिल्म दुई कारणले विशेष छ। पहिलो कुरा त, यस फिल्ममा उनले पहिलो पटक शीर्ष भूमिकामा अभिनय गरेकी छन्। दोस्रो, फिल्म निर्माणकै क्रममा उनलाई क्यान्सर भयो। र, रोगलाई जितेर फिल्म पूरा गरिन्। यस फिल्मकी निर्माता र सहलेखक पनि रहेकी उनी फिल्मले क्यान्सरसँग लड्न आत्मबल दिएकाले यो आफ्नो सपनाको काम भएको बताउँछिन्।
राजागंजले संविधान निर्माणताका भएको मधेश आन्दोलनको पृष्ठभूमिमा भएको घटना र मधेशी समुदायको कथा भनेको छ। भेनिस, बुसान लगायत अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चर्चा बटुलिसकेको फिल्म आउँदो चैत १ गते हलहरूमा लाग्ने तय भएको छ। यसै फिल्मकी मुख्य कलाकार, निर्माता र लेखक मगरातीसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश :
पहाडी र मधेशीबीचको संघर्षमाथि क्राइम थ्रिलर फिल्म बनाउने सोच कसरी जन्मियो?
यसलाई पहाडी र मधेशीबीचको संघर्षको कथा भन्न चाहन्नँ म। मधेश आन्दोलनको पृष्ठभूमिमा दुई बच्चा अपहरणमा परेपछि सिर्जना भएको तनावको फिल्म हो यो। जहाँ मधेशी समुदायभित्रका सामाजिक समस्या पनि देखाइएका छन्। मधेश आन्दोलनले धेरै पछिसम्म पहाड र मधेशको बीचमा धेरै गलत बुझाइ फैलायो। दीपक (रौनियार) र म आफैं पनि भिन्न क्षेत्र र समुदायका हौं। दीपक मधेशी, म पहाडे भएँ, तर पछि हामी एक भयौं।
हामीलाई दुई समुदायबीचको तनाव थाहा थियो। हामीले एकअर्काको समाज र परिवार बुझेका थियौं, आफैंले पनि धेरै भोगेका थियौं। त्यसैले हामीले आफ्नो र समाजको कथा भन्न फिल्मको सहारा लियौं। त्यसैले यो फिल्म लेखनको प्रेरणा दीपक र मेरो विवाहलाई नै मान्छु।
यस फिल्ममा तपाईंले निर्वाह गरेको महिला पात्रलाई परिवारको जिम्मेवारी लिन अग्रसर भएको, प्रहरीमा जागीरे भएपछि पुरुष सहकर्मीसँग जुध्दै अगाडि बढेको बलियो रूपमा प्रस्तुत गरिएको छ। यो पात्रसँग तपाईंको जीवनको कथा कति जोडिन्छ?
यो फिल्मका कतिपय पात्रको कथा आफ्नै जीवनबाट प्रेरित भएर राखिएको हो। मूल पात्र छोरी र बुबाको सम्बन्ध मेरै जीवनको हो। तर यो कथा मेरो मात्र नभई धेरै महिलाको हो। हाम्रो समाजमा छोरा जन्मिएन भनेर छोरीलाई सन्तान नै नमान्ने प्रवृत्ति छ। फिल्मको पात्रलाई त्यस्तै अनुभूति गराइएको छ। त्यो कथा मेरो आफ्नै परिवारको हो। यही अनुभवले एउटा पात्रलाई जीवन दिन सकेकी हुँ। अर्को, महिला प्रहरीको पात्रलाई सशक्त देखाउनुको कारण यो पेशामा भएका महिलालाई सम्मान गर्न पनि हो।
पूजा पात्रलाई समाजप्रति उत्तरदायी, कर्तव्यनिष्ठ प्रहरी, विद्रोही, भावुक र सन्की, कुरीति तोड्ने र अन्यायको विरुद्ध बोल्ने सबै सबै विशेषण किन दिनुभयो?
