दस्तावेज शनिबार, साउन ११, २०७६

नेपाल–भोट युद्ध: तराईका जनतालाई जङ्गबहादुरकाे आह्वान

ज्ञानमणि नेपाल

भोटतिर लडाइँ हुन लागेकाले देश बचाउनुपर्नेमा जोड दिंदै जङ्गबहादुरले विगतमा सरकारको नोक्सान गराएर भए पनि जनतालाई सुख–सुविधाको व्यवस्था गरेको, अब देशलाई परेका बेला सहयोग गर्नुपर्ने भनी आह्वान गरेका थिए।

ज्ञानमणि नेपाल 

भोटसँगको युद्धका लागि प्रधानमन्त्री जङ्गबहादुर राणाले पूर्वदेखि सुदूरपश्चिमसम्मका उत्तरी सीमा नाकाहरूमा ठूला खाद्य गोदामघर बनाई अन्नको जोहो र युद्धका खरखजानाको बन्दोबस्त गरेर फौज खटाइसकेका थिए ।

त्यसपछि उनले चितवनदेखि महोत्तरीसम्मका सन्त, महन्त, फौजदार, सुबेदार, चौधरी, कानुगोय (माल अड्डाका कर्मचारी), मोकदम (मुखिया), जिमिदार, गुठियार, बिर्ताकार आदि सबैलाई सम्बोधन गरी आफ्नै दस्तखतमा चिठी पठाए ।

चिठीमा जङ्गबहादुरले विगतमा सरकारको नोक्सान गराएर भए पनि जनतालाई सुख–सुविधाको व्यवस्था गरेको उल्लेख गर्दै अब देशलाई परेका बेला सहयोग गर्नुपर्ने भनी आह्वान गरेका थिए ।

भोटतिर लडाइँ हुन लागेकाले देश बचाउनुपर्नेमा जोड दिंदै उनले लेखेका थिए, “यो राज्य रह्यो भने तिमीहरूलाई यो बन्दोबस्त पनि रहला ।” अर्थात् तिमीहरूले सम्हाल्दै आएको जिम्मेवारी पनि कायम रहला । राज्य नरहे अहिलेको बन्दोबस्त गुम्ने, सबैले दुःख पाउने, श्री ५ को सरकारको बिग्रिने र आफ्नो पनि बदनामी हुने उनको चिन्ता थियो ।

फौजको भरोसा रैती र रैतीको भरोसा फौज भएको स्मरण गराउँदै प्रधानमन्त्रीले ठूला–साना सबैले मिहिनेत गर्ने बेला यही भएकोमा जोड दिएका थिए ।

युद्ध जस्तो विशेष परिस्थितिमा फौजले जीउ–ज्यान दिनुपर्ने तथा पहाड र मधेशका रैतीले धन दिनुपर्ने उनको निष्कर्ष थियो । तर, सरकारले रैतीसँग धन नमागेको, बरु अन्न खरीद गर्ने उल्लेख गर्दै चलिआएको भाउमा रु.१ को १२ पाथीका दरले खस्रो मसिनो चामल दिनुपर्ने जानकारी गराएका थिए ।

उक्त चामल रैतीले ४/५ दिनको बाटोसम्म बोकेर चाहिं ल्याइदिन उनले सहयोग मागेका थिए । बिर्तावाल र फिकदारहरूले प्रतिबिघा रु.३ का दरले रकम दिनुपर्ने भनिएको थियो ।

अन्न संकलन गर्न काजी डिल्लीसिंह बस्नेत र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारी आएको र उनीहरूले लगाए–अह्राए अनुसार नगरेर दायाँ–बायाँ गरे सजाय हुने चेतावनी पनि प्रधानमन्त्री जंगबहादुरले दिएका थिए ।

जङ्गबहादुरकाे आह्वान–

जङ्गबहादुर राणा

मधेश जिल्ला जिल्लामा भैगयाको दस्खत !

