टिप्पणी मंगलबार, साउन ७, २०७६

शिवपुरीलाई शान्त रहन दिऊँ

डा. तीर्थबहादुर श्रेष्ठ

पानी, पक्षी, पुतली र पुष्पधनको बेवास्ता गर्दै पर्यटनको बहानामा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा गरिने जुनसुकै कुकाम ‘आफ्नै खुट्टामा बन्चरो ताक्नु’ सिवाय केही हुने छैन।

 

हिउँ परेको शिवपुरी जंगल । तस्वीरः मीन बज्राचार्य
डा.तीर्थबहादुर श्रेष्ठ

शिवपुरी आदिकवि भानुभक्त आचार्यको ‘अलकापुरी कान्तिपुरी नगरी’ को शोभा मात्र होइन पर्यावरणीय जीवनरेखा पनि हो । उपत्यकालाई चारैतिरबाट पहरा दिएका पर्वतीय श्रेणीहरूमध्ये राष्ट्रिय संरक्षण प्राप्त निकुञ्ज यही मात्र हो ।

कारण, यहाँ चन्द्रागिरिमा जस्तो केबलकार र रिसोर्ट बन्न पाएको छैन । फुल्चोकी क्षेत्रमा जस्तो ढुङ्गा खानी र संगमर्मर खोतल्ने काम पनि भएको छैन । गुम्बा र मन्दिरको नाममा खडा भएका विशाल संरचनाहरूले क्षितिज भत्काउन पाएको छैन । हात्तीवन र नगरकोटका रिसोर्ट र होटलहरूले जस्तो प्रकृतिको सन्नाटालाई बिथोल्न पाएको छैन । सडक सञ्जालले पाखापखेराका छाती छियाछिया पारेको छैन ।

शिवपुरी– यहाँ पानीका मूलहरू कलकलाउँदा छन् । विगतमा नाङ्गो भइसकेका पाखाहरू अहिले हरिया, भरिला र रसिला छन् । र, पो यहाँ १ हजार १०० भन्दा बढी बिरुवामा फूल फुल्दछन्, १२४ प्रजातिका पुतलीहरू फर्फराउँछन् ।

लगभग ३२० प्रजातिका चराचुरुङ्गीहरू चिरबिराउँछन्, बाँदरदेखि बँदेल र सालकदेखि ध्वाँसे चितुवासम्मका ३० प्रजातिका स्तनधारी पशुहरू बच्चालाई स्तनपान गराउँदछन् । शिवपुरी बाबा होउन् वा टोड्के बाबा, वा यहाँका गुम्बामा दत्तचित्त आनीहरू वा विपश्यनामा विलीन ध्यानीहरू सबैले यस क्षेत्रमा शान्ति अनुभूत गर्न पाउँछन् ।

शिवपुरी वास्तवमा शिवकै पुरी हो । यसलाई बिथोल्नुहुँदैन । पाप लाग्छ ।

पानीको मुहान
शिवपुरी—नागार्जुनको विगत नियाल्यौं भने यो क्षेत्र वस्तुतः काठमाडौं उपत्यकाको पानी मुहान हो । वागमती, विष्णुमती, नागमती, श्यालमती, रुद्रमती र इच्छुमती नदी शिवपुरीकै कोखमा जन्मन्छन् ।

तस्वीरः मीन बज्राचार्य

तिनै पानीका कोख रक्षार्थ २०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्र कायम गरिएको थियो । कालान्तरमा वन पुनस्र्थापना भएलगत्तै यस क्षेत्रलाई शिवपुरी जलाधार क्षेत्र मात्र नभई वन्यजन्तु आरक्ष पनि घोषणा गरियो । संरक्षणको सफलताले बाटो लिएपछि नागार्जुन क्षेत्र पनि समेटेर २०५९ सालदेखि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका रुपमा स्थापित छ ।

संरक्षणको त्यही सफलतामा अहिले बन्चरो बज्रने भय र आशंका उब्जाउने समाचारहरू संचार हुन थालेका छन् । निकुञ्जभित्र रिसोर्ट, सफारी, केबलकार, रक क्लाइम्बिङ जस्ता अनेकन् गतिविधि सञ्चालनबाट आर्थिक लाभ सोर्ने सोच पलाउन थालेको आभास हुन्छ । पयर्टन प्रवद्र्धनको नाममा निकुञ्जको अस्मितालाई व्यापारीकरण गरिनुहुन्न ।

विश्व मान्यता अनुसार राष्ट्रिय निकुञ्जको मूल लक्ष्य भनेको प्रकृति र प्राकृतिक सम्पदा तथा अन्तर्निहित पर्यावरणीय प्रणालीको संरक्षण एवं सम्वद्र्धन गर्नु हो । शिक्षा, चेतना र मनोरञ्जनका अवसर सिर्जना गर्नु हो ।

शिवपुरी निकुञ्जको स्थापनाकालदेखि वर्तमान व्यवस्थापन योजनाले समेत किटेरै भनेको छ पानीको संरक्षण गर्नु यसको मूल दायित्व हो । तसर्थ पानीलाई संरक्षण–सम्वद्र्धन गर्ने वन–वनस्पति संरक्षण गर्नु व्यवस्थापनको पहिलो काम हो । सडक खन्नु, पाखा जोत्नु वा भौतिक संरचना निर्माण गर्नु भनेको पानीको स्रोत खल्बल्याउनु हो । पानीको स्रोतमा अधिक मानिस पुग्नु भनेको पानीलाई प्रदूषित गर्नु पनि हो ।

उपत्यका वरिपरिका पहाड, पर्वत र डाँडा सबैमा पानीका स्रोत छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरबाट नदी–नालाहरू वागमतीमा मिल्न आइपुग्छन् । काठमाडौंको जलाधार क्षेत्रमा उपलब्ध पानीले उपत्यकाको प्यास मेट्न असम्भव नहोला ।

त्यसो त यो महानगरको मानव बस्ती वहन क्षमता यहींको पानीले नै निर्धारण गर्नुपर्ने हो । तर, जल व्यवस्थापनमा हामी कुन हदसम्म चुकिसक्यौं भन्ने कुरा असारे झ्रीले बस्तीहरूमा पारेको असरले स्पष्ट पारिसकेको छ । तसर्थ जलाधार व्यवस्थापनको लागि शिवपुरीको अनुभव अनुसरणमा चन्द्रागिरि, चम्पादेवी तथा फुल्चोकी सबै क्षेत्र लाग्नुपर्छ, ढिला गर्नुहुँदैन ।

पक्षीपुरी शिवपुरी

तस्वीरः मीन बज्राचार्य

शिवुपरी—नागार्जुन राष्ट्रिय निकुञ्जले जलाधार संरक्षणका अतिरिक्त जैविक विविधताको पनि संरक्षण गरेको छ । १२० वर्गकिलोमिटर भन्दा पनि सानो यो भूभाग ३२० प्रजातिका पन्छीको बासस्थान हुनु भनेको सम्पूर्ण जर्मनीको कुल पक्षी धन (३११ प्रजाति) भन्दा अधिक हो ।

त्यसको अर्थ जर्मनीको ३,५६,७७३ वर्गकिलोमिटरमा फैलिएको पक्षी विविधता त्यहाँ १२० वर्गकिलोमिटरमै घनीभूत छ । प्रत्येक प्रजातिको पन्छी संख्या ५० वटा मात्रै छन् भन्ने मान्ने हो भने पनि १६ हजार चराचुरुङ्गीको चिरबिरले शिवपुरी सुमधुर छ ।

त्यसैले हुनुपर्छ, अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर जब जब नेपाल आउँछन्, एक बिहानी शिवपुरीका चरामाझ् आफैंलाई बिर्सन्छन् । वास्तवमा शिवपुरी पक्षी पुरी हो । सफारीको गाडी चढेर पक्षी अवलोकन हुँदैन । पक्षी अवलोकन गर्नेले पाइताला चाल्दा समेत आवाज निकाल्नुहुँदैन ।

शिवपुरीमा पाइने चराको फेहरिस्त हेर्‍यौं भने त्यहाँ १४ प्रजातिका कोइली भेटिन्छन् । वसन्त ऋतुलाई बोलाउँदो कुक्कु कुक्कु बोल्ने कुक्कुकोइली, हामीलाई को हो ? को हो ? भनी वनै थर्काउँदै प्रश्न गर्दो कोयलकोइली, झ्सिमिसेमै काफल पाक्यो भन्दै रनवन डुल्ने कोइली र, गर्मी आगमनको संकेत गर्दै ‘बीउ कुहियो... बीउ कुहियो’ भन्दै किसानलाई सतर्क बनाउने ‘ब्रेन–फिभर’ कोइलीका कण्ठ ध्वनि सुन्न शिवपुरी नै चाहिन्छ । सवारी साधनका ध्वनिले प्रकृतिका यी स्वर र लयलाई बिथोल्नुहुँदैन ।

भानुभक्तलाई मुग्ध पार्ने ‘वरिपरि लहरामा झुली बस्न्या’ चिरबिर बथान अझ्ै सुरक्षित छन् शिवपुरीमा । सत्यमोहन जोशीको जोशमा जाँगर थप्ने जुरेलीका ६ प्रजाति छन् भनेर प्रष्ट्याउँछन् हाम्रा चरा विशेषज्ञ ।

शिवपुरी दुर्लभ पुतलीहरूको वासस्थान पनि हो । तस्वीरः ओरिएन्टलबर्डएमेजेज्

त्यसो त नेपालभरि ९ प्रजातिका बुलबुल र जुरेलीको गणना हुन्छ । सबै जुरेलीको जुरो निस्केको हुन्छ र सामान्य रुपमा देखिने, चिनिने जुरेलीको चाक रातो हुन्छ, जसलाई रेड भेन्टेड बुलबुल भनिन्छ । चाकसँगै गाला पनि रातो हुने अर्को जुरेलीलाई रेड व्हिस्कर्ड बुलबुल भनिन्छ । सुरिलो कण्ठमा गाउने र सुसेल्ने यस्ता सयौं प्रजातिका चरा शिवपुरी–नागार्जुनमा पाइन्छन् ।

यो निकुञ्जको चर्चा गर्दा लुईंचे, कालिज र तित्रालाई बिर्सनै हुँदैन । तित्रा देख्नु भन्दा अघि सुनिन्छ । त्यसैले पनि भनिन्छ, ‘तित्राको त मुखै बैरी’ ।

आज विश्वभरि मासु र अण्डा ख्वाउने विभिन्न प्रकारका कुखुरा–कुखुरीको वंशाणुगत जननी लुईंचे अर्थात् जंगली कुखुरालाई नै मानिन्छ । लुईंचे नभए ‘चिकेन’ हुने थिएन, गाउँघरमा भाले बास्ने थिएन । निकुञ्जको कालिज चरालाई राम्ररी नियाल्यौं भने तिनको दाम्पत्य जीवनप्रति ईष्र्या पनि जाग्न सक्छ । यी कालिजका भाले, पोथी एकपटक जोडा मिलेपछि जीवनभर पतिव्रता वा पत्नीव्रताको धर्म पालना गर्दछन् ।

शिवपुरी–नागार्जुनको आकाशमा कावा खाने चिल, गिद्ध, बाज, काकाकुल आदि मांसाहारी/शिकारी चराका ३०–३१ वटा प्रजातिको नामांकन गरिएको छ । तिनका तेज चक्षु, उडान गति तथा अचूक प्रहार हेर्न र देख्न धैर्य र मौनताको ठूलो खाँचो पर्छ ।

तस्वीरः एजेन्सी

क्रेस्टल नामक सानो बाजको शिकार हेर्न निकै रमाइलो हुन्छ । यो चरा उड्दा उड्दै जमीनमा आफ्नो शिकार देख्यो भने हेलिकप्टर झैं एकैठाउँमा स्थिर भएर उडिबस्छ । ताक मिलेपछि बाणको गतिमा हान्निएर जमीनको छेपारो, भ्यागुतो र सर्प च्याप्प समातेर टाढा उड्छ ।

शिवपुरी–नागार्जुन निकुञ्जको अमूल्य सम्पत्ति यहाँका पुतलीहरू पनि हुन् । यहाँ १२४ प्रजातिका पुतलीहरू विचरण गर्छन् । पुतलीलाई धुवाँ सह्य हुँदैन । निकुञ्जभित्र धुवाँ फाल्ने सवारी साधन भित्र्याउनु भनेको पुतलीको संसार ध्वस्त गर्नु हो । पुतलीहरू ध्वस्त हुनु भनेको स्वच्छ हावापानी ध्वस्त हुनु हो । स्वच्छ हावा र शुद्ध पानीको संरक्षण, तिनको रसस्वाद निकुञ्ज संरक्षणको लक्ष्य हो । शुद्ध पानीका मूल र मुहानतिर पुतलीहरू झुम्मिन्छन् ।

शान्त वातावरणका द्योतक हुन् पुतलीहरू । पुतलीका रङ, रुप र वान्कीको कलाकारितामा मुग्ध हुने अवसर गुमाउनु निकुञ्जको धर्मभित्र पर्दैन । पानी, पक्षी, पुतली र पुष्पधनमा यो निकुञ्जको विशिष्टता खोज्नुपर्छ ।

‘अनिकालको बीउ’
त्यसो त यहाँ संरक्षित वन्यजन्तुको महङ्खव पनि कम छैन । स्तनधारी पशुमध्ये ध्वाँसे चितुवा, सालक, आसामी बाँदर र हिमाली भालु दुर्लभ छन् । बँदेल, बाँदर र दुम्सीले मध्यवर्ती क्षेत्रमा बालीनाली बिगारेर स्थानीयलाई पिरोल्छन् । चितुवाको डर पनि नभएको होइन ।

तर स्तनधारी पशु अवलोकनको सफारी निकुञ्जको आकर्षण हुन सक्दैन । मोटर चढेर वा केबलकारमा बसेर डाँडामाथि उक्लने, हिमदृश्य हेर्दै, उपत्यका नियाल्दै रमाइलोसँग पर्यटकीय लक्ष्य पूरा गर्ने हो भने शिवपुरी–नागार्जुन बाहेकको विकल्प खोज्नुपर्दछ ।

सिलोजाइन कोरिम्बोसाः रुखको टोड्कामा सुरक्षित यी चाँदीगाभा शिवपुरीका शोभा हुन् । तस्वीरः ला दोर्ची शेर्पा

‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भने झैं मानिसको अतिक्रमणबाट काठमाडौं उपत्यकाको वन, वनस्पति र जैविक विविधता जोगाउने काम शिवपुरी–नागार्जुन निकुञ्जबाट भइरहेको छ । उपत्यकाको प्रतिनिधि वन र वृक्षहरू जस्तै चिलौने, कटुस, उत्तिस, सल्ला, बाँझ्–फलाँट, गुराँस र खस्रुका वनहरू बीज भण्डारका रुपमा संरक्षित छन् ।

यहाँ काफल पाक्छ, लप्सी फल्छ, चाँप फुल्छ अनि तिनका टोड्कामा अनेकौं सुनाखरी, चाँदीगाभा फुलिदिन्छन् । यहाँका वनभित्रै १२३ प्रजातिका सुनाखरी र १२९ प्रजातिका च्याउहरूको अभिलेख छ । चिराइतो, पाखनभेद, सतुवा, बिख, बिखमा आदि जडीबुटी पनि निकुञ्जको पहिचान हो । लोक्ता, अर्गेलो र अल्लोका बिरुवाहरू पनि वनपाखामा पाइन्छन् । फूल नफुल्ने उन्यु, निगुरो, नागबेली लहराका विविधता पनि उल्लेखनीय छ ।

जैविक विविधताको बीउ जोगाउनकै लागि राष्ट्रिय निकुञ्जहरू स्थापना भएका हुन्छन् । तिनलाई प्रतिकूल प्रभाव पर्ने कुनै पनि कुकाम ‘आफ्नै घुँडो ताक्नु’ सिवाय केही होइन ।

हाइपेरिकम कोर्डिफोलियमः नेवारीमा लुँगजु स्वाँ अर्थात् सुनको गजुर फूल भनिने यो वनस्पति नेपालबाहेक अन्यत्र पाइँदैन । यो शिवपुरीको रैथाने फूल हो। तस्वीरः ला दोर्ची शेर्पा

त्यसैले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको प्रकृति बुझ्ेर यसलाई ध्वनिमुक्त शान्त निकुञ्ज (साइलेन्ट पार्क) र मौन पदयात्रा (साइलेन्ट ट्रेक) क्षेत्रका रुपमा विकसित गरिनुपर्छ । यस्तो गन्तव्य जहाँ मान्छे आफ्नै खुट्टाले हिंडोस्, आँखाले हेरोस्, कानले सुनोस्, नाकले सुँघोस् र त्वचाले स्पर्श गरोस् । 
साथमा ला दोर्ची शेर्पा

प्रतिकृया दिनुहोस