पर्यटक नबढ्दा पनि किन थपिंदै छन् विलासी होटल?
पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभए पनि देशभर धमाधम थपिंदै गएका होटलमा भइरहेको लगानी दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जानकारहरूले चेतावनी दिएका छन्।
काठमाडौंमा पछिल्लो ६ महीनामा ठूलो लगानीका पाँच वटा पाँचतारे होटल सञ्चालनमा आए। नक्सालमा हिल्टन, बूढानीलकण्ठमा होलिडे इन र लेमन ट्री प्रिमियर, धुम्बाराहीमा मर्क्योर र ग्वार्कोमा म्यासिफ होटलले सेवा दिन शुरू गरेका छन्। यीसँगै काठमाडौंमा उच्च खर्च गर्ने पर्यटक लक्षित पाँचतारे होटलको संख्या डेढ दर्जन नाघेको छ।
पर्यटन आगमन बढेर व्यवसाय विस्तार हुने अपेक्षा सहित प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डको साझेदारीमा यी होटल खोलिएका हुन्। अर्थात् यी होटलको व्यवस्थापन विदेशी ब्रान्डले सम्हालेका छन्। अर्बौं रुपैयाँको लगानी छ।
पछिल्लो समय खुलेका धेरैजसो होटल विदेशी ब्रान्डमा सञ्चालित छन्। अन्तर्राष्ट्रिय बान्ड बनेका हिल्टन, मेरियट, ताज, अलफ्ट, हायात, होलिडे इन, मर्क्योर, रमदा, दुसित थानी जस्ता होटलले नेपाली होटलको व्यवस्थापन सम्हालिरहेका छन्। प्रसिद्ध अमेरिकी होटल ब्रान्ड मेरियटले एमएस समूहद्वारा काठमाडौंको नागपोखरीमा निर्मित पाँचतारे मेरियट होटल र ठमेलको फेयरफिल्डलाई सञ्चालन गरिरहेको छ।
शंकर समूहले नक्सालमा निर्माण गरेको हिल्टन होटलको व्यवस्थापन हिल्टन ब्रान्डले सम्हालेको छ भने सोल्टीमोडमा गोल्यान समूहले सञ्चालनमा ल्याएको हायात प्यालेस होटलको व्यवस्थापन हायातले हेरिरहेको छ। धुम्बाराहीमा जीवा लामिछाने सहितको लगानीको अकमा होटलमा अहिले विख्यात ब्रान्ड रमडा भित्रिएको छ।
त्यस्तै, भारतको होटल ब्रान्ड भिभान्ताले ललितपुरको झम्सिखेलमा चौधरी समूहले सञ्चालनमा ल्याएको होटल भिभान्ताको व्यवस्थापन सम्हालेको छ। चौधरी समूहकै लगानी रहेको चितवनको मेघौली सराई सफारी होटलमा पनि ताजको व्यवस्थापन छ। गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेले ठमेलमा निर्माण गरिरहेको स्टारउडमा शेराटन ब्रान्डको साझेदारी हुने तयारी गरिएको थियो। तर निर्माण कार्य लम्बिएपछि शेराटन नआउने भएको बताइएको छ।
अन्तर्राष्ट्रिय पर्यटक आगमनमा अपेक्षाकृत सुधार आइरहेको छैन, तर नेपालमा विलासी होटलको संख्या लगातार बढिरहेको छ। काठमाडौं बाहिर पनि पोखरा, लुम्बिनी, चितवन सहितका स्थानमा विलासी होटल र रिसोर्टको विस्तार भइरहेको छ। यसले नेपालको आतिथ्य सेवा पूर्वाधारमा ठूलो लगानी भएको देखाउँछ।
तर विदेशी पर्यटकको संख्या बढिरहेको छैन भने होटलमा किन लगानी बढिरहेको छ? के होटलमा भइरहेको लगानीले प्रतिफल दिन्छ?
