छोरीले सुन्नै हुँदैन भन्ने बर्किमार गाउँछिन् सोमती
साङ्गीतिक माहोलमा हुर्केर लोकगीतका केस्रा केस्रा केलाएकी सोमती थारू (४२) कला र गला मार्फत थारू समुदायका मौलिक भाका गुन्जाइरहेकी छन्।
सोमती थारू १० वर्षकी थिइन्। दाइहरू विद्यालय जान्थे, उनी चाहिं भेडाबाख्रा चराउन जङ्गल जानुपर्थ्यो। पढ्ने रहर निमोठिंदा उनको मन रुन्थ्यो। समाजमा छोरा र छोरीबीच गरिने विभेद उनले महसूस गर्न थालिसकेकी थिइन्।
गोठालो जाँदा सुसेली हाल्थिन्, गीत गुनगुनाउँथिन्। घरमा गीत-सङ्गीतको माहोलमा हुर्किएकी उनलाई आफ्नो समुदायको गीत-सङ्गीतमा रस बस्दै गएको थियो।
एक दिन भेडाबाख्रा चराउन जाँदा उनले चट्याङ लागेर सुकेको रूख देखिन्। घाइते रूखसँग आफ्नो बह साट्दै तत्काल गीत बुनेर गाइन्ः
जिन्दगीम टुहिँन क्याकर पीर
आधा सुखल बाट्या आधा कच्च
टुहिँन छाई होक ट नै जन्म परल हो।
(आधा सुकेको आधा काँचो भए पनि तँलाई जिन्दगीमा केको पीर! कम्तीमा तैंले छोरी भएर जन्मिनुपरेको त छैन।)
बाल्यकालमा गाएको गीत झैं सोमतीको जीवनमा पीरको भारी उमेरसँगै थपिंदै गयो। जन्मघरदेखि विवाह गरेर गएको घरसम्म हेलाहोचो र रोकटोक भोगिन्। यी अवरोधका बीच सामाजिक काममा आफूलाई जोड्दै लगिन्। सार्वजनिक जीवनमा फैलिंदै जाँदा अन्ततः आफ्नो आकांक्षा अनुसार उनले आफूलाई थारू लोकगीत गायिकाको चिनारीमा उभ्याएकी छन्।
खटन र दमन
बर्दियाको बाँसगढी-९, माछागण मोहनपुरमा २०३८ सालमा जन्मिएकी सोमती साङ्गीतिक माहोलबीच हुर्किइन्। उनकी हजुरआमा (बुडी) सिजन अनुसारका थारू गीत गाउँथिन्- दशैंमा पचरा, सख्या, जङ्गल जाँदा मैना, खेतमा काम गर्दा सजना र विवाहमा माँगर। उनी मग्न भएर सुन्थिन्। थरीथरीका गीत सुनेपछि हजुरआमासँग बालसुलभ जिज्ञासा राख्थिन्, “बुडी, सिजन अनुसारको गीत भनेको के हो? सिजनमा नगाउँदा के हुन्छ?”
हजुरआमा बुझाउन खोज्थिन्, “हामी थारू सिजन अनुसारका गीत गाउने समुदाय हौं। प्रकृतिलाई मानेर महीना अनुसार गीत गाउने गरिएको हो।”
बाल्यकालमा सुनेका र गाउँदै सिकेका थारू लोकगीतहरू उनलाई मुखाग्र आउँछन्। प्रकृतिप्रति समर्पित गरी निश्चित मौसम या समयमा गाउनुपर्ने यी लोकगीतका विशेषता छन्। जस्तै- सजना गीत चैतदेखि भदौसम्म गाइन्छ भने अष्टीम्की भदौमा गाइन्छ। सख्या गीत दशैंको समयमा एक महीनासम्म गाउने चलन छ। बर्किमार पनि दशैंको समयमा मात्र गाइन्छ। डफ (विरहीनी) गीत मंसीर-पुसमा गाइन्छ भने धुमुर गीत पुस मसान्तको रातभरि गाएर माघलाई स्वागत गरिन्छ। मघौटा गीत माघमा र माँगर फागुन महीनामा गाइन्छ। सृष्टिको गीत गुर्बाबाके जन्मौती पनि उनलाई कण्ठाग्र छ। बर्किमार गीत छोरी मान्छेले गाउनुहुन्न भनेर उनकी आमाले सुन्न दिन्नथिन्। तर, लुकीलुकी सुनेर यो गीत पनि गाउन सक्ने भएकी थिइन्।
उनले थारू लोकगीतहरू हजुरआमा, आमा र काकाबाट सिक्न पाइन्। यी तीनै जनालाई गुरु मान्छिन् उनी। तिनकै सरसङ्गतबाट उनी लोकगीतहरू गाउन अब्बल बन्दै गइन्। उनी भन्छिन्, “मेरो परिवार र गाउँबाटै मैले गाउन जानेकी हुँ। मेरो पहिलो गुरु बुडी र आमा हुन्। कान्छा काकालाई त थारू गायन क्षेत्रको सम्राट् नै भन्दा हुन्छ, उहाँ बराबरको गाउने मान्छे अहिलेसम्म देखेकी छैन।”
पारिवारिक वातावरणले गीत-सङ्गीतसँग जोडिएकी उनी अन्य अवसरबाट परिवारकै कारण वञ्चित भइन्। पढ्ने तीव्र इच्छा थियो, तर बाबुआमाले विद्यालय पठाएनन्। उनका दाइहरूले भने पढ्ने अवसर पाएका थिए। घरको कामधन्दा र गोठालो जीवन उनको दिनचर्या थियो। “म स्कूल जान्छु भन्दा अर्काको घर जाने जात, पढेर के गर्छस् भन्थे,” उनी सम्झन्छिन्।
२०४८ सालमा उनको गाउँमा प्रौढ शिक्षा भित्रियो। पढ्ने धोको पूरा गर्न गाउँका हजुरआमा र काकीहरूको हुलमा उनी पनि मिसिइन्। पैसा तिर्नुनपर्ने भएपछि परिवारले पनि पढ्ने अनुमति दियो। उनले अक्षर चिन्न थालिन्, आफ्नो नाम लेख्न सक्ने भइन्।
अक्षरसँग साइनो गाँसिएपछि पढ्ने भोक उनमा तीव्र भयो। गोठालो जाँदा दाइहरूको किताब चोरेर लैजान्थिन्। दिनभर बाख्रा चराएर साँझ घर फर्केपछि पनि किताब नहेरी निद्रा लाग्दैनथ्यो। राति टुकी बालेर पढ्न बस्दा ‘सबै तेल सिध्याउने भइन्’ भनेर भाउजूहरू कराउँथे। भाउजूहरूको नजर र वचनबाट जोगिन उनी ढकियाले दियो छोपेर मधुरो प्रकाशमा पढ्न थालिन्।
प्रौढ शिक्षामा उनी गाउँभरिकै उत्कृष्ट विद्यार्थी बनिन्। उनलाई एक अमेरिकी दाताले पढाउने इच्छा देखाए। उनले सपना देखिन्। तर, घरले पठाउन नमानेपछि त्यो सपना त्यहीं टुङ्गियो। “मेरो रहरलाई मेरा घरका मान्छेले कहिले पनि स्विकारेनन्। आफ्नो खुन र कर्तव्य सम्झेर होला माया त गरे, तर सम्मान कहिल्यै दिएनन्। जुनसुकै कुरामा पनि पराई घर जाने भनेर मलाई रोक्थे,” उनी भन्छिन्।
