‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
![‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’](https://www.himalkhabar.com/uploads/posts/800X600/Shambhu_Acharya_Cover_1695626503.jpg)
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एशिया कार्यालयको नयाँ क्षेत्रीय निर्देशकका लागि आउँदो कात्तिक १३ गते (३० अक्टोबर) चुनाव हुँदै छ। उम्मेदवार छन्, नेपालका शम्भु आचार्य र बाङ्लादेशकी सायमा वाजिद। आचार्यसँग जनस्वास्थ्यमा काम गरेको ३० वर्षको अनुभव छ। उनी अहिले डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक छन्। उनको काम डब्लूएचओको व्यवस्थापनलाई सल्लाह-सुझाव दिनुका साथै दिशानिर्देश गर्नु हो।
क्षेत्रीय निर्देशकमा मनोनीत भएमा नेपाल सहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बाङ्लादेश, इन्डोनेशिया, उत्तर कोरिया र टिमोर लिस्टे देश उनको कार्यक्षेत्रमा पर्नेछन्। सन् १९९९ देखि डब्लूएचओको उच्च तहमा रहेर काम गर्दै आएका उनै आचार्यसँग आउँदै गरेको चुनावमा आधारित रही हिमालखबरका लागि सागर बुढाथोकीले कुराकानीको सम्पादित अंश:
डब्लूएचओको क्षेत्रीय निर्देशक पदका लागि नेपाल सरकारले तपाईंलाई उम्मेदवार बनाएको छ। चुनावको तयारी कस्तो चल्दै छ?
मलाई जिताउन नेपाल सरकारले अन्य देशसँग पनि वार्ता गरिरहेको छ। व्यक्तिगत तर्फबाट पनि म तयारी गर्दै छु। उम्मेदवार भएपछि आफ्नो भिजन, मिसन र रणनीति समेटेर एउटा वेबसाइट बनाएको छु। त्यसमा मेरो अनुभवदेखि क्षेत्रीय निर्देशक भएमा गर्ने कामको फेहरिस्त राखेको छु।
एक महीना पहिले म स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग जी-२० को हेल्थ मिनिस्टर मीटिङ र ग्लोबल ट्राडिशनल मेडिसिन समिटमा सरकारको प्रतिनिधि भएर गएँ। त्यहाँ स्वास्थ्य मन्त्रीले मलाई चिनाउने अवसर दिनुभयो। परराष्ट्र मन्त्रालयको पहलमा नेपालमा भएका राजदूतावासको जोइन्ट सेक्रेटरीको तहसँग परिचय गर्ने कार्यक्रम गरें। त्यहाँ मैले मेरो रणनीति र योजना सुनाएँ।
नेपालका जनस्वास्थ्यविद्, आमनागरिकले पनि मलाई धेरै साथ र सहयोग दिएका छन्। उनीहरूले मेरो उम्मेदवारी नेपालका लागि राम्रो अवसर भएको भन्दै प्रचार गरिरहेका छन्। भारतको द हिन्दू पत्रिकाले पनि मेरोबारे राम्रो लेखेको थियो। मलाई ११ वटा देशका प्रतिनिधिले मत दिन मिल्ने भएकाले राज्यतहमा वार्ता हुन पनि आवश्यक छ।
चुनाव लडेको अनुभव नभए पनि डब्लूएचओका चुनाव परै बसेर हेरेको थिएँ। म जेनेभा (डब्लूएचओ मुख्यालय) गइसकेपछि महानिर्देशकको पनि तीन वटा चुनाव भयो। त्यो वेला कसले कस्तो चुनावी योजना लिएर अघि बढ्छ भनेर निरीक्षण गरिरहेको थिएँ।
अर्कातर्फ, मैले ६ वटै क्षेत्रका क्षेत्रीय निर्देशकसँग नजिकबाट काम गरेको छु। उनीहरूले केकस्तो अजेन्डा लिएर चुनाव जिते भन्नेबारे पनि जानकार छु।
बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी तपाईंको प्रतिस्पर्धी छन्। कत्तिको चुनौती महसूस गर्नुभएको छ?
