टिप्पणी शनिबार, साउन ४, २०७६

वनस्पतिको चिनारी

कमल मादेन

मानिसको जस्तै वनस्पतिका पनि आफ्नै परिवार, प्रजाति, उपप्रजाति हुन्छन्। तर, तिनलाई चिन्न निकै कठिन छ।

कमल मादेन

संसारभर दुई लाख ५० हजार जति फूल फुल्ने वनस्पति पाइन्छन्– यसो भन्न थालेको धेरै भइसक्यो । आश्चर्य त के छ भने आज पनि वैज्ञानिकसामु अर्को आधिकारिक जवाफ छैन । उत्तर पुरानै हुन्छ ।

भनिन्छ– प्रति वर्ष एक हजार जति नयाँ फूल फुल्ने वनस्पतिका प्रजाति पत्ता लाग्छन् । अष्ट्रेलिया, ब्राजिल र चीनबाट नयाँ–नयाँ प्रजाति धेरै पहिचान भइरहेका छन् । तर, अहिलेसम्म यति नै प्रजाति छन् भन्नेबारे आधिकारिक तथ्यांक पाइन्न । 

वनस्पतिको पहिचान वनस्पति वर्गीकरण प्रणालीसँग जोडिन्छ । र; कुन जाति, प्रजाति र परिवारको हो भनी वर्गीकरण गरिन्छ । वनस्पति वर्गीकरणमा पछिल्लो समय ‘एञ्जियोस्पर्म फाइलोजेनी ग्रुप (एपीजी)’ प्रणाली प्रचलनमा छ ।

यो प्रणालीको पहिलो संस्करण सन् १९९८ मा प्रकाशित भएको थियो । पछिल्लो, चौथो संस्करण भने २०१६ मा निस्किएको छ । पहिले फूल फुल्ने वनस्पति अन्तर्गत जिम्नोस्पर्मस् र एन्जिओस्पर्मस् दुई समूह थिए । यो प्रणाली अनुसार दुवैलाई सिड प्लान्टस् भनिन्छ ।

परिवार र प्रजाति

एपीजी प्रणालीको पछिल्लो संस्करण अनुसार, सिड प्लान्टस्का जम्मा ४१६ परिवार सूचीकृत छन् । तीमध्ये सबैभन्दा पहिले उत्पत्ति भएको साइकाडेसी परिवार करीब २५ करोड वर्ष पुरानो मानिन्छ । सबैभन्दा कान्छो भने भाइबुरनेसी परिवार हो । र, यो समूहका वनस्पति ८ करोड ५० लाख वर्ष पहिले उत्पत्ति भएको एपीजी प्रणाली सम्बन्धी लेखहरूमा पढ्न पाइन्छ । नेपालमा साइकाडेसी र भाइबुरनेसी सहित जम्मा १९३ वनस्पतिका परिवार पाइएका छन् ।  

संसारभर सूर्यमुखी परिवार (एस्टेरेसी), सुनाखरी परिवार (अर्किडेसी) र गेडागुडी फल्ने परिवार (फाबासी) सबैभन्दा बढी प्रजाति संख्या भएका परिवार हुन् । सूर्यमुखी परिवार ३३ हजार, सुनाखरी परिवारका २८ हजार र गेडागुडी फल्ने परिवारका १९ हजार प्रजाति पहिचान भइसकेको छ ।

नेपालमा भने धान परिवार (पोएसी), सूर्यमुखी र सुनाखरी परिवारका सबैभन्दा बढी प्रजाति छन् । फ्लावरिङ प्लान्टस् अफ नेपालः एन् इन्ट्रोडक्सन पुस्तकका अनुसार यी परिवारका प्रजाति संख्या क्रमशः ४०६, ३९४ र ३८१ छन् । 

नेपालमा फूल फुल्ने वनस्पति करीब ६ हजार प्रजाति रहेको पढिंदै आएको छ । वनस्पति विभागद्वारा प्रकाशित उक्त पुस्तकका अनुसार भने, अहिलेसम्म जम्मा पाँच हजार ३०९ प्रजाति मात्र पाइएको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या नेपालबाट सन् १८०२ देखि २०१७ सम्म संकलन गरिएका र नेपाल लगायत विश्वका विभिन्न संग्रहालयमा संग्रहित वनस्पतिका नमूनाका आधारमा तयार पारिएको हो ।

नेपालको वनस्पतिको नमूना यहाँभन्दा कैयौं गुणा बढी जापान र बेलायतका संग्रहालयमा छन् । भारतमा पनि उल्लेख्य संख्यामा छन् । ललितपुरको गोदावरीस्थित हर्बोरियममा एक लाख ६५ हजार वनस्पतिका नमूना छन् ।  

सुनाखरी र सिलोजाइन बहस

 नेपालमा सुनाखरीका कति प्रजाति छन् ? यसबारे पनि विभिन्न मत पाइन्छ । केशवराज राजभण्डारी लिखित अ ह्यान्डबूक अफ द अर्किड्स अफ नेपाल (सन् २०१५) का अनुसार, हामीकहाँ सुनाखरीका ४५१ प्रजाति छन्, जसको नाम र आकृति समेत दिइएको छ । तर, उनै मुख्य लेखकको समेत संलग्नता रहेको फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन र ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल–१ मा भने ३८१ प्रजाति मात्र पाइने उल्लेख छ । 

