रूसी सेनामा नेपाली: भर्ती भएकालाई छटपटी, नयाँलाई हुटहुटी
![रूसी सेनामा नेपाली: भर्ती भएकालाई छटपटी, नयाँलाई हुटहुटी](https://www.himalkhabar.com/uploads/posts/800X600/russian_army_4_1691147101.jpg)
रूसी सेनामा भर्ती भएका नेपाली युवा फुत्किन नपाएर छटपटीमा छन् भने बेरोजगार युवा रूसी सेनामा भर्ती हुन विद्यार्थी तथा भ्रमण भिसामा रूस गइरहेका छन्।
उमेरले तीन दशक नाघेका गण्डकी प्रदेश अन्तर्गतको एक पहाडी जिल्लाका रमेश पढाइका लागि भनेर रोजगारीको खोजीमा रूस पुगेका थिए। दुई वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका उनले देशभित्र पढाइ अनुसारको रोजगारी नपाएपछि विदेश हिंड्नु नै अन्तिम विकल्प ठाने।
स्वास्थ्यकर्मी भएर काम गर्ने धोको पूरा नभएपछि उनले देश छोडेका थिए। रूस पुगेर उनले रूसी भाषा सिके। केही समयपछि कारखानामा काम गर्न थाले। दिनरात मशिनसँग पौंठेजोरी खेल्दा पनि समयमा पैसा पाएनन्।
त्यसपछि नियमित कमाइको आशामा कारखानाको जागीर छाडेर फूल पसलमा ‘प्याकिङ’ को काम गर्न थाले। जसोतसो दैनिकी चलिरहेकै थियो। तैपनि मिलेसम्म राम्रो कामको अवसर खोजिरहेका थिए।
त्यही वेला रूसले आफ्ना नागरिक बाहेक अन्य देशबाट आएर बसेका र विदेशी नागरिकलाई पनि सेनामा भर्ती लिने घोषणा गर्यो। राम्रो कमाइ हुने थाहा पाएपछि दुब्लो, पातलो र कमजोर शारीरिक अवस्था भए पनि रमेशले चासो देखाए।
त्यसमा पनि रूसले मापदण्ड लचिलो बनाएकाले कसो भर्ती नभइएला भन्ने आत्मविश्वास पनि थियो। नभन्दै पहिलो प्रयासमै सहजै भर्ती भए।
“दायाँ हात दुई पटक भाँचिएको थियो। अझ दुब्लो, पातलो ज्यान भएकाले सेनामा जाने रहर कहिले पनि गरेन,” उनकी बहिनी शिवाले भनिन्, “रूसमा काम गर्दा समयमा तलब पाएको थिएन। दिक्क भएर होला, रूसी सेनामा गएछ।”
उनको परिवारका अग्रज पनि नेपाली र भारतीय सेनामा थिए। उनले भने चिकित्सा शिक्षा पढेका थिए। “मेडिकल पढेको थियो, नेपालमा जागीर नपाएपछि रूस गएको थियो,” शिवाले थपिन्, “तीन-चार लाख कमाइ हुन्छ। एक वर्षपछि सेनामा काम नगरे पनि परिवार लिएर रूसमै बस्न पाइन्छ भनेर प्रलोभनमा पर्यो।”
शुरूमा उनलाई तीन महीना तालीम गराउने र ६ महीनापछि बिदा दिने भनिएको थियो। जेठ १ गते (१५ मे २०२३) एक वर्षका लागि रूसी सेनामा काम गर्न करार सम्झौता गरेका उनी असार २३ गते (७ जुलाई) यता परिवारको सम्पर्कमा छैनन्। उनले ‘हामीलाई जङ्गलमा ल्याएको छ, पछि कुरा गरौंला भनेर’ बहिनीलाई ‘भोइस मेसेज’ छोडेका थिए। तर, अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।
रूसमा सम्पर्क गरिरहने साथीभाइसँग सम्पर्क टुटेको पनि धेरै भइसकेको छ। रूसमा रहेका साथीका अनुसार रमेशलाई रूसले हालै कब्जा गरेको युक्रेनी भूमि बाखमुट लैजाने भनिएकोे थियो।
रूसी सेनाका लागि ‘रेड जोन’ का रूपमा रहेको बाखमुट निकै असुरक्षित क्षेत्र मानिन्छ। युक्रेनी फौजले आफ्नो क्षेत्र फिर्ता लिन निरन्तर ड्रोनबाट मिसाइल आक्रमण गरिरहन्छ। त्यसलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा रूसी फौज पनि त्यहीं केन्द्रित छ।
