जसले नेपालमा च्याउ खेती शुरू गरिन्
डाक्टर बन्न चाहन्थिन्, तर कृषि विज्ञानकी विद्यार्थी बनिन्। बुनु पाण्डेसँग मिलेर च्याउ खेतीको अनुसन्धान त गरिन् नै, नेपाली कृषिमा नयाँ सम्भावनाको ढोका पनि खोलिन्।
अचेल कृषि वैज्ञानिक केशरीलक्ष्मी मानन्धरको काम घर कुर्ने जस्तो मात्र भएको छ। आफन्तको निम्तोमा कहिलेकाहीं निस्कनु बाहेक उनी हत्तपत्त घरबाट निस्किन्नन्। वेलावेला स्वास्थ्य जाँच गर्न जाने बाहेक ८४ वर्षीया मानन्धरको दिन घरमै बित्ने गर्छ।
नेपालको कृषि क्षेत्रकी शुरूआतकालीन कृषि वैज्ञानिक मानन्धरको योगदान नेपालमा च्याउ खेती विस्तारमा विशेष छ। जागीरको क्रममा उनको परिचय च्याउसँग जोडिन पुग्यो। नेपालमा विस्तार भएको च्याउ खेतीको पर्दा पछाडिकी नायिका सरह हुन् मानन्धर।
२०१४ सालमा काठमाडौंको न्यौखास्थित कन्या मन्दिरबाट म्याट्रिक परीक्षा (एसईई सरह) सक्दा उनमा चिकित्सक बन्ने चाहना थियो। तर‚ चिकित्सा विज्ञान पढ्न चाहेकी उनी कृषि विज्ञानकी विद्यार्थी भइन्।
उनी जन्मेको नौ महीनामा नै आमाको निधन भएकाले उनको बाल्यकाल मामाघरमा बित्यो। “आमालाई क्षयरोग भएका वेला मेरो जन्म भएछ‚” मानन्धर भन्छिन्‚ “म चार महीनाकी हुँदा मलाई मामाले लगेर पाल्नुभएछ । म नौ महीनाको हुँदा आमा बित्नुभएपछि म मामाघरमै हुर्किएँ ।”
मामाका सन्तान थिएनन्। मामाले आफ्नै सन्तान जसरी उनलाई पाले। काठमाडौं‚ असनको व्यापारिक तुलाधर परिवारकी उनको हुर्काइ नरदेवीको बौद्धिक परिवारमा भयो। “मामा चर्चित कवि। उहाँ नारी शिक्षाको कुरा गर्नुहुन्थ्यो,” उनी भन्छिन्, “त्यही भएर मैले लेखपढको अवसर पाएँ।”
मामा कवि चित्तधर हृदयको अभिभावकत्वमा हुर्किंदै गर्दा मानन्धरलाई मेडिकल पढ्ने रहर जाग्यो। त्रिचन्द्र कलेजमा विज्ञान विषयका गुरुहरू ब्रह्मदेव पाण्डे, शिवशंकरसँग आईएस्सी पढेपछि मेडिकलको छात्रवृत्तिका लागि आवदेन दिइन्। “मेडिकलमा नाम ननिस्केपछि त्रिचन्द्रबाटै बीएस्सी गरें‚” उनी भन्छिन्, “बीएस्सी गरेपछि मलाई के लाग्यो भने अब दुई वर्ष पढ्दा त मास्टर्स नै सकिन्छ। पहिला पढाइ नै सकौं।”
त्यो वेला नेपालमा एमएस्सीको पढाइ हुँदैनथ्यो। भारत वा अन्य मुलुक जानुपर्थ्यो। एउटा आशा कोलम्बो प्लानको थियो। सोही प्लान अन्तर्गत भारतको विशाखापट्नमको आन्ध्रा विश्वविद्यालयमा वनस्पति विज्ञानमा स्नातकोत्तर गर्ने अवसर पाइन्। “त्यो वेला केटीमान्छे एक्लै भारतमा यात्रा गर्न सक्ने कुरा थिएन। अनि मामाले भर्ना गर्न लानुभयो,” मानन्धर भन्छिन्, “भर्ना गर्न जाँदाको प्रसङ्ग पनि स्मरणलायक छ।”
