टिप्पणी सोमबार, भदौ २, २०७६

स्वादको कुरा नेपालीमै

केदार शर्मा

निकै वर्षअघि काम विशेषले अछाम पुगेका हामी एउटा ग्रामीण होटलमा एक साताजति बस्ने भयौं । सरसामान बिसाउनासाथ चिया माग्यौं “साहूजी; ल त, मीट्ठो चिया खाऊँ !”

केदार शर्मा

चिया त आयो, तर मीठो भएन । पातलो रङ, थोरै दूध र चर्को चिनीले चियाको जति हुर्मत लिन सक्थ्यो, लियो । बसाइभरि हामीले ‘मीट्ठो चिया’ माग्न छाडेनौं, साहूजीले कहिल्यै मीठो चिया खुवाउन सकेनन् ।

हिंड्ने दिन हाम्रै टोलीका एक सदस्य आफैं चिया बनाउन सुरिए । साहूजीले ठीक पारिदिएको दूधलाई पुग्ने पानी, चियापत्ती र चिनी मिसाउँदा चिया गजब बन्यो ।

हामीले भन्यौं, “चिया त यस्तो पो हुन्छ त साहूजी ! यतिका दिन बस्दा तपाईंले गतिलो चिया खुवाएकै होइन !”

साहूजी उल्टै कड्किए पो ! “सरहरूलाई कडक चिया मनपर्दो रहेछ, किन मीठो मीठो भन्नुभएको त ? मैले डबल सक्कर हालेकै हो त !” त्यसपछि बुझियो, जीवनको अधिकांश समय मुम्बईमा बिताएका साहूजी हामीले ‘मीठो’ भन्दा हिन्दीको ‘मीठा’ बुझ्दा रहेछन् ।

मीठो र मीठाको फरक
नेपाली र हिन्दीमा धेरै शब्द यस्ता छन्, जो उस्तै सुनिन्छन्, तर अर्थ साह्रै फरक हुन्छ । हिन्दीमा कुदना भनेको हाम्फाल्नु हो, नेपालीमा कुद्नु भनेको दौडिनु, हिन्दीमा भागना भनेको दौडिनु हो, नेपालीमा भाग्नु भनेको टाप कस्नु, हिन्दीमा घुरना भनेको क्वारक्वार्ती हेर्नु हो, नेपालीमा घुर्नु भने निदाएका वेला नाक–मुखबाट आवाज निकाल्नु ।

हिन्दीमा मीठा भनेको गुलियो हो, नेपालीमा मीठो भनेको स्वादिलो हो । तीखा र तीखो, निखारना र निखार्नु, मारना र मार्नु– यस्ता उस्तै सुनिने र फरक अर्थ दिने शब्द धेरै छन् ।

हामीकहाँ खीर मात्र मीठो हुँदैन, अकबरे खुर्सानी हालेर भुटेको बिहींको अचार वा सिप्लिकानको तरकारी र अमिलो तामाको झाेल पनि मीठो हुन्छ ।

केही वर्षअघिको कुरो– भारत घुमेर हामीकहाँ आइपुगेका दुई जना बेल्जियन पर्यटकलाई उनीहरूले त्यहाँ सिकेको मीठा र हाम्रो मीठोको फरक बुझाउन निकै कसरत गर्नु परेपछि के लाग्यो भने पर्यटकलाई नेपाली खानाको जानकारी दिन ‘कूक बूक’ होइन, खानपिन सम्बन्धी हाम्रा आनीबानी र विशेषताहरू बताउने किताबको खाँचो छ ।

यस पटक खानेकुराका बारे सिक्दै र स्वाद लिंदै आधाभन्दा बढी देश घुम्दा लाग्यो, थोरै मात्र प्रयास गर्ने हो भने हाम्रा लोक–परिकारले नै हामीलाई समृद्ध बनाउन सक्छन् । लोक–परिकारबाट आयात घटाउन, पोषण र स्वास्थ्यको स्थिति उकास्न, खर्च घटाउन, भान्सामा काम गर्नेहरूको प्रतिष्ठा र आम्दानी बढाउन पनि मद्दत पुग्छ । तर त्यसका लागि मिहिनेत भने निकै गर्नुपर्छ ।

खानेकुराको झर्रोपन वा खाँटीपन नबिगारी तिनको स्वाद, सौन्दर्य, सजावटमा सुधार गर्नुपर्छ । झट्ट सुन्दा अनौठो लाग्ला– खानेकुराको सुगन्ध, स्वाद, मिठास र भौतिक विशेषता बयान गर्ने शब्दहरूको टुङ्गो लगाउन पनि निकै काम गर्नुपर्छ ।पश्चिमा वैज्ञानिकहरूका अनुसार हाम्रो जिब्रोका स्वादग्रन्थीहरूले पाँच प्रकारका स्वाद– गुलियो, अमिलो, नुनिलो, तीतो र उमामी थाहा पाउँछन् ।

पूर्वीय मत, खासगरी आयुर्वेदले षडरस भनेर गुलियो, अमिलो, नुनिलो, पिरो, तीतो र टर्रोको कुरा गर्छ । पश्चिमाहरू टर्रो र पिरोको कुरै गर्दैनन्, बरु खास किसिमको स्वाद (जस्तै सिन्की, गुन्द्रुक वा चीज जस्तो कुम्याएका खानेकुराको जस्तो स्वाद) का लागि जापानी भाषाबाट लिएको शब्द ‘उमामी’ प्रयोग गर्छन् ।

