सम्झिनुपर्ने ‘सुब्बा बाजे’

नेपालमा वनस्पति क्षेत्रको अध्ययन अनुसन्धानलाई अघि बढाउन देशकै पहिलो बोटानिस्ट प्रयागराज पाण्डे अर्थात ‘सुब्बा बाजे’को महत्त्वपूर्ण योगदान छ।
आज वनस्पति दिवसको २४औं संस्करण मनाइँदैछ। नेपालमा चैत २९ गते वनस्पति दिवस मनाइन्छ। वनस्पति विभागले दिवसको अवसरमा वनस्पतिको क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने र राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गर्दै आएको छ।
संयोग कस्तो परेको छ भने वनस्पति दिवसभन्दा तीन दिनअघि अर्थात् चैत २६ गते वनस्पति विभागका संस्थापक महानिर्देशक प्रयागराज पाण्डेको पुण्यतिथि हो। वनस्पति दिवस मनाउने परम्परा उनै पाण्डेको पुण्यतिथि अनुसार तय गरिएको त होइन? २०५६ सालमा पहिलो वनस्पति दिवस मनाउँदा विभागमा महानिर्देशक रहेका मधुसुदन विष्ट भन्छन्, “यो संयोग मात्र हो।”
विभागले २०५६ सालमा आफ्नो ४०औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर वर्षैभरि मनाएको थियो। समापन समारोह चैत २९ गते परेको थियो। सोही दिनलाई नै वनस्पति दिवस मनाउने परम्परा बसेको विभागमा महानिर्देशक रहेका विष्ट बताउँछन्। अग्रजहरूको योगदानको स्मरण र उनीहरूप्रतिको सम्मान गर्ने उद्देश्यका साथ वनस्पति दिवस मनाउन थालिएको हो।
धेरै ठाउँमा हेरेर, धेरै ठाउँमा हारगुहार गरेर पाण्डेले ललितपुरको गोदावरीमा बोटानिकल गार्डेन स्थापना गराउनुभएको हो।
प्रयागराज पाण्डे नेपालका पहिलो बोटानिस्ट र वन मन्त्रालयको पहिलो सचिव पनि हुन्। विभागको विस्तार गर्न र वनस्पति क्षेत्रका अध्ययन अनुसन्धान अघि बढाउन उनको महत्त्वपूर्ण योगदान छ। पाण्डेको जन्म १९७६ असार १८ गते भएको थियो।
भारतको इलाहाबाद विश्वविद्यालयबाट विसं. १९९८ सालमा एमएस्सी गरेका उनले विसं. २००२ सालमा तत्कालीन वन अड्डा अन्तर्गतको वनस्पति गोश्वाराबाट सरकारी सेवा शुरू गरेका थिए। पछि उनको पदोन्नति सिनियर बोटानिस्टमा भयो। उनलाई सबैले ‘सुब्बा बाजे’को नाउँले चिन्दथे र सोही नामबाट सम्बोधन गर्थे।
२०२४ सालमा कृषि तथा वन मन्त्रालय गठन भएको थियो। २०२९ सालमा कृषि अलग भएपछि बनेको वन मन्त्रालयको उनी पहिलो सचिव हुन्।“वनस्पति विभागको पहिलो महानिर्देशक र पहिलो वन सचिव पाण्डे नै हुन्,” वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्।
नेपालमा एमएस्सी अध्ययन अध्यापन शुरू गराउन पनि पाण्डेको योगदान छ। उनले बोटानिकल सोसाइटी अफ नेपालको स्थापनामा पनि अग्रसरता लिएको विष्ट स्मरण गर्छन्।
हेटौंडामा रहेको वृन्दावन वनस्पति उद्यानको नाम प्रयागराज पाण्डेने नै सुझाएको पाण्डेपछि विभागका महानिर्देशिक भएका पुरुषोत्तमनारायण सुवाल बताउँछन्। यस्तै‚ पाण्डेको अगुवाइमा नै ललितपुरको गोदावरीमा बोटानिकल गार्डेन स्थापना भएको सुवालको भनाइ छ। ९४ वर्षीय सुवाल भन्छन्‚ “बोटानिकल गार्डेन बनाउने उनको ठूलो सपना थियो। धेरै ठाउँमा हेरेर, धेरै ठाउँमा हारगुहार गरेर उहाँले गोदावरीमा बोटानिकल गार्डेन स्थापना गराउनुभएको हो। यो पनि उहाँको स्मरणलायक योगदान हो।”
वनस्पति विभाग फस्टाउनुमा पाण्डेको प्रशासकीय र आर्थिक दक्षता रहेको सुवाल स्मरण गर्छन्। उनी भन्छन्‚ “हामी त प्राविधिक मान्छे थियौं। हामी सबैलाई उहाँले नै भरथेग गर्नुभएको थियो।” पाण्डेसँग काम गरेको अनुभवले नै आफूले पनि विभागको महानिर्देशकको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको सुवालको बुझाइ छ।