आन्ध्रा विश्वविद्यालयमा उनले पढ्न चाहेको ‘एनालाइटिकल केमेस्ट्री’ थियो। त्यसका लागि स्नातक तहमा गणित पढेको हुनुपर्ने रहेछ। प्रिन्सिपलले उनको डिग्री अनुसार उक्त विषयमा भर्ना गर्न नमिल्ने बताउँदै वनस्पति विज्ञान पढ्ने हो भने सम्भावना रहेको बताए। “मैले बोटनी (वनस्पति विज्ञान) भए पनि पढ्छु भनें। मामाले पनि यहाँसम्म पढ्न भनेर आएपछि जसरी पनि पढ्नुपर्छ भन्नुभयो,” मानन्धर ६ दशकअघिको त्यो दिन स्मरण गर्छिन्।
मामा र प्रिन्सिपलको गफगाफ चल्यो। मामा साहित्यकार‚ प्रिन्सिपल रहेछन् साहित्य र सङ्गीतका अनुरागी। “गफ चल्दै गर्दा उनले आठ-दश दिन मेरो घरमा बस्नू अनि बोटनीमा भर्ना गराइदिउँला भन्दै घरै लगे‚” मानन्धरले ती दिन सम्झिइन्‚ “प्रिन्सिपलकी श्रीमती तानपुरा बजाउने‚ मामा तबला बजाउने‚ प्रिन्सिपल राग गाउने। १० दिन जति त्यहाँ बस्दा साङ्गीतिक माहोल बन्यो।”
सन् १९६३ मा एमएस्सी पूरा गरेर नेपाल आइन्। त्यसपछि काम पाइन्छ कि भनेर वनस्पति विभागमा बुझ्न गइन्। त्यहाँ जागीरको सम्भावना नभएपछि त्रिचन्द्रका वनस्पति विज्ञानका गुरु ब्रह्मदेव पाण्डेसँग पढाउने विकल्पबारे बुझ्न जाँदा ‘यो पालिलाई सकिन्न अर्को वर्षलाई हेरौंला’ भने।
जागीर नमिलेपछि घरमै रहेका वेला एक दिन कृषि विभागमा काम गर्ने साथी जागीरका लागि घरमै लिन आए। “मलाई कृषिमा जान मन थिएन। अनुसन्धानमा लाग्ने सोच थियो,” मानन्धर जागीर जोडिएको दिनको स्मरण गर्छिन्, “आफ्नो विषयको कुनै न कुनै काममा लाग्नु पनि ठीकै हो जस्तो लाग्यो।”
कृषि विभागको बाली रोग विज्ञान शाखाका लागि ‘प्लान्ट प्याथोलोजिस्ट’ चाहिएको रहेछ। साथी आएर उनलाई कृषि मन्त्रालय लिएर गए। त्यहाँको हाकिमसँग चिनापर्ची गरिएपछि श्रीमहलमा रहेको कृषि कार्यालयका बालीरोग विज्ञान शाखा प्रमुख वेदबहादुर खड्कालाई भेट्न जाने कार्यक्रम तय भयो। “खड्का सरले मलाई ल्याबमा लानुभयो। एउटा ठूलो टेबुलमा दुइटा शिशीमा नमूना राखिएका थिए। अरू केही थिएन। एउटा टेबल र इन्कुबेटर मात्र,” कार्यालय जाँदाको पहिलो दिनको सम्झना उनलाई अझै छ, “खड्का सरले त तपाईंको हाजिर आजैदेखि गर्ने भनेर हाजिर पनि गराइदिनुभयो।”
