विश्व शान्तिको बौद्ध बुझाइ
गौतम बुद्धको नाम जोडेर ‘शान्तिदूत’, ‘शान्तिनायक’ लगायतका शब्दहरूको प्रयोग गर्नु भनेको सस्तो लोकप्रियताका लागि बुद्धको नाम भजाउनु मात्रै हो।
वसन्त महर्जन
विश्व परिवेशमा ‘शान्ति’ र ‘विश्व शान्ति’ ज्यादै प्रचलित र प्रिय शब्द हुन्। शान्तिका लागि विश्वभर अनेकौं काम भइरहेका पनि छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा नेपाली सेना पनि संलग्न रहँदै आएको छ। सन् १९५८ मा नेपाली सेनाका पाँच जना अधिकारी लेबनानमा सैनिक पर्यवेक्षक भई गएदेखि हालसम्म दर्जनौं मिशनमा करीब डेढ लाख नेपाली सेना शान्ति स्थापनामा सहभागी भइसकेका छन्।
नेपाली सेना संयुक्त राष्ट्रसंघ मार्फत विश्व शान्ति स्थापनार्थ सिरिया, माली, कंगो, लेबनान, इराक, लिबिया, इजरायल, यमन, सुडानका विभिन्न भागमा खटिइसकेका छन्। शान्ति सेनाका रूपमा यसरी खटिनुको छुट्टै अर्थ र महत्त्व छ।
यो लेखको विषयवस्तु शान्ति सेनालाई सोझै गौतम बुद्धको नामसँग जोड्नुको औचित्यमाथि प्रश्न हो। साथै, यसमा शान्तिका सन्दर्भमा बौद्ध बुझाइ के हो भन्ने चर्चा गरौं।
बुद्ध र शान्तिलाई अन्योन्याश्रित जस्तै ठानेर अनेक भाष्य बनाउने गरिएको छ। यस्ता भाष्य बनाउने चलन यसअघि थिएन। यस सन्दर्भमा बुद्ध र शान्ति पर्यायका रूपमा मानेर बनाइने भाष्यले गौतम बुद्ध र बुद्धद्वारा देसित धर्मसँग कतिको सम्बन्ध राख्छ भन्ने महत्त्वपूर्ण हुन्छ। कतिपय कुरालाई सतही रूपमा बुद्धसँग जोड्दा ‘अर्थको अनर्थ त भइरहेको छैन’ भन्ने विचार गर्न जरुरी छ।
मानव सभ्यताको इतिहास भन्नु युद्ध नै युद्ध हो। दोस्रो विश्वयुद्ध (सन् १९३९-४५)कै उदाहरण लिऔं। यसको कारण पहिलो विश्वयुद्ध (सन् १९१४-१८) थियो। पहिलो विश्वयुद्ध जुन पद्धतिबाट साम्य पारिएको थियो, त्यो गैरबौद्ध दृष्टिकोण अनुसार, शान्तिको अर्थमा सही होला, तर बौद्ध भाष्यले त्यसलाई न सही पद्धति मान्छ न त त्यसलाई शान्ति भन्छ। यस्तो खालको शान्तिले पुनः अर्को युद्धको माग गर्छ, जसको उदाहरण पहिलो विश्वयुद्धको दुई दशकपछि भएको दोस्रो विश्वयुद्ध हो।
दुई मुलुक वा समुदायबीच भएको द्वन्द्वलाई थामथुम पार्न बलजफ्ती वा अनेक तरहले चूप लगाउनु तथा सन्नाटा छाउनुलाई नै शान्ति स्थापनाका रूपमा लिने चलन छ। जसलाई ‘मूर्दाशान्ति’ भन्न सकिन्छ। आफ्नो जायज माग राखी आन्दोलन तथा विरोध प्रदर्शन गर्नेहरूलाई बल प्रयोग गरेर वा विभिन्न नियमकानून तेर्स्याउँदै डरत्रास देखाएर दबाउने तथा अधिकार माग्नेहरूको आवाजलाई थुनेर शान्ति स्थापना तथा समाजमा अमनचैन कायम गरिएको छ।
जितेका मान्छेलाई नायक र हारेका मान्छेलाई खलनायक बनाएर प्रस्तुत गर्ने परिपाटी नै छ। तर, स्थिति सधैं उस्तै हुँदैन। र, असन्तुष्टिको पारो चढ्दै गएपछि अन्ततः फेरि विष्फोट हुन्छ। त्यस्तो शान्तिको भाष्यले गौतम बुद्धद्वारा देसित धर्म, दर्शन तथा शान्तिसँग कुनै साइनो राख्दैन। अर्थात्, बौद्ध दृष्टिकोण अनुसार शान्तिको सन्दर्भमा सबै भ्रममा छन्। बौद्ध दृष्टिले शान्तिको यो भाष्यमै गल्ती देख्छ र अविद्याले छोपिएको मान्छ।
नेपाल तथा भारतका कतिपय नेताहरू विश्वमा शान्ति छैन, लडाइँ झगडाले आक्रान्त छ, यस अवस्थामा बुद्धको शिक्षा सान्दर्भिक छ भन्ने गरेका छन्। बुद्ध के हो र के होइन, कसलाई बुद्ध भन्ने र कसलाई नभन्ने तथा बुद्धको मूलभूत दर्शन के हो जस्ता यावत् कुरालाई पटक्कै ध्यान नदिई ‘शान्तिदूत’, ‘शान्तिनायक’ आदि पद गुथाउने गरिएको छ। तर, वास्तविकता त के हो भने, यस्तो व्यवहारले बुद्ध र बौद्ध दर्शनप्रतिको अज्ञानता मात्र दर्शाउँछ।