म अरूलाई हेर्नेभन्दा पनि आफूमा केन्द्रित छु। मसँग जनस्वास्थ्यमा काम गरेको लामो अनुभव छ। राष्ट्रिय, क्षेत्रीय र ग्लोबल तहमै काम गरेको छु। म्यानेजर, वैज्ञानिक, पब्लिक हेल्थ अफिसर, निर्देशक भएर काम गरिसकें। अहिले महानिर्देशकको अफिसमा काम गरिरहेको छु।
मेरा यी पृष्ठभूमिले त्यो पदलाई आवश्यक अनुभव, ज्ञान र सौम्य सीप दिएका छन्। त्यसैले ११ वटा सदस्य राष्ट्रहरूले पनि मलाई एक कदम अगाडि ठान्छन् भन्ने मानेको छु।
तपाईं क्षेत्रीय निर्देशक निर्वाचित हुनुभयो भने के के काम गर्नुहुन्छ त?
मेरा केही प्राथमिकता छन्। म दक्षिणपूर्वी एशियाको दीर्घकालीन स्वास्थ्य सेवाबारे केन्द्रित हुन चाहन्छु। यसमा समाज, जनतादेखि स्वास्थ्यमा सम्बन्ध राख्ने सरोकारवालासँग सम्बन्ध रहनेछ।
स्वास्थ्यकर्मीको सङ्कट समाधानतर्फ पनि काम गर्नुपर्नेछ। स्वास्थ्य सङ्कटबाट सुरक्षित राख्ने पनि मेरो प्राथमिकताको क्षेत्र हो। त्यसका लागि सदस्य राष्ट्रहरूसँग कुरा गरिरहेको छु। हरेक देशमा प्राथमिक उपचारको अवस्था बलियो भए भविष्यमा आउने महामारी र स्वास्थ्य सङ्कटबाट धेरै हदसम्म जोगिन सकिन्छ।
न्यून खर्चमा स्वास्थ्य सेवा कसरी सुधार गर्ने भन्ने विषयमा पनि ध्यान पुर्याउनेछु। यसमा प्रविधि विस्तार लगायत काम सदस्य राष्ट्रसँग मिलेर गर्न सकिन्छ।
डिजिटल क्षेत्र पनि मेरो प्राथमिकतामा छ। प्रविधिको सहयोगमा कसरी स्वास्थ्य क्षेत्रको जानकारी प्राप्त गर्न सकिन्छ भन्नेमा काम हुनुपर्छ। यसका लागि हामीले डिजिटल टेक्नोलोजी, तथ्याङ्क सङ्कलन, तथ्याङ्कको प्रयोग लगायत काम गर्नुपर्छ।
जलवायु परिवर्तन स्वास्थ्यमा प्रभाव पार्ने अर्को पक्ष हो। यसै पनि यो विश्वकै टाउको दुखाइको विषय बनिरहेको छ। वातावरण परिवर्तनका कारण उत्पन्न हुने स्वास्थ्य समस्यामा काम गर्ने योजना छ। त्यस्तै, समानता, विविधता, लैङ्गिकताको सम्मान गर्दै संस्थामा नयाँ र उपयोगी योजना ल्याउनेछु।
डब्लूएचओमा काम गर्दैगर्दा तपाईंले नेपाल सहित थुप्रै देशको स्वास्थ्य सेवाको अवस्थाबारे मिहिन ढङ्गले अध्ययन गर्नुभयो। ती देशको स्वास्थ्य सेवामा केकस्ता चुनौती रहेको पाउनुभयो?