‘अलि मजाले गरम मसला हालेको तात्ताातो, खसीको खुट्टाको पीऽरो झोल खान मन लाग्यो’ भनेको सुन्ने बित्तिकै नेपालीभाषी मांसाहारीको स्वाद–चेतनामा जस्तो प्रभाव पर्छ, त्यो कुरा अंग्रेजीमा जति नै राम्रोसित भन्ने प्रयास गरे पनि गैरनेपालीभाषीमा त्यही प्रभाव पर्दैन। भनेपछि स्वाद भनेको जिब्रोले दिमागमा पठाउने संवेदना मात्र होइन, त्यो भाषा र संस्कृति, परम्परा र स्मृतिहरूमा आधारित चेतना पनि रहेछ।

अंग्रेजी शब्दकोशमा पिरोका लागि ‘हट’ वा ‘स्पाइसी’ मात्र शब्द छन् । हामीले नबुझने कुरा, तातो र\वा मर–मसलायुक्तलाई कसरी पिरो भनेर अर्थ्याउन सकिन्छ भन्ने हो ।

‘अलि मजाले गरम मसला हालेको तात्तातो, खसीको खुट्टाको पीऽरो झेल खान मन लाग्यो’ भनेको सुन्ने बित्तिकै नेपालीभाषी मांसाहारीको स्वाद–चेतनामा जस्तो प्रभाव पर्छ, त्यो कुरा अंग्रेजीमा जति नै राम्रोसित भन्ने प्रयास गरे पनि गैरनेपालीभाषीमा त्यही प्रभाव पर्दैन ।

हामीलाई त पिरोले नपुगेर पिरो–पिरो, पिरो–पिरै, पीरो र पीऽरो समेत चाहिन्छ । भनेपछि स्वाद भनेको जिब्रोले दिमागमा पठाउने संवेदना मात्र होइन, त्यो भाषा र संस्कृति, परम्परा र स्मृतिहरूमा आधारित चेतना पनि रहेछ ।

टर्रो (एस्ट्रिन्जेन्ट) लाई पश्चिमाहरू ‘स्वाद’ भन्दा बढी शरीरका तन्तुहरू खुम्च्याउने ट्यानिन लगायतका पदार्थहरूको रासायनिक गुण मान्छन् । यद्यपि रेड–वाइन जस्ता केही पेय पदार्थको गुणमा टर्रोपना नै चाहिने तर्क गरे पनि ‘एस्ट्रिन्जेन्ट’ लाई स्वादमा गन्दैनन् ।

पश्चिमाहरूले टर्रो र पिरोलाई स्वाद नमाने जस्तै हामी पनि ‘उमामी’ लाई स्वादमा गन्ती गर्दैनौं । उमामी मासु, माछा, गोलभेंडा, च्याउ, चीज आदिको साझा स्वाद हो । तर, मैले संस्कृत मात्र होइन, यी सबै खानेकुरा प्रयोग गर्ने समुदायहरूको भाषामा पनि उमामीको अर्थ दिने शब्द फेला पार्न सकेको छैन । न त हामीले उमामी शब्दलाई नै स्वीकारेका छौं ।

खानेकुराले बास्ना वा स्वाद बुझाउने शब्दहरूबाट मात्र पूर्णता पाउन सक्दैन । अब हामीले ‘फ्लेबर’ को अर्थ दिने नेपाली शब्द पनि खोज्नुपर्छ ।

खानेकुराको ‘टेक्स्चर’ लाई ‘बुनोट’ भनेर पुग्दैन । ‘कन्सिस्टेन्सी’, ‘क्रिस्पनेस’, ‘क्रन्च’ आदिको अर्थ दिने शब्दहरू पनि चाहिन्छन् । ‘नभएका शब्द अंग्रेजीबाट लिने नि !’ भन्ने सजिलो र अल्छी कुरा गर्नुहुँदैन, किनभने हाम्रा लोक–परिकारको वर्णन गर्दा छिनछिनमा अंग्रेजी शब्दको सहारा लिएको पटक्कै सुहाउँदैन ।

घरमै खोजौं
हामीकहाँ १०० भन्दा बढी सम्पन्न लोकभाषा छन् । तीमध्ये कैयन् भाषामा हामीले माथि चर्चा गरेका सबै नभए पनि कुनै न कुनै शब्द पक्कै हुनुपर्छ ।

अब हामीले अंग्रेजी वा हिन्दीका शब्द सापटी लिएर होइन, नेपाली भाषाहरूमै रहेका मिल्दा शब्दहरू खोजेर शब्दभण्डार सम्पन्न बनाउनुपर्छ । प्रक्रिया लामो र अप्ठ्यारो छ । तर नेपाली मातृभाषाहरूका वक्ता र प्रयोक्ताहरूले चाख राख्ने हो भने देशभित्रको सांस्कृतिक अन्तरक्रिया बढ्छ ।

शब्दसम्पन्न भाषा र संस्कृतिहरूको मर्यादा बढ्छ । सबभन्दा ठूलो कुरा नेपाली लोक–परिकारको स्वादको कुरा नेपालीमै गर्न सकिन्छ ।

 

 

प्रतिकृया दिनुहोस