मधेशमा मन्त्रालय भागबन्डा, कसलाई कुन मन्त्रालय?
मधेश प्रदेशमा सत्तारूढ गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ।
मुख्यमन्त्रीमा दाबी पेश गर्नुअघि ६ दलले भागबन्डा मिलाएका हुन्। गठबन्धनका तर्फबाट जनमत पार्टीका नेता सतिश सिंहले शुक्रबार बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
दलहरूले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए। तर मन्त्रालयको भागबन्डा नमिलेपछि आज बिहान दाबी गरेका हुन्।
गए राति ११ बजेसम्म बसेको ६ दलको बैठकले मन्त्रालयको भागबन्डा गरेको हो। नेकपा (एमाले)को भागमा चार मन्त्रालय परेका छन्। भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकूद तथा समाज कल्याण मन्त्रालय एमालेको भागमा परेका हुन्।
त्यस्तै, जनमतले मुख्यमन्त्री सहित वन तथा वातावरण मन्त्रालय पाएको छ। जनमतलाई थप एक मन्त्रालय पछि व्यवस्था गर्ने सहमति बनेको छ।
नेकपा (माओवादी केन्द्र)को भागमा दुई मन्त्रालय परेका छन्। अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादीले पाउने भएको छ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)ले भूमि व्यवस्था, कृषि तथा सहकारी र उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय पाउने भएको छ। एक-एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा सञ्चार मन्त्रालय पाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए। मधेश प्रदेशमा अहिले ११ वटा मन्त्रालय छन्।