मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री कँडेललाई नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदले विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री कँडेलले राखेको विश्वासको मतको पक्षमा २३ जना सांसदले मत दिए।
त्यस्तै, विपक्षमा १४ मत पर्यो। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले विपक्षमा मतदान गरेका हुन्।
प्रदेश सभाको बैठकमा ३८ सांसद उपस्थित थिए। निलम्बनमा परेका कांग्रेस सांसद जीवनबहादुर शाही र राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भएनन्।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनुपरेको हो।