कुटपिट प्रवर्द्धन गर्ने नेपाली कमेडी कार्यक्रम
कुटपिट गर्नु, हात हाल्नु, लात्ती बजार्नु, झाँगलझुँगल पार्नु गैरकानूनी हो। यस्ता कर्मलाई कानूनले दण्डित गर्नुपर्छ। मनोरञ्जनका नाममा देखाइने श्रव्य-दृश्य सामग्रीमा कुटपिटका ‘कन्टेन्ट’ लाई सहज रूपमा लिएर अट्टहास गर्नु हुँदैन।
‘मेरी बास्सै’, ‘सक्किगोनी’, ‘हल्का रमाइलो’ जस्ता नेपाली ‘हास्यव्यंग्य टेलिशृंखला’ सबै सम्झी र हेरिसाध्य छैनन्। यी कथित हास्य टेलिशृंखलामा प्रायः पात्रहरू ग्रामीण परिवेशका भएको देखाइन्छ। झुत्रेझाम्रे लुगा र चप्पल लगाएको देखाइन्छ। के हिउँद के बर्खा, सधैं एउटै पहिरनमा हुन्छन्। अस्वाभाविक स्वाङ पार्ने, कान छोप्ने टोपी लगाउने र ती टोपीमाथि पनि एन्टिना, सिउर आदि पलाएका हुन्छन्।
यी पात्र बोल्दाबोल्दै कसैलाई घुर्ची हाल्छन्, ‘लात्ताले हानेर बारीका पाटामा’ पुर्याइहाल्छन्। बोल्दा भकभक गरेर बोल्ने वा अस्वाभाविक लेग्रो तानेर बोल्ने, शारीरिक वा मानसिक विकासमा केही कमी भएका, दाँत उछिट्टिएका वा अनुहारमा फोका, गाँठा पलाएका आदि गुण-चरित्रका पात्र खोजीखोजी कल्पेर खडा गरिएका हुन्छन् यी शृंखलामा।
यी टेलिशृंखला वा यिनका पात्रले प्रस्तुत गर्ने धेरै ‘असामाजिक चर्तिकला’ मध्ये ‘कुटपिट र धक्कामुक्का’ यो लेखको विषय हो।
‘सक्किगोनी’ को ‘पाँडे’ पात्रले ‘धतुरे’ पात्रलाई प्राय: लात्ताले भकुरेकै हुन्छ। ‘खुपीका बाउ’ ले आफ्नो जवान छोरो ‘साङ्लो बोरो’ लाई जोरपाउले फलेको फल्यै गर्छ। यस टेलिशृंखलाका सबैजसो ‘डन’ पात्रले निमुखा पात्रलाई कठालो समाइहाल्ने, लात्ताले भकुर्ने, लाठो लिएर लखेट्ने, तोरीको फूल देख्नेगरी गाला चड्काउने, भुइँमा लडाएर भकुन्डो बनाउने गर्छन्।
यता ‘हल्का रमाइलो’ को एउटा दृश्यमा जुटको बोराको टाइसूट लगाएको ‘बल्छी धुर्बे’ ले उसका प्रौढ भान्से सहयोगीलाई बातैपिच्छे चड्कन लगाउँछ। ‘मेरी बास्सै’ को एक दृश्यमा ‘मुलाको साग’ पात्रले उसकी छोरी लैजानू भन्दा नमान्ने पात्रलाई गाला फुट्नेगरी हान्छ, दोहोर्याएर।
भारतीय हास्य रियालिटी शो ‘द कपिल शर्मा शो’ को कपी उतार ‘कमेडी क्लब विथ च्याम्पियन’ मा सालो र भिनाजुको भूमिकामा देखिनेमध्ये भिनाजुले सालोलाई हास्यको नाममा लडाएर लात्तीमुड्कीले चोर झैं कुट्छ।
‘प्वाक्क मुखाँ हान्नु जस्तो’ र ‘लात्ताले देर बारीका पाटामा पुर्याइदिन्छु’ भन्ने हिंस्रक थेगो त राष्ट्रव्यापी मात्रै भएनन्, यी दुई पात्रको ‘रियल लाइफ’ नै यही थेगोबाट चल्यो।
