टिप्पणी सोमबार, साउन ६, २०७६

उनको खोले, मेरो सुप

डा.अरुणा उप्रेती

गएको २८ असारमा भरतपुरस्थित कृषि ज्ञान केन्द्रमा चितवन र मकवानपुरका केही किसानसँग छलफल गर्ने मौका मिल्यो।

डा‍‍. अरुणा उप्रेती

छलफलमा मकवानपुरका चेपाङ किसानले ‘बजारको समस्या नभएकाले बारीमा कोदो प्रशस्त लगाएको’ बताए । उनको कुरा सुनेर एकछिन त खुशी नै भएँ ।

तर, फेरि झस्स सम्झें, चेपाङ बस्तीमा जाँदा त धेरैले चामलकै भात खाएको देखेकी थिएँ । के त्यसो भए सबै कोदो बेचिने मात्र रहेछ ? मैले हत्तपत्त घरमा, पाहुना सत्कारमा कोदाको रोटी र अचार बनाएर दिन सकिने कुरा गरें ।

तर, उपस्थित प्रायः सबै किसानले ‘कोदाको परिकार पाहुनालाई दिइयो भने उनीहरूले अपमानित भएकोे ठान्ने’ बताए ।

किसानका कुरा सुनेपछि मलाई पुरानो कुरा स्मरण भयो । करीब पन्ध्र वर्षअघि एक ४० वर्षीया बहिनी मोटोपन घटाउन के खाने, के नखाने सल्लाह लिन मेरो घर आएकी थिइन् ।

मैले आफू स्वस्थ रहन म जे खान्छु, त्यही सिकाउँछु भन्ने विचार गरेकी थिएँ । मैले तरकारी मिसाएर कोदा र फापरको सूप (खोले) बनाएकी थिएँ।उनले बटुकाको ‘सूप’ हेरिन् र भनिन्, “छि दिदी, यस्तो खोले त मेरो कुकुरले पो खान्छ ।” त्यसो भनिसकेपछि उनलाई थप सल्लाह दिने जाँगर पनि चलेन ।

तस्वीरः टेष्ट अफ नेपाल /ज्योति पाठक ब्लग

यी प्रसंगहरू स्मरणमा आउनुको कारण रैथाने खानेकुरामा समर्पित हिमाल खबरपत्रिकाको गत साताको विशेषांक हो ।

यस्ता कुराको लेखनीको महत्व कति हुन्छ भन्ने कुरा थाहा पाउनेमध्ये म पनि एक हुँ जस्तो लाग्छ । मलाई यस्तो अनुभूत गराउने पल पिचफोर्ड लिखित पुस्तक हो– हिलिङ विथ होल फुड्सः एशियन ट्रेडिसन्स् एण्ड मोर्डन न्युट्रिसन ।

यो पुस्तक मलाई अमेरिकाको पोर्टल्यान्डस्थित एक कलेजका विद्यार्थीले उपहारमा दिएका थिए । केही वर्षअघि म त्यहाँका विद्यार्थीलाई नेपाली संस्कृति, भोजन र स्वास्थ्यबारे बताउन पुगेकी थिएँ ।

पुस्तकमा लेखकले भोजनको इतिहासदेखि वैज्ञानिक अनुसन्धान, अमेरिका, भारत र चीनका विभिन्न परिकार, तिनको सांस्कृतिक महत्व समेत समेटेका छन् ।

रैथाने खानेकुराको पौष्टिकतासँगै स्वास्थ्यमा पार्ने प्रभाव र विभिन्न ठाउँका भिन्नाभिन्नै पाक विधिबारे पनि बताएका छन् । अहिलेको जीवनशैली सिर्जित समस्यालाई ती खानेकुरा र तिनका परिकारले कसरी कम गर्न सकिन्छ भन्ने पनि औंल्याइएको छ ।

परम्परागत ज्ञानलाई अहिलेको पोषण विज्ञानको कसीमा राखेर लेखिएको यो पुस्तकमा कोदाको सूपमा दाल मिसाएर खाए कति पौष्टिक हुन्छ भन्ने कुरा पढेपछि म झानै दंग परें ।

