‘हाम्रो रुचि र शोखलाई मर्न दिनु हुँदैन’
![‘हाम्रो रुचि र शोखलाई मर्न दिनु हुँदैन’](https://www.himalkhabar.com/uploads/posts/800X600/dr.yambahadur-roka-1699609066.jpg)
‘हामीभित्रको जुन व्यक्तित्व छ, त्यसलाई हाम्रो शोख वा रुचिले निखार ल्याउने हो। त्यसकारण आफ्नो रुचि वा शोखलाई कहिल्यै पनि बिर्सनु हुँदैन, मर्न दिनु हुँदैन।’
नेपाल न्यूरोसर्जन्स सोसाइटीका अध्यक्ष डा. यामबहादुर रोका विगत १३ वर्षदेखि विराटनगरलाई कार्यक्षेत्र बनाउँदै आएका छन्। रोकाका बुबा लाहुरे थिए। उनी पनि युवावस्थामा सेनाको ‘फाइटर प्लेन’ उडाउने सपना पाल्थे। तर भए न्यूरोसर्जन।
उनी लेखक पनि हुन्। उनका १०८ कविताका १० संग्रह प्रकाशित भइसकेका छन्। स्वास्थ्य सेवासँगै लेखनमा केन्द्रित रहेर डा. रोकासँग हिमालखबरका लागि महेश्वर आचार्यले कुराकानीको सम्पादित अंश:
न्यूरोसर्जन्स सोसाइटीको सम्मेलन हालै सम्पन्न भएको छ। तपाईं पनि त्यसकै लागि काठमाडौं आउनुभएको छ। कस्तो रह्यो सम्मेलन?
हामीले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सार्क मुलुकका न्यूरोसर्जनले तीन दिनसम्म अनुभव आदानप्रदान तथा सीप सिकाइलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम गर्यौं। सम्मेलनमा २० मुलुकबाट सहभागी आएका थिए। नेपालका समेत गरी करीब २०० न्यूरोसर्जन भेला भएका थियौं।
पहिलो दिन जुनियरलाई सिनियरले डमी मोडेलमा शल्यक्रिया गर्न सिकाउने काम भयो। दोस्रो र तेस्रो दिन सभा-सम्मेलन भयो जहाँ धेरै न्यूरोसर्जनले अनुसन्धानमा केन्द्रित आआफ्नो प्रस्तुति दिनुभयो।
सेमिनारले नेपालका न्यूरोसर्जनको नयाँ नेतृत्व पनि चयन गरेको छ, जसमा तपाईं नै सभापति चुनिनुभएको छ। नेपालको न्यूरोसर्जरीलाई अघि बढाउने कार्ययोजना केकस्तो छ?
नेपालमा काम गर्ने न्यूरोसर्जनले अन्तर्राष्ट्रिय स्तरकै काम गरिरहेका छौं। हाम्रा काम अझ राम्रो बनाउन अनुसन्धानलाई अघि बढाउनुपर्ने हुन्छ। अर्को वर्ष एउटा राष्ट्रिय सम्मेलन र दुई वर्षमा अर्को अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्ययोजना छ।
यस बाहेक तालीम र प्राज्ञिक काम नेपाल न्यूरोसर्जन्स सोसाइटीको नियमित कार्यक्रममा रूपमा अघि बढ्छ।
जर्नल प्रकाशनमा सोसाइटीको कस्तो योगदान छ?
हामीले सन् २००४ देखि नेपाल जर्नल अफ न्यूरोसाइन्सेज प्रकाशन गरिरहेका छौं। सोसाइटीले जर्नलको चार अंक प्रकाशन गरेको छ। इन्डेक्स जर्नल भएकाले अन्तर्राष्ट्रिय लेख पनि प्रकाशन हुने गरेको छ। साइटेसनको दृष्टिले पनि जर्नल राम्रै छ।
![dr. yam bahadur roka (2).jpg](https://www.himalkhabar.com/uploads/editor/interview/dr. yambahadur roka/dr. yam bahadur roka (2).jpg)
नेपालको न्यूरोसर्जिकल क्षेत्रमा यहाँहरूले भोगिरहेको समस्या के के छन्?
नेपालको भूगोल नै हाम्रा लागि चुनौती हो। भूगोल हामी परिवर्तन गर्न सक्दैनौं, बरु भूगोल अनुसारको पूर्व तयारी र क्षतिपछिको कार्ययोजनामा लाग्नुपर्छ। अर्को पेचिलो समस्या बाटोघाटो राम्रो छैन। भएका बाटोमा पनि ट्राफिक नियमको पालना नहुँदा दुर्घटना भइरहेका छन्। दुर्घटना हुँदा सबैभन्दा बढी जोखिम मान्छेको स्नायुप्रणालीमा हुन्छ।
विकट भूगोलमा घाइते भएकालाई अस्पतालसम्म लैजानै सकस पर्छ। बाटो नभएका कारण बोकेर लग्नुपर्छ। अर्को, दुर्गममा प्रभावकारी स्वास्थ्य सेवा दिने संस्था सरकारी अस्पतालहरू हुन्। तर तिनमा न्यूरोसर्जनले प्राथमिकता पाएका छैनन्।
किन त्यसो भएको होला, समाधान के हुन सक्छ?
मुख्य त लगानीको अभाव हो। न्यूरोसर्जरी स्वास्थ्यका दृष्टिले ‘फाइन सर्जरी’ मा पर्ने विधा हो। यस्तो सर्जरीका लागि ठूला मशिन चाहिन्छन्, त्यही अनुसारको जनशक्ति चाहिन्छ।
तसर्थ यो विषयलाई अभियानका रूपमा चलाएर राष्ट्रिय तहबाट शिक्षा प्रसार गर्नुपर्छ। जनचेतनाका कार्यक्रम चलाउनुपर्छ। यसमा सरकारले साथ दिनुपर्छ, न्यूरोसर्जरीलाई चाहिने जनशक्ति र पूर्वाधारका लागि सरकारले साथ र सहयोग दिने कार्यक्रम ल्याउनुपर्छ।
नेपालमा न्यूरोसर्जनको उत्पादन कस्तो छ र हाल उपलब्ध न्यूरोसर्जनको संख्या पर्याप्त छ त?
१५ वर्षअघि नेपालका न्यूरोसर्जनको मञ्च बनाउनुपर्छ भन्दा हामी १७ जना जम्मा भएका थियौं। त्यति वेला न्यूरोसर्जनको संख्या त्यति नै थियो। अहिले हाम्रो सञ्जालमा ११५ जति सदस्य छौं। १०० जना जति नेपालमा न्यूरोसर्जरी क्षेत्रमा कार्यरत हुनुहुन्छ। प्रत्येक वर्ष चार-पाँच जना थपिने क्रम जारी छ।
थपिंदै गरेका न्यूरोसर्जनले नेपालमै काम गर्न सक्ने वातावरण छ त?
सौभाग्यवश आजसम्म उत्पादित न्यूरोसर्जनले नेपालमै बस्ने चाहना गरेर यहीं काम गरिरहनुभएको छ। अर्को, हाल कार्यरत १०० न्यूरोसर्जनमा पनि आधाभन्दा बढीले त काठमाडौं बाहिरबाटै स्वास्थ्य सेवा उपलब्ध गराइरहनुभएको छ। त्यसले गर्दा नेपालभरि न्यूरोसर्जरीको सेवा द्रुत गतिमा विस्तार भइरहेको छ। न्यूरोसर्जरीको सेवा नेपालका हरेक क्षेत्र र भूगोलका मान्छेको पहुँचमा छ। यसरी हेर्दा हामी निराश हुनुपर्ने ठाउँ छैन।
मैले पनि १३ वर्षअघि विराटनगरमा न्यूरोसर्जरी सेवा शुरू गरेको हुँ। अहिले कोशी प्रदेशमै १२-१३ जना न्यूरोसर्जन हुनुहुन्छ। पूर्वका बिर्तामोड, धरान, विराटनगरमा न्यूरोसर्जरी सेवा उपलब्ध छ, जुन १० वर्षअघि थिएन।
विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय निकायले जारी गरेको मापदण्ड अनुसार त हामीकहाँ न्यूरोसर्जनको अभाव नै छ। यद्यपि केही वर्षयता जुन अनुपातमा न्यूरोसर्जन उत्पादन भइरहेका छन्, त्यस हिसाबमा हेर्दा न्यूरोसर्जनको अभाव केही वर्षभित्रै पूर्ति हुने देखिन्छ ।
![dr. yam bahadur roka (5).jpg](https://www.himalkhabar.com/uploads/editor/interview/dr. yambahadur roka/dr. yam bahadur roka (5).jpg)
तपाईंले वीर अस्पतालमा डा. उपेन्द्र देवकोटासँग पनि काम गर्नुभएको थियो। देवकोटासँग काम गर्दाको अनुभव कस्तो रह्यो?
