तिरुपति बालाजीको दर्शन गर्न खोज्दा हामीले नमीठो व्यवहार भोग्नुपर्यो। यसको कारणबारे छलफल गर्दा हाम्रो निष्कर्ष थियो- नेपाल र भारतका सरकार दुई देशबीचको विशेष सम्बन्धबारे तलसम्म बुझाउन चुकेकै हुन्।
रूपा जोशी
हालै हाम्रो ११ जना साथीभाइको टोली दक्षिण भारतका तीर्थ तथा अन्य स्थलको भ्रमणमा गएको थियो। कोही धर्म कमाउन, कोही नयाँ ठाउँको भ्रमणमा उत्सुक थियौं। धेरै कुरा देखियो, भोगियो अनि सिकियो।
आजकल काठमाडौंबाट भारत जाँदा भद्रपुर हुँदै बागडोग्राबाट उड्न सस्तो र पायक पर्ने हुनाले हामी पनि त्यतैबाट चेन्नईतर्फ उड्यौं। फर्किने वेला कोचीबाट मुम्बई ट्रान्जिट हुँदै नेपाल आयौं। चेन्नईबाट मदुराईसम्म रेलयात्रा गरे बाहेक अन्त सबै ठाउँ हामी भ्यानबाटै पुग्यौं।
चेन्नई, तिरुपति, मदुराई, रामेश्वरम, कन्याकुमारी, तिरुवन्तपुरम, वारकला र अलेप्पी हुँदै कोचीमा यात्रा टुंगिएको थियो। हाम्रो भ्रमण हतारमा नै भएको थियो। एउटा तीतो अनुभव बाहेक सबैतिर धेरै मीठोसित बित्यो यात्रा।
तिरुमालामा सिकेको पाठ
तिरुमालामा तिरुपति बालाजीको दर्शन गर्न हामी सबै उत्सुक थियौं। मन्दिरमा लाइन बस्दा समय धेरै लाग्छ भन्ने सुनेका थियौं। त्यसैले भारु ३०० तिरेर अनलाइनमा टिकट किन्न खोज्यौं, तर मिल्दो रहेनछ। भारतीयले मात्र अनलाइन टिकट काट्न पाउने रहेछन्। गैरआवासीय भारतीय (एनआरआई) ले पनि राहदानी देखाएर मन्दिरमा टिकट लिन पाउँदा रहेछन्। हामी पनि त्यही गर्ने सोच बनाएर चेन्नईबाट गाडीमा चार घण्टा लगाएर तिरुपति पुग्यौं।
तिरुमालातिर माथि लाग्दा बाटामा ढकमक्क बेगमबेली फूल।
डाँडामाथिको मन्दिर पुग्न तल तिरुपतिको द्वारबाट छिर्न गाडीको ताँतीमा कुर्यौं। त्यहाँ सबै यात्रु उत्रेर आफू र गाडीको पूरा सुरक्षा जाँच गराएपछि मात्र उकाली लाग्न मिल्दो रहेछ। हामीलाई त्यहाँबाट उम्कन आधा घण्टा लाग्यो।
माथि जाने र तल ओर्लने यात्रा साह्रै रमणीय रहेछ। नागबेली बाटो, छेउछेउमा बेगमबेली फूल ढकमक्क फुलेको। चट्टान नभएका ठाउँमा हरियो वनले ढाकेको पहाडमाझ बिस्तारै उकाली चढ्यौं। ओर्लने वेला बाटोबाट तिरुपति शहरको मजाको दृश्य देख्न पाइँदो रहेछ। बाटाको छेउछाउमा भक्तजनले वर माग्न ससाना ढुंगा खप्टेर राखेको देख्यौं। माथि पुग्दा मन्दिर मात्र होला ठानेको त मजाको बस्ती नै रहेछ। अनि बीचमा अन्तभन्दा अलि सानै गोपुर (मन्दिरको कलात्मक द्वार) र नजीकै श्री वेंकटेश्वरको मन्दिरको सुनौलो गजुर देख्यौं।
तिरुमालाको सुनौलो गजुर भएको मन्दिर।
