वैज्ञानिक कर्ममा भाषाको तगारो
विश्वभर गरिएको अनुसन्धानको निचोड छ, मातृभाषा अंग्रेजी नभएका वैज्ञानिकलाई अरूका शोधपत्र पढ्नै ९१ प्रतिशत बढी र आफ्नै शोधपत्र लेख्न ५१ प्रतिशत बढी समय लाग्छ।
(द कन्भरसेसनमा १८ जुलाईमा प्रकाशित युनिभर्सिटी अफ क्वीन्सल्यान्डका वरिष्ठ अध्यापक अमानोको यो लेख लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)
अचेल धेरैजसो अनुसन्धानमा सहभागी हुन आधारभूत तहको अंग्रेजी भाषा अनिवार्य भइसकेको छ। तर, अंग्रेजी भाषामा यति धेरै जोड दिंदा गैरअंग्रेजी भाषी वैज्ञानिकका लागि निकै ठूलो बोझ बनिरहेको छ।
पीएलओएस बायोलोजी जर्नलमा १८ जुलाईमा प्रकाशित शोध आलेखमा मेरा साथीहरू र मैले गैरअंग्रेजीभाषी वैज्ञानिकका लागि भाषाको कठिनाइ कतिसम्म छ भन्ने उजागर गरेका छौं।
अनिवार्य अंग्रेजी
अरूले गरेको कामबाट ज्ञान हासिल गर्न, आफ्ना निष्कर्षहरू प्रकाशन गर्न, अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन र विश्वभर त्यही क्षेत्रमा काम गरिरहेका सहकर्मीसँग सहकार्य गर्न वैज्ञानिकका लागि अंग्रेजी नजानी नहुने भाषा बनेको छ। यो अनिवार्यता संसारको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गैरअंग्रेजीभाषीका लागि ठूलो चुनौती बनेको छ।
तर, आफ्नो क्षेत्रमा रहिरहन र प्रगति हासिल गर्न गैरअंग्रेजीभाषीले कतिसम्म बढी लगानी गर्नुपर्छ भन्नेबारे आजसम्म पनि खोज नहुनु आश्चर्यजनक छ। यो समस्यालाई सतहमा ल्याउने काम गैरअंग्रेजीभाषी वैज्ञानिकको निष्पक्ष सहभागितातर्फको पहिलो पाइला हो।
वैज्ञानिक कर्ममा भाषाले सिर्जना गरेको कठिनाइ बुझ्ने उद्देश्यले सन् २०१९ मा ‘ट्रान्सलेट प्रोजेक्ट’ शुरू गर्यौं।
यस परियोजनामा हामीले आठ वटा देशका अंग्रेजी मातृभाषी र गैरअंग्रेजी मातृभाषी दुवै थरी गरी ९०८ जना वातावरण वैज्ञानिकमाझ सर्भे गरेका थियौं। त्यस क्रममा वैज्ञानिक सफलता हासिल गर्न हरेकले गर्नुपरेको मेहनत तुलना गर्यौं।
ठूलो तगारो
मानौं, तपाईं विद्यावारिधि गरिरहनुभएको एक गैरअंग्रेजी मातृभाषी शोधार्थी हुनुहुन्छ। त्यसो हो भने हाम्रो अनुसन्धानको निष्कर्ष अनुसार तपाईंले निम्न कठिनाइ झेल्नैपर्नेछ।
पहिलो कठिनाइ हो, शोधपत्रको अध्ययन, जबकि एक शोधार्थीका लागि यो पहिलो काम हो।
अंग्रेजी मातृभाषा भएका शोधार्थीलाई एउटा शोधपत्र पढ्न जति समय लाग्छ, त्यसको तुलनामा तपाईंले ९१ प्रतिशत बढी समय लगाउनुपर्नेछ। यसको अर्थ हो, एक वर्षमा एक जना अंग्रेजीभाषी शोधार्थीले जति शोधपत्र पढ्छन्, त्यति पढ्न गैरअंग्रेजीभाषीलाई थप तीन साता चाहिन्छ।
दोस्रो ठूलो कठिनाइ चाहिं अंग्रेजीमा आफ्नो शोधपत्र प्रकाशन गर्ने वेलामा आउँछ।
पहिला त तपाईंले शोधपत्र लेख्न नै ५१ प्रतिशत बढी समय लगाउनुपर्छ। त्यसपछि तपाईंलाई आफ्नो शोधपत्रको भाषा सम्पादनका लागि व्यावसायिक सम्पादकको खाँचो पर्छ।
त्यसको अर्थ हो, तपाईंले त्यसका लागि खर्च गर्न सक्नुपर्छ। उदाहरणका लागि कोलम्बियामा एक जना विद्यावारिधि शोधार्थीले मासिक रूपमा पाउने तलबको आधा त सम्पादनमा खर्च गर्नुपर्छ।
कठिनाइ यत्तिमै टुङ्गिंदैन। तपाईंको शोधपत्र अंग्रेजीभाषी शोधार्थीको तुलनामा औसतमा २.६ गुणा बढी पटक अस्वीकृत हुन सक्छ। शोधपत्र अस्वीकृत भएन भने पनि तपाईंलाई १२.५ गुणा बढी पटक संशोधन गर्न लगाइन सक्छ।
वर्तमान विश्वमा अनुसन्धानकर्मीबीच सम्बन्ध स्थापित गर्न अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्छ। तर, कुनै पनि सम्मेलनका लागि नाम दर्ता गर्नुअघि ‘अंग्रेजी बोल्न सहज नभएकाले’ तपाईं हिचकिचाउन सक्नुहुन्छ। अंग्रेजीभाषी शोधार्थीले भने एक क्षण पनि नहिचकिचाई नाम दर्ता गरिहाल्छन्।
