छायाँनाथ रारामा सरकारी बस
![छायाँनाथ रारामा सरकारी बस](https://www.himalkhabar.com/uploads/posts/800X600/chayanath-bus_5-1704093156.jpg)
स्थानीय सरकारले सार्वजनिक बस सञ्चालन गरेपछि कर्णालीको उत्तरी क्षेत्रस्थित छायाँनाथ रारा नगरपालिकाका बासिन्दा हजार रुपैयाँ तिर्नुपर्ने यात्रा साढे दुई सयमै गरिरहेका छन्।
मुगुको छायाँनाथ रारा नगरपालिकाले नगर बस सञ्चालन गरेको छ। नागरिकलाई आउजाउमा समस्या र स्थानीय रूटमा चल्ने गाडीको भाडा महँगो भएकाले नगर बस चलाएको मेयर विष्णुकुमार भाम बताउँछन्। छायाँनाथ रारामा २८ हजार परिवार बस्छन्।
नगरले दुई वटा बस ८४ लाख रुपैयाँमा खरीद गरेको छ। दुवै बसलाई मंसीरदेखि सञ्चालनमा ल्याएको हो। ३० सिटे ती बसले दैनिक ७० हजार रुपैयाँ कमाउँछन्। “सबै खर्च कटाउँदा ५० हजार रुपैयाँ जति बच्ने देखिन्छ,” मेयर भाम भन्छन्।
![chayanath bus_3.jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/chayanath bus_3.jpg)
नगर बस सञ्चालन गर्न दुई जना स्थानीय बासिन्दालाई चालकमा नियुक्त गरेको छ। सहचालकमा भने नगर प्रहरीलाई परिचालन गरेको छ। “अहिले २७ जना नगर प्रहरी छन्। गाडीको सहचालक र यात्रु व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिएका छौं,” मेयर भाम भन्छन्, “एकातिर भएकै जनशक्ति परिचालन गरेका छौं भने अर्कोतिर यात्रु र चालक व्यवस्थापनमा सहज भएको छ।”
दुवै बस दैनिक गमगढी-बामा र गमगढी-सल्लेरी आउजाउ गर्छन्। गमगढीबाट रुगा, लुम हुँदै बामा पुग्ने बाटो झन्डै १२ किलोमिटर छ भने गमगढीबाट ताल्चा, सल्लेरी हुँदै रारा ताल पुग्न १५ किलोमिटर यात्रा गर्नुपर्छ।
![chayanath bus_4.jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/chayanath bus_4.jpg)
जिल्लाको केन्द्र गमगढीबाट रारा ताल तथा बामासम्म साना गाडी र मिनिट्रक चल्छन्। यसअघि स्थानीय बासिन्दा तिनकै भर पर्थे। भाडा पनि महँगो थियो। तिनको तुलनामा नगर बसको भाडा सस्तो पनि भएको छ। “बोलेरो र मिनिट्रकले एक हजार रुपैयाँ भाडा लिन्छन् भने नगर बसले साढे दुई सयमै सेवा दिएको छ,” मेयर भाम सुनाउँछन्।
नगर बस सञ्चालन भएपछि स्थानीय बासिन्दासँगै पर्यटकलाई आवतजावतमा सजिलो भएको छ। “खासमा स्थानीय सरकारको नगर बस चलाउनुपर्ने उद्देश्य त होइन तर स्थानीय बासिन्दा र पर्यटकलाई सेवा दिन पनि यो काम गर्नुपर्यो,” उनी भन्छन्।
देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये पर्ने रारा ताल पुग्न पनि सजिलो भएको छ। रारासँगै वराह क्षेत्र, पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, ऋषिकेश/रुरु क्षेत्र तथा छायाँनाथ धार्मिक-पर्यटकीय गन्तव्य हुन्।
![chayanath bus_6.jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/chayanath bus_6.jpg)
अर्कातिर, स्थानीय सरकारको आम्दानीको स्रोत पनि जुटेको छ। अन्य आम्दानीका स्रोत न्यून भएको छायाँनाथ रारालाई नगर बसले भरथेग गर्ने मेयर भामको विश्वास छ। “आर्थिक स्रोतको व्यापक अभाव झेलिरहेका थियौं। यसले अलिकति सहयोग पुग्ने पनि देखिएको छ,” उनी भन्छन्।
सडकमार्गबाट पर्यटकीय जिल्ला मुगु पुग्न पूर्व-पश्चिम राजमार्गको कोहलपुरबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै जानुपर्छ। त्यस्तै, हवाईमार्गबाट भने नेपालगन्जबाट ताल्चा विमानस्थलमा ओर्लिन सकिन्छ।