खाडीको गर्मीले खिइँदै नेपालीको प्रजननशक्ति
![खाडीको गर्मीले खिइँदै नेपालीको प्रजननशक्ति](https://www.himalkhabar.com/uploads/posts/800X600/youth_1692870775.jpg)
थापाथलीस्थित प्रसूतिगृहमा परीक्षण गर्दा बाँझोपनको समस्या देखिनेमध्ये ४० प्रतिशत जति वैदेशिक रोजगारीबाट फर्किएकाहरू हुने गरेका छन्।
सर्लाहीका ३२ वर्षीय सञ्जीव साह तीन वर्षअघि रोजगारीका लागि साउदी अरब जाँदा विवाह गरेको एक वर्ष मात्र भएको थियो। सन्तान जन्माउँदा एक्लै हुर्काउन पत्नीलाई सकस पर्ला भनेर बच्चा पाउने योजना थाती राखेका थिए। साउदीबाट फर्केपछि भने सन्तान जन्माउन खोजे तर गर्भ बसेन।
उपचार खोज्दै दम्पती काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) पुग्यो। त्यहाँको निःसन्तान क्लिनिकमा जाँच गरेपछि साहलाई शुक्रकीट निष्क्रिय हुने रोग ‘एजस्पर्मिया’ रहेको थाहा भयो। “डाक्टरले विदेशमा धेरै तापक्रममा काम गरेकाले शुक्रकीटको गुणस्तर घटेको भन्नुभएको छ,” साह भन्छन्। अहिले उनी उपचार गरिरहेका छन्।
तीन वर्ष मलेशियामा रोजगारी गरेका धादिङका सुरज अधिकारीको समस्या पनि उस्तै छ। स्वदेश फर्केर २८ वर्षको उमेरमा बिहे गरेका उनले एक वर्षपछि सन्तान जन्माउने योजना बुने। सफल नभएपछि प्रसूतिगृहमा जाँच्दा उनलाई पनि ‘एजस्पर्मिया’ भएको खुल्यो।
अधिकारीका अनुसार उनी मलेशियामा निर्माण क्षेत्रमा काम गर्थे। खाने र सुत्ने समयको ठेगान हुँदैनथ्यो। उच्च तापक्रममा तिर्खाले व्याकुल हुँदा धीत मरुन्जेल पानीसम्म पाइन्नथ्यो। त्यही जीवनशैलीले उनको शुक्रकीटको गुणस्तर खस्किएको चिकित्सकले ठम्याएका छन्। “विदेशमा काम गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ, थाहा नहुँदा अहिले उपचारमा पैसा र समय खर्चनुपरेको छ,” अधिकारी भन्छन्।
पाँच वर्ष कतारमा काम गरेर फर्केका धनगढीका नरेश शाही दम्पती पनि सन्तान नहुने समस्या लिएर प्रसूतिगृह पुगे। यहाँ भने कारण अलि फरक थियो। परीक्षणमा पत्नीको डिम्बाशयमा बच्चा बनाउने अन्डा सकिएको पत्तो लाग्यो। चिकित्सकका अनुसार महिलामा उमेर वृद्धिसँगै डिम्ब भण्डारण घट्दै जान्छ। उमेर छिप्पिएका महिलामा निःसन्तानपनको जोखिम पनि ज्यादा हुन्छ।
विज्ञहरूका अनुसार खासगरी उच्च तापक्रम रहेका खाडी मुलुकमा रोजगारीमा जानेहरूमा सन्तान नहुने समस्या बढ्दो छ। प्रसूतिगृहको ओपीडीमा निःसन्तानपनको समस्या लिएर पुग्ने दैनिक लगभग ६० मध्ये ३० जनामा वैदेशिक रोजगारीबाट फर्किएकाहरू हुन्छन्। सन्तान नहुने समस्या देखिनेमध्ये ४० प्रतिशत जति वैदेशिक रोजगारीबाट फर्किएकाहरू हुने प्रसूतिगृहकी भ्रूणविशेषज्ञ डा. विनीता थापा बताउँछिन्। डा.थापाका अनुसार उच्च तापक्रममा काम गर्दा युवाको शुक्रकीटको मात्रा र गुणस्तरमा ह्रास आउने गर्छ।
पछिल्लो समय विश्वभर नै बढिरहेको सन्तान नहुने समस्याबारे नेपालमा यकीन तथ्याङ्क नरहेको चिकित्सकहरू बताउँछन्। प्रसूतिगृहका निर्देशक तथा निःसन्तान रोगविशेषज्ञ डा. श्रीप्रसाद अधिकारीका अनुसार अहिले प्रति १०० मध्ये २५ दम्पतीमा सन्तान नहुने समस्या छ। “यो समस्या खासगरी वैदेशिक रोजगारीबाट फर्किएकामा आश्चर्य लाग्दो गरी बढेको छ,” डा. अधिकारी भन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Health/infertility_8.jpg)