यसरी नेपाल सरकारको कृषि सेवामा लागेकी उनले करीब २७ वर्ष काम गरिन्। २०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएपछि नयाँ सरकारले ल्याएको ३० वर्ष सेवाकाल पूरा भएका कर्मचारीलाई एकमुष्ट अवकाश दिने नीतिभित्र उनी नपरे तापनि उनी पनि अवकाश पाउनेको सूचीमै परिन् । उक्त नीति ल्याउनुको कारण पञ्चायतकालीन कर्मचारीले बहुदलीय नेतृत्वलाई सहयोग गर्दैनन् भन्ने सरकारको भ्रम थियो। देशलाई चाहिने प्राविधिज्ञ विज्ञताको ख्यालै नगरी अन्धाधुन्ध अवकाश दिंदा कृषि क्षेत्र नराम्ररी भासिन पुगेको मानन्धरको बुझाइ छ। “त्यतिखेर हामी कृषिमा एक–एक विषयका एक–एक विज्ञ थियौं। एक्कासि बर्खास्तीमा परिंदा कृषि विज्ञको अभाव देशलाई भयो,” उनी भन्छिन्।
साथीहरूले रिट हाले, पुनर्बहाली पनि भए। तर‚ मानन्धर पुनः जागीरमा गइनन्। उनलाई लाग्यो विज्ञताको फाइदा लिनुपर्ने वेलामा देशले वास्ता नगरेपछि आफ्नै ढङ्गले काम गर्छु। त्यसपछि कृषि प्रविधि तालीम केन्द्र दर्ता गरेर च्याउ खेती प्रवर्द्धन गर्न लागिन्। यस कृषि प्रविधि तालीम केन्दमा काम गर्दै नजाँ जातको च्याउ सिताकेको अनुसन्धान गरी नेपालमा विस्तार गर्न उनको योगदान रह्यो । यो च्याउ संसारकै महंगो च्याउमध्येको एक हो । रूखमा रोपिने यो च्याउको रोप्ने, खेती गर्ने तरिकाबारे उनले किसानको घरघरमा गएर सिकाउने काम गरिन् । यो च्याउ नेपालको निर्यातयोग्य वस्तु हुनसक्ने उनको बुझाइ छ ।
“हामीले सरकारी सेवा शुरू गर्दा कृषिका मान्छेलाई बालीमा लाग्ने रोगबारे थाहा थियो, तर आम जनतालाई केही थाहा थिएन‚” उनी भन्छिन्‚ “काम गर्दै गएँ। धान, मकै, गहुँ तथा तरकारीमा लाग्ने रोगका नमूना पनि सङ्कलन गर्दै गएँ। निराकरणका विधि पनि विकास गर्दै गएँ। आफूले जानेको सिकेको कुरा प्रयोगमा ल्याउँदै गएँ।”
जागीर शुरू गरेको दुई वर्षमा बेलायतको नटिङ्घम विश्वविद्यालय जाने अवसर आयो। बेलायत पुग्दा विश्वविद्यालयका विभागीय प्रमुखले स्नातकोत्तर गरिसकेको मान्छे किन फेरि उही तहमा पढ्न आएको भनी सोधे। उनीसँग उत्तर थिएन। सरकारले पढ्न पठाएकाले पढ्न आएको बताइन्।
त्यो वेला विदेशबाट महिलाहरू उतिसारो पढ्न आउने चलन नभएकाले नेपालबाट गएकी महिलालाई उनीहरूले निराश पार्न चाहेनन्। बरु सोधे- पीएचडी गर्छौ? उनले नाइँ भन्ने कुरै भएन। अनि दुईवर्षे अध्ययन बिदामा गएकी उनी तीन वर्षमा पीएचडी गरेर फर्किइन्।
नेपालबाट एक्लै भारत जान हुँदैन भनेर मामाले भर्ना गर्न लगेको १० वर्षपछि बेलायत पुग्दा उनलाई त्यहाँको वातावरण फराकिलो लाग्यो। महिला र पुरुषबीचको विभेद पनि भोग्नु परेन। काम र विज्ञताको कदर भएको महसूस गरिन्।
