एउटा जिन्दगी किताबको गातालाई
![एउटा जिन्दगी किताबको गातालाई](https://www.himalkhabar.com/uploads/posts/800X600/tekbir-mukhiya-main-1696518459.jpg)
पाँच हजारभन्दा बढी किताबको आवरण सिंगारे, अरू चित्र त कति कति। धेरैले सुमसुम्याएको उनको कला जीवनको उत्तरार्द्धमा सम्मानित भएको छ।
म त थचक्कै बसें नि। पत्यारै लागेन। म जस्तो मान्छेले के नै गरेको छु र? यत्रो सम्मान पाएँ भन्ने लाग्यो।
असोज १७ गते दिउँसो। निख्रिंदै गरेको मनसुनले काठमाडौं रुझिरहेथ्यो। केही दिनअघिसम्म गर्मी भइरहेको उपत्यका चिसिइसकेको थियो। यो चिसो क्षणमा उनी भने युवा जोशका साथ त्यो क्षणको चर्चा गर्दै थिए, जसको उनलाई कल्पनासम्म थिएन।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले यस वर्षको जगदम्बा-श्री सम्मान अर्पण गर्ने गुठीको निर्णय असोज १४ गते फोनबाट सुुनाएपछि टेकवीर मुखियाको जवानी फिरेको छ। दीक्षितको फोन सुन्दाको अवस्था वर्णन गर्दै माथिका वाक्य दोहोर्याउँछन्, “म त थचक्कै बसें नि। पत्यारै लागेन। म जस्तो मान्छेले के नै गरेको छु र? यत्रो सम्मान पाएँ भन्ने लाग्यो।”
नभए त टेकवीरले सदाका लागि आफ्नो कुची बिसाइसकेका थिए। “पोहोर साल पशुपतिनाथका १२ वटा चित्र बनाएर मन मिल्ने जतिलाई बाँडेपछि अब सक्दिनँ भनेर बसेको थिएँ। केहीको आशा नै थिएन,” उनी सुनाउँछन्।
नथाकून् पनि किन? साझा प्रकाशनबाट छापिने पुस्तकमा जति तस्वीर कोरेका छन्, शायद त्यति नै रेखा समयले उनको अनुहारमा कोरेको छ। नौ दशक नाघेका उनले ६ दशक त कुची समाएरै बिताइदिएका छन्।
यो उनै व्यक्तिको कथा हो, जो कुनै वेला साझाले छाप्ने किताबका आवरण चित्रको पर्याय थिए।
![tekbir mukhiya (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/tekbir mukhiya/tekbir mukhiya (3).jpg)
उनलाई कसरी चिनाउनुपर्छ? एक शब्दमा- चित्रकार।
चित्रकार हुन् उनी। यो परिचय रातारात बनेको होइन। कसैको पनि परिचय एकै पटक कहाँ बन्छ र!
लामो र कठिन यात्रा गरेपछि मानिस सफलताको चुचुरोमा पुग्छ। अनि बल्ल दुनियाँले अनुहार सम्झिन्छ। तर त्यो मुहार पछाडि लुकिबसेको हुन्छ, अनेकौं पटकको असफल प्रयत्न। परिश्रमको पसिना। दिक्दारीको आँसु र पटक पटक पछारिंदा पनि धूलो टकटक्याउँदै उठेर गरेको अठोट।
हरेक मानिसको सफलता पछाडि लामो कथा हुन्छ। सम्झनाको सन्दुकमा जतनले राखेको कथा।
टेकवीरको कथा भारतबाट शुरू हुन्छ। आज होइन, ९२ वर्षअघि।
![tekbir mukhiya (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/tekbir mukhiya/tekbir mukhiya (4).jpg)
नौ दशकअघि दार्जीलिङमा जन्मिएका थिए, टेकवीर। कर्मको खोजले उनलाई शीतल दार्जीलिङबाट गरम कलकत्ता पुर्यायो। यसै पनि बंगाली संस्कृति कलाकै कारण प्रसिद्ध छ। त्यसमाथि कलकत्ता। “कलाको खानी जस्तै थियो त्यति वेला,” उनी सम्झिन्छन्।
कलाको त्यो खानीमा उनले भने रङ र कुची समाए। साथीहरूसँग मिलेर फिल्मका पोस्टर बनाउनेदेखि घरका भित्तामा चित्र बनाउन थाले।
बुबा कर्णवीर मुखिया चाहन्थे, छोरा भारतीय फौजमा भर्ती होस् वा व्यापार गरोस्। पैसा कमाओस्। “रङ भर्ने दुखिया पेशा किन गर्नु भन्नुहुन्थ्यो!” उनी सम्झिन्छन्।