होटल बढे, पर्यटक बढेनन्
राष्ट्रिय तथ्यांक कार्यालयले केही महीनाअघि ‘राष्ट्रिय होटल तथा रेस्टुरा सर्वेक्षण २०८०’ सार्वजनिक गर्दै नेपालमा होटल र रेस्टुराको संख्या एक लाख ४२ हजार रहेको जनायो। जसमा पर्यटक लक्षित तारे होटलको संख्या १२६ छ। आतिथ्य सेवा प्रदान गर्ने देशभरिका होटलमा पाँच खर्ब ४३ अर्ब स्थायी सम्पत्ति रहेको सर्वेक्षणमा उल्लेख छ।
आगन्तुकलाई स्वागत गर्न तम्तयार होटलले के पर्याप्त संख्यामा अतिथि पाइरहेका छन्? होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाह भन्छन्, “होटलहरू प्रायः खाली खाली हुन्छन्। क्षमताभन्दा निकै थोरै पर्यटकलाई सेवा दिइरहेका छन्।” अध्यक्ष शाहका अनुसार नेपालका पर्यटकस्तरका होटलले करीब ३६ लाखलाई सेवा दिन सक्छन्, तर पर्यटक एकतिहाइभन्दा पनि कम छन्।
पाँचतारे होटल मेरियटका सञ्चालक शशिकान्त अग्रवाल गत महीना (जनवरी)मा काठमाडौंका पाँचतारे होटलको ‘अकुपेन्सी’ भनिने कुल क्षमताको उपभोग ३२ प्रतिशत मात्र रहेको बताउँछन्। अर्थात् होटलमा १०० कोठा भए पनि ३२ वटामा मात्रै अतिथि छन्। अग्रवाल भन्छन्, “तीन जनालाई सेवा दिन सक्ने पूर्वाधार र क्षमता भए पनि आगन्तुक एक जना मात्र छन्। यो होटलहरूका लागि निकै चिन्ताजनक कुरा हो।”
काठमाडौं उपत्यकामा मात्र होइन, देशभरिको होटल व्यवसायको साझा समस्या हो, यो। लुम्बिनी जस्ता स्थानमा त होटलको स्थिति थप खराब छ। “पछिल्ला महीनामा आगन्तुक केही बढेर होटलहरूको ‘अकुपेन्सी’ ३०-३५ प्रतिशत पुगेको छ, नत्र त १५-२० प्रतिशत पनि थिएन,” सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठ भन्छन्, “अहिलेकै स्थिति कायम रहे धेरै होटल व्यवसायी डुब्छन्, ब्यांकको ऋण तिर्न नसकेर आउँदो दुई वर्षमा त धेरै होटल बन्द नै हुन्छन् होला।”
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि पछिल्ला वर्षमा थुप्रै लगानीकर्ताले ठूलो रकम खन्याएका थिए। श्रेष्ठका अनुसार भैरहवा क्षेत्रका होटलमा मात्र ८० अर्ब रुपैयाँ हाराहारीमा लगानी भएको छ। योे क्षेत्रमा सात वटा चारतारे र दुई वटा पाँचतारे सहित पर्यटक लक्षित कैयौं होटल स्थापना गरिएका छन्। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा अनुसार सञ्चालनमा नआएपछि र अनुमान गरे अनुसार पर्यटक नभित्रिएपछि लगानी जोखिममा परेको हो।
लुम्बिनी क्षेत्रमा दुई अर्बभन्दा बढी लगानी गरेर पाँचतारे होटल पवन प्यालेस चलाइरहेका पवन हलुवाई अपेक्षा अनुसार आगन्तुक नभएपछि निराश छन्। हलुवाई भन्छन्, “अहिलेसम्म जसोतसो होटलको खर्च धानिरहेका छौं। ऋणको ब्याज तिर्ने आम्दानी पनि गर्न कठिन छ, प्रतिफल कहिले आउँछ, निश्चित छैन।”