प्रसस्ति श्रीप्राइम्मिनिष्टर जनरलको –

आगे जिल्ला महुतरिका संत महंत सुवा फौजदार सुवेदार देवान पेस्कार चौधरी कानुगोये मोकदम जेठरयेत् जैवार जिमिदार रैयत गुठियार विर्तावार फिकदार माना चावल घरवारि मरवट गैह्रका मानिसहरूके प्रनाम सलाम् आसिष. उप्रांत तिमीहरू गैह्रलाई सवादोटकीको अनि पचकटि वेजगहिको वोसिमगनी झरा वेठवेगार हातिसारको टंटा मुलुक इजारामा लाग्दा मुलुकलाई दुख देख्दा येति कुरा सबै मैले घटाई श्री ५ सर्कारका रुपैयाँ गीराई मेरो पटबन सलामि माया मारि तिमीहरूलाई सुख हवस् भनी मुलुक अमानत राख्याको थियो. आज श्रीदैवले गर्दा उत्तर दिसातिर लडाईको कारखाना हुन लाग्यो. यो राज्य रह्यो भन्या तिमीहरूलाई यो बन्दोबस्त पनि रहला. श्री ५ सरकारको बन्ला. हामीलाई पनि नेकनामी रहला. यो राज्य गयो भन्या बन्दोवस्त पनि रहन्या छैन. तिमीहरूले पनि दुःख पाउला श्री ५ सर्कारको बिग्रला. हामीलाई पनि बदनामि होला. तसर्थ श्री ५ को सरकारको हकमा रैयत् फौजउमराव. छोटाबडाले मेहेनत गर्नेबेला यहि हो, फौजका भरोसा रैयत्, रैयत्का भरोसा फौज. फौजले ज्यु दिनुपर्दछ. पहाडका मधेशका रैयत्ले धन दिनुपर्दछ. सो वेहोरामा धन श्री ५ सर्कारबाट माग्याको छैन. रुपैयाँ दि अघिदेखि दियाका मोर्हरुपैयाँ १ को सिरा भाउमा खस्रो मसिनोको येकदर गरि पाथी १२ का भाउमा चावल ४ । ५ दिनका बाटोसम्म बोकि ल्याईदेऊ. तिमीहरूसंग सबै उपजनी श्री ५ सर्कारबाट माग्याको छैन. विर्तावार फिकदार गैह्रके विगाहा १ को रुपैयाँ ३ का दरले दिनु. यो रसद उठाउन्या काजिडिल्लीसिंह वस्न्यात खजांचि सिद्धिमान्सिंह राजभंडारी भै आयाका छन्. इनले लाया अह्राया बमोजिमको काम तत्पर भै गर. येसमा कसैले हर्हिमायेत् राख्यो भन्या श्री ५ सर्कारको चारहात जमिन जान्या आउन्या वेलामा काम नगरि हर्हिमायेत् गन्र्यालाई कस्तो सजाये हुन्छ. तिमिहरू जान्यै छौ.

इति संवत् १९११ साल मिति कात्र्तिक सुदि ७ रोज ७ शुभम्. अरू जिल्लामा. मालका रैयत्ले विघाहा १ को रुपैयाँ १ का दरले दीनु....... जिल्लावाराका महंत संत सुवा फौजदार सुवेदार देवानपेस्कार चौधरी कानुगोय मुकदम् जेठ रैयत्के वेहोरा सदर– ............

जिल्लै पर्साका संतमहंत सुवा देवान् पेस्कार चौधरि कानुगोये मोकदम जेठ रैयत्के वेहोरा सदर– .............प्रंगना चिटन (चितवन) गैह्रका संत महंत सुवा फौजदार सुवेदार देवान् पेस्कार चौधरी कानुगोये मुकदम जेठ रैयत्के वेहोरा सदर ..............प्रगंना सर्लाहि गैह्रका संतमहंत सुवा फौजदार सुवेदार पेस्कार चौधरि कानुगोये मोकदम जेठ रैयत्के वेहोरा सदर .........तप्पा रौतहटका संत महंत सुवा फौजदार देवान पेस्कार चौधरि कानुगोये मोकदम् जेठ रैयत्के वेहोरा सदर–

प्रतिकृया दिनुहोस