तर यसै त मनमौजी स्वभावका त्यसमाथि रङमा रस बसिसकेको, टेकवीरले बुबाको अर्ती सुनेनन्। बरु आफ्नो बाटो आफैं खन्न लागे नेपालतिर।
चित्रकार टेकवीर मुखियालाई मन पर्ने आफ्नो कलाकृति।रङ खुइलिसकेका तस्वीर जस्तै धमिला स्मृति कोट्याउँछन्, टेकवीर। समयको ढुसी परेका यी स्मृतिमा तिथिमिति खोज्न गाह्रै पर्छ।
“२०११ सालतिरको कुरा हो कि!” सम्झिन बल गर्दा पनि सम्झिन सक्दैनन्। यो त्यति वेलाको प्रसङ्ग हो, जति वेला १०४ वर्षे जहानियाँ राणाशासनबाट मुक्त नेपाल प्रजातन्त्रसँगै आधुनिकतातिरको यात्रामा थियो। एकातिर आमनेपाली स्वतन्त्र जनता बन्न लालायित थिए, अर्कातिर राज्य सञ्चालकहरू देशलाई नयाँ पहिचान दिन आतुर। नेपालको त्यो नयाँ पहिचान कलकत्तासम्म पुगिरहेथ्यो। सगरमाथाको देशले चिनिन थालेको थियो नेपाल। त्यो नेपाल स्वप्नलोक बनिरहेको थियो, उनका लागि।
एक कार्यक्रमको सिलसिलामा कलकत्ता पुगेका राजा महेन्द्र र बीपी कोइरालाले भाषणमा एउटै कुरा भने- ‘देश फर्केर आफ्नो सीप देशलाई देऊ।’
त्यो भाषणले टेकवीरलाई सपना जन्माइदियो- नेपाल जाने।
करीब एक दशकपछि मात्रै उनले त्यो सपना पूरा गर्न सके। “२०२२ सालतिर हो कि जस्तो लाग्छ, साथीको घर जान्छु भनेर भागेर नेपाल आएँ,” बल गरेर सम्झिँदै, बिस्तारै, अडिंदै सुनाउँछन् उनी।
त्यति वेलाको नेपाल काठमाडौं नै थियो। उनी पनि त्यही नेपाल खाल्डोमा आइपुगे। गुह्येश्वरीमा मामाको घर थियो। त्यहीं बसे। पशुपतिनाथको नाम सुनेका थिए। कल्पनैकल्पनामा चित्र पनि कोरेका थिए।
चित्रकार टेकवीर मुखियालाई मन पर्ने आफ्नो दोस्रो कलाकृति।अब भने आफैं त्यहाँ पुगेर तस्वीर कोर्न थाले, पशुपतिनाथको होइन त्यहाँका बाँदरको। “बाँदरले कहाँ सजिलो गरी चित्र बनाउन दिन्थ्यो र! हैरान पार्थ्याे। तैपनि बनाउँथें,” हाँस्दै सुनाउँछन् उनी।
बाँदरको तस्वीरले पेटको भोक मार्दैनथ्यो। काम खोज्न थाले। त्यही सिलसिलामा भेट भयो, ऋद्धिबहादुर मल्लसँग। साहित्यकार ऋद्धिबहादुर मल्लले आफ्नै ‘जोरगणेश प्रेस’ मा जागीर दिए। काम त उही थियो, किताबको आवरण र अन्य पर्चा-पोस्टर बनाउने। तलब थियो, ३०० रुपैयाँ।
त्यो अहिले जस्तो सजिलो समय थिएन। फलामका टुक्रामा कुँदिएका अक्षर फर्मामा बाँधेर छाप्ने लेटर प्रेसको जमाना थियोे। काठको ब्लकमा चित्र बनाउनुपर्थ्यो। एउटै तस्वीरका लागि धेरै मेहनत पर्थ्यो। तैपनि जवानी थियो, रहर थियो। दत्तचित्त भएर लागे।
कार्यालय समय बाहेक साँझ-बिहान उनी उपत्यकाका विभिन्न ठाउँमा घुम्न निस्कन्थे। जे जे देख्थे, क्यानभासमा उतार्थे। उनका ती चित्रमा त्यति वेलाको नेपाल खाल्डो मुस्कुराइरहेछ, आज पनि।
![tekbir mukhiya (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/tekbir mukhiya/tekbir mukhiya (7).jpg)
यसरी काठमाडौं खाल्डोमा जम्ने प्रयास गरिरहँदा एउटा नयाँ मोड आयो जहाँबाट आजका टेकवीरको जन्म भयो। भर्खरै खुलेको साझा प्रकाशनमा पुस्तकको आवरण बनाउने काम पाए, २०२२ सालमा।
त्यति वेला रातदिन किताबको आवरण मात्र बनाउने गरेको सम्झिन्छन् उनी। “साझाका दुई वटा प्रेस थिए। दिउँसो एउटा र राति अर्को प्रेसको काम गर्थें,” संघर्ष र परिश्रमका ती दिन सम्झिँदै भन्छन्, “साझामा काम गरेको एक वर्ष त दिनमा एक-दुई घण्टा मात्र सुतेको छु। टुकी बालेर काम गर्थें।”
