ब्लग मंगलबार, साउन २१, २०७६

हाम्रा पुष्पक विमान !

कनकमणि दीक्षित

हवाईजहाज जस्तो देखिंदैमा त्यो हवाईजहाज हुँदैन, आविष्कार त परको कुरा !

तस्वीरः ए–वन टीभी

फलानो गाउँका जाँगरिला ‘वैज्ञानिक’ युवाले विमान बनाए– झण्डै, झण्डै हरेक दुई/तीन महीना, दुई/तीन महीनामा हाम्रा सञ्चारकर्मीले नबिराई यस्तै समाचार प्रकाशित/प्रसारित गर्छन् । तर पनि अहिलेसम्म आकाशमा ‘मेड् इन् नेपाल’ पुष्पक विमान उड्दै/बस्दै गरेको देख्न पाइएको छैन ।

समाचारका अनुसार, पछिल्लो हवाईजहाज ‘उत्पादन स्थल’ थियो, सल्यान जिल्लाको मेलघारी । जहाँ ९ कक्षामा पढ्ने १५ वर्षे किशोरले चार जना बस्न मिल्ने विमान तयार पार्दै गरेको समाचार एउटा ठूलै टेलिभिजन च्यानलले प्रस्तुत गर्‍यो ।

उनले यसअघि ‘हेलिकप्टर उडाइसकेको’ रिपोर्टरले बताए । जहाज निर्माणमा नगरपालिका, गाउँपालिका र स्कूलले सहयोग गरेको र थप तीन लाख जुटाउन सके जहाज उड्ने युवकको भनाइ छ । “उडाउँछु भनेर आँटेको छ, कसैले सहयोग गर्दिए हुन्थ्यो । धेरै दुःख छ”, आमा भन्छिन् । छेवैमा बसेकी हजुरआमा थप्छिन्, “कहिले उडाउला भन्ने भा’छ ।”

समस्या यी किशोरको होइन, न त उत्साहका साथ ‘हवाईजहाज’ बनाउँछु भनेर ठाउँ–ठाउँमा तम्सिने युवाहरूको । तर जान्ने–बुझ्ने पत्रकार, शिक्षक, समाजका लब्धप्रतिष्ठितले टीन, काठ, पाङ्ग्रा, ऐना, तार जोडेर देख्नमा हवाईजहाज जस्तो आकार हुनेबित्तिकै ‘हवाईजहाज नै आविष्कार गरे’ नभन्नुपर्ने हो ।

विज्ञान विषयको पढाइ कम र कमजोर भएको हाम्रो मुुलुकमा ‘नेपालमा हवाईजहाज बन्यो’ भनेर उत्साहित हुने जमात ठूलो हुन्छ, तर एउटैले पनि अहिलेसम्म आकाश नछोएकोले आम मस्तिष्कमा कति अन्योल र नैराश्य पैदा भयो त्यो पनि सोचनीय छ ।

‘एरोडाइनामिक’ विज्ञानले भन्छ – हवाईजहाज उड्नलाई मुख्यतः पखेटा चाहिन्छ, पूरै जहाज अगाडि बढ्दा ‘लो एर प्रेशर’ वा ‘पार्सल भ्याकुम्’ पैदा हुन्छ, र पखेटाको मुनिको भागमा बन्न जाने ‘हाई एर प्रेशर’ ले पूरै हवाईजहाजलाई माथि धकेल्छ र, ऊ अकाशिन्छ ।

विज्ञान विषयको पढाइ कम र कमजोर भएको हाम्रो मुुलुकमा ‘नेपालमा हवाईजहाज बन्यो’ भनेर उत्साहित हुने जमात ठूलो हुन्छ, तर एउटैले पनि अहिलेसम्म आकाश नछोएकोले आम मस्तिष्कमा कति अन्योल र नैराश्य पैदा भयो त्यो पनि सोचनीय छ ।