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक तान्न सक्ने उम्दा गन्तव्यस्थल पर्याप्त भए पनि आगमन भने सीमित भएको तथ्यांकले देखाउँछ। सन् २०२४ मा ११ लाख ४७ हजार मात्र पर्यटक भित्रिए। कोभिड-१९ शुरू हुने वर्ष सन् २०१९ मा झन्डै १२ लाख पर्यटक नेपाल भित्रिएका थिए। कोभिड-१९ महामारीका कारण दुई वर्ष अन्तर्राष्ट्रिय आवागमन प्रभावित भएर पर्यटनको गति रोकिन पुग्यो। तर त्यसपछि पनि पर्यटक आगमन अपेक्षा अनुसार बढिरहेको छैन। यसको असर आतिथ्य सेवामा परेको छ। नेपालमा वार्षिक ३६ लाखभन्दा धेरै पर्यटक थेग्ने होटल पूर्वाधारको निर्माण भइसकेको छ।
२०५२ सालमा शुरू भएको दशक लामो माओवादी विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको थियो। २०७२ वैशाखको महाभूकम्प र २०७६ सालपछिको कोभिड-१९ महामारीले थप असर पार्यो। महामारीका कारण सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष’ औचित्यविहीन बनेको थियो।
सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी एक दशकलाई ‘पर्यटन दशक’ बनाउने योजना अघि सारेको छ। महँगो हवाई भाडा र विमानस्थल पूर्वाधारको कठिनाइ, सडक र हवाई सुरक्षा चिन्ता, अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन पर्याप्त पहलकदमीको अभाव जस्ता कारणले नेपालमा अपेक्षित गतिमा पर्यटक भित्र्याउन नसकिएको व्यवसायी बताउँछन्।
प्रतिफलको प्रश्न
अपेक्षा अनुसार पर्यटक बढिरहेका छैनन् भने ठूलो लगानी भएका होटल एकपछि अर्को किन खुलिरहेका हुन् त? व्यवसायीको जवाफ हुन्छ– पर्यटक आगमन बढ्ने र भविष्यमा व्यवसाय विस्तार हुने अपेक्षामा। “नेपालका दुई छिमेकी चीन र भारतका करोडौं नागरिक विदेश भ्रमणमा निस्किन्छन्। उनीहरूको मात्र आगमन बढाउन सक्दा पनि नेपाललाई पर्याप्त पर्यटक हुन्छन्,” होटल एशोसिएशन नेपालका अध्यक्ष शाह भन्छन्, “भविष्यमा पर्यटक आगमन बढ्ने सम्भावना देखेर अहिले होटलमा लगानी भइरहेको हो।”
सन् २०२४ मा भारतका करीब तीन करोड र चीनका १२ करोडभन्दा धेरै पर्यटक वैदेशिक भ्रमणमा निस्किएका थिए। नेपाल भित्रिने प्रमुख पर्यटकमा पनि यी दुई मुलुककै नागरिक छन्। सन् २०२४ मा नेपाल आएका पर्यटकमध्ये २८ प्रतिशत भारतीय र नौ प्रतिशत चिनियाँ छन्। दुवै मुलुकबाट मात्र पर्यटक तान्न सके पनि नेपालको पर्यटन व्यवसायले गति लिन पर्याप्त हुने व्यवसायीको तर्क छ। तर यथार्थ के छ भने, नेपाल आएका पर्यटक भारत र चीनबाट विदेश भ्रमणमा जाने संख्याको निकै सानो हिस्सा हो।
पर्यटकस्तरका होटल स्थापनाका लागि लागत धेरै हुन्छ। पाँचतारे होटल स्थापनाको खर्च अर्बमा पुग्छ। होटल एशोसिएसन नेपालका अध्यक्ष शाह पाँचतारे होटलको एउटा कोठाको लागत सरदरमा एक करोडदेखि डेढ करोड रुपैयाँ पुग्ने बताउँछन्। कतिपय होटलको त लागत निकै बढी छ। जस्तै- काठमाडौंमा निर्माण भइरहेको शेराटन होटलको लागत निर्माण नसकिंदै १२ अर्ब रुपैयाँ नाघिसकेको जानकारहरू बताउँछन्।
नेपाल राष्ट्र ब्यांकका अनुसार होटल क्षेत्रमा ब्यांक तथा वित्तीय संस्थाको दुई खर्ब एक अर्ब रुपैयाँ लगानी भइसकेको छ। यो ब्यांक तथा वित्तीय संस्थाको कुल कर्जाको ३.७ प्रतिशत हो। त्यस्तोमा यी होटलले कहिले लगानी उठाउँछन् त?