आफ्ना कार्यालयमा भने थप एक वर्ष बिदा मिलाउन उनलाई हम्मेहम्मे पर्यो। उनले लेखेको बिदाको पत्र कृषि विभागका महानिर्देशक नेत्रबहादुर बस्नेत मार्फत कृषि सचिव हुँदै मन्त्री कहाँ पुग्यो। ‘हाम्लाई पीएचडी गर्या मान्छे किन चाहियो?’ भन्दै मन्त्रीले बिदा स्वीकृत गरेनन्। बिदा स्वीकृत नभए पनि उनी त विद्यावारिधि सकेर मात्र आउने सोचमा थिइन्। “मेरो जोखिम भनेको जागीरको थियो,” उनी भन्छिन्, “तर पीएचडी गरेर आएँ भने देशलाई केही न केही योगदान त कसो दिन नसकुँली भन्ने लाग्यो।”
अध्ययन सकिंदासम्म बिदा पनि स्वीकृत भयो। मानन्धर सन् १९६९ मा ‘माइकोलोजी’ मा विद्यावारिधि गरेर फर्किइन्। अहिले त ‘माइकोलोजी’ माइक्रोबाइलोजीका पनि विभिन्न हाँगामा विकसित भएको छ। सन् १९६९ मा उनी पिएचडी सक्ने पहिलो नेपाली महिला थिइन् ।
कृषि क्षेत्रमा काम गर्दै जाँदा च्याउ खेती शुरू गर्ने कुरा आयो। मानन्धर र बुनु पाण्डेले नेपालमा च्याउ खेतीको शुरूआत गरे। किसानलाई नसिकाई च्याउ खेती विस्तार हुने कुरा भएन। अनि सरकारी तवरबाट झिकाइएको बीउ उमार्नेदेखि फसल तयार पार्नेसम्म सिकाउन किसानको घरघरमा गइन्। शुरूमा काठमाडौंको बलम्बु क्षेत्रमा च्याउ विस्तार गर्ने योजना बन्यो। उनी भन्छिन्‚ “बलम्बुको प्रत्येक घरको छिंडी मलाई थाहा छ।”
पछि बलम्बु नेपालको च्याउ खेतीको आधार इलाका नै बन्यो जहाँ देशभरिका किसान च्याउ खेतीबारे बुझ्न आउँथे। नेपालमा शुरूमा गोब्रे च्याउको प्रवर्द्धन गरिएको हो। यो च्याउ नेपालका पहाडमा गर्न सकिन्छ। भौगोलिक दृष्टिकोणले मध्यपहाडमा बाह्रै महीना खेती गर्न सकिन्छ। त्यस्तै‚ गोब्रे लगायत जातका च्याउ पनि नेपालमा खेती गर्न सकिन्छ। च्याउ खेतीबाट छोटो समयमै प्रतिफल लिन सकिन्छ।
मानन्धरलाई लाग्छ‚ अहिलेसम्म जेजति गरियो त्यो सब कामप्रतिको लगावले हो। कामप्रतिको लगावकै कारण मकैको रोग पत्ता लगाउन चितवनको रामपुरस्थित कृषि फार्ममा राति दुई बजेसम्म काम गरेको अनुभव उनीसँग छ। निश्चित समयमा मकैको बोटबाट नमूना लिनुपर्ने थियो। नमूना सङ्कलनको समय मिलाउँदै जाँदा रातको दुई बजे नमूना लिनुपर्ने भयो।
“म त राति दुई बजे भए पनि उठ्न सक्थें, तर ट्र्याक्टर चलाउने र अन्य प्राविधिकलाई राति उठ्न गाह्रो हुने। उनीहरू राति उठ्न सकिंदैन भनेर रातभर तास खेलेर बस्थे। दुई बजेपछि कराउँदै फारममा जान्थ्यौं‚” उनी भन्छिन्‚ “एक पटक त म ट्र्याक्टरबाट खेतमा पछारिन पुगें। घाउचोट केही लागेन बरु सहकर्मीमाझ सधैं हँसिमजाक गर्ने किस्सा बन्यो।”
