आँपस्वाराको अङ्कमाल
होमस्टे चलाएर जातीय विभेद विरुद्ध शालीन विद्रोह गरिरहेका आँपस्वाराका दलित समुदाय न्यानो आतिथ्य सहित पाहुनाको पर्खाइमा छन्।
मेरो जीवनको शब्दकोषमा ‘बोल्ड’ अक्षरमा लेखिएको शब्द हो, यात्रा। सम्झन नसक्ने उमेरदेखि नै म घुमन्ते बन्न पुगें। चुनौतीले घेरेपछि नयाँ जीवन शुरू गर्ने क्रममा मेरी आमा जहाँ जहाँ पुगिन्, मलाई साथमै लगिन्। हिमाली जिल्ला मुस्ताङमा जन्मेकी म तराई पुगें, र घामसँगै डढाएँ बालापन। त्यो मेरो जीवनको डढेकै समय थियो, किनकि आमाको चिता त्यहीं जल्यो।
गाउँमा हुँदा घाँसदाउरा काट्न जङ्गल र पहरा, उच्च शिक्षामा उक्लिँदै गर्दा शहर, जागीर खान थालेपछि अनुसन्धान तथा कार्यस्थल भ्रमणका नाममा विभिन्न क्षेत्र र लेखक भएपछि पात्रहरूलाई पछ्याउँदै अनेक ठाउँ चहार्दा थाहै नपाई यात्रा मेरो ऊर्जा र शक्तिको स्रोत बनेछ। यात्रामा रहँदा मलाई गन्तव्य पुग्ने कुनै हतारो हुँदैन। वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई जस्तै मलाई पनि यात्रा मन पर्छ, गन्तव्य होइन। तर, कहिलेकाहीं यात्रा जत्तिकै मन पर्ने भइदिन्छ गन्तव्य पनि।
त्यस्तै गन्तव्य थियो, तनहुँको व्यास नगरपालिका-१३ स्थित आँपस्वारा। यस बस्तीमा सञ्चालित मुलुककै पहिलो दलित सामुदायिक होमस्टेको प्रवर्द्धन गर्न आँपस्वारा काव्ययात्राले त्यहाँ पुर्याएको थियो। गत मध्य असारमा २५ जना लेखक तथा पत्रकार त्यहाँ पुगेका थियौं।
देशका विभिन्न ठाउँमा समुदायले स्थानीय उत्पादन र संस्कृतिलाई प्राथमिकता दिँदै होमस्टे सञ्चालनबाट अर्थोपार्जन गरिरहँदा ग्रामीण अर्थतन्त्र सबल बनिरहेको छ। दलित समुदायले पनि होमस्टेबाट आफ्नो आर्थिक र सामाजिक अवस्थामा सुधार गर्न सक्लान् त भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो। तर, यस्तो चासोभन्दा पनि धेरैले ‘अहो, दलितले पनि होमस्टे चलाएको’ भन्दै आश्चर्य र विस्मात् पोखेको सुनियो। जातीय विभेदको यस्तो सोच दलित समुदायलाई अझै पनि सामाजिक, आर्थिक रूपमा उठ्न नदिने र समानताको बहसलाई लत्याइरहने अभीष्टबाट प्रेरित छ।
मानिसले बनाएको जात-व्यवस्थाकै कारण मानिस विभेदको शिकार भएका हुन्। यसको अनुभूति गर्नेहरूले अमानवीय जातीय भेदभाव विरुद्ध आवाज उठाएका छन्। आँपस्वाराका विश्वकर्माहरूले चलाएको होमस्टे पनि विभेद विरुद्धकै आवाज हो। छुवाछूतले आफूलाई छुट्याएको समाजमा उनीहरूले पर्यटनको ढोका खोलेर आफ्नो अधिकारका निम्ति प्रतीकात्मक विद्रोह गरेका हुन्।
दमौली बजारबाट करीब ६ किलोमिटर दूरीमा छ, आँपस्वारा। विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा रहेछ। हाम्रो टोलीका सदस्यहरू विभिन्न घरमा बाँडिएर बस्नुपर्ने भयो। मलाई डाँडाबाट दृश्यावलोकन गर्न खूब मजा लाग्छ। डाँडाको घरमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरें। मेरो कुरा स्वीकृत भयो। पहिलो पटक भेटिएकी पत्रकार सुजिता कार्कीसँग यात्राको शुरूदेखि नै निकटता झ्याम्मिएको थियो। हामी एउटै घरमा बस्यौं।
होमस्टे सञ्चालन भएपछि स्थानीय बासिन्दाहरूले आफ्नो खेतबारीको उत्पादनलाई जोड दिएका रहेछन्। छानोमा राखिएका लसुनका झुप्पा, बारीभरि मकैका बोट, फूलको बोटलाई अँगालो मारेका तीतेकरेला। फर्केर काठमाडौं आएपछि पनि आँखाको डिलमा बसिरह्यो आँपस्वारा। पानी परेपछि टल्किएको आँगन, छेउमा लेमन ग्रासको बोट, हातमा त्यही लेमन ग्रास हालेको कालो चिया, भुटेको मकैको दृश्य र स्वादले पछ्याइरह्यो।