गोठालोबाट फर्किएकै एक साँझ उनले आफ्नो विवाह तय भएको खबर आमाबाट सुनिन्। त्यो अनपेक्षित निर्णय सुन्नुपर्दा १४ वर्षकी किशोरीले केही सोच्नै सकिनन्। जीवनका हरेक पाइला अभिभावककै खटनमा चाल्दै आएकी उनले न कसैलाई प्रश्न गर्न सकिन् न असहमति जनाउन। अन्ततः कलिलो उमेरमै २०५४ फागुनमा छिमेकी टोलका बजारु चौधरीसँग उनको विवाह भयो।
माइतीमा बाबुआमाको निर्देशनमा बाँचेकी सोमतीले विवाहपछि अब श्रीमान्को खटन भोग्न थालिन्। छेकबार, दमन र घरेलु हिंसाको सिलसिला चल्न थाल्यो।
घरेलु हिंसा भोग्दै सामाजिक काम
प्रौढ शिक्षा पढेपछिका दिनमा सोमती आफ्ना कुरा केही बोल्न सक्ने भएकी थिइन्। उनको विवाह भएकै वर्ष खुलेको गैरसरकारी संस्था ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) उनको गाउँ मोहनपुरमा आयो। संस्थाले गाउँमा महिला समूह गठन गर्यो। लेख्न-पढ्न जान्ने भएकाले उनी सबैको सिफारिशमा समूहको सचिव बनिन्।
बेसको पहिलो कार्यक्रममा उनले आफ्नो गायन कला प्रस्तुत गरिन्। गीतबाट प्रभावित भएर एक अमेरिकीले पुरस्कारस्वरूप २५ हजार रुपैयाँ दिए। त्यसले उनलाई गीतको दुनियाँमा लाग्न हौसला दियो।
पुरस्कार पाएपछि दङ्ग परेर घर पुग्दा सासू-ससुरा खुशी भए, तर श्रीमान् उनको खुशीमा सामेल भएनन्। ‘यसरी गाएर, नाचेर पैसा कमाउने काम त नर्तकीको हो’ भन्दै उल्टै रिसाए। विवाह भएको वर्ष दिनभित्रै श्रीमान्को त्यस्तो रूखो व्यवहार भोग्दा उनी दुःखी भइन्। तर, सामाजिक कामबाट पछि हटिनन्।
विवाहको दुई वर्षपछि पहिलो सन्तानका रूपमा छोरी जन्माइन्। बेसका कार्यक्रमहरू गाउँमा भइराख्थे। आफूले लिएको जिम्मेवारी पूरा गर्न वर्ष दिन पनि नपुगेकी छोरीलाई लिएरै ती कार्यक्रममा जान्थिन् उनी।
त्यस क्रममा उनले महिला अधिकार सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिइसकेकी थिइन्। गाउँमा कसैलाई केही समस्या पर्दा उनलाई बोलाउँथे। गाउँमा कतै घरेलु हिंसा भएमा उनको औंला उठाउँथिन्। अनुभव र सिकाइले उनलाई उमेरभन्दा परिपक्व बनाउँदै लग्यो।
सामाजिक जीवनमा पाइला र प्रभाव बढाउँदै गए पनि घरमा भने उनी गुम्सिरहेकी थिइन्। उनी घर बाहिर निस्किएको, सामाजिक काम गरेको श्रीमान्लाई फिटिक्कै चित्त बुझ्दैनथ्यो। महिलाले घरमा चुलाचौको सम्हाल्नुपर्ने श्रीमान्को भनाइ थियो।
त्यस्तैमा विवाह भएको वर्ष दिन नबित्दै २०५५ सालमा उनले पहिलो हिंसा भोगिन्। विवाहित मान्छे गाउँमा गएर बठिन्या (केटी)हरूसँग नाचेको भनेर श्रीमान्ले आफूमाथि कुटपिट गरेको उनी सम्झिन्छिन्। दशैंको वेला थारू समुदायमा एक महीनासम्म सख्या नाच नाचिन्छ। सख्या गाउन सिपालु सोमती गाउँको मोरहिन्याँ (मुख्य गायिका) भएर अन्य केटीहरूलाई नचाउन गएकी थिइन्।