नमूना इनोकुलेसनका लागि उनी काठमाडौं‚ रामपुर र नुवाकोटको ककनी जाउआउ गरिरहन्थिन्। उच्च पहाडी क्षेत्रको ककनीमा एक हप्ता, काठमाडौंमा एक हप्ता र रामपुरमा एक हप्ता गरेर नमूना सङ्कलन गर्नुपर्थ्यो। ककनीमा काम गर्दाको घटना पनि उनको स्मरणमा ताजै छ।
ककनीबाट फर्किंदै गर्दा पहिरोले बाटो थुनिएको रहेछ। पहिरोले गुडाएर ल्याएको ढुङ्गा नपन्छाएसम्म बाटो खुल्ने अवस्था थिएन।ट्रयाक्टर भन्नलाई कार्यालयमा खबर गर्नुपर्यो भनेर फर्किन लाग्दा उनी हिलोमा लडिन्। टाउको बजारियो। आइया, आत्था गर्दै कार्यालय पुगेकी उनलाई देखेर स्टाफहरूले आत्तिँदै ‘लौन म्याम, तपाईंलाई के भयो?’ भन्दै कोकोहोलो गर्न थाले। उनको टाउको फुटेर रगत बगेको रहेछ। उनलाई लागेछ- पानीले टाउको भिजेको होला। “अनि त फर्कने कुरा हरायो। मलमपट्टी गरेर त्यो रात बसें। भोलिपल्ट मात्रै फर्किएँ,” उनी भन्छिन्।
सन् १९७१ मा उनको विवाह वन प्राविधिज्ञ प्रह्लादकृष्ण मानन्धरसँग भयो। “म तुलाधरकी छोरी, मानन्धरसँग जात मिल्दैन भन्थे। तर, मलाई त आफू सरहको केटा चाहिएको थियो जसले मलाई काम गर्ने र अघि बढ्ने अवसर दिन सकोस्,” उनी भन्छिन्, “उहाँ वन प्राविधिक भएकाले कामबारे हाम्रो एक खालको समझ थियो।”
विवाह भए पनि बुबा जसरी पाल्ने मामा चित्तधर हृदयले एक वर्षसम्म स्विकारेनन्। बुबाले त झन् १० वर्षसम्म स्वीकार गरेनन्। समय बित्दै जाँदा सबै कुरा सामान्य बन्दै गयो। अहिले उनको एउटा छोरा कम्प्युटर इन्जिनीयर छन्, छोरी डेन्टिस्ट।
उनलाई लाग्छ, व्यक्तिगत तवरबाट गर्न सक्ने जति गरियो। आफूले गरेको कामले आत्मसन्तोष दिएको छ मानन्धरलाई। उनको बुझाइमा नेपाल च्याउ खेतीका लागि उपयुक्त वातावरण भएको मुलुक हो। च्याउले नेपालमा कमजोर आर्थिक हैसियत भएका किसानलाई आर्थिक उपदान दिन सक्छ। विपन्नलाई सबल बनाउन च्याउ खेती उपयोगी छ।
“एक पटक खुमलटारमा तालीम दिंदा एक जना कृषकले ‘मलाई त बिहान खाए बेलुका के खाने भन्ने चिन्ता थियो, च्याउले आत्मनिर्भर बनायो’ भने। उनले त्यसो भनेको म कहिल्यै पनि बिर्सन सक्दिनँ‚” कृषि वैज्ञानिक मानन्धर भन्छिन्‚ “मैले जे जानेकी थिएँ, त्यही सिकाएँ। आफूले जानेको अरूलाई सिकाउँदा नै उपयोगिता बढ्ने हो नि।” उनी च्याउ खेती सिकाउन ३५ जिल्ला पुगेकी छन्।
“मलाई आज केमा खुशी लाग्छ भने मैले शुरूआती दिनमा आफूले सकेको गरें‚” उनी भन्छिन्‚ “नयाँ पुस्ताले यसलाई अघि बढायो। बजार पनि बन्यो। मेरो विचारमा च्याउ नेपालको राम्रो निर्यातयोग्य वस्तु हुन सक्छ। यसले हामीलाई आर्थिक रूपमा सम्पन्न गराउन सक्छ।”