स्वास्थ्यमा केही गलत भयो भने त्यसले देशको विकास रोक्छ। सबै देशले अहिले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छन्। चुनावको घोषणापत्रदेखि संविधानमा पनि स्वास्थ्य अधिकार हो भनेर लेखिएको हुन्छ। कोभिड-१९ महामारीले पनि स्वास्थ्यको महत्त्व देखाइदियो। स्वास्थ्य सेवाबारे नसोच्ने हो भने हामी सकिने रहेछौं भन्ने अवस्था आयो।
मैले धेरै देशको स्वास्थ्य सेवा उकास्न उनीहरूको अवस्था अध्ययन गरेर रणनीति बनाउने काम गरेको छु। तर, नीति कार्यान्वयन प्रभावकारी ढङ्गले नभएको देखिन्छ। त्यसका लागि आर्थिक स्रोत चाहिन्छ। कतिपय मुलुकमा आवश्यकभन्दा कम बजेट छुट्याइएको छ।
आर्थिक स्रोत भएर मात्र पनि हुन्न, त्यसको वितरण पनि प्रभावकारी ढङ्गले हुनुपर्छ। त्यसमा चुहावट हुनु भएन।
अहिले धेरै देशमा प्राथमिक स्वास्थ्य सेवा केन्द्रका लागि भवन बनेको छ। तर, दक्ष जनशक्ति, उपकरण र औषधि कसरी पुर्याउने भन्ने चुनौती छ। कतिपय देशमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ, जसको डरले विश्वका धेरै ठाउँमा स्वास्थ्यकर्मी छैनन्।
विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।
राज्यले जनस्वास्थ्यमा लगानी गरे नागरिकलाई फाइदा हुन्छ भन्ने कुरा अझै बुझाउन नसकिएको हो?
स्वास्थ्यको नीति हेर्दा प्राथमिक स्वास्थ्यलाई महत्त्व दिने भनिएकै छ। संविधानमा पनि आधारभूत स्वास्थ्य हक भनिएको छ। हामीसँग पूर्वाधार पनि छ। राज्यले प्राथमिक स्वास्थ्य सेवामा जनशक्ति, पूर्वाधार र उपकरण थप्यो भने त्यसले ग्रामीण क्षेत्रका नागरिकलाई एकै पटक ठूला अस्पताल जानुपर्ने बाध्यताबाट रोक्छ।
![](https://www.himalkhabar.com/uploads/editor/Health/Shambhu%20Acharya/ShambhuAcharya1.jpg)
त्यसैले स्वास्थ्यलाई एउटा सामाजिक अभियानका रूपमा अघि लैजानुपर्छ भन्ने मेरो मान्यता हो। स्वास्थ्यको सुधार राज्यले चाहेर मात्र हुँदैन, नागरिक समाज र हरेक व्यक्तिलाई समावेश गराएर स्वास्थ्य शिक्षा दिन जरुरी छ।
मानिसले आफ्नो आनीबानी, खानपान र जीवनशैली सुधार गर्ने हो भने धेरै स्वास्थ्य समस्या हराएर जान्छन्। यी कुरा लागू गर्न सके जनस्वास्थ्यको अवधारणा पूरा हुन्छ।
कोभिड-१९ महामारीले धेरै देशलाई स्वास्थ्य प्रणालीको पुन:संरचना गर्नुपर्छ भन्ने सोच्न बाध्य बनायो, नेपालले चाहिं कस्तो प्रणाली अवलम्बन गर्नुपर्ला?
तथ्याङ्क हेर्ने हो भने अन्य देशको तुलनामा नेपालको कोभिड-१९ प्रतिकार्यलाई राम्रो मान्न सकिन्छ। कमीकमजोरी त जहाँ पनि हुन्छ, नीति र प्रणाली हेर्ने हो भने चाहिं खासै परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन। किनकि, नीतिमा निःशुल्क स्वास्थ्य सेवादेखि कडा रोगका उपचारमा सहुलियत प्रदान गर्ने उल्लेख छ।