२०७८ सालमा निःसन्तानपनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेकामध्ये १८६ पुरुषको वीर्य परीक्षण गरिएको थियो। तीमध्ये ४६.२ प्रतिशत अर्थात् ८२ जना खाडी मुलुकमा काम गर्थे। परीक्षणमा कतिपयमा शुक्रकीटको मात्रा र गुणस्तर घटेको तथा कतिपयमा डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको संख्या अत्यधिक कम देखिएको थियो।
पबमेड जर्नलमा प्रकाशित उक्त अनुसन्धान प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने पुरुषमा सन्तान नहुने समस्या बढ्नुका कारण अत्यधिक तापक्रममा काम गर्नु, धूमपान, मद्यपान तथा अन्य दुर्व्यसन लिनु र अव्यवस्थित जीवनशैलीलाई औंल्याइएको छ।
डा. अधिकारी पनि जीवनशैली, खानपान, बिहे गर्ने उमेर आदि विभिन्न कारण औंल्याउँछन्। उनी भन्छन्, “सन्तान नहुनुमा एक मात्र कारण छैन, यो स्वास्थ्यका विभिन्न विधासँग जेलिएको छ।”
वीर्य भण्डारणको उपाय
इजरायलस्थित हिब्रु विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले गरेको एक अध्ययनले पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१ प्रतिशतले घटेको देखाएको छ। सन् १९७० ताका एक मिलिलिटर वीर्यमा प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट औसतमा १० करोड १० लाख जति हुन्थे, अहिले घटेर चार करोड ९० लाखमा आइपुगेको छ।
शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको निष्कर्ष निकालेको अध्ययनले महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको संख्या पनि घटेको देखाएको छ। सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६ प्रतिशत रहेकोमा सन् २००० को दशक शुरू हुँदै गर्दा २.६४ प्रतिशत पुग्यो। अर्थात् गिरावट दोब्बरले बढ्यो।
सन्तानहीनताको बढ्दो समस्या कम गर्न प्रसूतिगृहले गत असारदेखि वीर्य भण्डारण सेवा शुरू गरेको छ। यसमा विभिन्न कारणले ढिलो बच्चा जन्माउन बाध्य महिला–पुरुषले आफ्नो वीर्य र अन्डा जोगाएर राख्न सक्छन्। जस्तो- युवा उमेरमै विदेश गएर लामो समयपछि फर्कने व्यक्तिले सोही वीर्यबाट सन्तानोत्पादन गर्न सक्छ। श्रीमान् नभएको अवस्थामा पत्नीले सोही वीर्य मार्फत कृत्रिम गर्भाधान पनि गराउन सक्छिन्। यस्तो प्रविधिलाई ‘इन्ट्रा युटेरिन इन्सिमिनेसन (आईयूआई)’ भनिन्छ।
आईयूआई प्रविधिबाट गर्भधारण गराउन शुरूमा महिलालाई अन्डा उत्पादन गर्ने औषधि र इन्जेक्शन दिइन्छ। प्रजननका लागि आवश्यक र सक्षम अन्डा उत्पादनपछि त्यसलाई इन्जेक्शन मार्फत फुटाइन्छ। भूर्णविशेषज्ञ थापाका अनुसार अन्डा फुटाएको ३६ देखि ४० घण्टापछि वीर्यबाट राम्रो शुक्रकीट छानेर ‘क्याथेटर’ मार्फत पाठेघरमा राखिन्छ।
