फेवामा फेवातालीको खोजी
![फेवामा फेवातालीको खोजी](https://www.himalkhabar.com/uploads/posts/800X600/Mahendra_sign_limbu_main_1686810831.jpg)
फेवातालीलाई भेटेर डुङ्गामा फेवा ताल भएर फर्किंदै गर्दा ६६ वर्षीय पुतलीविद्ले एउटै प्रश्न दोहोर्याइरहे, “सुकिरहेको मेवा खोलामा अब कति वर्षसम्म फेवाताली भेटिने हो?”
अमेरिकी कीटविज्ञान विशेषज्ञ क्यारेन कोनिफले केही वर्षअघि नेपालमा रहँदा गाइनेकीराबारे खोज अनुसन्धान गरेकी थिइन्। गाइनेकीराकै खोजीमा २०७५ सालमा पोखरा पुगिन्।
क्यारेनले पोखराको फेवा ताल पारी एक गाइनेकीरा फेला पारिन्। त्यति वेला उनलाई यो नयाँ प्रजाति हो कि भन्ने लाग्यो। त्यो पोेथी गाइनेकीरा थियो।
पोखराको फेवा ताल।पुतली, निशाचर, गाइनेकीरा लगायत वातावरणमा पाइने ससाना कीरामा भालेको अध्ययनले मात्र विस्तृत जानकारी बटुल्न सकिन्छ। त्यसैले अध्ययन अनुसन्धानमा पोथीभन्दा भाले प्रजातिको खोजी गरिन्छ।
त्यही वर्ष दोस्रो पटक नेपाली पुतलीविद् महेन्द्रसिंह लिम्बूसँगै क्यारेन फेरि पोखरा पुगिन्। दुवैको एउटै आश थियो- पुतली, निशाचर, गाइनेकीरा लगायत केही नयाँ प्रजाति भेटिन्छन् कि!
फेवा ताल पारि मेवा खोलामा जङ्गलबीच सुन्दर झरना थियो। पानीको कलकल ध्वनि, चराचुरुङ्गीको चिरबिर, हरियाली। यस्तै सुन्दर र शान्त वातावरणमा दुवै जना दुईतिर लागे, आआफ्नो खोजमा।
पुतलीविद् महेन्द्रले एकाएक आँखै अगाडि नयाँ प्रजातिको गाइनेकीरा देखे र हत्तपत्त फोटो खिचिहाले। त्यसपछि क्यारेनलाई पनि बोलाए। क्यारेनले नयाँ प्रजातिको गाइनेकीरालाई ध्यान दिएर हेरिन्। केही बेर गमेपछि आफूले केही समयअघि भेटेको गाइनेकीरा र यो एकै भएको बताइन्।
पुतलीविद् क्यारेन कोनिफ। पोखराबाट काठमाडौं फर्किएपछि दुवै जनाले गाइनेकीराबारे अध्ययन अनुसन्धान गरे। यसपालि भेटिएको गाइनेकीरा भाले थियो। यसले अध्ययन अनुसन्धानलाई सजिलो बनायो। यो प्रजातिको गाइनेकीरा नेपालको रेकर्डमा थिएन। नेपालका लागि नयाँ प्रजातिको गाइनेकीरा फेवा ताल पारिको मेवा खोलामा भेटिएको थियो।
जसको वैज्ञानिक नाम थियो- माइक्रोगम्फस। फेवा तालमा भेटिएकाले उनीहरूले यो गाइनेकीराको नामकरण गरे, फेवातालीे। क्यारेन र महेन्द्रको खोजले हरियो रङको घेरा भएको ‘फेवाताली’ नेपालका साथै विश्व रेकर्डमा पहिलो पटक दर्ता भयो।
क्यारेन यति वेला अमेरिकामा छिन्। महेन्द्र भने आफ्ना पुराना साथी कोलिन फिलिप स्मिथलाई भेट्न केही समयअघि पोखरा आइपुगे। कोलिन यस्ता पुतलीविद् हुन् जसले नेपालका पुतलीबारे संसारलाई जानकारी दिए। पुतली अध्ययनकै लागि उनले बेलायत छोेडेर नेपाललाई नै आफ्नो घर बनाए।
को हुन् कोलिन फिलिप स्मिथ?