पुस्तकबाटै थाहा पाएँ, नेपालका गाउँगाउँमा पाइने सिस्नोको भ्यातल (सिस्नोमा चामल मिसाएर पकाउने सूप) पनि पौष्टिकताले भरिपूर्ण रहेछ ।

पुस्तकमा दाल नपच्ने समस्या भएकालाई सजिलैसँग पचाउन के गर्न सकिन्छ भन्ने उपाय पनि दिइएको छ । ‘टुसा उमारेर खाने’ यो उपाय त नेपाली संस्कृतिको अंग नै हो ।

‘टुसा उमारेर खाने प्रविधिले त विभिन्न गेडागुडी पचाउन सजिलो हुने मात्र होइन, विभिन्न थरीका भिटामिनहरू दशौं गुणा बढ्न जाने’ – पुस्तकमा भनिएको छ ।

भटमास, राजमा, मटर, मुंग आदिलाई टुसा उमारेर दिनदिनै प्रयोग गर्दा स्वास्थ्य राम्रो हुनेसँगै पखाला लाग्दा मुंगको जाउलो र लसुनको सूप बनाएर ख्वाउने हाम्रा आमा, हजुरआमाको ज्ञान पनि समेटिएको छ ।

‘मुंग चीनको भान्साको अभिन्न अंग हो । झन् टुसा उमारेको मुंग त उत्तम हुन्छ’– पुस्तकमा भनिएको छ । एक एकड जमीनमा फल्ने भटमासले एक एकडमा पालिएको सुँगुरको मासु भन्दा २० गुणा बढी प्रोटिन दिने कुरा पनि पुस्तकमा पाइन्छ ।

नेपालीहरूले गेडागुडीमा जिरा हालेर पकाउने चलनले गेडागुडीबाट निस्कने ग्यासलाई रोक्ने रहेछ । जिम्बु र जिराले झान्दा स्वाद मात्र दिने होइन स्वास्थ्यमा पनि भूमिका खेल्ने रहेछ । पुस्तकमा यिनका वैज्ञानिक कारण समेत लेखिएको छ । कति जानेका हाम्रा पुर्खाहरूले !

दाल र गेडागुडी एक रात भिजाएर पकाउँदा वा क्वाँटी बनाएर खाँदा छिट्टै पाक्ने मात्र होइन कि गेडागुडीमा रहेको फाइटिक एसिड हट्दो रहेछ ।

यसले गर्दा शरीरमा खनिज तत्वहरू सोस्न मद्दत गर्ने रहेछ । हाम्रो भान्सामा प्रयोग हुने कुरिलोले मिर्गौला, चुकन्दरले कलेजो राम्रो गराउनुका साथै रगत बढाउने रहेछ । बन्दागोभीमा हुने भिटामिन सीले रोगसँग लड्ने शक्ति पनि दिने रहेछ ।

पुस्तकको सबैभन्दा महत्वपूर्ण कुरा, हामीले दिनहुँजसो खाइरहने खाद्य पदार्थलाई झानै स्वादिष्ट र पौष्टिक कसरी बनाउन सकिन्छ भन्ने ज्ञान हो । यो पुस्तक पढेपछि मैले भोजन र स्वास्थ्यको सम्बन्ध, महत्वको व्यावहारिक र सैद्धान्तिक दुवै ज्ञान पाएकी छु ।

हिजोआज मेरा पाहुनाहरूले पनि कोदो, फापरको रोटी, सूप खुशी हुँदै खान्छन् । फोटो खिचेर फेसबूकमा राख्छन् ।

अहिले काठमाडौंका ठूला पसलमा कोदो र फापर मजासँग बिक्री हुन्छ । तारे होटलमा कोदाको एक कचौरा सूपको रु.६०० तिर्नेहरू पनि छन् ।

 ढिलो भए पनि जनमानसमा रैथाने खानाबारे चेतना बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस