बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिंदै
![बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिंदै](https://www.himalkhabar.com/uploads/posts/800X600/salikram_jamkattel_1672485862.jpg)
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्।
नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जम्कट्टेलले बागमती प्रदेश सभाको बुधबार बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन्। बैठक अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयका सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६८ दिनमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि गत माघ ३ गते विश्वासको मत लिएका थिए। त्यति वेला उनलाई नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदले विश्वासको मत दिएका थिए।
११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७‚ एमालेका २७‚ माओवादी केन्द्रका २१‚ राप्रपाका १३‚ एकीकृत समाजवादीका सात‚ नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।