लामो समयपछि पोखरा आइपुगेका महेन्द्रले कोलिनलाई भेट्दा क्यारेनलाई पनि सम्झिए। अझ फेवातालीको याद नआउने त कुरै भएन। क्यारेन त अमेरिकामा छिन्, सम्झना नै काफी भयो, तर महेन्द्रलाई फेवातालीलाई भने भेट्नै मन लाग्यो ।
फेवातालीलाई भेट्न यस पटक फेरि पुगे फेवा ताल पारिको मेवा खोला। तर, सबै थोक अघिल्लो पटकको जस्तो थिएन। उनले सुनाए, “फेवा ताल पहिलेभन्दा फोहोर भएछ। कलकल आवाज आउने मेवा खोला बग्न छोडेछ। जङ्गलबीचको सुन्दर झर्ना सुकेछ। डाँडामाथि पानी लैजान जङ्गलभरि नै पाइप बिछ्याइएको रहेछ।”
यो सबै देख्दा उनी निराश भए। अझ धेरै बेरको घुमफिरमा पनि फेवाताली नभेटेपछि दिक्क माने। फेरिएको फेवा तालले उनलाई उद्वेलित बनायो।
विज्ञहरूका अनुसार पुतली लगायत ससाना कीराका लागि पानी भएका ठाउँले महत्त्व राख्छ। उनीहरू पानी भएकै ठाउँमा बढी भेटिने गर्छन्। पानी नै नरहने हो भने वरपरका ससाना प्रजाति लोप हुँदै जाने अवस्थामा पुग्छन्। यी प्रजाति लोप हुनु सिङ्गो पारिस्थितिक प्रणालीमा गम्भीर असर पुग्नु हो। यसले पर्यावरणीय चक्रमा खलल पुर्याउँछ।
मेवा खोलाको झाडीमा फेवाताली खोज्दै पुतलीविद् महेन्द्रसिंह लिम्बू।पुतलीविद् महेन्द्रले नैराश्य प्रकट गरे, “यिनीहरू वातावरणका सूचक हुन्। यिनको उपस्थिति हुनु वातावरण स्वच्छ रहनु हो। यिनीहरू हराउँदै जानुको अर्थ वातावरण प्रदूषित र सुक्खा हुँदै गएको हुन्छ।”
मानवीय अतिक्रमण, प्रदूषण, तापक्रम वृद्धिले खोलानाला, तालतलैया सुक्ने क्रम बढ्दो छ। त्यसको प्रत्यक्ष चपेटामा परेको छ फेवा ताल। सिमसार क्षेत्र फेवा ताल संरक्षणको आवश्यकता रहेको उनले औंल्याए।
पहिलो पटक फेवातालीलाई पत्ता लगाएको ठाउँ मेवा खोला नै सुक्दा यस पटक फेवाताली फेला नपर्ने हो कि भन्ने उनको मनमा शङ्का थियो। क्यामेरा तेर्स्याउँदै हरेक पुतली, गाइनेकीरालाई नियाल्दै फोटो खिच्न थाले।
मेवा खोलामा उनले भेटिरहेका पुतली र गाइनेकीराका प्रजाति सामान्य रूपमा पाइरहने नै थिए। लामो पर्खाइपछि एउटा होचो बिरुवाको हरियो पातमा कालो रङको नीलो घेरा भएको पुतली देखियो। पुतलीलाई देख्ने बित्तिकै उनले भने, ‘वाट्सन बुसब्राउन।’
वाट्सन बुसब्राउन।२०७४ सालमा वन विज्ञान क्याम्पसमा आउँदा उनले नजिकैको वनपाले डाँडामा नयाँ प्रजातिको पुतली फेला पारेका थिए। जसको अध्ययन अनुसन्धानपछि नाम रहन पुगेको थियो, वाट्सन बुसब्राउन। पहिलो पटक वनपाले डाँडामा फेला परेको वाट्सन बुसब्राउन अहिले पोखराका अधिकांश ठाउँमा पाइन्छन्। महेन्द्रले त्यही पुतली फेरि भेटे, मेवा खोलामा।
नेपालमा ६६० को हाराहारीमा पुतली र निशाचर पुतली (मोथ्स)का प्रजाति रहेको तथ्याङ्क छ। गाइनेकीरा भने १४० प्रजाति दर्ता छन्। तर, अध्ययन अनुसन्धान पर्याप्त नहुँदा अझै पनि धेरै पुतली, निशाचर पुतली, गाइनेकीराबारे पत्ता लगाउन नसकिएको र संरक्षण हुन नसक्दा लोप हुने अवस्था आएको उनले बताए।
यी कीराका असंख्य प्रजाति र सहप्रजाति पनि हुन्छन्। प्रजाति नै नयाँ फेला पारिनुले कीटविज्ञानमा महत्त्व राख्छ। पुतलीविद् महेन्द्रले आफैंले पुतली, निशाचर पुतलीबारे खोज गर्न थालेको पाँच दशक भयो। उनको नाममा नै थुप्रै पुतलीका प्रजाति तथा सहप्रजातिको तथ्याङ्क छ। उनले भेटेका कति पुतलीका प्रजाति भने लोप हुने अवस्थामा रहेको सुनाए।