साझामा लगाएको त्यो समयले टेकवीर मुखियालाई चित्रकार मुखिया बनायो। जहाँ उनले पाँच हजारभन्दा बढी किताबको आवरण बनाए। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनदेखि माधवप्रसाद घिमिरेको गौरीसम्मको आवरणलाई उनले आफ्नो कलाले सिंगारे।
साझामा पुस्तक छाप्ने चाप बढी हुँदा कहिलेकाहीं त दिनमै ५-६ वटासम्म पुस्तकको डिजाइन बनाएको समेत सम्झिन्छन्। उनको त्यही कर्मले पहिचान दियो र दियो सम्मान पनि।
सुन्दा अचम्म लाग्न सक्छ र अपत्यारिलो पनि। यति धेरै चित्र कोर्ने टेकवीरले चित्रकलाको औपचारिक कक्षा भने कहिल्यै लिएनन् न कुनै तालीम नै।
भन्न सकिन्छ, गुरु विनाका एकलव्य हुन् उनी। जसले गल्ती गर्दै सिके। घुमघाम, समाज र फिल्मले सिकाएको बताउँछन् उनी। “हलमै गएर हजार वटा जति चलचित्र त हेरें होला,” फिल्मको नाम नसम्झिए पनि जवानीका दिन बिर्संदैनन् उनी।
पिताले भनेका थिए, रङ र कुची समाएर जिन्दगी चल्दैन। तर चित्र कोरेरै कमाए उनले। २०३५ सालतिर साझा प्रकाशनमा काम गर्दा पाँच हजार रुपैयाँ तलब बुझ्ने गरेको सम्झिन्छन्। साँझ-बिहान अरू चित्र बनाउँदा कमाइ झनै बढ्यो।
नाम कमाए। दाम पनि कमाए तर घर बसिसकेको थिएन। काठमाडौं आएको पनि दुई दशक भइसकेको थियो।
२०३९ सालमा ५० वर्ष पुग्न एकै वर्ष मात्र बाँकी थियो। उनले विवाह गर्ने निधो गरे। खर्साङकी शुक्रसँग।
टेकवीर र शुक्र मुखिया।सधैं व्यस्त रहने भए पनि टेकवीरले घरायसी काममा सघाउने गरेको शुक्र सुनाउँछिन्। “दिनभर साझामा, साँझ र बिहान घरमा नै चित्र बनाए पनि आफ्नो लुगा धुनेदेखि भान्सामा पनि सघाउनुहुन्थ्यो,” उनी भन्छिन्।
कलाकार न परे टेकवीर। काम गर्दागर्दै रातको २ बजेको पनि मेसो पाउँदैनथे। अनि काम गर्दा वरिपरि कोही बसेको पनि रुचाउँदैनथे। “कुनै काम गर्दा केही बोल्न नहुने। लागेपछि लाग्यो लाग्यो। कोही बोल्यो भने ‘अब यो काम नगरे पनि हुन्छ, बिग्रियो’ भन्नुहुन्थ्यो। अनि त्यस वेला चाहिं हामी भरसक छेउ पर्दैनथ्यौं,” शुक्र सुनाउँछिन्।
यिनै संघर्ष र उतारचढावबीच दुई सन्तान पनि जन्मिए, श्रद्धा र समृद्धि। परिवार नियोजनको विज्ञापनमा देखाइने सुखी परिवार बन्यो उनको पनि।
यी त सबै बितेका कुरा भए। भित्तामा झुन्डिइबसेका पुराना दिनका थोत्रा क्यालेन्डर जस्तै मैलिइसके सबै। टेकवीरको स्मृतिमा अचेल ती दिन त्यति आउँदैनन्। विस्मृतिले गाँजेको छ।
भर्खरै खबर पाएका छन्, आफू सम्मानित भएको। त्यो खबरले जवानी फर्काइदिए जस्तो लागेको उनी सुनाउँछन्। यही माघ १० गते उमेरको ९२औं सिढी उक्लिँदै छु भन्ने पनि बिर्सिएका छन्, केही दिनयता।
कुची समाउन, रङ खेलाउन रहर छ तर सक्दैनन्। आफैंले कोरेका तस्वीर र बनाएका आवरण सुमसुम्याई बस्छन्। शायद देख्छन्, बितिगएका दिनहरू फिल्मका दृश्य जस्तै। अनि एकाएक भन्छन्, “चित्र बनाउन कहिल्यै दिक्क-झन्झट लागेन। पेन्टिङ गर्न मलाई कहिल्यै पनि दुःख लागेन।”
भन्दाभन्दै आफ्नै तर्कनामा हराउँछन् उनी। झस्काउँदै सोध्छु, “त्यसो भए चित्रकला तपाईंका लागि के हो त?”
गाह्रो छ बोल्न। शब्द सम्झिनुपर्यो। वाक्यमा मिलाएर राख्नुपर्यो। कष्टै गरेर टेकवीर भन्छन्, “म छु कि चित्रकला छ। चित्रकला बाहेक मेरो कुनै पनि गुण छैन।”
(सम्पादन: लक्ष्मण श्रेष्ठ, भाषा: प्रद्युम्न खनाल)