सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्।
आइतबार चौधरीले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीको समर्थनमा दाबी पेश गरेका हुन्।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग मिलेर मुख्यमन्त्री पाउने सहमति गरे पनि चौधरीले भने कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका हुन्। उनी नाउपा संरक्षक रेशम चौधरी पक्षका सांसद हुन्।
सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात सांसद छन्। त्यस्तै, कांग्रेसका १८ र एकीकृत समाजवादीका चार सांसद गरी २९ सांसदको समर्थन पुगेको छ।
५३ सदस्यीय प्रदेश सभामा अहिले ५२ सांसद छन्। सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।