रूसी सेनामा भर्ना भएका नेपालीलाई रूसले अन्य विदेशीसँगै पहिलो घेरामा राखेर परिचालन गर्दै आएको परिवारलाई बताउँदै आएका छन्। बाखमुट खटाइएका नेपालीमध्ये केही गम्भीर घाइते भएर अस्पतालमा भर्ना भएको र केही सम्पर्कमा नआएको अपुष्ट खबरसँगै रमेशका परिवारजनमा चिन्ता थपिएको छ। घाइते भएका केही नेपालीले परिवारसँग राम्ररी कुरा गर्न पाएका छैनन्।
‘रेड जोन’ मा हुँदा कमान्डरले फोनमा कुरा गर्न नदिएको गुनासो त्यहाँ खटिएका नेपालीले परिवारसँग गरेका छन्। मासिक चार लाखसम्म कमाइ हुन्छ भनिए पनि ‘रेड जोन’ मा खटाएको वेला भत्ता थपेर कमाइ राम्रो हुने भएको थियो। तर, शुरूआती चरणमा एक लाख जति मात्रै कमाइ भइरहेको सेनामा कार्यरत नेपाली युवाले बताएका छन्।
रूसी सेनामा काम गरेका केही नेपाली युवाले रूसी राहदानी पनि प्राप्त गरिसकेको बताइएको छ। तर, भर्ना भएकाहरू लामो समयसम्म सम्पर्कमा नआउने र युद्धग्रस्त क्षेत्रमा पुगेकाहरूले हतोत्साहपूर्ण खबर पठाइरहेकाले रूसी सेनामा भर्ना भएका नेपालीको परिवारमा चिन्ता थपिएको छ।
“मुख्य कुरा गएकाहरू सम्पर्कमा आइदिन पर्यो। रूसी सेनामा गएका सबै नेपालीलाई फिर्ता ल्याइदिन पर्योे,” शिवाले भनिन्, “गएकाहरूको फर्कन सक्ने अवस्था छैन, अब नेपालबाट जान दिन भएन।”
युक्रेनी भूमि कब्जा गर्न आक्रमण शुरू गरेदेखि ज्यान गुमाउने, घाइते हुने र जागीर छोड्ने रूसी सेनाको संख्या बढिरहेको छ। बढ्दो सैनिक माग धान्न रूसले विदेशी नागरिकलाई पनि भर्ती हुन आह्वान गरेको थियो। सैनिक अभाव पूर्ति गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कानून नै संशोधन गरेर एक वर्ष काम गरे रूसी नागरिक भएर परिवारका साथ रूसमै बस्ने सुविधा दिइने घोषणा गरेका थिए। त्यस्तै, यसअघि सेनामा भर्ती हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष पुर्याएको रूसी सेनामा रहेका नेपालीले बताएका छन्।
जागीर र रूसी नागरिक बन्ने लोभमा पढ्न भनेर रूसमा गएका सयौं नेपाली विद्यार्थी सेनामा भर्ती भएको बताइएको छ। यकीन संख्या भने सार्वजनिक गरिएको छैन। “मसँगै होस्टेलमा बस्ने आठ जनामध्ये ६ जना रूसी सेनामा गए। दुई जना केटी अर्को होस्टेलमा सरे। सेनामा जाने त मेरो नि चाहना थियोे तर हातको अपरेशन भएकाले जान सकिनँ,” रूसबाट फर्किएका सर्लाहीका एक विद्यार्थीले काठमाडौं फर्किएपछि अन्तर्वार्ताका क्रममा भने, “अहिले सम्झिँदा नगएर ठीकै गरिएछ भन्ने लागेको छ। साथीहरू फोनमा रोइरहन्छन्। असिना परे जसरी मिसाइल र रकेट बर्सिने युक्रेनको ‘फ्रन्टलाइन’ मा खटाइदिएको भन्छन्।”
रूसी सेनामा भर्ती भएका करीब एक दर्जन नेपालीका आफन्तसँग कुराकानी गर्दा चिन्ता प्रकट गरे। रूसी सेनामा भर्ती भएका अधिकांशले तत्काल जागीर छोडेर नेपाल फर्कन खोजेको आफन्तजनले बताएका छन्। शुरूमा सेनामा जाने भनेर उत्साहित भएकाहरू विना तालीम सीधै युद्धग्रस्त क्षेत्रमा पठाइदिन थालेपछि जागीर छोडेर घर फर्कन छटपटिएका हुन्।
तैपनि सेनामा भर्ती हुने उत्साह बोकेर रूस पुग्ने नेपाली युवाको संख्या पनि उत्तिकै छ। मस्कोमा रहेर रूसी सेनामा भइरहेको नेपालीको भर्तीबारे जानकार नेपालीका अनुसार अहिले पनि हरेक दिन तीन-चार जना भर्ती भइरहेका छन्। भर्ती भएका सबै निजी सुरक्षा कम्पनी बाग्नरमा नभई रूसी सशस्त्र बलमा गएको उनीहरू बताउँछन्।
सेनामा भर्ती हुन शुरूआतमा विद्यार्थी भिसामा गएका भए पनि अहिले भने भ्रमण भिसामा जाने गरेका छन्। यो संख्या बढिरहेको छ। कतार, साउदी लगायत खाडी मुलुक पुगेका नेपाली युवा पनि भ्रमण भिसामा रूस पुग्न थालेका छन, पैसाको लोभमा। यसअघि निकै केरकार गर्ने रूसी अध्यागमनका कर्मचारीले पनि सेनामा भर्ती हुन आएको भन्ने जति सबैलाई सहजै प्रवेश दिन थालेको रूसमा बस्ने नेपालीहरू बताँउछन।
नेपाल बाहेक भारत, अफगानिस्तान, पाकिस्तान, सुडान, कंगो लगायत देशबाट ठूलो संख्यामा रूस पुगेका युवा सेनामा भर्ना भइरहेका छन्। बेरोजगारीले रन्थनिएर रूसी सेनामा भर्ती भएका युवा आँखै अगाडि ड्रोनबाट प्रहार गरिएका मिसाइल लागेर ढलेका र घाइते सैनिक देख्न थालेका छन्। कमान्डरहरूले रूसीभन्दा पनि अन्य देशबाट भर्ती भएका युवालाई नै अग्रमोर्चामा खटाउने गरेको, निरन्तर मिसाइल खस्ने बाखमुट लगायतका क्षेत्रमा पठाउने, परिवारसँग फोन सम्पर्कबाट टाढा राख्ने लगायत गर्न थालेपछि नेपाली युवा अत्तालिएका छन्।
रूसी सेनामा भर्ना भएका नेपालीलाई तीन महीना भनिएको तालीम पनि पूरा नहुँदै बाखमुट लगायत उच्च जोखिमयुक्त क्षेत्रमा खटाएको परिवारजनको गुनासो छ। सामान्य ड्रोन चलाउने, बन्दूक समाउने र क्षेप्यास्त्र खसालेमा बंकर वा सुरक्षित स्थानमा यथाशीघ्र कसरी पुग्ने जस्ता तालीमको भरमा भर्तीको महीना दिन नपुग्दै युद्धग्रस्त क्षेत्रमा खटाइने गरेको छ।
“सबै जना आत्तिएका छन् अहिले,” पढ्नका लागि रूस पुगेकी एक नेपाली युवतीले भनिन्, “तर आउने कसरी? एकवर्षे करार गरेर गएकाले बीचमा जागीर छोडे दश वर्ष जेल बस्नुपर्ने प्रावधान सम्झौतापत्रमा छ। त्यसैका कारण धेरैले जोखिम भए पनि केही गर्न सकेका छैनन्। सरकारले पहल नगरे अवस्था अझ गम्भीर हुन्छ।”
पटक पटक बेलायती र भारतीय सेनामा भर्ती हुने प्रयास असफल भएपछि सेना हुने धोको पूरा गर्न उनका श्रीमान् पनि रूस पुगेका थिए। रूसी सेनामा भर्ती भएका उनी पनि जतिसक्दो छिटो घर फर्किन चाहन्छन्। “अहिले त त्यहाँ गएका सबै घर फर्कन चाहन्छन्। तर, फर्कन मुश्किल छ,” उनले भनिन्।
उनी रूसी सेनामा गएका युवासँग नियमित सम्पर्कमा छन्। नेपाल फर्कन चाहने १८ जनाको नाम टिपेर सेनाबाट फिर्ता ल्याउने कूटनीतिक पहल गरिदिन मस्कोस्थित नेपाली दूतावासमा पनि सम्पर्क गरेको उनले बताइन्। फोनमा कुरा गर्दा दूतावासका कर्मचारीले निवेदन दिए पनि रूसी समकक्षीसम्म कुरा राख्न एक वर्षसम्म पनि लाग्न सक्ने भएकाले बरु करार सकेर आफैं घर फर्कन सुझाएका थिए।
