‘नयाँ सडक बचाऔं’ भन्दै विरोधमा उत्रिए स्थानीय
काठमाडौं महानगरपालिकाले न्यूरोडको दुवैतिर सडक घटाएर फूटपाथ विस्तार गर्न थालेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।
शुक्रबार बिहानैदेखि स्थानीयले फूटपाथ विस्तार नगर्न भन्दै प्रदर्शन गरेका छन्। फूटपाथ विस्तार गर्दा न्यूरोड साँघुरो हुने उनीहरूको भनाइ छ। उनीहरू ‘नयाँ सडक बचाऔं’ भन्दै विरोध गरिरहेका छन्।
सडक साँघुरो पारेर फूटपाथ विस्तार गर्दा न्यूरोडको पहिचान नै गुम्ने उनीहरूको तर्क छ। सडक साँघुरो गर्नुभन्दा न्यूरोडलाई ‘भेहकल फ्री’ बनाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।
काठमाडौं महानगरले साउन २ गतेदेखि फूटपाथ विस्तार शुरू गरेको हो। यसअघि फूटपाथ विस्तार गर्न खोज्दा सडक विभागले रोकेको थियो। त्यस विरुद्ध गत जेठ २७ मा महानगरले उच्च अदालत, पाटनमा रिट हालेको थियो।
उच्च अदालतले गत असार ३० मा महानगरका पक्षमा आदेश दिएको थियो। न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरको माग अनुसार फूटपाथ विस्तार गर्न नरोक्न भन्दै सडक विभागका नाममा अन्तरिम आदेश दिएको थियो।
आदेश आए लगत्तै महानगरले फूटपाथ विस्तार गर्न थालेको हो। स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि सुरक्षाकर्मी परिचालन गरेर विस्तारको काम भइरहेको छ।
यो पनि हेर्नुहोस् : न्यूरोडमा अब फराकिलो फूटपाथ (भिडिओ)