यी त केही नमूना हुन्। मनोरञ्जन वा कमेडीका नाममा राष्ट्रिय टेलिभिजनबाट देखाइने यस्ता बग्रेल्ती श्रव्यदृश्य सामग्रीमा मारपिटका दृश्य अनिवार्य जस्तै हुन्छन्। यी लगायत पहिलेदेखि नै समाजमा गढेर बसेका कुटपिट सम्बन्धी धेरै स्वतस्फूर्त वाणीहरू हामीलाई मुखाग्र छन्।
हामीले बालबालिकालाई अह्राउँदा कराउँदा पनि हाम्रो भाषामा ‘हान्छु गाला फुट्ने गरी’, ‘भेट्लास् नि चिउरा’, ‘आज पड्काउनु नपरोस् है’, ‘तेरा कान चुँडाउनुपर्ला नि’ आदि भन्ने त मुखमा आइहाल्छ। हामी बच्चालाई पिटी पनि हाल्छौं। कहिलेकाहीं डराउन, तर्साउन पनि यसो भन्छौं र गर्छौं। यस्ता हिंसात्मक भाषालाई हामीले परिवारदेखि नै सुधार गर्यौं भने हाम्रा मनोरञ्जनका सामग्रीमा बिस्तारै हिंसा अटाउन छोड्छन्।
‘गाला फुट्ने गरी भेट्लास्’, ‘तेरा करङ गन्न नसके त’, ‘तेरो ढाडले दु:ख पाउने भो आज’, ‘तेरा कान काटेर पातमा राखुँला’, ‘पड्काउँछु तोरीको फूल देख्नेगरी’, ‘दारा झारिदिउँला नि’, ‘तेरा जगल्टा केलाउन नपरोस्’, ‘छाला तरिमाग्लास् नि बढ्ता नबोल्’, ‘भेट्लास् नि मुत्नेगरी’, ‘तेरो काल आएन, आज भने बाँचिस्’, ‘तेरो काँचुली फुटाउन नसके त हेर्लास्’ आदि हाम्रा पुरानै घरायसी कुटपिट र हिंसाका भाषा हुन्।
नेपाललाई ‘शान्ति क्षेत्र’ भनियो, नेपालीलाई शान्तिप्रेमी भनेर चिनाउन खूब जोड गरियो। सुन्दर, विशाल र शान्त नेपाल पनि भनियो। तर, हाम्रो दैनिक जीवन नियालेर हेर्ने हो भने हाम्रो पारामा शान्तिभन्दा हिंसा नै बढी पाइन्छ। लुम्बिनी जप्न, देखाउन र बेच्न मरिहत्ते गरे पनि हामी बुद्धत्वमा भन्दा रावणत्वमै भर परिहाल्छौं। वार्ताभन्दा बाहुबल नै अगाडि सार्छौं।
बोल्दाबोल्दै लात्ती उचालिहाल्नु, ‘बक्सिङ’ ताकिहाल्नु, लौरो, झट्टी, सिर्कनुले ताकिहाल्नु हाम्रा लागि नौलो होइन। हाम्रोमा शान्तपूर्वक बोलेर, वार्ता गरेर समस्या समाधान गर्नेतर्फ कमैको ध्यान जान्छ। बलियोले निर्धोलाई डर देखाउने, तर्साउने, अङ्गभङ्ग गर्ने, धम्क्याउने, गालामा छाप बसाउने, मुङ्ग्रो उजाउने, बल प्रयोग गरेर ठेगान लगाउने, भनेको मनाउने, चूप लगाउने जहाँ जसले पनि गरिरहेको हुन्छ।
शिक्षकले विद्यार्थीलाई, बुबाले छोरालाई, आमाले छोरीलाई, सासूले बुहारीलाई वा बुहारीले सासूलाई, हजुरबाले नातिलाई, हल्दारले पुलिसलाई, लोग्नेले स्वास्नीलाई वा स्वास्नीले लोग्नेलाई, दिदीले बहिनीलाई, दाजुभाइले दाजुभाइलाई, मालिकले नोकरलाई, हाकिमले कामदारलाई, चालकले सहचालकलाई शान्तिले भन्दा धम्कीले, सम्मानले भन्दा अपमानले, वार्ताले भन्दा बाहुबलले नै ठेगान लाउन खोज्नु सामान्य हो हाम्रो समाजमा।