तपाईंले सम्मेलनमा भाग लिने र आफ्नो अनुसन्धानबारे प्रस्तुति दिने निर्णय गरिहाल्नुभयो भने अंग्रेजीभाषी शोधार्थीको तुलनामा तपाईंले ९४ प्रतिशत बढी समय तयारीमा छुट्याउनुपर्छ। प्राज्ञिक जगत्मा आफ्नो अस्तित्व कायम राखिरहन तपाईंले एक पटक होइन, बारम्बार यी कठिनाइको सामना गरिरहनुपर्छ।
फराकिलो असर
यी कठिनाइले गैरअंग्रेजीभाषी अनुसन्धातालाई प्रशस्त हानि पुर्याएका छन्। हाम्रो अध्ययनमा सहभागी शोधार्थीले ‘एकदमै धेरै तनाव’ भोग्नुपरेको बताएका छन्। आफ्नो काममा प्रशस्त समय र आर्थिक लगानी गरे पनि आफूले सधैं ‘कमजोर र असुरक्षित’ महसूस गरेको उनीहरू सुनाउँछन्।
यस्तो अनुभवले वैज्ञानिकलाई शुरूआतमै करिअर छोड्नुपर्ने अवस्थामा कसरी पुर्याउँछ भन्ने हामी अनुमान गर्न सक्छौं।
विडम्बना त यो भाषाको तगारोलाई हेर्ने दृष्टिकोण असहयोगी र अदूरदर्शी छ र भनिन्छ, ‘यो उनीहरूको समस्या हो।’
विज्ञानमा भएका विविधताले नयाँ नयाँ आविष्कार र प्रभाव सम्भव तुल्याउँछ भन्ने अनुसन्धानले देखाएका छन्। जैविक विविधताको सङ्कट जस्ता विश्वव्यापी चुनौतीसँग जुध्न गैरअंग्रेजीभाषी वैज्ञानिकका खोज-अनुसन्धानहरू अनिवार्य हुँदै आएका छन् र हुनेछन्।
हाम्रो अनुसन्धानका एक सहभागीले ‘भाषाको तगारोका कारण थुप्रै अनुसन्धान अप्रकाशित अवस्थामा छन्’ भनेका थिए। यदि त्यसो हो भने हामी धेरै प्रतिभावान् मस्तिष्कको वैज्ञानिक अवदानबाट वञ्चित भइरहेका छौं।
वैज्ञानिक समुदायले के गर्न सक्छ?
आजसम्म गैरअंग्रेजीभाषीलाई वैज्ञानिक समुदायले वास्तविक साथ दिएको इतिहास दुर्लभ छ। यसको साटो भाषाको तगारो नाघ्ने काम आफैंले गर भनेर छोडिएको छ।
तर, वैज्ञानिक समुदायका व्यक्ति, संस्था, जर्नल, दाता र सम्मेलन आयोजकले यो अवस्थामा परिवर्तन ल्याउन सक्छन्।
पहिलो कदमका रूपमा जर्नलले अनुसन्धातालाई अंग्रेजी सम्पादनका लागि सघाउन सक्छन् र उनीहरूले बहुभाषिक प्रकाशन पनि गर्न सक्छन्।
गैरअंग्रेजभाषी अनुसन्धातालाई सम्मेलन आयोजकले सघाउने प्रशस्त अवसर छन्। उदाहरणका लागि पछिल्लो वर्ष ‘एनिमल बिहेवियर सोसाइटी’ ले आयोजना गरेको सम्मेलनलाई बहुभाषिक बनाइएको थियो।
कृत्रिम बौद्धिकता (एआई)ले पनि सघाउन सक्छ। हाम्रो अनुसन्धानका सहभागीले अंग्रेजी सम्पादनका लागि एआईको प्रशस्त उपयोग गर्ने गरेको पाइएको थियो।
‘ब्रिटिश इकोलोजिकल सोसाइटी’ ले हालै आफ्नो जर्नलमा शोध आलेख पठाउँदा एआईद्वारा भाषा सम्पादन गर्ने प्रविधि समावेश गरेको छ। यद्यपि केही जर्नलले अहिले पनि त्यस्ता साधनको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।
एआईको प्रभावकारी र नैतिक प्रयोगले भाषाको तगारो हटाउन सक्छ भन्नेमा हामी विश्वास गर्छौं।
चाहिन्छ पहलकदमी
‘मेरो मातृभाषा अंग्रेजी भइदिएको भए हुन्थ्यो।’
हाम्रो अनुसन्धानका एक सहभागीको यो भनाइले गैर-अंग्रेजीभाषीले आफैंलाई र सिङ्गो वैज्ञानिक समुदायले उनीहरूलाई हेर्ने दृष्टिकोण व्यक्त गर्छ। त्यो हो, भाषा नजान्नुलाई कमजोरीका रूपमा हेर्ने दृष्टिकोण।
यसको साटो हामीले यसलाई उपलब्धिका रूपमा हेर्नुपर्थ्यो। भाषाको तगारो नाघेर गैरअंग्रेजीभाषीले अंग्रेजीभाषीसँग नहुने विविध दृष्टिकोण दिएका छन्। मानव जातिको ज्ञान अभिवृद्धिमा उनीहरूको योगदान अपरिहार्य छ।
वैज्ञानिक समुदायले यो भाषाको तगारोलाई सम्बोधन गर्न आवश्यक छ, ताकि भविष्यमा गैरअंग्रेजीभाषीले पनि गर्वसाथ विज्ञानमा योगदान गर्न सकून्। तब मात्र हामीले ज्ञानको असीमित फैलावटको आनन्द लिन पाउनेछौं।