बस्तीको डाँडामा रहेको थानीमाई मन्दिर विभेद, संघर्ष र परिवर्तनको साक्षी रहेछ। पहिले मन्दिरमा दलित समुदायलाई प्रवेश निषेध थियो। अहिले सबैले पस्न र पूजा गर्न पाउँछन्। यो समानताका लागि धेरै लड्नुपरेको विभेद विरोधी अभियन्ता मधुमाया विक सम्झन्छिन्।
आँपस्वारा दलित सामुदायिक होमस्टेका अध्यक्ष रेशम विक होमस्टेको प्रवर्द्धनबाट बस्तीको आर्थिक, सामाजिक परिवर्तनमा निरन्तर लागिरहेका छन्।
डाँडाको घर छान्ने क्रममा हामी उनकै घरमा परेका थियौं। घर सफा र व्यवस्थित थियो। त्यसको श्रेय हरदम काममा खट्ने उनकी श्रीमती देवी विकलाई जान्थ्यो। बाख्रा र कुखुरा सम्हाल्नेदेखि घरको सरसफाइ गर्ने, सबैलाई खाना पकाउने र छुकछुके नाति सम्हाल्नेसम्मको काम उनी नै गरिरहेकी थिइन्। राति यो परिवारसँग भलाकुसारी भयो।
रेशम, देवी र छोरा बादलको सानो परिवारमा सुमित्रा अधिकारीको आगमन जातीय भेदभावले गाँजेको समाजलाई झट्का थियो। जातीय विभेदको अग्लो पर्खाल नाघेर सुमित्राले बादल विकसँग प्रेमविवाह गरिन्। उनी आउँदा दुई छोरीकी आमा देवीलाई अर्की छोरी थपिए जस्तो भयो रे। सुमित्रालाई पनि आफ्नी आमाको चित्त दुखाएर अन्तरजातीय विवाह गरे पनि यता अर्की आमा भेटिए जस्तो लाग्यो रे।
वेलावेला आमाको याद आउँछ र भेट्न मन लाग्छ, तर उनका निम्ति माइतीको ढोका बन्द छ। बुहारीले माइती जान नपाएपछि देवी पनि आफ्नो माइती जान छोडेकी छिन्। उनी भन्छिन्, “म माइत जाँदा बुहारीलाई पनि आफ्नो माइत जान मन लाग्ला। त्यही भएर जान्नँ।”
न्यानो आतिथ्य पाएर बसियो। बिहान हिंड्ने वेला सुमित्राले होमस्टेका बारेमा केही प्रतिक्रिया लेखिदिनु भनेर बाक्लो नोटबूक थमाइन्। मैले क्रमशः पाना पल्टाएँ। प्रायः सबै प्रतिक्रिया अंग्रेजीमा थिए। अंग्रेजीमा लेखे पनि केही आगन्तुक त नेपाली पनि हुनुपर्ने भनेर नामहरू केलाएँ, तर प्रायः सबै विदेशी पर्यटक थिए। दलित समुदायको होमस्टेमा नेपालीहरूलाई भने जातीय विभेदको तगारोले रोकेको देख्दा मन खिन्न भयो। होइन भने २०७३ सालदेखि सञ्चालनमा रहेको होमस्टेमा आउनेहरूमा विदेशी मात्रै किन?
ग्रामीण पर्यटनको विकासका लागि परम्परागत सीपको संरक्षण गर्नु पनि महत्त्वपूर्ण हुन्छ। आँपस्वारामा विभिन्न सीप र कला भएका शिल्पीहरू भेटिए। आरन चलाउने दिलबहादुर विक, माटोको गहना बनाउने मेनुका विक, वाद्यवादक सुन्दर विक तथा बाँस र निगालोका सामग्री बनाउने तुलसीबहादुर मगरलाई काव्ययात्राको आयोजक, पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले नगद सहित सम्मान गर्यो।
आफ्नो सीपको सम्मान भएकोमा दङ्ग मेनुका परिवारसँग खुशीयाली मनाउने सोचमा थिइन्। आफूले पाएको रकम केमा खर्च गर्ने भन्नेबारे बुहारीसँग सल्लाह गर्ने बताउँदै थिइन्। उनले यसो भनिरहँदा दिउँसो कार्यक्रममा मस्तसँग नाचेकी उनकी बुहारीलाई सम्झें। सासू-बुहारीकै गलामा आफैंले बनाएको माटाका गहना थिए, दुरुस्तै सुनको गहना जस्ता देखिएका थिए। विगतमा मेनुका गहना बेच्न टाढा टाढासम्म जान्थिन्। अचेल चाहिं गहना हेर्न र किन्न घरमै मानिसहरू आउँछन्। यसलाई उनी होमस्टेले दिएको उपहार मान्छिन्।
वास्तवमै होमस्टेले आँपस्वाराका बासिन्दालाई धेरै कुरा दिएको छ। सानै भए पनि आर्थिक-सामाजिक परिवर्तनको तरङ्ग ल्याएको छ। र, आँपस्वाराले देशलाई जातीय विभेद चिरेर समानताको बाटोमा अघि बढ्न हात फैलाएको छ।
(गौचन कवि तथा आख्यानकार हुन्। हिमालको २०७९ फागुन अंकबाट।)