तसर्थ, पत्रकार हुन् वा जो–कोहीले शुरुमै नियाल्नुपर्ने पखेटाको ‘एरोफोइल क्रससेक्सन’ (साथैको तस्वीरमा जस्तो) छ, छैन भन्ने हो । उडिसकेको जहाज मोड्न पुच्छर (टेल) मा रडर चाहियो, मोड्ने क्रममा जहाजलाई दायाँ वा बायाँ ढल्काउन पखेटाको दुई कुनामा ‘एलेरन्’ । ‘टेक अफ्’ र ‘ल्याण्डिङ्ग’ को बेला गति घटाउन पखेटा मुनि ‘फ्ल्याप्’ चाहियो, अनि जहाज अगाडि बढाउन इन्जिन र प्रोपेलर ।

यति नभए वास्तविक हवाई जहाज बन्दैन । त्यसैले सहजै पटकपटक हवाईजहाज निर्माण गरेको दाबी सहितका यस्ता अ–समाचार नबनाउन, नलेख्न, सम्प्रेषण नगर्न एउटा सञ्चारमाध्यम सचेतना अभियान नै चाहिएको देखियो ।

कतै कतै ‘एरोडाइनामिक प्रिन्सिपल’ बुझेरै पनि जहाज बनाउन थालेको देखिन्छ युवाहरुले । ‘आविष्कार’ नै भन्न नमिले पनि यस्ता युवालाई प्रोत्साहन र हौसला दिने हो । तर ज्यान जोखिममा पार्ने गरी अघि बढ्न नदिनु समाज र सरकार दुवैको दायित्व हो ।

आफ्ना वैज्ञानिक कमजोरी केलाइरहँदा अन्यत्र पनि हवाई विज्ञानको बुझाइमा कमी छैन भन्ने चाहिं होइन । मैले भर्खरै सिध्याएको अमिताभ घोषको नयाँ उपन्यास ‘गन् आइल्याण्ड’ मा यस्तै एउटा विचित्रको प्रसंग रहेको छ ।

उपन्यासका मुख्य पात्र हुन् दिनानाथ, जसको भारतको बंगालदेखि इटली र अमेरिकाको क्यालिफोर्निया सफर गराउँदै आजका ठूला विश्वव्यापी मुद्दा जस्तै मानव तस्करी, बसाइँसराइ र मौसम परिवर्तनलाई इतिहास र मिथ्याको सम्मिश्रण सहित उपन्यासकार घोष प्रस्तुत गर्दछन् ।

तर, पृष्ठ ११७ मा एउटा प्रसंग छ, जहाँ दिनानाथ चढेको जेट विमान लस् एन्जलिसको हवाईअड्डामा अवतरणको क्रममा हुन्छ । उनले प्लेनको झ्यालबाट हेरिरहँदा अचानक दुई वटा चील (वा बाज) देख्छन्, जोे एउटै सानो जन्तुको शिकारमाथि लुछाचुँडी गरिरहेका हुन्छन् । ती चराहरू कहिले तल, कहिले माथि उड्दै शिकार आफ्नो बनाउन प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

कृतिकार घोषले उपन्यासमा दुई चीलको लुछाचुँडीलाई बिम्बात्मक वा ‘एलिगोरिकल’ नभई वास्तविक चित्रण गरेका हुन् । तर जुनसुकै दृष्टिले प्रस्तुत गरिए पनि लड्दै गरेका चीलको दृश्य यो उडान र ‘एरोडाइनामिक’ विज्ञानको विपरीत छ ।

हामी धेरैलाई थाहा छ कि अवतरणका क्रममा जेट विमानको तीव्र गतिका कारण चराहरुको लडाइँ यसरी फुर्सदिलो तवरमा अवलोकन गर्न सम्भव नै छैन ।

‘गन् आइल्याण्ड’ को लस् एन्जलिसको आकाश र सल्यानको मेलघारी । यी दुई धरातलका सन्दर्भलाई म जोड्दछु, हवाई विज्ञान बुझाइको आडमा। ‘एरोडाइनामिक सिद्धान्त’ ले मानवको हवाई यात्रा सम्भव बनाएको हो । विना यो सिद्धान्त, न ठोकठाक पारेर बनाएको कुनै वस्तु उड्दछ, न त उपन्यासमै कुनै कुरा विश्वसनीय हुन्छ ।

प्रतिकृया दिनुहोस