बागमतीमा थपिए चार मन्त्री
![बागमतीमा थपिए चार मन्त्री](https://www.himalkhabar.com/uploads/posts/800X600/bagamati_uml-1712061829.jpg)
बागमती प्रदेश सरकारमा नेकपा (एमाले)बाट चार मन्त्री थपिएका छन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार चार जनालाई मन्त्री नियुक्त गरेका हुन्। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन्।
एमालेबाट उद्योग मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठ पहिलो पटक मन्त्री बनेका छन्। अन्य तीन जना यसअघि पनि मन्त्री बनेका थिए। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।
गत फागुन २३ मा नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका ६ मन्त्रालयमध्ये पाँच वटा मन्त्रालयको नेतृत्व एमालेले पाएको छ। यसअघि चैत १७ मा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।
बागमती प्रदेशका १२ वटा मन्त्रालयमध्ये माओवादीले मुख्यमन्त्री सहित आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ।
बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन्।
प्रदेशका १२ मन्त्रालयमध्ये मुख्यमन्त्री सहित माओवादीका चार, एमालेका पाँच, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन्।