त्यो घटनापछि त घरेलु हिंसाको शृङ्खला नै शुरू भयो। कुनै न कुनै बहानामा श्रीमान्ले कुटपिट गर्थे। उनले श्रीमान्लाई कुरा बुझाउन आफूसँगै कार्यक्रमहरूमा पनि लगिन्, तर श्रीमान्को दृष्टिकोण बदल्न सकिनन्। तैपनि श्रीमान्ले लगाएको तगारो नाघ्दै उनी आफ्नो रहरको काम गरिरहेकी थिइन्।
सामाजिक काममा जोडिने क्रममा उनले नाटकमा अभिनय गर्नेदेखि रेडियो कार्यक्रम प्रस्तोतासम्मको भूमिका अँगालिन्। २०५८ सालमा बालविवाह, बालश्रम र महिला हिंसा न्यूनीकरण सम्बन्धी चेतनामूलक नाटकमा काम गरिन्। बेस, प्लान नेपाल, इन्सेक र थारू महिला उत्थान केन्द्रको संयुक्त कार्यक्रम अन्तर्गत बनाइएको नाटक बर्दियाका साथै दाङ, बाँके, कैलाली र कञ्चनपुरमा मञ्चन गरिएको थियो।
उनले २०६२ सालदेखि दुई वर्षसम्म बर्दियाको फूलबारी एफएममा कार्यक्रम चलाइन्। यस्तै, कमैया मुक्ति आन्दोलन, कमलरी आन्दोलनमा हिंड्दा कैयौं पल्ट पक्राउ पनि परिन्। उनी रेडियोमा बोल्दा र कार्यक्रमहरूमा हिंड्दा महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँथिन्, तर उनकै जीवनमा हिंसा ज्यूँका त्यूँ थियो।
२०६२ पुसको चिसो र पीडादायी रात उनी कहिल्यै भुल्न सक्दिनन्। सुतिरहेको अवस्थामा मध्यरातमा उनलाई रक्सीले मातेका श्रीमान्ले काठको चिर्पटले अन्धाधुन्ध पिटेका थिए। त्यस्तो सांघातिक आक्रमणपछि उनी चार घण्टासम्म अचेत भएर लडेकी थिइन्। “ज्यानमा नसुन्निएको र नीलडाम नभएको कुनै ठाउँ थिएन। छाती र पिठ्युँका तीन वटा करङ भाँचिएका थिए,” उनी भन्छिन्।
त्यस घटनापछि उनका दाइहरू बहिनीलाई सधैंका लागि माइती लैजान उनको घर पुगेका थिए, तर उनी जान मानिनन्। “श्रीमान्को हिंसा सहेर बस्न सक्ने अवस्था त थिएन, तर माइती गएर बसे गाउँ-समाजले के भन्ला भनेर जान सकिनँ,” उनी भन्छिन्।
अरूलाई पर्दा जहाँ पनि पुग्थिन् र बोल्थिन् सोमती, तर उनले घरेलु हिंसा भोगिरहँदा बोल्ने कोही भएनन्। “त्यसपछि आफ्ना लागि त आफू नै बोल्नुपर्ने रहेछ, आफैं लड्नुपर्ने रहेछ भनेर मन दह्रो पार्न थालें,” उनी भन्छिन्।
एक दिन एउटा कार्यक्रममा सहभागी भएर फर्केकी थिइन्, घरमा उनका लत्ताकपडा, कागजपत्र, कार्यक्रमका प्रमाणपत्र कुनै बाँकी थिएनन्। श्रीमान्ले सबथोक जलाइदिएका थिए।
लामो समयदेखि जुलुम गर्दै आएका श्रीमान्ले सबै सीमा पार गरिसकेका थिए। त्यसपछि सोमती आफ्नो जीवनको फैसला लिने अवस्थामा पुग्छिन्। श्रीमान्बाट अलग हुनुको विकल्प देख्दिनन्। अन्ततः २०६८ असोजमा उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। “लामो समय त समाजले के भन्ला भनेर सहेरै बसें, तर अति भएपछि मर्नुभन्दा समाजसँग लडेर बस्छु भनेर छोडपत्र गरें,” उनी आत्मविश्वासी सुनिन्छिन्।
यो निर्णयबाट नयाँ जीवन पाएको महसूस गर्ने उनी जुनसुकै अवस्थामा महिलालाई नै ठुङ्ने समाजको प्रवृत्तिप्रति रुष्ट छिन्। उनी भन्छिन्, “यो समाजले महिलालाई नमरुन्जेल दोषी देखाउँछ, मरेपछि बिचरी भन्ने पनि यही समाज नै हुन्छ।”