बोल्दाबोल्दै खस्रो बोल्नु, कठालो समाइहाल्नु, जगल्टा केलाइहाल्नु, जुल्फी लुछिहाल्नु, जिब्रो थुतिहाल्नु, मुखमा हानिहाल्नुमा हामी समाधान देख्छौं। यो सरासर गलत हो। यसले सम्बन्ध र वातावरण झन् बिगार्छ। यसले मान्छेलाई आफ्नो कुरा राख्न, सत्यको पक्षमा बोल्न, न्याय र मानवीयताको पक्षमा साथ दिन पनि निरुत्साहित गर्छ।
हामीले बालबालिकालाई अह्राउँदा कराउँदा पनि हाम्रो भाषामा ‘हान्छु गाला फुट्नेगरी’, ‘भेट्लास् नि चिउरा’, ‘आज पड्काउनु नपरोस् है’, ‘तेरा कान चुँडाउनुपर्ला नि’ आदि भन्ने त मुखमा आइहाल्छ। हामी बच्चालाई पिटी पनि हाल्छौं। कहिलेकाहीं डराउन, तर्साउन पनि यसो भन्छौं र गर्छौं। यस्ता हिंसात्मक भाषालाई हामीले परिवारदेखि नै सुधार गर्यौं भने हाम्रा मनोरञ्जनका सामग्रीमा बिस्तारै हिंसा अटाउन छोड्छन्।
पश्चिमा मुलुकमा शिक्षकले विद्यार्थीलाई सजायका नाममा पिट्यो भने उसै दिन उसको जागीर जान्छ। पिट्नु त के, खस्रो र हिंसात्मक भाषा बोल्यो भने पनि त्यो व्यक्ति दोस्रो पटक शिक्षक हुन अयोग्य करार हुन्छ।
हामीलाई मान्छे लड्दा, भिड्दा वा कसैले कसैलाई मुन्ट्याउँदा, उछिट्याउँदा, घुर्चेर उत्तानो टाङ पारिदिंदा, चिथोरेर शरीरका लुगा च्यातिदिंदा, लात्ती उचालेर कसैका कान कान पुर्याउँदा किन हाँस्नुपरेको? किन हाँस उठेको? किन मनोरञ्जन भएको यस्ता दृश्यबाट? यस्तो नहुनुपर्ने हो।
अलिकति क्यानाडाको अनुभवका पनि कुरा गरौं।क्यानाडा आएको पहिलो वर्ष मेरो म्यानेजरले भन्थे- “कसैसँग भनाभन भयो भने तैंले हात पछाडि राखेर बाझ्नू, हात छोडियो भने जेल गइन्छ यो देशमा।” अहिले क्यानाडा बसाइको १२ वर्ष हुँदा मान्छे घरपरिवारमा तथानाम गरेर बाझेको, मुखमा हानिहाल्न तम्सेको र गैरकानूनी रूपले ‘तँलाई ठीक पार्छु’ भन्न जाइलागेको घटना कुनै छरछिमेक र गल्लीमा देखिएको छैन।
बजारका पार्किङस्थलमा चाहिं कहिलेकाहीं ‘तैंले मान्छे नहेरी गाडी कुदाइस्’, ‘मेरो कारलाई छोइस्’, ‘बाटो छोडिनस्’, ‘मलाई घुरेर वा अनुचित दृष्टिले हेरिस्’ भन्ने जस्ता विवादमा आक्कलझुक्कल बलियाले निर्धोलाई बल प्रयोग गरेका घटना आउँछन्। घर, परिवार, विद्यालय, कार्यस्थल, खेलमैदान बाहेकका यस्ता सार्वजनिक ठाउँमा आकस्मिक रूपले हुने यस्ता घटनाका दोषीहरू पनि कानून र प्रहरीको पन्जाबाट उम्केर धेरै दिन भाग्न सक्दैनन्।