उहाँसँग मैले सहकर्मीका रूपमा नभई विद्यार्थीका रूपमा काम सिक्ने मौका पाएको हुँ। मैले वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान)मा न्यूरोसर्जरीमा एमडीको कोर्स गर्ने मौका पाएपछि डा. देवकोटासँग पढ्ने, सिक्ने मौका पाएको थिएँ। वीर अस्पतालबाट न्यूरोसर्जरीमा एमडी गर्ने म पहिलो ब्याचको विद्यार्थी हुँ।
उहाँ त ‘लेजेन्ड’ नै हुनुभयो। उहाँ हाम्रा लागि भगवान् सरह हुनुहुन्थ्यो। उहाँको काम गर्ने शैली र ज्ञान अद्भुत थियो। बिरामीसँग र विद्यार्थीसँग उहाँले गर्ने व्यवहार तारीफयोग्य थियो। देशमै केही गर्छु भन्ने उहाँको भावना अतुलनीय नै छ।
न्यूरोसाइन्सका ज्ञाता भीएस रामचन्द्रनले आफ्नो किताब टेल अ टेल ब्रेनमा हाम्रो मस्तिष्कलाई ‘डेढ किलोको जेली’ को संज्ञा दिएका छन्। तपाईं न्यूरोसाइन्सको विद्यार्थी भएको नाताले हाम्रो त्यो डेढ किलोको थलथले तत्त्वलाई जोगाउन के के उपाय सुझाउनुहुन्छ?
रामचन्द्रको त्यो शब्दावली बहुत सटीक छ। किनकि मस्तिष्क भनेको ‘जेली’ जस्तै हुन्छ। तर त्यो ‘जेली’ आफैंमा एउटा ब्रह्माण्ड जस्तो छ। यसका हरेक भाग महत्त्वपूर्ण हुन्छ। त्यस कारण न्यूरोलोजीको केन्द्र मस्तिष्क जोगाउनुपर्छ।
हाम्रो आधुनिक जीवनशैलीले शरीरलाई गाह्रो पारेको छ। अहिले देखिएको क्यान्सरको २० देखि ३० प्रतिशत कारकमा अस्वस्थ जीवनशैली पर्छ। जसमा धूमपान, मद्यपान, अस्वस्थकर खानपान लगायत छन्।
अर्को, तनावका कारण मस्तिष्कमै असर पर्ने हो। डिप्रेशन जस्ता कुराले पनि मस्तिष्कलाई नै चाप पार्ने दर आधुनिकतासँगै बढिरहेको छ।
प्रसंग बदलौं। सानो छँदा तपाईंलाई सेनाको पाइलट बन्ने रहर थियो। आज न्यूरोसर्जन हुनुभयो। बाटो कसरी मोडियो?
बुबा भारतीय सेनामा हुनुभएकाले मैले पनि १२ कक्षाको पढाइ सकेपछि भारतीय सेनाको हवाई सेनामा जान चाहेको थिएँ। ३०-४० वर्षअघि हामीसँग धेरै विकल्प थिएन। कि खेती गर्नुपर्थ्यो कि त सरकारी सेवामा लाग्नुपर्थ्यो या विदेश। त्यो भएर पनि सेनाको सन्तान सेनामै भर्ती हुने सामाजिक परम्परा जस्तै थियो। तर मैले हवाई सेनामा जान भने पाइनँ।
विज्ञान विषयमा मेरो नम्बर राम्रै आएको थियो। पाइलट हुन नपाए मेडिकल नै पढ्ने अठोट थियो। अनि बनारस हिन्दू विश्वविद्यालयबाट एमबीबीएस गरें। एमएस चाहिं कर्नाटकबाट गरें। त्यसपछि म नेपाल आएको हुँ।
![dr. yam bahadur roka (3).jpg](https://www.himalkhabar.com/uploads/editor/interview/dr. yambahadur roka/dr. yam bahadur roka (3).jpg)
तपाईं त लेखकका रूपमा पनि परिचित हुनुहुन्छ। अंग्रेजी भाषामा लेखिएका १० वटा कवितासंग्रह प्रकाशित भइसकेका छन्। साहित्यप्रति लगाव चाहिं कसरी बस्यो?
विद्यालयमा छँदादेखि नै म कविता लेख्थें। शुरूका तीन संग्रहमा मैले पहिल्यै लेखेका कविताहरू छन्।
साहित्यमा लगाव बढ्नुको कारण चाहिं विद्यालय तहदेखि नै साहित्यिक कृति पढेकाले होला। हाम्रो विद्यालयको पुस्तकालयमा धेरै पुस्तक हुन्थे, ती पढ्ने मौका पाइयो। हाम्रा अंग्रेजी शिक्षकहरूले पढाएको साहित्यको प्रभावले पनि साहित्य लेखनको आधार दिएको हो। कवितामै किन केन्द्रित भएँ होला भने कविता थोरै समयमा लेखी सकिने भएकाले पनि होला।
व्यस्तताको बावजूद लेख्ने समय कसरी निकालिरहनुभएको छ?
काम सकिएपछि साँझ वा रातमा लेख्ने गर्छु। कहिलेकाहीं कामको बीचको विश्राममा पनि लेख्ने गर्छु। बिदाको दिन पनि लेखनका लागि समय निकाल्ने गर्छु। तर समय भयो कि लेख्न बसिहाल्ने पनि होइन, दिमागमा जब कुनै विषयले प्रहार गर्छ, त्यो वेलामा लेख्ने हो।
तपाईंले हजारभन्दा बढी कविता लेखेर प्रकाशित गरिसक्नुभएको छ। आफ्नो अनुभवका आधारमा नयाँ पुस्ताका कविलाई के सुझाव दिनुहुन्छ?
आधुनिक जीवन पद्धतिले गर्दा हामी एउटा पेशा र परिचय बनाउन बाध्य छौं। त्यस बाहेक हामीभित्रको जुन व्यक्तित्व छ, त्यसलाई हाम्रो शोख वा रुचिले निखार ल्याउने हो। त्यसकारण आफ्नो रुचि वा शोखलाई कहिल्यै बिर्सनु हुँदैन, मर्न दिनु हुँदैन।
मैले एउटा चित्र बनाएँ भने त्यो अन्तर्राष्ट्रिय तहमा पुग्नैपर्छ भन्ने छैन। त्यो मेरो अभिव्यक्तिको एउटा माध्यम हो। मैले केही हासिल गर्नैपर्छ भन्ने छैन। त्यसमाथि रुचि वा शोखबाट पाइने आनन्द त निःशुल्क हो।
बिर्सन नहुने कुरा के हो भने रुचि वा शोख भनेको हामीले निःशुल्क पाएको छाया व्यक्तित्व हो। हाम्रो देखिने व्यक्तित्वलाई सफल बनाउन छाया व्यक्तित्वको ठूलो भूमिका छ।
यहाँले जुन रुचि र शोखको कुरा गर्नुभयो, त्यसलाई प्रवर्द्धन गर्ने वातावरण नेपाली समाजमा छ त?
मेरा बुबाले लाहुरे भएर मात्र हुँदैन, लेखपढ पनि गर्नुपर्छ भनेर हाम्रो पढाइलाई पनि प्राथमिकतामा राख्नुभयो। अतिरिक्त क्रियाकलापमा लाग्न पनि प्रोत्साहन गर्नुभयो। तर मैले पाए जस्तो सुविधा धेरै नेपालीले पाउँदैनन्। यो दक्षिणएशियाली मुलुकको साझा समस्या हो।
मैले लामो समय भारतमै अध्ययन गरेको हुँ। त्यहाँ त बाबुआमाले छोरोछोरीको अंक मात्र हेर्ने चलन छ। नेपालमा पनि बच्चाले राम्रो अंक ल्याओस् भन्नेमा मात्र बाबुआमाको ध्यान छ।
तर आफ्नो सन्तानले स्कूलमा गएर अर्थोक केही सिकेको छ कि छैन, केही नयाँ कुरा सिक्न रुचि देखाएको छ कि छैन भन्ने कुरामा चाहिं वास्ता गरिराखेका छैनौं। बच्चाले राम्रो गरिराखेको संगीत, कला, गायनमा मात्र लगाउन सकिंदा पनि हुन्थ्यो। कमाउन केही न केही गर्नुपर्ने बाध्यता अभिभावकले अनुभव गरेका छन्। विदेशको जस्तो शोख वा रुचिबाटै कमाउन सक्ने, जीवन धान्न सक्ने वातावरण छैन।