‘क्यामेराको लेन्स पुरुष सांसदतिर मात्र किन फर्किन्छ?’
एउटै प्रक्रियाबाट निर्वाचित भए पनि महिला र पुरुष सांसदहरूप्रति फरक फरक व्यवहार हुने गरेको भन्दै महिला सांसदहरूले गुनासो गरेका छन्।
“संसद्मा आफ्ना कुरा त हामीले पनि राख्छौं। तर क्यामेराको लेन्स पुरुष सांसदतिर मात्र किन फर्किन्छ?” प्रतिनिधि सभा सदस्य रोशन कार्कीको गुनासो हो यो।
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा संघीय संसद् सचिवालयले मंगलबार आयोजना गरेको ‘मिडियामा महिला सांसदको सवाल’ विषयक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् कार्कीले त्यस्तो बताएकी हुन्। “संसद् भवनबाट बाहिर निस्कँदा होस् वा अन्य सवालमा होस्, पत्रकारका क्यामेराहरू सधैं पुरुषतर्फ किन फर्किन्छन्?” उनले प्रश्न गरेकी थिइन्।
यस्तै गुनासो अर्की सांसद बिजुला रायमाझीको पनि छ। महिलाका विषय अनुमानका भरमा सञ्चारमाध्यममा आउने गरेको उनले बताइन्। “संसद् चल्दा पुरुषहरू बोल्दासम्म पत्रकारहरू बस्ने तर महिलाहरू बोल्दा बाहिर निस्कने गरिन्छ। त्यसपछि महिलाका कुरा यही बोल्यो होला भनेर अनुमानका भरमा लेखिन्छ,” नेकपा (एमाले)की सांसद रायमाझीले भनिन्, “महिला सांसदका नेगेटिभ कुरा मात्र मिडियामा आउने गरेका छन्। हाम्रा लवाइखवाइ, यिनले के बिगार्छन् भन्ने कुरा मात्र हेरिन्छ।”
एमालेकै अर्की सांसद मेनका पोखरेलले बढाइँचढाइँ गरेर, आफूलाई केन्द्रबिन्दुमा राखेर चर्को बोल्नेहरू मात्र सञ्चारमाध्यममा छाउने गरेको बताइन्। सीधा र सुस्त बोल्ने सांसदहरूका समाचार सञ्चारमाध्यमले नलेख्ने गरेको समेत उनको आरोप थियो।
सांसद सूर्यकुमारी श्रेष्ठले प्रतिनिधि सभाका सदस्यहरू विना क्षमता यहाँसम्म नआएको भन्दै राज्यका नीति-नियम बनाउने ठाउँमै महिलामाथि विभेद छ भन्दा दुःख लाग्ने गरेको बताइन्। एमालेकी सांसद श्रेष्ठले यस विषयमा उपसभामुखको ध्यानाकर्षण समेत गराइन्।
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले एउटै प्रक्रियाबाट आएका संघीय सांसदहरूप्रति फरक फरक व्यवहार हुने गरेको बताइन्। “हामीले लगाएको लोगो र पुरुष सांसदले लगाएको लोगो फरक हुन्छ कि! लोगो त एउटै हो हामीले लगाउने। तर विभिन्न मन्त्रालयमा जाँदा होस् वा अन्य क्षेत्रमा जाँदा हामीलाई फरक व्यवहार गरिन्छ,” सांसद रानाले भनिन्।
उनले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न आफूहरूलाई टिकट नदिइने बताउँदै समानुपातिक निर्वाचन प्रणालीबाट आएकाहरू पनि जनमतबाटै निर्वाचित भएको सुनाइन्। “तैपनि पुरुष सांसदलाई हेर्ने दृष्टिकोण र हामीलाई हेर्ने दृष्टिकोणमा किन विभेद छ?” उनले प्रश्न गरिन्।
यस्तै, एमालेकी अर्की सांसद दीपा शर्माले व्यक्तिभन्दा पनि मुद्दालाई केन्द्रमा राखेर सञ्चारमाध्यममा ‘कभरेज’ हुनुपर्ने बताइन्। अहिले सांसदहरूबीच पनि भाइरल बन्ने प्रतिस्पर्धा चलिरहेको कांग्रेसकी सांसद सीता मिजारले बताइन्। संविधानको मर्म अनुसार प्रक्रियाबाटै आएका सांसदहरूलाई एउटै व्यवहार हुनुपर्ने उनको भनाइ थियो। “अहिले केही सांसदहरूमा भाइरल हुने प्रतिस्पर्धा छ। मुद्दाकेन्द्रित हुनुपर्यो,” सांसद मिजारले भनिन्, “मुद्दालाई भाइरल बनाउनतिर ध्यान दिनुस्।”
उनले संसद् बैठकमा दिनभर बस्ने सांसदहरूको कुरा नआउँदा घरपरिवार, पार्टी तथा जिल्लाबाट समेत गाली खाने अवस्था भएको गुनासो गरिन्।
कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाइए पनि त्यस अनुरूप काम हुन नसकेको बताइन्। अहिले पनि विभिन्न वडा सदस्यसँग मोबाइलको पहुँच समेत नहुँदा सामान्य सूचना समेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो। राज्यले हरेक वडा सदस्यहरूलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको पनि उनले बताइन्।
यस्तै, निर्भीक भएर कलम चलाउने पत्रकारहरूको सुरक्षाका लागि पनि सांसदहरूले बहस गर्न जरुरी रहेको उपसभामुख रानाको भनाइ थियो। महिलाको हकअधिकार सुनिश्चित गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने पनि उनले बताइन्।
कार्यक्रममा पत्रकार बबिता बस्नेतले ‘मिडियामा महिला राजनीतिकर्मी’ विषयमा प्रस्तुतीकरण दिंदै ब्रोडशीट मिडियामा सम्प्रेषण हुने राजनीतिक समाचारमध्ये ६ प्रतिशत मात्र महिला राजनीतिकर्मीसँग सम्बन्धित रहेको मिडिया एड्भोकेसी ग्रूप (म्याग)ले गरेको अध्ययनले देखाएको बताइन्।
यस्तै, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले संसदीय मामिलाका समाचार सम्प्रेषणका सन्दर्भमा मिडिया कसैप्रति पनि पूर्वाग्रही नभएको बताए। संसद्मा रिपोर्टिङ गर्ने पत्रकारहरूमा पुरुषको भन्दा महिलाको संख्या न्यून रहेको बताउँदै उनले यसको समाचार प्रकाशन गर्ने वा यसको नगर्ने भनेर सञ्चारमाध्यमको नीति नभएको स्पष्ट पारे। यद्यपि पत्रकार र सांसदबीच समन्वयको अभाव रहेको बताउँदै उनले संवाद, समन्वयलाई निरन्तरता दिन आवश्यक रहेको बताए।
संसद् सचिवालयका सचिव सुदर्शन खड्काले पत्रकार र सांसदबीच आपसमा समन्वय बढाउनुपर्ने आवश्यकता रहेको बताए।