सोमतीको जीवनमा धेरै कुरा ढिला भए, तर त्यसलाई उनले राम्रो कुरा गर्न कहिले पनि ढिलो हुँदैन भन्ने उदाहरण बनाइन्। प्रौढ शिक्षा पढेर ज्ञानको ढोका उघारे पनि उनको पढाइको धोको पूरा भएको थिएन। छोरी कक्षा ५ मा पुगेपछि छोरीसँगै स्कूल जान थालिन्। सात कक्षासम्म पढेपछि श्रीमान्को कारण उनको पढाइ फेरि अवरुद्ध भएको थियो। अल्झँदै बढ्दै गरेर अहिले उनले कक्षा १२ सम्मको पढाइ पूरा गरिसकेकी छन्।
सङ्गीतमा रमेको मन
थारू लोकगीत सुन्दै सङ्गीतमा तानिएकी सोमतीको सङ्गीत यात्रा भने आन्दोलनको पृष्ठभूमिमा शुरू भएको थियो।
२०६५ सालमा ‘थरुहट’ आन्दोलन चलिरहँदा दाङको लमहीमा हुन लागेको कार्यक्रमका लागि एउटा गीतको तयारी भइरहेको थियो।
आदिवासी थारू हम्र
धर्ती पुत्र तराईके ।
मुखडा मात्र रहेको गीत उनलाई गाउन लगाइयो। बाँकी पंक्ति उनैले थपेर गीत पूरा गरिन्। आन्दोलनमा गाइन् र पहिलो पल्ट काठमाडौं आएर त्यही गीत स्टुडियोमा रेकर्ड गराइन्। त्यसले उनको गायिकाको पहिचान स्थापित गरिदियो।
२०६५ सालदेखि गायन शुरू गरेकी उनले २०७० देखि सङ्गीत यात्रामै केन्द्रित भएर निरन्तरता दिइन्। उनका सख्या, अष्टीम्की, सजना, मघौटा, झुम्रा, महोट्या, हुर्डुंग्वा, बल्हा, दिन नच्वा लगायत थारू लोकगीत १०० भन्दा बढी रेकर्ड भएका छन्। जातिगत पहिचानका साथै केही संख्यामा आधुनिक गीत पनि गाएकी छन्। यस्तै, थारू भाकामा नेपाली भाषामा पनि गाएकी छन्। प्रकृतिप्रति कृतज्ञ भएर, प्रकृतिमा मानव जीवनशैली राम्ररी चलोस् भनेर प्रकृतिसँग सामीप्य गाँस्न उनी थारू लोकगीत गाउँछिन्।
गीत गाउन उनलाई विभिन्न ठाउँबाट निम्ता आउँछ। उनले बर्दियाका साथै बाँके, दाङ, कैलाली, कञ्चनपुर, सुनसरी, चितवन, नवलपरासीसम्म गएर विभिन्न कार्यक्रममा श्रोता-दर्शकलाई मुग्ध पारेकी छन्। यस्ता कार्यक्रममा जाँदा उनको आफ्नै नियम छ। सबैभन्दा पहिले थारू लोकगीत नै गाउँछिन्, त्यसपछि मात्रै आधुनिक गीततर्फ लाग्छिन्। उनी दशैंको वेला र माघमा व्यस्त हुन्छिन्। “कार्यक्रमहरूमा निम्ता आउँदा आधुनिक गीतको जतिसुकै प्रभाव भए पनि परम्परागत गीत सुन्नेहरू अझै छन्, आफ्नोपनको माया रहेछ भनेर खुशी लाग्छ,” उनी भन्छिन्।
थारू लोकगीतलाई आफ्नो पुर्खाबाट पाएको अमूल्य सैडान (उपहार) मान्ने उनी यसलाई अरूसँग बाँड्न चाहन्छिन्। आउँदो पुस्तासम्म कसरी सुरक्षित हस्तान्तरण गर्न सकिन्छ भन्नेमा लागिपरेकी छन्। मघौटा र झुम्रा मिसाएर आधुनिक गीतको नाममा निकाल्ने अहिलेको प्रवृत्ति देख्दा उनी चिन्तित छिन्। “श्रोता-दर्शकले रुचाए भन्दैमा तोडमोड गरेर यस्ता गीत गाउने र सार्वजनिक गर्ने हो भने हाम्रा मौलिक गीत मासिँदै जान्छन्,” उनी सजग गराउँछिन्।