त्यसपछि नेपालीका आफन्त झन् आत्तिएका छन्। विभिन्न जिल्लाबाट काठमाडौंमा आएका आफन्तजन परराष्ट्र मन्त्री एनपी साउदलाई भेटेर रूसी सेनाबाट फिर्ता ल्याउन कूटनीतिक पहल गरिदिन निरन्तर अनुरोध गरिरहेका छन्। सरकारले जानकारी लिइरहेको भए पनि उद्धार गर्न कठिन भएको परराष्ट्र मन्त्री साउदले बताएको उनीहरूको भनाइ छ।
आफन्तको चर्को दबाबपछि परराष्ट्र मन्त्रालयले नेपाल सरकारसँग सम्झौता भएका देशका सेनामा बाहेक अन्य देशका सेनामा भर्ती नहुन आग्रह गरेको छ। रूसी सेनामा नेपाली भर्ती भएको विषय निकै पहिले सार्वजनिक भएको थियो। सामाजिक सञ्जालमा नेपाली युवा समेत रूसी सेनामा भर्ती भएका भिडिओ सार्वजनिक भएका थिए।
त्यति वेला सोधपुछ गर्दा दूतावासका कर्मचारी सामाजिक सञ्जालमा शेयर भएका समाचारमा सत्यता नभएको जवाफ दिएर आफ्ना नागरिकलाई जोखिमपूर्ण क्षेत्रमा जानबाट रोक्नुपर्ने जिम्मेवारीबाट पन्छिइरहे। अहिले रूसी सेनामा भर्ती भएका युवा युद्धग्रस्त क्षेत्रमा फसेपछि उद्धार गर्न कठिन भएको परराष्ट्र मन्त्रालयले निष्कर्ष निकालेको छ। सोही निष्कर्षका साथ सरकारले पीडित परिवारसँगको भेटघाटपछि नेपाल सरकारसँग भएको सम्झौता अनुसार भर्ती भएका देशका सेनामा बाहेक अन्यत्र भर्ती नहुन आग्रह गरेको हो।
नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता अनुसार भारत र बेलायतमा नेपाली युवाले भर्ती हुन पाउने व्यवस्था छ। ती देशले नेपालीलाई आफ्नो सेनामा भर्ती गरेर सुरक्षा संवेदनशील र हिंसाग्रस्त क्षेत्रमा खटाउँदै आएका छन्। तैपनि भर्ती हुने संख्यामा कमी आएको छैन।
रोजगारीको अभावमा नेपाली युवा भने द्विपक्षीय सम्झौता नभएका युक्रेन, रोमानिया, फ्रान्स र रूस लगायत देशका सेनामा भर्ती भएर काम गरिरहेका छन्। यस बाहेक युद्धग्रस्त क्षेत्रमा खटिएका धनी देशका सेनाले अवकाशप्राप्त नेपाली सैनिक र युवालाई पनि सैन्य गतिविधिमा प्रयोग गर्दै आएका छन्। त्यही क्रममा सन् २०१६ मा १४ जना नेपाली सुरक्षाकर्मीको तालिवानी सेनाको बम विस्फोटमा परेर ज्यान गएको थियो। त्यसअघि सन् २००५ मा सुरक्षाकर्मीका रूपमा काम गर्न हिंडेका १२ जना नेपालीको इराकमा हत्या गरिएको थियो।
रोजगारीका लागि जतिसुकै जोखिमपूर्ण क्षेत्रमा पनि सुरक्षाकर्मी भएर काम गर्न तयार हुने प्रवृत्तिका कारण नेपाली युवाले एकपछि अर्को जोखिम मोल्दै आएका छन्। सरकारले समयमा कूटनीतिक पहल गरेर आफ्ना नागरिक सुरक्षित राख्न नसक्दा अफगानिस्तान र इराक जस्तै रूसमा पनि नेपाली युवाका लागि अर्को विपत्ति आइलाग्ने हो कि भन्ने चिन्ता थपिएको छ।
यस्तै चिन्तामा छन्, रूसी सेनामा भर्ती भएका नेपालका आफन्त। “समाचार लेखाउने, मिडियामा जाने हाम्रो रहर होइन। हाम्रा दाजुभाइले (रूसी सेनामा गएर) नगर्नुपर्ने गल्ती गरिसके,” शिवाले भनिन्, “अब सरकारले सुरक्षित ठाउँमा ल्याएर हाम्रो सम्पर्कमा ल्याउन सक्छ कि सक्दैन? हाम्रो भन्नु त्यही हो।”
(कुराकानी गरिएका व्यक्तिको अनुरोधमा सबैको परिचय परिवर्तन गरिएको छ।)