अर्थ/बजार बुधबार, साउन ८, २०७६

एक केडिया, पाँच फर्म, ५६ करोड राजस्व छली

शरद ओझा

विद्युतीय सामानको व्यवसाय गरिरहेका अनिल केडियाले रु.३९ करोड ९२ लाख आयकर र रु.१६ करोड २२ लाख मूल्य अभिवृद्धि कर छलेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक ठहर छ।

काठमाडौंको न्यूरोडमा अनिल ट्रेड सेन्टर मार्फत विद्युतीय मालसामानको व्यवसाय गरिरहेका अनिल केडिया आयकर र मूल्य अभिवृद्धि कर छलीमा संलग्न रहेको भेटिएको छ ।

आन्तरिक राजस्व कार्यालय न्यूरोडले २५ पुस २०७५ देखि गत २६ असारसम्म गरेको अनुसन्धानबाट केडियाले विभिन्न व्यक्तिका नाममा फर्म दर्ता गरी वास्तविक कारोबार लुकाएर कर छलेको भेटिएको हो ।

कार्यालयले अनिल ट्रेड सेन्टरलाई जरिवाना, थप दस्तुर र ब्याज सहित रु.१६ करोड २२ लाख मूल्य अभिवृद्धि कर र रु.३९ करोड ९२ लाख आयकर तिर्नुपर्ने प्रारम्भिक कर निर्धारण आदेश २६ असारमा जारी गरेको छ ।

आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख कर अधिकृत युवराज अधिकारी आयकर ऐन र मूल्य अभिवृद्धि ऐनको व्यवस्था अनुसार आदेश जारी गरिएको बताउँछन् ।

पाँच फर्मबाट कारोबार
भारतीय नागरिक केडियाले काठमाडौंस्थित भारतीय राजदूतावासले दिएको परिचयपत्रका आधारमा २०५६ भदौमा काठमाडौं महानगरपालिकामा फर्म दर्ता गरी न्यूरोडमा व्यवसाय गर्दै आएका थिए ।

भारतीय नागरिकलाई स्थानीय तहमा फर्म दर्ता गर्ने सुविधा दिइए पनि कम्पनी स्थापना गर्न भने अरू विदेशी नागरिकले झैं विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको व्यवस्था अनुसार अनुमति लिनुपर्छ ।

केडियाले कर छली गरेको आरोपमा उजुरी परेपछि आन्तरिक राजस्व कार्यालयले उनी माथि छानबिन थालेको थियो । २५ पुसमा केडियाको फर्ममा छापा मार्दा २०७५ मा अनिल ट्रेड कन्सर्नका साथै अन्य फर्मका कागजात पनि फेला परेका थिए ।

कार्यालयको टोलीले केडियाका छोरा अपेक्षित केडिया तथा उनका कर्मचारीहरू सलिजा श्रेष्ठ, राजेश्वरी गुरुङ र हरिलाल श्रेष्ठका नाममा दर्ता भएको फर्मको कागजात समेत एकै ठाउँबाट नियन्त्रणमा लिएकोे थियो ।

सलिजा र राजेश्वरीका नाममा रहेको अनन्या ट्रेडिङ र अशिता ट्रेडिङ आन्तरिक राजस्व कार्यालय कोटेश्वरमा दर्ता छ भने अपेक्षित र हरिलालका नाममा रहेको एपिके ट्रेड कन्सर्न र हरिलक्ष्मी इन्टरप्राइजेज बालाजु कर कार्यालयमा दर्ता गरिएको छ ।

सबै कार्यालयबाट विवरण संकलन गरी अनुसन्धान गरेको कार्यालयले पाँच वटै फर्मका नामबाट अनिल केडियाले कारोबार गरेको भेट्टाएपछि प्रारम्भिक कर निर्धारण आदेश जारी गरेको हो ।

तर, सञ्चालक केडिया भने आफूले कानूनसम्मत काम गरिरहेको दाबी गर्दै कार्यालयले अन्यायपूर्वक कर निर्धारण आदेश जारी गरेको बताउँछन् । “अन्य व्यक्तिका नाममा दर्ता भएको संस्थालाई समेत मैले कारोबार गरेको भन्दै कर निर्धारण गरिएको छ, जुन गलत हो” उनी भन्छन्, “कार्यालयले सत्य–तथ्य नबुझी कर निर्धारण आदेश जारी गरेको छ ।”

तर कार्यालयका निमित्त प्रमुख कर अधिकृत अधिकारी अन्य व्यक्तिका नाममा दर्ता फर्म\कम्पनीबाट पनि केडियाले नै कारोबार गरेको देखिएकाले उनी माथि कर निर्धारण आदेश जारी गरिएको बताउँछन् ।

