डोजरका दाग मेटाउँदै जुर्मुराएका पोखरेली कलाकार (तस्वीरहरू)
डेढ वर्षअघि स्थानीय सरकारले आर्ट ग्यालरी भत्काउँदा निराश बनेका पोखरेली कलाकार यति वेला भने नयाँ उत्साह र जोश सहित कला प्रदर्शनीमा फर्किएका छन्।
२०७९ भदौमा पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा डोजर चलायो। डोजरले आर्ट ग्यालरी र पुस्तकालय मात्रै भत्काएको थिएन, पोखरेली कलाकारलाई निराश पनि बनाएको थियो।
डोजरले भत्काउँदा टुटेफुटेका सरसामान सम्हाल्दै नयाँ बजार सरेको थियो, पोखरा आर्ट ग्यालरी र पुस्तकालय। नयाँ ठाउँमा सरे पनि ग्यालरी लथालिंग थियो। कला सम्बन्धी कुनै कार्यक्रम हुन सकेको थिएन।
.jpg)
यति वेला भने त्यही आर्ट ग्यालरी झकिझकाउ बनेको छ। पोखरासँगै गण्डकी प्रदेशका विभिन्न गाउँशहरबाट आएका कलाकारका कलाकृति हेर्न पोखरेली दर्शकको घुइँचो लागेको छ।
त्यही पंक्तिमा ‘राहदानी’ सजिएको छ। नेपालबाट विदेशिएका श्रमिकको बाध्यता र वेदनालाई कलाकार डीबी गुरुङले चित्रमा उतारेका छन्।
.jpg)
राहदानी शीर्षकको गुरुङको चित्र सहित मूर्तिकला, हस्तकला समावेश ललितकला प्रदर्शनी पोखरामा चलिरहेको छ। प्रदर्शनी अवलोकन गर्न कला पारखी एवं विद्यार्थी उत्साही देखिएका छन्।
गण्डकी प्रज्ञा-प्रतिष्ठानको सहयोगमा आर्ट ग्यालरीले पुनर्जीवन पाएको छ। ग्यालरीमा प्रकाश संयोजन लगायत सामग्री थपिएका छन्। प्रदर्शनी हललाई थप आकर्षक बनाइएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ बताउँछन्।
.jpg)
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, गण्डकी प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील कलाकार समूहको सहकार्यमा ‘ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी’ शुरू भएको हो। ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ नाराका साथ सञ्चालन भइरहेको प्रदर्शनीमा ७४ कलाकारका कलाकृति राखिएका छन्।
हस्तकला, मूर्तिकला, चित्रकला लगायतलाई समावेश गरेर पहिलो पटक ललितकला प्रदर्शनी आयोजना भएको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वास्तु तथा अन्य सिर्जनात्मक विभाग प्रमुख एवं कार्यक्रम संयोजक सौरगंगा दर्शनधारी बताउँछिन्। प्रादेशिक स्तरमा आयोजित कार्यक्रमको माध्यमबाट लुकेका थुप्रै कलाकारले आफ्नो कला प्रदर्शनी गर्ने अवसर पनि पाएको दर्शनधारीको भनाइ छ।
फागुन १९ गतेदेखि शुरू भएको प्रदर्शनी फागुन २३ गतेसम्म चल्नेछ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)