मेरियट होटलका सञ्चालक अग्रवाल सामान्यतया १०-१२ वर्षभित्र होटलले लागत उठाइसक्नुपर्ने बताउँछन्। अर्थात् यो अवधिमा होटल निर्माणका लागि जति खर्च गरिएको हो, त्यसको सावाँ र ब्याज फिर्ता भइसक्नुपर्छ। तर अहिलेको स्थिति हेर्दा त्यो नदेखिने अग्रवाल बताउँछन्।
अहिले एउटै होटलमा ६-७ अर्ब रुपैयाँ लगानी हुन थालेको छ। जसको वार्षिक ब्याज नै ६०-७० करोड रुपैयाँ हुन आउँछ। कर्मचारीको तलबभत्ता, इन्धन, पानी, खाद्यान्न, फर्निचर इत्यादिका कारण सञ्चालन लागत उच्च हुन्छ। त्यस्तो अवस्थामा होटलले कसरी नाफा कमाउलान्? अग्रवाल भन्छन्, “पर्यटक आगमनमा अहिलेकै स्थिति कायम रहे २० वर्षमा पनि लगानी उठ्दैन। त्यसो भन्नुको अर्थ होटलहरू दिगो हुँदैनन्, बन्द हुने जोखिममा पर्छन्।”
बितेका दशकमा जग्गामा भइरहेको तीव्र मूल्यवृद्धिका कारण ठूलो खर्च गरेर निर्माण भएका होटलको लगानी उठाउन सजिलो भएको थियो। होटलले पर्याप्त व्यवसाय नगरे पनि जग्गाको मूल्यमा उच्च गतिमा बढोत्तरी भएपछि लगानीकर्ता जोखिम बाहिर रहने गर्थे। कतिपय होटल सञ्चालकले त मूल्य बढ्ने अपेक्षामा ब्यांकबाट लिएको ऋणले होटलका लागि आवश्यकभन्दा बढी जग्गा किनेर राख्ने गरेको आरोप लाग्थ्यो। तर पछिल्ला दुई वर्षयता जग्गाको मूल्य स्थिर र कतिपय स्थानमा घट्न थालेपछि पहिले जस्तो अवस्था छैन। अग्रवाल भन्छन्, “होटलले आफ्नै मुख्य व्यवसायबाट आम्दानी गर्नुपर्छ, जग्गाको मूल्य बढ्छ भनेर गरिएको लगानी दिगो होइन, यो जोखिमपूर्ण हो।”
एशोसिएशनका अध्यक्ष शाह चाहिं होटलहरूले पर्यटकलाई कोठामा राख्ने बाहेक सभा, सम्मेलन, भोजभतेरको प्रबन्ध गर्छन्, जसबाट पनि उनीहरूको आम्दानी बढ्ने बताउँछन्। भविष्यप्रति आशावादी भएर लगानी गरिए पनि पछिल्लो समयमा भने होटलहरूको प्रतिस्पर्धाका कारण व्यवसाय टिकाइराख्न कठिन परेको उनको भनाइ छ।
मेरियटका सञ्चालक अग्रवाल होटल ‘ग्लामरस’ व्यवसाय भएको बताउँदै कतिपय लगानी सीधा प्रतिफलका हिसाबले नहुने तर्क गर्छन्। अन्य व्यवसायमा ठूलो लगानी गरेका र नाफा गरिरहेका समूहले तत्काल नाफा नदेखे पनि ख्याति र प्रतिष्ठाका लागि होटलमा लगानी गर्ने सम्भावना रहने उनको भनाइ छ। “होटलमा सभासम्मेलन हुन्छन्। राजनीतिकदेखि सबै क्षेत्रका नेतृत्वको आउजाउ रहन्छ। यसले सिर्जना गर्ने ठाँटबाँठको मूल्य ठूलो हुन्छ, जसले गर्दा वित्तीय प्रतिफल कम भए पनि लगानीकर्ता आकर्षित हुन्छन्,” अग्रवाल भन्छन्।
होटल निर्माणमा प्रतिफललाई नहेरी अन्य उद्देश्यलाई मुख्य बनाइएको हुन सक्ने कतिपयको आशंका छ। यस क्षेत्रमा गरिएको लगानीको सोधखोज हुनुपर्ने उनीहरूको तर्क छ। नाम उल्लेख गर्न नमान्ने एक होटल व्यवसायी भन्छन्, “ब्यांकबाट ठूलो ऋण लिएर विदेशी ब्रान्डमा होटल सञ्चालन गर्न थालिएको छ। यी होटलको लागत कति हो? कर्जाको रकम कहाँ प्रयोग भयो? सामान किन्दा अधिक मूल्यांकन गरिएको छ कि छैन भनेर कसले सोधखोज गर्ने?”
शेयर बेच्ने काइदा
पछिल्लो समयमा देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका होटलले प्राथमिक शेयर निष्कासनलाई प्राथमिकता दिएको देखिन्छ। अर्थात् लगानीकर्ताले सर्वसाधारणलाई निश्चित अनुपातमा लगानी गर्न दिन शेयर निष्कासन शुरू गरेका छन्। कम्तीमा एक दर्जन होटल प्राथमिक शेयर निष्कासनको तयारीमा छन्। एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन, अर्किड होल्डिङ्स, अकामा होटल, ठमेल प्लाजा जस्ता कम्पनीले प्राथमिक शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन पेश गरिसकेका छन्।
त्यस्तै, बालुवाटारस्थित पाँचतारे होटल वर्णवास, रविभवनको क्राउन प्लाजा इम्पेरियल, सिद्धार्थ होटल, होटल सब्रिना, होटल बाराही, वीरगन्जको हिमाल वाटर पार्क भिलेज, होटल अलफ्ट आदिले शेयर निष्कासनको तयारी गरिरहेका छन्। शेयरको किनबेच हुने दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा अहिले सोल्टी, तारागाउँ (हायात), ओरेन्टल (र्याडिसन), चन्द्रागिरि हिल्स र सिटी गरी पाँच होटल सूचीकृत छन्।
पछिल्लो समय कैयौं होटलका प्रवर्द्धकले व्यवसाय बढाएर नाफा आर्जन गर्नेभन्दा पनि प्राथमिक शेयर निष्कासन गरी शेयर मूल्यलाई कृत्रिम तरीकाले बढाउने र आफ्नो शेयर समेत बिक्री गरी बाहिरिने योजनाबद्ध काम गरेको भनेर आलोचना शुरू भएको छ। त्यसै कारण प्राथमिक शेयर निष्कासन गर्न दिने वेलामा नै गम्भीर तरीकाले विचार गर्नुपर्ने धितोपत्र बोर्डका पूर्व अध्यक्ष तथा नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन्। जुनसुकै कम्पनीलाई मनलाग्दी तरीकाले प्राथमिक शेयर निष्कासन गर्न दिंदा सर्वसाधारणको लगानी जोखिममा पर्ने भएकाले नाफा, नेटवर्थ आदि आधारमा राम्रा ठहरिएका तथा संस्थागत सुशासन कायम भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर निष्कासन मार्फत रकम जुटाउन दिनुपर्ने नेपाल बताउँछन्।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीले आफ्नो सम्पत्तिको अधिक मूल्यांकन गराउने, मिलेमतोमा शेयर मूल्य उचाल्ने र ‘लकिङ पिरियड’ भनिने शेयर बिक्री गर्न प्रतिबन्ध लगाइएको तीनवर्षे अवधिपछि दोस्रो बजारमा शेयर बिक्री गरी ठूलो नाफा कमाएर बाहिरिने जोखिम हुने सम्भावना रहेको शेयर बजारका एक जानकार बताउँछन्। नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, “अहिलेसम्म धेरैजसो जलविद्युत् कम्पनीमा यस्तो देखिएको छ। यो रोग अब होटलमा सर्दै छ।”
धितोपत्र बोर्डले गरेको अध्ययनले जलविद्युत् कम्पनीमा संस्थापकले ‘लकइन पिरियड’ पछि शेयर बिक्री गरी बाहिरिने अभ्यास धेरै भएको देखाएको थियो। पूर्व गभर्नर नेपाल प्राथमिक शेयर निष्कासनका नाममा सर्वसाधारण ठगिने वातावरण बनिरहेको बताउँछन्। उनी भन्छन्, “बलियो नियामक नभएको र संस्थागत सुशासन कमजोर भएका कारण वास्तविकभन्दा बढी लागत देखाएर ऋण लिने, त्यसलाई दुरुपयोग गर्ने तथा प्राथमिक शेयर निष्कासन गरी सर्वसाधारणलाई शेयर भिडाएर संस्थापकहरू कम्पनीबाट बाहिरिने जोखिम बढिरहेको छ, यसले जनता ठगिन्छन्।”
शेयर निष्कासन सम्बन्धी कानूनलाई संशोधन गरिएसँगै भर्खरै स्थापना भएका होटलले पनि आईपीओ निष्कासन गरी सर्वसाधारणसँग रकम उठाउने बाटो खुलेको थियो। धितोपत्र बोर्डका अघिल्ला अध्यक्ष रमेशकुमार हमालका पालामा सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधन मार्फत कुनै पनि कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ निष्कासन गर्न मिल्ने व्यवस्था गरेको थियो। त्यसअघि कम्पनी पब्लिक भएको दुई वर्षपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न मिल्ने व्यवस्था थियो। स्वार्थ समूहलाई लाभ हुनेगरी योजनाबद्ध रूपमा कानून संशोधन गरिएको कतिपय जानकारले आशंका गरेका थिए।
सर्वसाधारणलाई शेयर जारी गरेका होटलको पारदर्शिता र सुशासनमा पनि प्रश्न छ। शेयर निष्कासन गर्नुअघि कम्पनीको आर्थिक अवस्था देखाउने विवरण सार्वजनिक गर्नुपर्छ। यसमा कम्पनीको ऋण-धन, नाफा-नोक्सान, कारोबारको हरहिसाब मात्र होइन, भविष्यमा उनीहरूले कस्तो व्यवसाय गर्लान् भन्ने प्रक्षेपण पनि हुन्छ, जसलाई हेरेर लगानीकर्ताले कम्पनीको शेयर किन्ने वा नकिन्ने निर्क्योल गर्छन्। तर त्यस्तो वित्तीय विवरणको सत्यतामा पनि प्रश्न उठ्दै आएको छ।
२०७९ चैतमा काठमाडौंको सोल्टिमोडस्थित सिटी होटल लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्दा प्रतिशेयर आम्दानी आठ रुपैयाँ ७९ पैसा ऋणात्मक थियो। आर्थिक वर्ष २०८०/८१ सम्ममा पुग्दा यसलाई ५९ पैसा पुर्याउने प्रक्षेपण गरिएको थियो। तर गत पुससम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा ऋणात्मक छ। प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ मात्र छ। यो होटलको शेयरमा लगानी गरेका सर्वसाधारणले प्रतिफल नपाएका मात्र होइनन्, आगामी वर्षहरूमा समेत पाउने सम्भावना कम छ।
सर्वसाधारणसँग उठाएको रकम ऋण तिर्न प्रयोग गरे पनि घाटा थेग्न नसकेपछि सिटी होटलले फेरि हकप्रद शेयर जारी गर्ने बाटो समातेको छ। होटलले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ। हकप्रद मार्फत पूँजी बढाए अनुसार व्यवसाय अघि नबढे लगानीकर्ताले प्रतिफल पाउने सम्भावना झन् कमजोर हुन्छ।
पूर्व गभर्नर नेपाल कुनै एक कम्पनीका सन्दर्भमा भन्दा पनि समग्र बजारमै हकप्रदको विषयमा पुनर्विचार आवश्यक रहेको बताउँछन्। “नियामकले जथाभावी हकप्रद शेयर निष्कासनमा रोक लगाउनुपर्छ। किन प्राथमिक शेयर निष्कासन गरियो, के लाभ भयो, अब हकप्रद किन दिने भनेर मसिनोसँग नियाल्नुपर्छ,” नेपाल भन्छन्, “नियामकले सर्वसाधारणको हित हेर्ने हो, स्वार्थ समूह र कम्पनीको होइन।”
धमाधम खुलिरहेका होटलले व्यवसायबाट नाफा कमाउन नसके पनि प्राथमिक शेयर निष्कासन गरी सर्वसाधारणसँग रकम तान्ने छद्म योजना बनाएको भन्ने आरोपलाई व्यवसायीहरू भने अस्वीकार गर्छन्। कस्ता कम्पनीले प्राथमिक शेयर निष्कासन गर्न पाउने भन्ने कानूनले नै निर्धारण गरेकाले त्यसमा थप माथापच्ची गरिरहनुनपर्ने उनीहरूको तर्क छ। होटल एशोसिएशन नेपालका अध्यक्ष शाह भन्छन्, “होटलहरूले प्राथमिक शेयर निष्कासन गरी रकम उठाउन त खोज्छन् होला। तर मुख्य कुरा सर्वसाधारणले नै बुझेर लगानी गर्नुपर्यो। प्रतिफल दिन नसक्ने र सम्भावना नभएका कम्पनीमा लगानी खन्याउनु भएन।”