“स्वयम्भूमा कार्यालय रहेको हरिलक्ष्मी इन्टरप्राइजेजको कागजात केडियाको न्यूरोड कार्यालयमा भेटिएको थियो” उनी भन्छन्, “इन्टरप्राइजेजको गोदाम र कारोबारको नियन्त्रण उनीसँगै रहेकाले सोही अनुसार कर निर्धारण आदेश गरिएको हो ।”

आन्तरिक राजस्व कार्यालय न्यूरोडले २५ पुस २०७५ देखि गत २६ असारसम्म गरेको अनुसन्धानबाट केडियाले विभिन्न व्यक्तिका नाममा फर्म दर्ता गरी वास्तविक कारोबार लुकाएर कर छलेको भेटिएको हो ।

यता हरिलक्ष्मी इन्टरप्राइजेजका हरिलाल श्रेष्ठ यो फर्म आफ्नै भएको दाबी गर्छन् । “हामीले सामान आयात गरेर अनिल केडियाको कम्पनीसँगै अन्य कम्पनीलाई बिक्री गरिरहेका छौं” उनी भन्छन्, “कर कार्यालयले कसरी कर निर्धारण गर्‍यो, थाहा छैन ।”

भन्सार विभागका अधिकारीहरू आर्थिक ऐन, २०७४ को प्रावधानले आयात–निर्यात व्यवसाय गर्न एक्जिम कोड अनिवार्य गरेपछि भारतीय व्यवसायीहरूले नेपाली नागरिकका नाममा संस्था दर्ता गरी आयात–निर्यात कारोबार गर्ने क्रम बढेको बताउँछन् ।

विभागको ‘निकासी पैठारी संकेत नम्बर प्रदान गर्ने कार्यविधि’ मा कम्पनी ऐन, साझेदारी ऐन र निजी संस्था दर्ता ऐन अनुसार दर्ता भएका फर्म\कम्पनीले मात्र एक्जिम कोड लिन पाउने प्रावधान समेटिएपछि स्थानीय तहमा दर्ता भएको केडियाको फर्मको आयात कारोबार २०७४ साउनदेखि बन्द भएको थियो ।

विभागका अधिकारीहरूका भनाइमा त्यसयता भारतीय व्यवसायीहरूले नेपाली नागरिकका नाममा संस्था दर्ता गरी आयात–निर्यात कारोबार गर्ने क्रम बढेको छ ।

हिसाबमा गोलमाल
आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०६८\६९ का कागजात भेटेपछि अनिल केडियाले सोही समयदेखि गरेको कारोबारको छानबिन गरेको थियो । केडियाले हरेक वर्ष आम्दानी लुकाउँदै कर छलेको कार्यालयको आदेशमा उल्लेख छ ।

आव २०६८\६९ देखि आव २०७४\७५ सम्म केडियाले रु.६७ लाख ७६ हजार आम्दानी घोषणा गर्दै आयकर तिरेका थिए । तर, उक्त ६ वर्षको अवधिमा केडियाले रु.४५ करोड ८७ लाख आम्दानी गरेको कार्यालयको दाबी छ । आव २०६८\६९ मा केडियाले रु.६ लाख १५ हजार मात्र आय घोषणा गरेका थिए ।

“मैले कुनै कर छलेको छैन । सोही जानकारी आन्तरिक राजस्व कार्यालयलाई गराउनेछु”, केडिया भन्छन् ।

छानबिनले भने उक्त आर्थिक वर्षको कर योग्य आय रु.३ करोड ४३ लाख भेटेको छ । केडियाले तिर्नुपर्ने आयकरको अन्तिम निर्धारण नभए पनि राजस्व कार्यालयका अधिकारीहरू २७ असार २०७६ सम्म जरिवाना, ब्याज र थप दस्तुर जोड्दा रु.३९ करोड ९२ लाख आयकर तिर्नुपर्ने बताउँछन् ।

केडियाले २०७५ पुससम्म विभिन्न फर्म मार्फत कारोबार गर्दा रु.५ करोड ९६ लाख भ्याट समेत छलेको आदेशमा लेखिएको छ । कार्यालयको प्रारम्भिक आदेश अनुसार केडियाले साढे ६ वर्षको जरिवाना, थप दस्तुर र ब्याज गरी जम्मा रु.१६ करोड २२ लाख भ्याट तिर्नुपर्नेछ ।

केडिया भने कर कार्यालयले सबै जानकारी नलिई कर निर्धारण गरेको आरोप लगाउँछन् । “मैले कुनै कर छलेको छैन । सोही जानकारी आन्तरिक राजस्व कार्यालयलाई गराउनेछु”, उनी भन्छन् । राजस्व कार्यालयले २६ असारमा जारी गरेको आदेशमा उनलाई कर तिर्नु नपर्ने कुनै कारण भए प्रमाण सहित १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस