टिप्पणी बुधबार, साउन १५, २०७६

के हो फेसबूकको मुद्रा ‘लिब्रा’ ?

गणेश आचार्य

सूचना प्रविधि क्षेत्रको गतिशीलता र प्रयोगकर्ताको बदलिंदो रुचिका कारण सामाजिक सञ्जाल कम्पनीको व्यवसाय सधैं उही रफ्तारमा चल्दैन । नयाँ–नयाँ तरिका लगाएर सहायक व्यवसाय शुरु नगर्ने हो भने अहिलेका अग्रणी कम्पनीहरू समेत अर्को दशक पछारिन सक्छन् ।

गणेश आचार्य

सामाजिक सञ्जाल चलाउनेहरूको मात्रै होइन, छोड्नेहरूको संख्या बढ्दै जानुले पनि यो अनुमानलाई बल पुर्‍याउँछ । सबैजसो सामाजिक सञ्जाल कम्पनीहरू भविष्यमा समेत आफ्नो दबदबा कसरी कायम राखिरहन सकिन्छ भनेर सघन गृहकार्यमा छन् ।

यसैबीच, फेसबूकले आफ्ना डिजिटल मुद्राबारे हालै गरेको घोषणाले विगतमा झैं आगामी दशक पनि उसकै प्रभुत्व रहन सक्ने सम्भावना देखिन्छ ।

केही साताअघि फेसबूकका मालिक मार्क जुकरवर्गले भने, “फेसबूकले सन् २०२० मा ‘लिब्रा’ नामक डिजिटल मुद्रा चलनमा ल्याउनेछ ।” आफ्नो र आफू जस्तै अरू सामाजिक सञ्जालहरूप्रति प्रयोगकर्ताको आकर्षण विस्तारै घट्दै जान थालेपछि फेसबूकले ‘कहिल्यै नमर्ने’ यस्तो व्यवसायलाई लक्षित गरेको बुझिन्छ ।

डिजिटल मुद्रा
फेसबूकले आगामी वर्षदेखि प्रचलनमा ल्याउन खोजेको विश्वव्यापी डिजिटल मुद्रा हो, लिब्रा । डिजिटल मुद्रा भन्नाले नोट या सिक्का जत्तिकै मूल्य हुने तर इन्टरनेट मार्फत मात्रै कारोबार गर्न सकिने पैसा हो ।

यो डिजिटल पैसा मेसेन्जर, ह्वाट्सएप जस्ता एप प्रयोग गरी छिनभरमै विश्वको जुनसुकै कुनामा पठाउन र पाउन सकिनेछ, त्यो पनि लगभग शून्य खर्चमा । हामीले रकम ब्याङ्क खातामा राखे झैं लिब्रा राख्न फेसबूकले आगामी वर्ष छुट्टै एप सार्वजनिक गर्ने तयारी गरेको छ ।

लिब्रा ‘ओपन सोर्स’ डिजिटल मुद्रा भएकाले अन्य कम्पनीहरूले समेत लिब्रा राख्ने छुट्टै एप बनाउन सक्नेछन् । त्यसपछि मेसेन्जर या ह्वाट्सएपसँग जोडेर अर्को त्यस्तै प्रयोगकर्तालाई लिब्रा पठाउन या पाउन सकिनेछ । अर्थात्, विश्वभरि यही एउटा मुद्रा चल्नेछ ।

स्थानीय मुद्रालाई लिब्रामा र लिब्रालाई स्थानीय मुद्रामा साटफेर समेत गर्न मिल्ने फेसबूकले जनाएको छ । यी विशेषताका आधारमा लिब्रा र अहिलेको चर्चित, महँगो क्रिप्टोकरेन्सी बिटक्वाइन लगभग उस्तै हुन् । बिटक्वाइनको मूल्य तल–माथि भइरहन्छ, तर लिब्रा त्यसो नहुने फेसबूक बताउँछ ।

बिटक्वाइनलाई नियमन गर्ने कुनै नियमनकारी निकाय नभएका कारण त्यसमा ठगी हुनसक्ने सम्भावना पनि हुन्छ । लिब्रालाई भने एउटा ‘रिजर्भ फण्ड’ ले निरन्तर अनुगमन गर्नेछ ।

फेसबूकले करीब चार वर्षअघि पनि डिजिटल तरिकाले भुक्तानी गर्ने प्रविधिको परीक्षण गरेको थियो । तर कुनै ब्याङ्कको खातासँग जोडेर चलाउनुपर्ने अन्य भुक्तानी प्रविधि जस्तै बनाइएकाले त्यो सफल हुन सकेन ।

लिब्रा चलाउन भने प्रयोगकर्ताले ब्याङ्क खाता खोल्नुपर्दैन । मोबाइल फोन रिचार्ज गरे जस्तै ‘लिब्रा वालेट’ रिचार्ज गर्न र ब्याङ्कमा भएको आफ्नो रकम सहजै लिब्रामा परिणत गर्न सकिनेछ ।

फेरिएला भुक्तानीको भविष्य ?

फेसबूकका कुल प्रयोगकर्तामध्ये १० प्रतिशतले मात्रै पनि लिब्रा प्रयोग गरे यो कम्पनी विश्वकै सबैभन्दा ठूला वित्तीय संस्थाहरूमध्ये एक हुनसक्छ । झट्ट हेर्दा फेसबूकलाई मात्रै फाइदा हुने जस्तो देखिए पनि समग्रमा लिब्राले विश्वभरि पैसाको समेत भविष्य फेर्न सक्छ ।

जुकरवर्गले लिब्रा घोषणा गर्दाको फेसबूक स्टेटसमा लेखेका छन्, “विश्वका करोडौं मानिसलाई वित्तीय रूपमा सबल बनाउन नै लिब्रा ल्याउन लागिएको हो ।”

लिब्रालाई कतिले विश्वास गर्लान् भन्ने चाहिं बहसको विषय हुन सक्छ । विश्वविद्यालयका छात्राहरूको सुन्दरता तुलना गर्ने वेबसाइटको ‘आइडिया’ बाट शुरु भएको फेसबूकसँग अहिले सवा दुई अर्बभन्दा बढी प्रयोगकर्ता छन् ।

फेसबूक शुरुआतमा पनि विवादित थियो, अहिले पनि छ । आफूले बनाएको वेबसाइटकै कारण त्यतिखेर फेसबूकका निर्माता तथा मालिक जुकरवर्ग आफ्नो विश्वविद्यालयबाट निकालिए । अहिले पनि उनी आबद्ध संस्थाको नाममा विश्वभरका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् ।

फेसबूकलाई अहिलेसम्म विवादमा तान्ने एउटै मात्रै कडी होः प्रयोगकर्ताको व्यक्तिगत सूचना । ती सूचनाको दुरुपयोग गरेको र कतै–कतै त बिक्री समेत गरेको आरोप लाग्न थालेपछि धेरै ठाउँमा फेसबूकलाई बन्देज समेत लगाइएको छ ।

धेरै ठाउँमा विश्वासको संकट झेलिरहेको फेसबूकलाई लिब्राको साख बढाउन र साथ पाउन पक्कै सजिलो छैन । तर यस पटक फेसबूकको तयारीले विश्वासको आधार बढाएको छ । लिब्रा फेसबूकको योजना भए पनि यसको नियमन भने स्विट्जरल्याण्डको एउटा स्वतन्त्र संस्थाले गर्ने भनिएको छ।

आन्तरिक बजारकै लागि बनाइएका ई–सेवा, खल्ती, आईएमई–पे जस्ता भुक्तानी प्रविधिको विषयमा समेत सरकारी नीति उदार नरहेको अवस्थामा नेपालमा अन्तर्राष्ट्रिय पेमेन्ट गेट–वे अहिलेकै सन्दर्भमा टाढाकै कुरा हो । 

हाललाई लिब्रासँग सम्बन्धित सबै काम गर्न फेसबूकले कलिब्रा नामक छुट्टै संस्था बनाएको छ । लिब्राको कारोबार शुरु हुनुअघि नै कलिब्राबाट सम्पूर्ण कुरा जेनेभास्थित उक्त स्वतन्त्र संस्थाले लिइसक्नेछ । गोपनीयताबारे विश्वस्त पार्दै जुकरवर्गले अन्तर्वार्तामा भनेका छन्, “फेसबूकसँग लिब्रा प्रयोगकर्ताको डाटाबेस नै रहँदैन ।”

डाटाको गलत फाइदा उठाएर पैसा कमाइरहेको आरोप खेप्दै आएको फेसबूक लिब्रामा भने अलि बच्ने देखिन्छ । साथै, स्पोटिफाई, भिसा, उबर, भोडाफोन जस्ता २८ कम्पनीले लिब्रा प्रयोग गर्न सक्ने संकेत देखाएपछि विश्वास अझै बढेको हो ।

यसको अर्थ भविष्यमा त्यस्तो दिन आउन पनि सक्छ, जहाँ हामी ट्याक्सी भाडादेखि पसलमा सामान किन्दा तिर्ने पैसा लिब्राकै रूपमा तिर्नेछौं । पैसा पठाउनु र पाउनु मोबाइलमा एसएमएस पठाउने–पाउने प्रक्रिया जस्तै सजिलो हुनेछ, कुनै अतिरिक्त शुल्क विना । कम विकसित देशका धेरै नागरिकलाई यसले वित्तीय प्रणालीमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

अर्कातिर, विभिन्न देश र त्यहाँका ब्याङ्कहरूले लिब्रालाई नस्वीकार्न सक्छन् । आफूकहाँ राखिएका रकम फटाफट लिब्रामा परिणत हुनु ब्याङ्कहरूका लागि सह्य नहुन सक्छ । विभिन्न देशका सरकारले लिब्राप्रति देखाउने विश्वासमा पनि लिब्राको भविष्य निर्धारण गर्नेछ ।

नेपालमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय भुक्तानी प्रविधिलाई मान्यता दिइएको छैन । आन्तरिक बजारकै लागि बनाइएका ई–सेवा, खल्ती, आईएमई–पे जस्ता भुक्तानी प्रविधिको विषयमा समेत सरकारी नीति त्यति उदार नरहेको अवस्थामा अन्तर्राष्ट्रिय पेमेन्ट गेट–वे हाम्रा लागि टाढाकै कुरा हो ।

लिब्राप्रतिको त्यही शंका मेटाउन फेसबूक अहिले जुटिरहेको छ । त्यसैका लागि फेसबूकले लिब्रा सार्वजनिक गर्ने मिति एक वर्ष पछाडि राखेको बुझन गाह्रो छैन । अमेरिकी सरकारभित्र समेत लिब्राको विषयमा दुई थरी छलफल भइरहेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले लिब्राप्रति खुला रूपमै अविश्वास जनाइरहेका छन् ।

यो हेराइ अन्य देशमा पनि नसर्ला भन्न सकिन्न । प्रयोगकर्ताकै तहमा आउँदा समेत लिब्रालाई कतिले विश्वास गर्लान् भन्ने बहस पनि छँदैछ ।

प्रतिकृया दिनुहोस