नेपालमा फूल फुल्ने वनस्पति करीब ६ हजार प्रजाति रहेको पढिंदै आएको छ । वनस्पति विभागद्वारा प्रकाशित उक्त पुस्तकका अनुसार भने, अहिलेसम्म जम्मा पाँच हजार ३०९ प्रजाति मात्र पाइएको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या नेपालबाट सन् १८०२ देखि २०१७ सम्म संकलन गरिएका र नेपाल लगायत विश्वका विभिन्न संग्रहालयमा संग्रहित वनस्पतिका नमूनाका आधारमा तयार पारिएको हो ।

सन् २०१९ मा प्रकाशित भक्तबहादुर रास्कोटी र रीता आले लिखित ‘न्यू स्पेसिस अफ अर्किड्स एण्ड नोटस् अन अर्किडेसी अफ नेपाल’ लेखमा नेपालमा सुनाखरी प्रजाति, उप–प्रजाति र भेराइटी सहित जम्मा ५०२ ‘ट्याक्सा’ (प्रजाति उप–प्रजातिको समूह) पाइएको उल्लेख गरिएको छ । लेखमा विश्वका निम्ति दुई प्रजाति र नेपालका निम्ति १६ नयाँ सुनाखरीका प्रजाति फेला परेको पनि बताइएको छ । लेखकद्वयले पत्ता लगाएका दुई रैथाने प्रजाति क्यालान्थी हिमालाईकम र हबेनारिया पाल्पेनिसस् हुन् ।

फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन पुस्तकका अनुसार नेपालमा सुनाखरीका १९ प्रजाति रैथाने रहेको पनि जनाइएको छ ।  

रैथानेको अर्थ नेपाल बाहेक अन्य देशमा नपाइने प्रजाति हुन् । १९ मध्ये चार रैथाने प्रजाति इरिया बनियानी, नियोटिया चन्द्रेयी, बुल्बोफाइलम रास्कोटी र ओडोन्टोचिलस नन्देयी नामकरण गरिएका छन् । यी नाम क्रमशः अमृतमानसिंह बानियाँ, चन्द्रबहादुर गुरुङ, भक्तबहादुर रास्कोटी र नन्दादेवी कुँवरका नाममा राखिएका हुन् ।

सुनाखरीका प्रजाति संख्यामा तल–माथि भए पनि नेपालमा पाइएका भनिएकामध्ये ७० प्रजातिको नमूना भने अहिलेसम्म फेला पार्न सकिएको छैन ।

राजभण्डारीकै अ ह्यान्डबूक अफ द अर्किडस् अफ नेपाल पुस्तकमा सिलोजाइन प्रजातिको सुनाखरीका १४ प्रजाति पाइएको जानकारी छ । तर, अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल, भाग–१ मा भने सिलोजाइनका ११ प्रजातिबारे मात्र उल्लेख छ । तीन वटा प्रजाति पाइएको प्रमाण नभेटिएको बुझ्न सकिन्छ ।

नेपालमा सुनाखरी प्रजाति संख्या किन घट्यो भन्ने चर्चा निकै हुने गरेको छ । एकथरीले तथ्यांकको सूची घटाएको तर्क गर्छन् भने अर्काथरीले प्रमाण दिन नसकिने तथ्यांक हुनु भन्दा नहुनु नै राम्रो हो भन्छन् । 

एपीजी प्रणालीमा पहिले एक परिवारमा भएका कतिपय प्रजातिलाई अर्कैमा स्थानान्तर गरिएका छन् । कतिपय जातिलाई एकै जाति पनि बनाइएको छ । युरोप र अमेरिकामा घरतिर लगाइने गरिएको सुनाखरीकै सिलोजाइन कोरिम्बोसा, सिलोजाइन निटिडा र सिलोजाइन पंचुलाटा हेर्दा उस्तै देखिन्छ । रङ मात्र होइन बोटको संरचना पनि उस्तै हुन्छ ।

यी प्रजातिका देब्रे, एउटा पुष्पपत्र दाहिनेतर्फका भाग, पहेंलो रङका बुट्टा, पात, फूल संख्या आदिमा थोरै फरक पाइन्छ । कुनै चुच्चो त कुनै गोलाकार देखिन्छ । यो प्रजातिको मूलतःमध्यमागमा रहेको एक पुष्प पत्रको आकृति फरक हुन्छ । यसलाई लिप भनिन्छ । लिप कुने चुच्चो त कुनै अर्ध गोलकार हुन्छ । 

यति भिन्नताका आधारमा यी प्रजाति पृथक् नभई एकै प्रजाति हुनुपर्ने तर्क पनि छ । किनभने, सानातिना भिन्नताका आधारमा तिनलाई बेग्लै प्रजाति नभई उप–प्रजाति वा भेराइटी मान्ने चलन पनि छ ।

भविष्यमा तिनीहरू सबै एकै प्रजाति हुन् भन्ने तथ्य पनि पत्ता लाग्न सक्छ । नेपालबाट संकलन भएको भनिएका सबै सुनाखरीका नमूना फेला परे नेपालमा सबैभन्दा बढी प्रजाति हुने परिवार सुनाखरी (अर्किडेसी) नै हुनसक्छ ।

प्रतिकृया दिनुहोस