मेरो विचारमा नेपालमा मात्र नभएर सबै देशमा प्रणालीलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ। अर्को कुरा, प्राथमिक स्वास्थ्य सेवालाई स्रोतसाधन, जनशक्ति र उपकरण दिएर प्रभावकारी बनाउनुपर्छ। राज्यले नीतिभन्दा पनि कार्यान्वयन गर्न लगानी गर्नुपर्छ।
विश्वव्यापी रूपमा स्वास्थ्य र शिक्षामा सामान्यतया एकै तहको खर्च हुन्छ। हाम्रोमा भने स्वास्थ्य र शिक्षाको खर्चमा धेरै अन्तर छ। स्वास्थ्यमा लगानी अलिकति बढायो भने धेरै सुधार गर्न सकिन्छ। सँगै त्यो सही रूपमा खर्च भइरहेको छ/छैन भनेर अनुगमन र नियमन जरुरी हुन्छ।
स्वास्थ्य सेवामा निजी र सार्वजनिक क्षेत्रलाई कसरी लाने भन्ने विषयमा सोच्ने वेला भएको छ। सार्वजनिक र निजी क्षेत्रको साझेदारी भए स्वास्थ्यमा धेरै काम गर्न सकिन्छ। तर, त्यसको नियमन र अनुगमन राज्यको हुनुपर्छ।
अब प्रसङ्ग बदलौं, तपाईं अहिले जुन पदमा हुनुहुन्छ, त्यस्तो पद धारण गर्ने तपाईं पहिलो नेपाली हो। यहाँसम्मको यात्राबारे भनिदिनुस् न।
मैले विद्यालय शिक्षा र उच्च शिक्षा पाल्पाबाट गरेको हुँ। त्यसपछि थप अध्ययनका लागि भारत गएँ। म पढ्ने कलेजमा अंग्रेजी भाषाको मात्रै प्रयोग हुने भएकाले नेपाली माध्यममा पढेर गएको मलाई भाषाको समस्या हुन थाल्यो। मैले लेख्न र बोल्न पनि सकिनँ। त्यहाँको वातावरणमा घुलमिल हुन नसक्दा कहिलेकाहीं दिक्क लाग्थ्यो।
जसोतसो पढाइ सकेर नेपाल फर्किएँ। तर, जागीर कहाँ, कसरी पाउने थाहा थिएन। एक दिन एउटा विज्ञापन देखें जसमा ‘प्रोजेक्ट म्यानेजर फर फेमिली प्लानिङ इन नेपाल’ लेखिएको थियो। अमेरिकी संस्थाको प्रोजेक्ट थियो, आवेदन दिएँ। छानिएँ पनि।
दुई वर्ष प्रोजेक्ट म्यानेजर पद सम्हालेपछि म अध्ययनका लागि अमेरिका पुगें। त्यहाँ युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको गिलिङ्स स्कूल अफ ग्लोबल पब्लिक हेल्थबाट ‘हेल्थ पोलिसी एन्ड फाइनान्सिङ’ मा विद्यावारिधि गरें। थप अध्ययन नगरे अवसरहरू आउँदैनन् भन्नेमा म प्रस्ट थिएँ।![](https://www.himalkhabar.com/uploads/editor/Health/Shambhu%20Acharya/Shambhu2.jpg)
विद्यावारिधि सक्नासाथ विश्व ब्यांकमा जनस्वास्थ्य क्षेत्रमै ‘इन्टर्न’को मौका आयो। मैले इन्टर्न गरिरहेको वेला विश्व ब्यांकले बाङ्लादेशमा २२० मिलियन अमेरिकी डलरको स्वास्थ्य सम्बन्धी परियोजना सञ्चालन गर्ने योजना बनायो।
विश्व ब्यांकले उक्त रकम आफैं खर्च नगरेर समन्वयका लागि डब्लूएचओलाई आग्रह गरेको थियो। म विश्व ब्यांकमा इन्टर्न गरिसकेको व्यक्ति भएकाले र काम तथा दक्षताको आधारमा मेरो नाम सिफारिश भयो। यसरी मेरो यात्रा विश्व स्वास्थ्य संगठनतर्फ धकेलियो।
सन् १९९८ देखि डब्लूएचओमा निरन्तर काम गरिरहेको छु। त्यही क्रममा दक्षिणपूर्वी एशियाको क्षेत्रीय स्वास्थ्य प्रणाली र आर्थिक व्यवस्थापनको सल्लाहकार भएर काम गर्ने प्रस्ताव आयो। सल्लाहकारका रूपमा काम गर्दा जापानमा एशिया प्यासेफिक हेल्थ-इकोनोमिक नेटवर्कको स्थापनामा सहयोग गरें।
