तपाईंले यसपालिको मीठो आप चाख्नुभयो?
सिजन सकिन लागेको वेला यो उर्मिलाले केको आँपको कुरा गरिरहेकी भन्ने सोच्नुभयो होला!
पर्खनोस्, म आज तपाईंलाई गुलियो स्वादयुक्त आँपभित्र लुकेको तीतो स्वादको यथार्थ बताउन गइरहेछु, धैर्यपूर्वक सुन्नुहोला।
हामीले बजारबाट किनेर ल्याउने मीठा र रसिला आँप कसरी उत्पादन हुन्छन् भनेर हामीले सरोकार राखेका हुँदैनौं। उखानै छ- ‘फल खाऊ, बोट गन्न किन लाग्छौ?’ तर होइन रहेछ।
हामीले आफूले खाने फलफूलमा ध्यान नदिंदा त्यसले हाम्रो शरीरका अंगप्रत्यंग नै बिगार्दो रहेछ। हिमालखबरले गरेको अध्ययनले आँप पकाउन मात्र होइन, आँप फलाउन समेत रूखको जरामा विषादी प्रयोग गरिंदो रहेछ जसले हाम्रो शरीरमा नराम्रो असर पार्दो रहेछ भन्ने तथ्य फेला पारेको छ।
आश्चर्य लाग्यो होला है? म पनि शुरूमा त्यसरी नै अचम्ममा परेकी थिएँ- ‘फलफूलको राजा आँप यति खतरनाक?’
केही वर्षयता हाम्रै देशका २४ जिल्लामा व्यावसायिक रूपमा आँपको खेती गरिन्छ। सिरहा, सप्तरी, सर्लाही र धनुषा लगायत जिल्लामा आँपको खेती बढी गरिन्छ। आँप धेरै फलाउन पीबीजेड नामको औषधि प्रयोग गरिन्छ। यसको पूरा नाम प्याक्लोब्युट्राजोल हो।
यो औषधिले एक वर्ष बिराएर फल दिने आँपलाई हरेक वर्ष फल फलाउन बाध्य पार्छ। यो औषधिका कारण रूखले बढी आँप फलाउने काम गर्छ। यस्तो प्राकृतिक नियम विरुद्ध प्रयोग गरिने यो रसायनले रूखको आयु त छोट्याउँछ नै, फललाई पनि विषाक्त बनाउँछ।
हेर्दा रसिलो र खाँदा मीठो लागे पनि यस्तो आँपले हाम्रो स्वास्थ्यमाथि नराम्रो असर पार्छ। यो विषादी विशेषगरी फलफूल खेतीमा प्रयोग हुँदै आएको छ। पीबीजेड झोलका रूपमा रूखको वरिपरि जरामा हालिन्छ। रूखको आकार र फैलावट हेरेर कति मात्रामा प्रयोग गर्ने भनेर निर्धारण गर्नुपर्ने हुन्छ।
नेपालमा एक हजार ८०० भन्दा बढी विषादी दर्ता गरिएका छन्। हालसम्म यो सूचीमा पीबीजेड समेटिएको छैन। तर डब्लूएचओको विषादी सूचीमा यो पीबीजेड परेको छ।
पीबीजेड खास गरी बूढा रूखलाई तन्नेरी बनाइराख्न बनाइएको हो। यसले बोटबिरुवाको उचाइ तथा आकार नियन्त्रण गर्न र फलफूलका बोटमा फूल फुलाउन र फल लाग्न सघाउँछ। यसको प्रयोगले रूखको प्रजनन क्षमता तीव्र बढाउँछ। जसले गर्दा फूल अत्यधिक फुल्छ र फल मनग्गे दिन्छ। तर यसको प्रयोग गर्दा केही वर्ष प्रशस्त फल लागे पनि तीन/चार वर्षपछि रूख सुक्दै जान्छ।
यसले बोटलाई मात्र होइन, फलको आकार र स्वादमा पनि परिवर्तन ल्याएको अध्ययनले देखाएको छ। अध्ययनका अनुसार यसको प्रयोगले माटामा भएका सूक्ष्म जीवहरू मर्छन् र माटोमा यसको असर लामो समयसम्म रहन्छ।
पीबीजेड प्रयोग गरिएका वनस्पतिको फलमा विषादीको अवशेष बाँकी रहने हुँदा त्यस्तो फल खाएमा मानव स्वास्थ्यमा असर पार्ने अध्ययनहरूले बताएका छन्। यसले आँखा चिलाउने, छालामा समस्या निम्त्याउने देखिन्छ।
व्यापारीहरूले धेरै पैसा कमाउने मोहमा प्रयोग गर्ने पीबीजेड जस्ता औषधिले आँप मात्र होइन, सिंगो रूख नै विषादीले भरिन गएको छ। त्यसको प्रयोगले हामीलाई रोगको भारी नै बोकाइदिएको छ।
त्यसैले सरकारले बोटबिरुवा, जमीन र मान्छेको स्वास्थ्यमा सीधा असर पार्ने यस्ता विषादीको नियमनका लागि ढिलाइ नगरी काम गर्न जरूरी देखिन्छ।
विस्तृत रिपोर्टः आँप फलाउन हालिने पीबीजेड : बोट मार्ने, स्वास्थ्यमा असर पार्ने