दीपक र मेरो फिल्म बनाउने शैली अलि फरक छ। हामीलाई फिल्म बनाउन समय पनि धेरै लाग्छ। यो फिल्म बनाउन आठ वर्ष लाग्यो। निर्माणमा लामो समय लाग्ने भएर होला, हामीसँग धेरै कथा थुप्रिन्छन्। जब फिल्म बनाउँछौं, सबै कथा एकै पटक भन्न मन लागेर पनि यस्तो भएको हुन सक्छ। खासमा पूजा पात्रलाई मधेश लगिनुको कारण छ। आफ्नै वैवाहिक जीवनबाट प्रेरित भएर यो पात्र बनाएकी हुँ। जसरी मैले दीपकसँग विवाह गर्नुअघि मधेश बुझेकी थिएँ, विवाह गरेपछि त्यहाँको समाज देख्दा र जीवन बाँच्दा फरक लाग्यो।
पूजा पात्र पनि पहाडी जिल्लाबाट कामको सिलसिलामा मधेश पुगेकी छिन्। जहाँ उनले परम्परागत समाज, फरक रहनसहन र मानिसहरूसँग पौंठेजोरी खेलेकी छन्। परबाट बुझ्दा र त्यहीं पुगेपछि देखेभोगेको फरक अनुभूति मैले पूजा पात्र मार्फत पोखेकी हुँ।
.jpg)
मधेश आन्दोलनको विषयमा फिल्म लेख्दा साम्प्रदायिक पक्षमा कतै चोट पुग्ला कि भनेर कत्तिको सजग हुनुपर्यो?
हामीले यो फिल्म दंगा फैलाउन बनाएको होइन। हामीले त मधेश आन्दोलनको पृष्ठभूमि मात्र समेटेका हौं। फेरि मैले पहाडे भएर मधेशको कथा लेखेको हैन। दीपक आफैं मधेशी समुदायको भएकाले उसले देखेका, भोगेका कुरा पनि लेखेको हो। दीपक र म मिलेर कथा लेखेका हौं। हामी दुवैका अनुभव, समाजका घटना केलाएर लेख्यौं। फिल्मका पात्रले बोल्ने संवाद पनि टोलसमाजमा बोलेकै वा सुनेकै कुरा स्क्रिप्टमा समेटिएको हो। मेरो माइती पहाडे समुदायको हुनुहुन्छ, उहाँहरूले कुराकानी गर्दागर्दै ‘ए त्यो धोतीहरूले...’ भन्नुहुन्छ। दीपक त्यहीं हुँदा पनि मधेशमा जन्मेहुर्केको उसलाई त्यस्तो शब्दले कति असर पर्ला भनेर उहाँहरू सोच्नुहुन्न, ‘त्यो धोती चोर’ भन्नुहुन्छ। यस्तो भन्न हुन्न भनेर सम्झाउँदा पनि अर्कै माहोल हुन्छ। त्यसैले दिनप्रतिदिन आफ्नै घरमा हुने घटना लेखेका हौं। तर, यो विषय संवेदनशील भएकाले सजग त हुनै पर्छ। कुन कुरा देखाउने कुन नदेखाउने भनेरै लेखिएको छ।
तर मलाई हाम्रो समाजको समस्यालाई ढाकछोप गर्नुभन्दा त्यस विरुद्ध कुरा गर्नु ठीक लाग्छ। काठमाडौंकै नेवारको उच्चारणबारे मान्छेहरू खिसी गर्छन्। मधेशीको लवजलाई पनि अन्य समुदायले खिसी गरिरहेका हुन्छन्। तर यो खिसीको विषय होइन भनेर सजग गराउन यही कुरा उठाउनुपर्छ। त्यसका लागि यस्तो फिल्म लेखिनुपर्छ। यस्तो कुरा गर्दा समाजमा झगडा होला कि भनेर चूप बस्यो भने यस्तो प्रवृत्ति झन् बढ्छ।
यी सबै भोगाइले मधेशीलाई नेपाली भएर बाँच्न कति कठिन भएको पाउनुहुन्छ?