डब्लूएचओको वार्षिक रूपमा हुने क्षेत्रीय समितिको बैठकहरूमा संगठनका पदाधिकारीहरू हुन्छन्। बैठकपछिको ‘रिसेप्सन’ मा डब्लूएचओका तत्कालीन निर्देशक डा. ग्रो अर्डर्म वर्डसँग भेट भएको थियो। उनले मलाई जेनेभा डब्लूएचओ हेडक्वार्टरमा आएर काम गर्न अनुरोध गरे। त्यसपछि म महासचिवको कार्यालयमा काम गर्न जेनेभा पुगें।
डब्लूएचओको मुख्यालयमा रहँदा स्वास्थ्य वैज्ञानिक, जनस्वास्थ्य अधिकृत, संयोजक, निर्देशक लगायत पदमा विभिन्न देशमा गएर काम गरें। सन् २०१५ मा मैले सबै देशका प्रतिनिधि बोलाएर ‘ग्लोबल मीटिङ एन्ड हेल्थ डाइलग’ सम्मेलन गरें। डब्लूएचओकी नयाँ निर्देशक डा. मार्गरेट चानले नयाँ जिम्मेवारी दिएपछि मेरो जेनेभा बसाइँ दुई वर्षका लागि फेरि लम्बियो।
सन् २०१६ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुनले ‘यूएन सिस्टम स्टाफ कलेज’ को बोर्ड सदस्यमा दुई वर्षका लागि मनोनीत गरे। त्यस्तै, महासचिव एन्टोनियो गुटेरसले कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाए।
त्यहीबीचमा मेरो भेट डब्लूएचओका नवनियुक्त महानिर्देशक डा. टेड्रोससँग भयो। टेड्रोसले स्वास्थ्य क्षेत्रका नयाँ कामका विषयमा सुझाव माग्नुभयो। डब्लूएचओले सबै सदस्य देशलाई समान रूपमा व्यवहार गर्नुपर्ने, संगठनले देशहरूलाई निरन्तर केन्द्रमा राखेर काम गर्नुपर्ने र सबैलाई स्वास्थ्यमा समान पहुँच हुनुपर्ने सुझाव दिएँ। मेरो सुझाव मन पराउनुभएर होला विगत ६ वर्षदेखि म डब्लूएचओमा उहाँसँगै काम गरिरहेको छु।
डब्लूएचओका विभिन्न पदमा बसेर काम गर्दा तपाईंले सिकेको मुख्य कुरा के हो?
म जहाँ छु त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्। महानिर्देशक डा. टेड्रोस भन्नुहुन्छ, ‘ट्यालेन्ट इज एभ्रिह्वेर, अपर्च्युनिटीज् आर लट।’
क्षमता भएर पनि अवसर भएन भने मानिस ठाउँमा पुग्न सक्दैन। मभन्दा धेरै जान्ने मानिस पनि हुनुहुन्छ, जो मेरो तहसम्म पनि पुग्नुभएको छैन। त्यस्तै, मभन्दा नजान्ने मान्छे माथिल्लो तहमा पुगेको पनि देखेको छु। त्यसकारण मलाई कहिलेकाहीं ५० प्रतिशत कडा मेहनत र ५० प्रतिशत भाग्यले साथ दिएको हो कि भन्ने लाग्छ।
तर, कडा मेहनत, समर्पण र कामप्रतिको प्रतिबद्धताले मलाई यहाँ पुर्याएको हो। कहिलेकाहीं हामीले खोजेको कुरा पाएनौं भने हामी त्यसलाई छाडिदिन्छौं। तर, त्यस्तो गर्नुहुन्न। हामी पटक पटक असफल होऔंला, निरन्तर काम गरिरह्यौं भने सफल पनि हुन सक्छौं। मैले लिएको बाटो पनि यही हो।
मानिस जहाँ जे काम गर्छ, त्यसमा इमानदार हुन जरुरी छ। छक्कापन्जा गर्यो भने तत्काल फाइदा होला, तर दीर्घकालीन हुँदैन। इमानदार भएर काम गर्दा कहिलेकाहीं आफैंलाई घाटा हुन सक्छ, सत्य बोल्दा मानिसले मन नपराउन सक्छन्। तर, त्यसले दीर्घकालीन रूपमा फाइदा नै गर्छ।
(सम्पादन: असीम तिमल्सिना, भाषा: प्रद्युम्न खनाल)