पछिल्लो समय प्रसूतिगृहमा हरेक दिन चारदेखि पाँच महिलालाई यही प्रविधि मार्फत गर्भाधान गराइँदै छ जसमा एउटा प्रकियाका लागि पाँचदेखि १० हजार रुपैयाँसम्म लाग्छ। ६ पटकसम्म आईयूआई गर्दा पनि गर्भधारण नभए आईभीएफ प्रविधिमा जानुपर्छ। “सन्तान नहुने समस्या लिएर आएका ९० प्रतिशत दम्पतीको उपचार सम्भव छ तर धेरैलाई थाहै छैन,” उनी भन्छिन्।
![](https://www.himalkhabar.com/uploads/editor/Health/prasuti%20grih.jpg)
वीर्य भण्डारण सेवा थालिएको दुई महीनामा १५ हाराहारी दम्पती यसबारे बुझ्न आए पनि भण्डारण गर्न दुई जोडी मात्र सकारात्मक देखिएको प्रसूतिगृहले जनाएको छ।
बाँझोपनले निराश बनेकाहरूलाई सन्तानसुख दिलाउन प्रसूतिगृहले वीर्य तथा अन्डादान कार्यक्रम पनि शुरू गर्दै छ। डा. थापाको अनुसार यस मार्फत अन्डा नबन्ने समस्या रहेका महिलामा दाताको अन्डा र पतिको शुक्रकीट राखेर भ्रूण बनाई पाठेघरमा राख्न मिल्छ। ठीक त्यसै गरी पतिको शुक्रकीट बच्चा जन्माउन सक्षम नहुँदाको हकमा दाताको वीर्यमा पत्नीको अन्डा मिसाएर गर्भाधान गराउन सकिन्छ। “भण्डारण गरिएको वीर्यले ६ वर्षसम्म लगभग शुरूकै अवस्थाको जस्तो राम्रो रिजल्ट दिन सक्छ,” थापा भन्छिन्, “१०० वटा शुक्रकीट भण्डारण गर्दा ६० वटाको रिजल्ट राम्रो देखिन्छ।”
अपर्याप्त सेवा
चेतना अभावमा अझै पनि धेरै निःसन्तान दम्पती बेलैमा अस्पताल पुग्दैनन्। बरु झारफुक र अन्य निरर्थक प्रयासमा पैसा र समय खर्चिरहेका हुन्छन्। अन्तिममा अस्पताल पुग्दा गर्भधारण गर्ने शक्ति झन् घटिसकेको हुन्छ। अहिलेसम्म सरकारी सेवामा प्रसूतिगृहमा मात्र निःसन्तानपनको प्रभावकारी उपचार हुन्छ, अन्य धेरैजसो अस्पतालमा परामर्शको व्यवस्थासम्म छैन।
प्रसूतिगृहका निर्देशक डा. अधिकारी निःसन्तानपनबाट गुज्रिरहेका ८० देखि ९० प्रतिशत दम्पतीको समस्या सामान्य उपचारबाटै सम्भव हुने बताउँछन्। उनका अनुसार मोटोपनका कारण बच्चा नबसेका महिलामा तौल घटाएर गर्भाधान गराउन सकिन्छ। डिम्बवाहिनी नली बन्द भएकालाई खुलाउने औषधि दिइन्छ। पाठेघरमा मासु पलाएर गर्भधारण रोकिएकाको हकमा शल्यक्रिया गरेर मासु हटाएपछि गर्भ बस्न सक्छ।
सामान्य औषधिकै भरमा अन्डा उत्पादन गर्न सकिने भए पनि नि:सन्तानपनको समस्यासँग जुधिरहेका ४० देखि ५० प्रतिशत महिलाको समस्या भने अन्डा नबन्ने हुने गरेको छ। “उमेर धेरै भएका कतिपय महिलामा अन्डा बने पनि गर्भधारण गर्ने क्षमता कमजोर हुन सक्छ, त्यस्तो अवस्थामा औषधि र हर्मोन दिएर क्षमता बढाउन सकिन्छ,” अधिकारी भन्छन्, “राज्यले चाहे यस्तो उपचार सेवा विस्तार गर्न ठूलो लगानी चाहिन्न।”
सरकारले केही समययता जनकपुर, सुर्खेत, बुटवल र धनगढीस्थित प्रादेशिक अस्पतालबाट निःसन्तानपनको उपचार सेवा शुरू गरेको छ। यसका लागि तालीमप्राप्त गाइनोकोलोजिस्ट, नर्स र ल्याब टेक्निसियन पठाइएको छ।
यस्तो सेवा सबै जिल्ला अस्पतालमा पुर्याउनुपर्नेमा अधिकारी जोड दिन्छन्। “त्यसो हुँदा निःसन्तानपनको उपचारबारे गाउँ गाउँसम्म चेतना फैलन मद्दत पुग्छ,” उनी भन्छन्, “अहिलेलाई कृत्रिम गर्भाधानका लागि मात्र केन्द्र आउने व्यवस्था गरिए विकराल बन्दै गएको समस्या कम हुन सक्छ।”