‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
![‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’](https://www.himalkhabar.com/uploads/posts/800X600/shekhar_koirala_(9)_1694175897.jpeg)
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
कोशी प्रदेशको विवाद नामकरणदेखिकै हो। त्यस प्रदेशका अधिकांश सांसद कोशी नामकै पक्षमा देखिए। केही सांसद जातीय प्रदेशका पक्षमा देखिए। तर, त्यहाँको लडाइँ प्रदेशको नाममा मात्रै सीमित छ जस्तो लाग्दैन।
धरानका मेयरले मन्दिर नजिक चर्च बनाइदिए। त्यसको विरोध पनि करीब सामसुम जस्तै भइराखेको थियो। त्यहीबीच गोरु काटेको भिडिओ फेसबूक र टिकटकमा आए। त्यसमा पनि विरोध भयो।
त्यस वेला म विराटनगरमै थिएँ। साथीभाइसँग छलफल गर्ने मौका पाएँ। देख्दा धार्मिक विवाद हो कि जस्तो देखिन्थ्यो। तर, जब मैले धरान पुगेर क्रिश्चियनहरूसँग कुराकानी गरें, विराटनगरमा हिन्दू धर्मगुरुहरूसँग कुराकानी गरें, सुरक्षाकर्मीहरूसँग कुरा गरें त्यसपछि म धार्मिक होइन, जातीय विवाद हो भन्ने निष्कर्षमा पुगें।
यसमा प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले झिल्कोको काम गर्यो भन्ने महसूस भयो। आदिवासी दिवसमा प्रधानमन्त्रीले ‘मलाई बहुमत देऊ, जातीय राज्य दिन्छु’ भन्नुभयो। एउटा पार्टीको अध्यक्ष मात्रै भएको भए मलाई त्यति चासो नहुन सक्थ्यो, तर देशको प्रधानमन्त्रीले त्यस्तो बोल्दा अर्कै सन्देश गयो।
मैले सुनसरीका सुरक्षाकर्मीसँग कुराकानी गर्दा अर्कै परिस्थिति देखें। जातीय द्वन्द्व हुन सक्छ भन्ने आभास पाएँ। कुनै पनि वेला परिस्थिति भड्किन सक्छ भन्ने मलाई लाग्छ। आन्दोलनका लागि कोषको कमी छैन। हतियारै छ त भन्दिनँ, तर त्यतातिर पनि जान सक्छ।
धरानपछि गण्डकी प्रदेश गएको थिएँ। त्यहाँका साथीहरूले धरानको झिल्को गण्डकी प्रदेशमा पनि आइसकेको छ भन्नुभयो। देख्दाखेरि मान्छेहरू हिंडिराखेका छन्, तर त्यहाँ पनि एकदमै ‘टेन्स’ को अवस्था छ भन्ने पाएँ।
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/shekhar%20koirala%20%282%29.jpeg)
यस्तो किन भयो त?
हामी राजनीतिमा लाग्ने मान्छेहरू पनि केही भइराखेको छैन भन्छौं। अर्थतन्त्र ओरालो लागेको लाग्यै छ। पसल नचलेर शटर बन्द हुने क्रम बढ्दो छ। अधिकांश मान्छे मूलधारका सञ्चारमाध्यम होइन, सामाजिक सञ्जालमा आएका कुरा हेर्छन्। लोकरिझ्याइँको बोलवाला छ। यसले समाजलाई अराजकतातर्फ लगिरहेको छ। परिस्थिति नाजुक बनिरहेको छ।
हामी दुई वटा ठूला छिमेकीबीच छौं। असंलग्न नीति लिएर हिंड्दा ‘स्पेस’ पाउँछौं कि? हुँदाहुँदा काठमाडौंमा भएका विदेशी राजदूतले पनि लोकरिझ्याइँको कुरा गर्न थाले। पाहुनाले यस्तो बोल्दै हिंड्दा सबैलाई अप्ठ्यारो हुन्छ। देश अराजकतातर्फ गइरहेको छ भन्ने एउटा सङ्केत यो पनि हो।
हिजोअस्ति मात्रै हाम्रै पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ। जनतालाई तत्काल राहत दिन सकेनौं, आशा जगाउन सकेनौं भने तिहारपछि धेरै अराजकता बढ्दै जान्छ जस्तो लाग्छ।
नेपालमा लगानीको वातावरण सम्बन्धी एउटा अमेरिकी प्रतिवेदनमा जलस्रोत, पूर्वाधार, कृषि र पर्यटनमा प्रचुर सम्भावना छ भनिएको छ। तर, स्थिर सरकार छैन। कर्मचारितन्त्र बोझिलो छ। व्यापक भ्रष्टाचार र कानूनी बेथिति छ। यस्तो बेथिति रहेसम्म वैदेशिक लगानी आउँदैन।
यस्तो वेलामा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्ने रहेछ। कांग्रेस भएपछि कमसेकम लोकतन्त्र त बाँच्छ। लगानीको वातावरण बन्छ।
प्रधानमन्त्रीले मसँगको भेटमा ‘हामी काम गर्न खोज्छौं, तर अदालतले बिगार्छ’ भन्नुभयो। मैले ‘सरकार गलत भएको भएर पो अदालत सक्रिय भएको हो’ भनें। मैले प्रधानमन्त्रीलाई ‘तपाईं विधि, विधान, संविधानसम्मत तरीकाले हिंड्नुहोस्, अदालत चूप लागेर बस्छ नि’ भनें।
प्रधानमन्त्रीले ‘ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको बयान त लिएँ’ भन्नुभयो।
मैले ‘लिनुभयो’ भनेर सोधें। उहाँले ‘लिइनँ र’ भन्ने जवाफ दिनुभयो।
मैले भनें, “थाहा छैन लिएको। सीआईबीको कोही गएर चिया खाएर आउनुभयो होला। बयान हो भने त सीआईबीमा बोलाउनुपर्यो। सरकारी वकील लैजानुपर्यो।”
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
(नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाद्वारा भदौ २२ गते नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा व्यक्त गरेको विचारको सम्पादित रूप।)