नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी आठ दलका ५३ सांसदको समर्थनमा लुम्बिनीको चौथो मुख्यमन्त्री बनेका छन्।
वैशाख ११ मा प्रदेश सभामा विश्वासको मत गुमाएपछि नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मिलिजुली सरकार गठनका लागि आह्वान गरेका थिए।
कांग्रेस संसदीय दलका नेता चौधरीले नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ। लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्तिका चार-चार, जनमत, जसपा र लोसपाका तीन-तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक-एक तथा एक जना स्वतन्त्र सांसद छन्।
यसअघि चौधरी लुम्बिनीको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री बनेका थिए। उनी गत मंसीर ४ मा भएको निर्वाचनमा दाङ-३ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।