अहिले त मधेश धेरै बदलिएको छ। पढेलेखेका जनसंख्या बढ्दै छ। तर पढेका मान्छे पनि अर्को ठाँउमा जाँदा अनेक हेला खेप्नुपर्छ। मधेशीहरूलाई नेपालभित्रै कति कठिन छ भनेर मैले आफ्नै घरबाट बुझेकी छु। मेरो श्रीमान् दीपकले पनि धेरै अवहेलना सहेको छ। हामीले फिल्मका लागि अडिशन लिंदा कतिले उसलाई ‘तपाईं इन्डियाको हो?’ भनेर सोध्छन्। कतिले उसले नेपालीमा बोलेको सुनेर ‘यो धोतीको नेपाली कस्तो राम्रो रहेछ, कहाँबाट सिकेछ’ भनेर उडाउँछन्। शायद जानीबुझी वा अन्जानमा यस्तो बोलिएको होला। तर मजाक पनि अरूलाई नबिझाउने हदसम्म मात्र गरिनुपर्छ। त्यसैले उनीहरूलाई सजग गराउन हामीले यसबारे बोल्नुपर्छ, लेख्नुपर्छ, फिल्म बनाउनुपर्छ।
पछिल्लो समय नेपाली फिल्मले समुदायको कथा टिप्न थालेको छ। यसबारे कति उत्साहित हुनुहुन्छ?
बल्ल हामीले हाम्रो आवाज राख्ने ठाउँ पाएका छौं। विभिन्न समुदाय, भूगोल, संस्कृतिको कथा आउन आवश्यक छ। फिल्ममा फरक समुदायका कथा आउँदा पाँचथरको संस्कार पश्चिमका मानिसले बुझ्न पाएका छन्। मुगुको कथा पूर्वले हेर्न पाएको छ। सामाजिक रूपमा एकअर्कालाई जान्नेबुझ्ने अवसर हो यो। विभिन्न समुदायबाट फिल्ममेकरहरू आइरहनुभएको छ, र उहाँहरू आफ्नो अनुभव सहितको फिल्म बनाउँदै हुनुहुन्छ। यो क्रम अझै बढ्दै जानुपर्छ।
.jpg)
सामाजिक विषयमा बनेका फिल्महरूले नायक र नायिकाको नापनक्शा सम्बन्धी परम्परागत मानक पनि तोडिदिएका छन् नि!
हो। मैले २०४९ सालदेखि नाट्यशालाबाट काम गर्न थालेपछि पहिलो पटक राजागंजमा मुख्य भूमिकामा काम गर्न पाएकी हुँ। हामी आफैंले बनाएको फिल्म भएर पनि मैले मौका पाएको हुन सक्छ। नत्र अझै कतिपयले मुख्य भूमिकामा लिन हिचकिचाउँछन्। हामी हिन्दी फिल्म हेरेर हुर्किएका पुस्ताका हौं।
त्यसले गर्दा नायक र नायिका भनेको यस्तो हुनुपर्छ भन्ने मानक बनिदियो। तर अहिले दयाहाङ राई, विजय बराल, पशुपति राई जस्ता कलाकारले मुख्य भूमिकामा आफूलाई सावित गरेर त्यस्ता मानक तोडिदिएका छन्। अभिनय क्षमता नै सबैभन्दा ठूलो कुरा हो भन्ने पनि स्थापित भएको छ। यसरी नै गौमाया गुरुङ, सिर्जना सुब्बा लगायत धेरै कलाकारले आफ्नो स्थान बनाइरहनुभएको छ।
फिल्म छनोट गर्दा तपाईं के के कुरामा ध्यान दिनुहुन्छ?
पहिलो कुरा कथा नै हो। त्यसपछि म त्यो पात्रमा आफूलाई ढाल्न सक्ने भूमिका छ कि छैन भनेर हेर्छु। साथै, कथामा आफूलाई दिइएको पात्रको महत्त्व कस्तो छ हेर्छु। भूमिका सानो होस्, तर सशक्त हुनुपर्यो भन्ने लाग्छ। महत्त्वपूर्ण कुरा, पात्रले कथालाई बोकेको हुनुपर्यो। मुख्य चरित्र भए पनि अनुहार मात्र देखाउने खालको छ भने गर्दिनँ।
तपाईं प्रायः आर्ट फिल्म खेल्नुहुन्छ, तर त्यस्तो फिल्म हेर्न नेपाली दर्शक हलमा जाँदैनन्। यसको कारण के हो जस्तो लाग्छ?
नेपालीहरूको फिल्म हेर्ने संस्कार नभएर यस्तो भएको हो। हामी कला, साहित्यतिर लाग्नु समय खेर फाल्नु हो, गलत बाटो हो भन्ने चेतबाट हुर्किएका पुस्ता हौं। हामी सानो छँदा फिल्म हेर्न लुकेर, भागेर जानुपर्थ्यो। विद्यालयका कोर्सबूक बाहिरका किताब पढ्ने, नाटक, गायन, नृत्य लगायत अतिरिक्त क्रियाकलाप प्राथमिकतामा पर्दैनथ्यो। अहिले मात्र विदेशी फिल्म, वृत्तचित्र हेर्ने संस्कार बसेको छ। त्यसैले हामीले जति धेरै बाहिरी कुरा हेर्न, सिक्न पाउँछौं, फिल्म पनि त्यसै अनुसार हेरिने रहेछ, बन्ने रहेछ। बिस्तारै डिजिटल युगले गर्दा सबै किसिममा फिल्ममा पहुँच बढेको छ। त्यसैले आर्ट फिल्म हेर्ने र बनाउनेको संख्या पनि बढ्छ भन्ने लाग्छ।
तपाईंहरू धेरै फिल्ममा स्थानीय कलाकारलाई लिने गर्नुहुन्छ। मौलिकताका लागि हो वा अन्य कारण छ?
स्थानीय कलाकारमा मौलिकता हुन्छ। जुन समाजबाट उनीहरू आएका हुन्छन्, त्यो समाजको कथा भन्नुपर्दा उनीहरू खरो उत्रिएको पाएका छौं। अझ हामी गैरअभिनेता/अभिनेत्रीसँग पनि काम गर्छौं। उनीहरूसँग काम गर्न कठिनाइ त हुन्छ, तर दीपक र म पहिला हाम्रो कथाको पात्रता स्थापित गराउन सक्दो कोशिश गर्छौं। त्यो कोशिश राम्रो पनि हुन्छ।
तपाईंहरूले बनाएका फिल्म अन्तर्राष्ट्रिय स्तरमा पुग्ने गरेका छन्। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसम्म कसरी पुग्ने रहेछ?
पहिलो कुरा, कथाको छनोट रहेछ। फिल्म महोत्सवहरूमा आर्ट फिल्म बढी रुचाइन्छ। तर त्यसो भन्दैमा सबै आर्ट फिल्म राम्रा हुन्छन् भन्ने होइन। त्यहाँ पनि संसारभरिका हजारौं फिल्ममा प्रतिस्पर्धा गरेर १५/२० वटा मात्र छानिने हुन्। त्यस क्रममा कथा, अभिनय, पृष्ठभूमि संगीत, सन्देश र कन्टेन्ट सबै आधारमा मूल्यांकन गरिन्छ।
समसामयिक विषयवस्तुमा फिल्म बनेको छ भने पनि अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुग्न सक्ने अवसर धेरै हुने रहेछ। हामी आर्ट फिल्म भन्ने बित्तिकै विदेशीहरूका लागि बनाएको फिल्म भन्छौं। तर त्यसमा नेपाली समाजकै कथा हुन्छ भन्ने भुल्छौं। खासमा हाम्रै वरिपरिको कथा वाचन गर्दा प्राकृतिक र मौलिक देखिने रहेछ। त्यसैले विदेशीका फिल्मभन्दा हाम्रा फिल्म मौलिक देखिन्छन् र उनीहरूले पनि रुचाउँछन्।
.jpg)
राजागंजमा काम गरेपछि मधेशका अरू कस्ता कथा भन्न बाँकी रहेछ भन्ने लागेको छ?
खासमा कथा मधेशमा मात्र नभएर पहाड, हिमालमा पनि धेरै छन्। तर मधेशको कथा मधेशकै मानिसले भनून्, उनीहरूले भन्दा अझै बढी न्याय गर्न सक्छन् भन्ने लाग्छ। हामी बाहिरी समाजबाट गएकाहरूले भन्दा त्यही भोगेका व्यक्तिले बनाए भने फिल्म बलियो हुन्छ। जसरी दीपक आफैंले भोगेका घटना देखाउन उसलाई जति सहज भयो, त्यति अर्कोलाई नहुन सक्छ। तर मधेशको कथा भन्दा मधेशीलाई भारतीय भनेर जुन दर्जा दिइन्छ, त्यस्तो मान्यता र बुझाइ चिर्न अझै धेरै फिल्म बन्नुपर्छ भन्ने मलाई लाग्छ।
फिल्मको ट्रेलरमा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेको दृश्य देखाउँदै मधेशमा भएको अपराधको घटनामा उक्त भाषण पनि सहयोगी भएको संवाद छ, जुन विवादित बनेको छ। फिल्ममा प्रधानमन्त्री ओलीको भाषण र यस सम्बन्धी सन्दर्भलाई कसरी प्रस्तुत गरिएको छ?
नेपाली मिडियाले यस विषयमा बढाइचढाइ गरेर लेखेका हुन्। त्यसलाई प्रेमिल तरीकाले हेरियो भने फरक विषय देखिन्छ। किनभने फिल्ममा केपी ओलीको भाषण राखेर उहाँको कार्यकालमा देखाउने कुनै योजना थिएन। यो भाषणको अंश सन् २०१५ को हो। फेरि, उहाँको भाषणले मधेशमा आन्दोलन चर्काएको भन्ने भाष्य गलत छ। फिल्ममा बच्चा अपहरणको घटनामा ओलीको भाषाप्रति आशंका गरिएको मात्र छ।
आठ वर्षको निर्माणपछि अहिले फिल्म प्रदर्शन हुने वेला संयोगले ओली नै प्रधानमन्त्री हुनुहुन्छ। उहाँलाई यसले असर गरोस् भन्ने नियत होइन। तर मिडियाहरूले यो फिल्मले विध्वंस नै गर्छ भने जसरी यसलाई ‘हट केक’ बनाइदिए। यो यति सानो विषय हो कि यही कुरा अन्य देशमा भएको भए सहज रूपमा लिइन्थ्यो होला, तर यहाँ जटिल बनाइयो। हामीले त अरू विवादतिर जान नभई मधेश जोड्न यो फिल्म बनाएका हौं। अर्को कुरा, कला कहिल्यै राजनीतिसँग जोडिंदैन।
यो फिल्म बनाउने क्रममै तपाईंलाई क्यान्सर भयो। उपचार चलिरहँदै फिल्म पनि खेल्नुभयो। रोगसँग लड्दै चलचित्रमा काम गर्दाको अनुभव सुनाइदिनुस् न।
मैले निर्वाह गरेको पात्र पूजाको निर्माण आफैंले लेखेको पनि हो। यस पात्रलाई समाजले हेर्नुपर्छ, देख्नुपर्छ, बुझ्नुपर्छ भन्ने लाग्थ्यो। त्यसमाथि आफ्नो जीवनको पनि कथा। यो मेरो सपनाको काम थियो। त्यसैले उपचार चल्दै गर्दा मर्छु भन्ने लागेन, ठीक भएर यो काम पूरा गर्छु भन्ने नै लागिरह्यो।
आफूलाई बिरामी ठानिनँ, सामान्य रूपमा लिएँ। त्यो नै मेरो बलियो पक्ष रहेछ। तर यस भूमिकामा काम गर्दा स्वास्थ्यको कारणले धेरै गाह्रो भयो। शरीरमा उतारचढाव भइरहेको थियो। तर सँगसँगै अभिनयको भूत चढिरहेको थियो। मनमा अहिले पनि लाग्ने कुरा चाहिं, क्यान्सर नलागेको भए म अझै आफ्नो शरीर र मानसिकता बलियो बनाएर काम गर्थें। अभ्यासका लागि पर्याप्त समय भएन, शरीर अझै बनाउँछु, भाषामा अझै काम गर्छु भन्ने लागेको थियो। सकेसम्म त गरें, तर सन्तुष्ट भइनँ। हुन त कलाकारले आफ्नो काममा सन्तोष मानेर बस्नु हुँदैन भन्छन्। मलाई पनि त्यस्तै भएको पो हो कि!