वनस्पति विभागमा जागीर खान जाँदाको घटना स्मरण गर्दै वनस्पतिविद् श्रेष्ठ भन्छन्, “विसं. २०१७ सालमा त्रिचन्द्र कलेजबाट बायोलजीमा बीएस्सी गरेपछि नेपाल साइन्स क्याम्पसमा पढाइरहेको थिएँ। मलाई पढाउने प्राध्यापक समरबहादुर मल्लले ‘ल जागीर खान आऊ’ भनेर वनस्पति विभाग लानुभयो। त्यहाँ मैले पहिलो पटक प्रयागराज पाण्डेलाई देखेको थिएँ। उहाँ जस्तो ठूलो जीउडालको मान्छे मैले देखेकै थिइनँ । त्यो वेला म चाहिं साह्रै दुब्लो थिएँ।”
अहिले वनस्पति विभाग नाम भए पनि शुरूआती कालमा सो अड्डाको नाम ‘वनस्पति फाँट’ थियो। सोही फाँटमा श्रेष्ठ असिस्टेन्ट फर्मासिस्ट पदमा नियुक्त भएका थिए। “मैले असिस्टेन फर्मासिस्टमा नियुक्ति पाएको थिएँ। तर‚ महीना दिन नबित्दै बोटानीमा एमएस्सी गर्न भारतको अलिगढ विश्वविद्यालय जान छात्रवृत्ति पाएँ,” श्रेष्ठ सुनाउँछन्, “तर‚ तालुकवाला वन मन्त्रालयले ‘जागीर छोडेर जानु’ भन्यो, यता प्रयागराज पाण्डेले बिदा मिलाउँछु भन्नुभयो। बल्लबल्ल उहाँले मलाई अध्ययन बिदा मिलाइदिनुभयो। दुई वर्षपछि विभागमा हाजिर भएँ।”
युवाहरूलाई विभागमा भर्ना गर्ने र उनीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने पाण्डेको विषेशता रहेको श्रेष्ठ बताउँछन्। “वनस्पति विभागमा जागीर खाएपछि दुई वर्षमा बेलायत जान पाइन्छ भन्ने त आम बुझाइ नै बनिसकेको थियो,” उनी भन्छन्, “तर‚ त्यसका लागि नेपालको दुर्गम क्षेत्रमा सर्वेक्षण भ्रमण गर्ने प्रतिबद्धता गर्नुपर्थ्यो।”
श्रेष्ठ पनि एमएस्सी सकेर आएपछि वनस्पति विभागमा वनस्पति सर्वेक्षणमा लागे। प्रत्येक वर्ष जडीबुटी र वनस्पति सर्वेक्षण र वनस्पतिका नमूना संकलन गर्न मेची–महाकाली गए। यही कामले नेपाल चिन्न अवसर दिलाएको र यसको श्रेय प्रयागराज पाण्डेलाई जाने श्रेष्ठ बताउँछन्। पाण्डेको नेतृत्व कुशलताका कारण थुप्रै महिला वैज्ञानिकहरूले पनि विभागमा काम गर्ने र दक्षता हासिल गर्ने अवसर पाएको उनको भनाइ छ।
पाण्डेको कार्यकालमा काठमाडौंको शिवपुरी, मणिचूड; मकवानपुरको दामन, टिस्टुङ, हेटौंडा र सुनसरीको धरानमा वनस्पति फार्म खोलिएका थिए।
पाण्डेको पालामा नै विभागले झ्याँगिने मौका पायो। विसं. २०१७ सालमा काठमाडौंको पकनाजोलको कम्पुकोटस्थित सानो दुई-तीन कोठे अड्डा २०१९ सालमा थापाथलीको करीब १२ रोपनीको परिसरमा फैलिने मौका पाएको वनस्पतिविद् श्रेष्ठ बताउँछन्। सोही परिसरमा शाही औषधि अनुसन्धानशाला, औषधि उत्पादन केन्द्रका काम थालिएका थिए। पाण्डैकै कार्यकालमा ललितपुरको गोदावरीमा शाही वनस्पति उद्यान, राष्ट्रिय हर्बेरियम (वनस्पति संग्रहालय) एवं वनस्पति अनुसन्धान केन्द्रका साथै काठमाडौंको शिवपुरी, मणिचूड; मकवानपुरको दामन, टिस्टुङ, हेटौंडा र सुनसरीको धरानमा वनस्पति फार्म खोलिएका थिए। पछि बाँकेको नेपालगन्ज तथा दाङको कोइलाबासमा वनस्पति व्यापार र प्रशोधन केन्द्र स्थापना भए।
विभागका संस्थापक महानिर्देशक पाण्डेको शतवार्षिकीको अवसरमा नेपालका वनस्पतिविद् लगायत प्रबुद्ध वर्गको अगुवाइमा २०७५ सालमा ‘नेपालका प्रथम बोटानिस्ट प्रयागराज पाण्डे फाउन्डेशन’ पनि स्थापना भएको छ। उक्त फाउन्डेशनले नेपालको वानस्पतिक वैभवको संरक्षण, संवर्द्धन र विकासको कामलाई अघि बढाउन नीतिगत तहमा पहलकदमी लिने उद्देश्य राखेको छ। फाउन्डेशनले हालसम्म नयाँ पुस्ता र पुराना पुस्ताका वैज्ञानिक, प्राविधिक एवं प्रबुद्ध व्यक्तिहरूसँग अन्तरक्रिया र छलफललाई निरन्तरता दिंदै आएको फाउन्डेशनका संस्थापक अध्यक्ष विष्ट बताउँछन्। फाउन्डेशनले हालसम्म दुई वटा जर्नल प्रकाशित गरिसकेको छ। वनस्पति सम्बन्धी अभिमुखीकरण तालीम र अन्तरक्रियाहरू पनि गर्दै आएको छ।
वनस्पतिको क्षेत्रमा महत्त्पूर्ण योगदान दिएका पाण्डेको देहावसान ६६ वर्षका उमेरमा २०४२ चैत २६ मा भएको थियो।