फेवाताली खोजीका क्रममा महेन्द्रसिंह लिम्बू।विद्यालयमा हुँदा नै अतिरिक्त कार्यक्रम कीटविज्ञानमा उनको रुचि थियो र सोही अन्तर्गत पुतली लगायतका अन्य प्रजातिको सङ्कलन, अध्ययन गर्थे। स्वाध्ययन गर्दै पुतलीबारे खोज्ने क्रममा उनले सन् १९९२ मा जापानी कीटविज्ञान विशेषज्ञ टोसिरो हरूतासँग नेपालको निशाचर पुतलीको अनुसन्धानका लागि सहयोगीका रूपमा काम गर्ने मौका पाए। टोसिरोको काम थियो- निशाचर पुतली सङ्कलन र अध्ययन गर्ने।
त्यसबीच टोसिरोले पाँच वटा निशाचर पुतलीबारे किताब नै निकालिसकेका थिए। अर्को किताब निकाल्ने क्रममा थिए। तर, सन् १९९६ मा टोसिरोको निधन भयो।
त्यसपछि महेन्द्रको काम पनि केही समयका लागि रोकियो। उनले यही दौरान नै पुतलीविद् कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’ सँग काम गरेका हुन्।
हाल महेन्द्रले गोदावरीका पुतलीबारे अध्ययन लगभग सकेका छन्। अब त्यो अध्ययनलाई किताबका रूपमा बाहिर ल्याउने योजनामा छन्।
गाइनेकीराको नयाँ प्रजाति फेला पार्नु र नामकरण गर्नु अमेरिकी पुतलीविद् क्यारेनका लागि नयाँ होइन। तर, नेपाली पुतलीविद् महेन्द्रका लागि गाइनेकीरा फेवातालीको नामकरण पहिलो थियो।
पाँच वर्षअघि मेवा खोलामा भेटिएको फेवाताली। तस्वीर: महेन्द्रसिंह लिम्बूयस पटक फेवा ताल पारी पुगेर रूखको छेउछाउ, झारपात, अनेक झाडी, पानी जमेको ठाउँमा धुइँपत्ताल गरेर फेवाताली खोजे, तर भेटेनन्। नैराश्यमिश्रित आक्रोशमा उनी पटक पटक बोलिरहे, “यस्तो सुक्खा भइसकेको रहेछ, सुक्खामा भेटिंदैनन्। सिमसार क्षेत्रको संरक्षण नभएसम्म यहाँ निर्भर सबै किसिमका प्रजातिको जीवन अस्तित्व पनि सङ्कटमा आउनेछ।”
गाइनेकीरा प्रायः एक सातादेखि बढीमा आठ सातासम्म बाँच्छन्। मौसमको अनुकूलताले कुनै प्रजातिका गाइनेकीरा अझै बढी बाच्न सक्ने अध्ययन अनुसन्धानले बताउँछ। लार्भाको अवस्थामा भने गाइनेकीरा पानीभित्र हुने भएकाले एक वर्षभन्दा बढी बाँच्छ। यो मांसाहारी प्रजाति हो। यसको मुख्य खान्की लामखुट्टे हो, त्यसैले पनि गाइनेकीरालाई मुख्यतया डेंगी, मलेरिया नियन्त्रण गर्ने कीराका रूपमा लिइन्छ।
फेवा आसपास र मेवा खोलामा फेवाताली खोज्दै केही घण्टा बिताएपछि ‘नभेटिने नै भोे’ भनेर उनी फर्कनका लागि पर्खिरहेको डुङ्गातर्फ लागे। उनका साथीहरू डुङ्गामा बसिसकेका थिए। उनी पनि आएर बसे।
काँखमा आएर बसेको फेवाताली।त्यत्तिकैमा एउटा गाइनेकीरा उडेर उनीसँगै गएका साथीको काँधमा आएर बस्यो। उनले साथीलाई नहल्लिन भने र क्यामेराले खिचिकखिचिक केही तस्वीर खिचे। फेरि एकपटक हेरे र चिनिहाले उही फेवाताली पो रहेछ। बल्ल उनले चैनको सास फेरे र मुसुक्क मुस्कुराए।
पाँच वर्षपछि पनि उही ठाउँमा फेवाताली अझै उडिरहेको रहेछ भन्ने कुराले उनलाई राहत दियो। तर, फेवा तालको अवस्था, सुकेको झरना, हराउन लागेको मेवा खोला, जङ्गलका बाटोभरि बिछ्याइएका पानीका पाइपले भने मन खिन्न बनायो।
पुतलीविद् महेन्द्रसिंह लिम्बू।फेवातालीलाई भेटेर, देखेर डुङ्गामा फेवा ताल भएर फर्किंदै गर्दा ६६ वर्षीय पुतलीविद् महेन्द्र एउटै प्रश्न दोहोर्याइरहे, “सुकिरहेको मेवा खोलामा अब कति वर्षसम्म फेवाताली भेटिने हो?”