त्यसो भन्दैमा क्यानाडामा घरेलु हिंसा नै नहुने भन्ने पनि होइन। यो पनि मानव समाज नै हो।
खासगरी लोग्ने-स्वास्नी सम्बन्धमा भएका र सँगै बस्ने ‘जोडी’ बीचमा वैयक्तिक संवेगहरू लामो समयसम्म धानेर पनि वशमा आउन नसक्ने स्थिति भए त्यहाँ मुखामुख र हात हालाहालको घटना हुन्छन्। तर, समाज, परिवार र कानूनले यस्ता घटनालाई गम्भीर रूपमा लिन्छ।
कुटपिट र घरेलु हिंसाबाट व्यक्तिको शारीरिक अवस्थामा मात्रै चोट पुग्ने होइन, महिला र बालबालिकामा त्यसको मानसिक चोट अझ गहिरो र दीर्घकालीन हुन्छ भनेर यसको निराकरणका लागि घटनालाई अत्यन्तै सावधानीपूर्वक लिने गरिन्छ। यहाँका नेपाली घरपरिवारमा नै कुटाकुट हुँदा लोग्नेलाई सदाका लागि प्रहरीले नेपाल फर्काएको उदाहरण पनि छन् क्यानाडामा।
पश्चिमा मुलुकमा शिक्षकले विद्यार्थीलाई सजायका नाममा पिट्यो भने त्यही दिन उसको जागीर जान्छ। पिट्नु त के, खस्रो र हिंसात्मक भाषा बोल्यो भने पनि त्यो व्यक्ति दोस्रो पटक शिक्षक हुन अयोग्य करार हुन्छ।
काममा, घरमा, खेलकूदमा, बजारमा कतै पनि कुटपिट हुनु एकदमै दुर्लभ कुरा हो यो समाजमा। आफू संलग्न नभएको घटनामा अर्काको कठालो समाउन जानुको साटो मान्छे १२ हात पर बसेर बरु ‘९११’ मा फोन गरेर प्रहरीलाई खबर गरिदिन्छ। १० मिनेट नबित्दै प्रहरी आइपुग्छ।
नेपालमा प्रहरीले समाइसकेको व्यक्तिलाई पनि दुई-चार लात्ती र घुस्सा हान्न भ्याइसक्छ मान्छेले। यस्तो कुरालाई प्रहरीले पनि सामान्य रूपले लिएको देखिन्छ।क्यानाडाको प्रहरीले कसैले जति नै गल्ती गरेको भए पनि आफ्नो सामुन्नेमा मान्छेलाई हात छोड्ने कोही तेस्रो व्यक्ति देख्यो भने तत्काल पक्राउ गर्छ, उम्किन दिंदैन।
हाम्रो गाउँघरमा बलियोले निर्बललाई पिट्यो भने पिटेको पिट्यै हुन्छ। निमुखालाई न प्रहरीले सुन्छ न समाज न अगुवाले। यसरी शान्त र न्यायपूर्ण परिवार र समाज बन्दै बन्दैन। त्यसैले हाम्रो शैली र चिन्तन शान्तिप्रिय छ भनेर कहाँ भन्न सकिन्छ र?
जोसुकैले पनि आफ्नो सरोकारको विषय नै भए पनि कुटपिट गर्नु, हात हाल्नु, लात्ती बजार्नु, झाँगलझुँगल पार्नु गैरकानूनी हो। यस्ता कर्मलाई कानूनले दण्डित गर्नुपर्छ। मनोरञ्जनका नाममा देखाइने श्रव्यदृश्य सामग्रीमा त झन् कुटपिटका ‘कन्टेन्ट’ लाई सहज रूपमा लिएर अट्टहास गर्नु हुँदैन।