त्यति वेलासम्म हाम्रो मन शान्त र प्रफुल्लित नै थियो। टिकट लिने वेला भने हामीले माथि उक्लिने वेला मानेको आनन्द र खुशी विलीन भयो।
हामी सोध्दै सोध्दै एनआरआई र विदेशीहरूले टिकट लिने ठाउँमा पुग्यौं। फारम भर्यौं, फोन लकरमा राख्यौं र लाइन लाग्ने मेसो मिलाउँदै थियौं। त्यहाँको हाकिमले चाहिं हाम्रा राहदानीमा भिसाको छाप धुइँधुइँती खोज्न थाल्यो। ‘हामी नेपाली हौं, भिसा चाहिंदैन, जस्तै भारतीयलाई पनि नेपाल छिर्न भिसा चाहिंदैन’ भनेर सम्झाउन खोज्यौं। तर पटक्कै सुनेन, बुझ्नै खोजेन।
मन्दिर पुग्नुअघि बालाजीको मूर्ति सहित साजसज्जा।
घरी ‘भिसाको छाप खोइ?’ भन्छ, घरी ‘तिमीहरू भारत छिरेको टिकट खोइ?’ भन्छ। फोनमा टिकट देखाउन सक्थ्यौं, तर सबै फोन लकरमा कैद भइसकेका थिए। सम्झाउन खोज्यौं, मनाउन खोज्यौं, फकाउन पनि खोज्यौं। तर उल्टै ठूलो हल नै थर्किने गरी चर्को आवाजमा हामीलाई हप्कायो। हाम्रो कुरै सुन्न चाहेन, आफ्नै कुराले पेल्न खोज्यो। र, केसम्म भन्यो भने, “हाम्रा लागि एनआरआई मात्र विशेष व्यक्ति हुन्!”
आफूहरूलाई ज्यादै हेपिएको, अपमान गरेको अनुभव गर्यौं। भगवान्को पावनस्थलमा कस्तो अभद्र स्वभाव प्रदर्शन गरेको भनेर हामी सबैलाई घृणा लाग्यो, र श्रद्धामा ठेस लाग्यो। पैसाको फन्दामा धर्म जेलिएको अनुभव गर्यौं। मनमा खल्लोपना र तिक्तता बोक्दै हामी त्यहाँबाट निस्क्यौं। श्री वेंकटेश्वरको मन्दिर परिक्रमा गर्यौं, टाढैबाट गजुरको र वरिपरिका अरू ससाना मन्दिरको दर्शन गर्यौं। हामीमध्ये एक-दुई जना भने आफूहरूलाई परेको अन्यायको बिलौना गरेर प्रसादको लड्डु किन्न सफल भयौं।
तिरुपति शहर।
आफूलाई भारतीय सरह मानेर सर्वसाधारणकै लाइनमा आठ-दश घण्टा कुरेर हामीले दर्शन गर्न मिल्थ्यो। तर समयले कसिएको भ्रमणमा त्यसो गर्न पनि सम्भव थिएन। चेन्नई फर्किने क्रममा किन यसो भएको होला भनेर छलफल गर्दा हाम्रो निष्कर्ष थियो- एउटा रुखो व्यक्तिको अभद्र व्यवहार हुनुको पछाडि नेपाल र भारतका सरकार दुई देशबीचको विशेष सम्बन्धबारे तलसम्म पाठ सिकाउन चाहिं चुकेकै हुन्।
त्यहाँपछि हामी अरू तीर्थस्थल पुग्यौं, तर अन्त कतै यस्तो हेलाहोचो र मानसिक सास्ती खेप्नु परेन।
रामेश्वरम मन्दिरको लामो कलात्मक कोरिडोर।
धनुषकोडीमा सीतालाई सम्झँदा
समुद्र तटको रामेश्वरम मन्दिरमा हाम्रो अनुभव साह्रै आनन्ददायी रह्यो। रामनाथस्वामी (शिव)को मन्दिरमा दर्शन गर्नुअघि मन्दिर परिसरमा रहेका २२ कुण्डमा स्नान गर्ने वेला हामीलाई पण्डितले बाल्टिनमा पानी खत्याउने भन्दा बढी पानी आकाशबाट एक्कासि वर्षियो! कस्तो अचम्म! कस्तो रमाइलो! कस्तो शुभ साइत!
मन्दिरभित्रको कलाकारिता पनि कस्तो अद्भुत! हात्ती छिर्न मिल्ने अग्ला पारण (कोरिडोर) र तिनलाई अड्याउने ३० हात अग्ला विभिन्न आकार कुँदिएका ढुंगाका लहरै खम्बाहरू! मन्दिरमा श्रीरामले बनाएका र हनुमान्ले कैलाशबाट ल्याएका दुई शिवलिंग रहेछन्। पण्डितले हामीलाई लाइनमा बस्दा दायाँबायाँ नहेर्नू, केवल ती दुई शिवलिंगमा ध्यान केन्द्रित गर्नू भनेर सल्लाह दिएका थिए। हुन पनि त्यो द्वारमा पुग्दा त राम्ररी नियाल्नै नपाई ‘आगे! आगे!’ भनेको टेर्दै छेउ लागिंदो रहेछ!
धनुषकोडीबाट १५ माइल पर श्रीलंका पर्छ।
त्यस मन्दिरभन्दा पूर्व पर्ने धनुषकोडीबाट श्रीलंका केवल १५ माइलको दूरीमा पर्ने रहेछ। सन् १९६४ को समुद्री आँधीले रेल र पूरै बस्ती डुबानमा परेपछि धनुषकोडी भुताहा बस्ती बनेको रहेछ। टापुको छेवैबाट दूरबिनले लंकातिरको जमीन हेर्न मानिसको भीड थियो। समुद्र किनारमा गएर विना दूरबिन पूर्वी दिशा नियालें। देख्न त पानी बाहेक केही देखिनँ, तर सम्झिएँ- रावणले हरण गरेर पारी थुनिएकी थिइन् जनकपुत्री सीता! बरै!
मीनाक्षीअम्मनको मन्दिर
मदुराईस्थित मीनाक्षीअम्मन (पार्वतीको एक रूप)को मन्दिरको बयान धेरैले गरेका थिए। त्यहाँको गोपुरम (अग्ला कलात्मक द्वार)मा कुँदिएका पुराणमा आधारित हजारौं मूर्ति नियाल्न धेरै मन थियो। तर सबै गोपुरमको मर्मत, रङरोगन हुँदै रहेछ, घपलक्क हरियो जालीको घुम्टोभित्र लुकेका थिए। यहाँ मीनाक्षीका साथसाथै सुन्दरेश्वर (शिवको एउटा रूप)को पनि मन्दिर छ, तर अन्यत्रभन्दा फरक यहाँ मीनाक्षीको दर्शनकै महत्त्व रहेछ।
होटलको झ्यालबाट देखिएको गोपुरम। मीनाक्षी मन्दिरभित्र पनि क्यामेरा निषेध छ।
मन्दिरका विशाल खम्बाहरूमा अचम्मको जन्तु कुँदिएका थिए। कता कता सिंहले हात्ती निलेको जस्तै देखिने। खोजीनिती गर्दा त्यो मन्दिरको रक्षा गर्ने मिथिकल जन्तु ‘यली’ को चित्रण रहेछ। यो आधा सिंह र आधा हात्ती मदुराई बाहेक दक्षिण भारतका अरू मन्दिरका खम्बामा पनि देख्यौं।
जटायु अर्थ सेन्टरमा पनि सीताजीको सम्झना
केरलाको कोल्लममा विशाल चट्टानमाथि एउटा पखेटा काटिएको, नंग्राहरू दुखाइले खुम्चिएको, मुख बाएको, त्रस्त आँखा भएको, घायल जटायुको ७० फीट अग्लो, २०० फीट लामो मूर्ति छ। त्यहाँ माथि पुग्न सिंढी बाहेक केबलकार पनि छ। रावणले सीतालाई हरेर पुष्पक विमानमा लंकातिर लैजाने क्रममा जटायुले सीताको रक्षार्थ रावणलाई आक्रमण गर्न खोज्दा रावणले उसको एउटा पखेटा काटिदिएका थिए।
केरलाको कोल्लममा विशाल चट्टानमाथि जटायुको पछाडिबाट देखिने पखेटा। एउटा पखेटा काटिएको छ।
जटायु अनि त्यही चट्टानमाथि खसेर आफ्नो चुच्चोले पानी जम्मा गर्न दुलो खनेर श्रीरामको प्रतीक्षामा थिए रे! आखिरमा उनले श्रीरामलाई सबै कुरा बताएर मात्र प्राण त्यागे रे! जटायुले सीता, एक महिला, को रक्षा गर्दा ज्यान गुमाउनुपरेकाले त्यो विशाल मूर्ति महिलाको रक्षा र सम्मानमा समर्पित गरिएको रहेछ।
तिरुवन्तपुरममा पनि नेपाली साइनो
तिरुवन्तपुरम (त्रिभान्ड्रम) स्थित श्रीपद्मनाभमस्वामी मन्दिर संसारकै सबैभन्दा धनी मन्दिर मानिंदो रहेछ। यहाँ सुरक्षा प्रदान गर्न सेना नै खटिएका रहेछन्। त्यहाँ लाइनमा कुर्दा सबै संयमित देखिन्थे, तर गर्भगृहमा श्री विष्णुको दर्शन गर्ने वेला त यति ठेलमठेल हुने रहेछ, कसैले पनि नागमा विराजमान भगवान्को मूर्ति राम्ररी हेर्न नभ्याउने।
पद्मनाभमस्वामी मन्दिर छिर्ने मुख्यद्वारमाथिको गोपुरम। तस्वीर: मुकेश
हामीमध्ये कसैले भगवान्को यसो तल झरेको दाहिने बाहु देख्यौं, कसैले मुकुट मात्र, कसैले मुहार मात्र। मन्दिरमा लेखिए अनुसार विष्णुको त्यो विशाल मूर्ति ‘कतुसारकारयोगम्’ विधिले विभिन्न वस्तुको मिश्रणले बनेको हो, जसमा कालीगण्डकीबाट लगिएका १२ हजार आठ वटा शालिग्राम पनि समावेश छन्! अनि त केरलामा पनि नेपालको सानो अंश भेट्यौं।
साँझपख पझावंगडीस्थित गणेश मन्दिरको दृश्य।
मन्दिरको मूलगृह पगोडावाला छाना भएको काठले बनेको रहेछ, नेपालको मन्दिरको झल्को आउने। त्यहीं नजीकको पझावंगडी गणपति मन्दिरमाथि ठड्याइएको छानोमा पनि पगोडाको छनक देखिने रहेछ। यी दुवै मन्दिरमा दर्शन गर्न पुरुषहरूले धोती नै लगाउनुपर्ने रहेछ। अझ श्रीपद्मनाभमस्वामी मन्दिरमा त माथितिर कुनै वस्त्र लगाउन नपाइने रहेछ। हामी गएका अरू मन्दिरमा महिला-पुरुष दुवैलाई भारतीय पहिरन- कुर्ता, लुंगी, धोती लगाउनु भन्दा रहेछन्।
समुद्रको नजीकै तिरुपति भेट्दा
तिरुमालामा हाम्रो तीतो अनुभव सुनेका चालक भाइले कन्याकुमारीमा ६ वर्षअघि बनेको तिरुपति बालाजीको मन्दिरतिर गाडी मोडे। आकाशमा लाली चढेको साँझको वेला समुद्रको छालको आवाजको माझ अति सुन्दर मन्दिर भेट्यौं। अनि मन अघाउने गरी श्री वेंकटेश्वरको दर्शन गर्न पायौं।
कन्याकुमारीको तिरुपति बालाजी मन्दिर।
भगवान्को मूर्ति अगाडि हामी बाहेक दुई-चार जना मात्र थिए। पण्डितले हरेकलाई नाम सोध्दै हरेकको टाउकामा चाँदीको बटुको जस्तो राख्दै हाम्रो प्रार्थना भगवान् समक्ष चढाइदिनुभयो। मन नै आनन्दित भयो।
मन्दिर परिसरबाट भारतको दक्षिणी टुप्पो र सागरको लहरलाई हेर्दै बस्दा हाम्रो मनमा शान्तिको छाल आयो। मानौं तिरुमालामा उब्जेका हाम्रा उग्र भावना तिनै छालसितै हिन्द महासागरमा सेलायौं हामीले!
कन्याकुमारीको तिरुपति बालाजी मन्दिरअघि भ्रमण टोली। तस्वीर: वीना पन्त