बौद्ध धर्म-दर्शनलाई एउटै शब्दमा व्यक्त गर्दा बौद्धहरू ‘निर्वाण’ शब्द प्रयोग गर्न रुचाउँछन्। यो बौद्धहरूका लागि अत्यन्तै प्रिय शब्द हो। निर्वाण शब्दलाई दार्शनिक तर सरल भाषामा व्यक्त गर्दा ‘सुख’, ‘विमुक्ति’, ‘शान्ति’ आदि शब्दहरू पनि प्रयोग गर्न सकिन्छ।
बौद्ध धर्म-दर्शनको आधारभूत पक्ष ‘दुःख सत्य’ हो। संसार दुःखमय छ भन्ने मान्यतामा आधारित बौद्ध दर्शनले ‘हामी केही गर्न सक्दैनौं, सबै कुरा पूर्व निर्धारित वा कुनै परमसत्ताको इच्छामा निर्भर हो’ भनेर चूप बस्ने प्रवृत्तिको खण्डन वा विरोध गर्छ। बरु दुःखको कारण रहेको, त्यसको निराकरण गरेर दुःखको अन्त्य गर्न सकिने र आष्टाङ्गिक मार्गले दुःखको अन्त्य हुन्छ भन्ने मान्यता बौद्ध दर्शनले राख्छ। बौद्ध धर्म-दर्शन यही दुःखको अन्त्यसँग सम्बन्धित छ।
बौद्ध दर्शन अनुसार, दुःखको अन्त्य भन्नु सुख हो। सुखमा शान्ति हुन्छ। अर्थात् यही निर्वाण हो। दुःख भनेर बौद्ध दर्शनले विभिन्न सांसारिक चाहना अनुसारका कुराहरू नपाउनुुलाई भनेको छैन। कथंकदाचित् त्यस्तो चाहना पूरा भयो भने पनि त्यसले दुःख नै निम्त्याउने हो।
सबै तृष्णाहरू क्षय गर्दै जाँदा सुुख प्राप्त हुन्छ। मानसिक रूपमा मैत्री, करुणा, मुुदिता र उपेक्षाको भावना विकास गर्न सक्दा पनि सुख प्राप्त हुन्छ। संसार दुःखमय छ भन्ने जानेपछि यसबाट मुक्तिका लागि गरिने साधनाका क्रममा प्राप्त हुने अनुभूति नै सुख हो। यही सुखको अभावमा अशान्ति उत्पन्न हुने बौद्ध दर्शनले बताउँछ।
जति जति क्लेशहरू क्षय गर्दै जान्छौं, उति उति शान्ति बढ्दै जान्छ। यस अर्थमा बौद्ध साधना गर्दै जाँदा अर्थात् निर्वाण मार्गमा लाग्दै गर्दा ‘बाई प्रडक्ट’ का रूपमा शान्ति प्राप्त हुँदै जान्छ। यो नितान्त रूपमा व्यक्तिको आन्तरिक परिवर्तन हो र यसले परिवार, समाज हुँदै विश्वलाई प्रभाव पार्छ। यस अर्थमा विश्व जगत्ले शान्ति भनेर जुन कुरालाई बुझ्छ, बौद्ध धर्म-दर्शनले त्यसलाई शान्ति मान्दैन।
युद्ध नगर्नु भनेर बुद्धले उपदेश दिएको भन्ने सही होइन। कपिलवस्तु राज्यमाथि कोशल देशका राजा विडूडभले आक्रमण गर्न आउँदा तीन पल्टसम्म बाटोमा बसेर युद्ध रोकेको प्रसङ्ग पाइन्छ। तर, युद्ध नगर्नु, युद्धले शान्ति आउँदैन भन्ने उपदेश दिन बुद्ध त्यहाँ पुगेका थिएनन्।
जेजस्तो अवस्थामा पनि गृहनगर कपिलवस्तु र बन्धुबान्धवप्रति विशेष भाव रहने उल्लेख गर्दै बुद्धले युद्ध गर्न आएका राजालाई सम्झाएर फर्काएका थिए। यस प्रकार बुद्धले कपिलवस्तुमाथिको आक्रमणलाई तीन पल्टसम्म टारेका थिए, तर चौथो पल्ट जानाजानी त्यस्तो प्रयास नै गरेनन् र नरसंहार भयो।
बुद्धले शासन व्यवस्थामा खासै हस्तक्षेप गरेको पाइँदैन। त्यति वेला पनि दुई देशबीच तथा समाजमा युद्ध तथा अन्य द्वन्द्व भई नै रहेको देखिन्छ। सिंह नामका एक सेनापति ‘युद्धमा नै समय व्यतीत गर्नुपर्छ, तसर्थ अहिंसाको उपदेश दिने बुद्धको धर्ममा लाग्न सकिन्न’ भन्ने गर्थे। बुद्धले उनलाई ‘युद्ध गर्नु तथा युद्धका लागि सेनाहरूलाई तम्तयारी अवस्थामा राख्नु त तिम्रो पेशा वा कर्तव्य नै हो, यसमा तिम्रो के दोष छ र?’ भन्दै प्रश्न गरेको पाइन्छ।
सुखशान्तिका लागि युद्ध नहुनुपर्ने कुरामा शङ्का छैन, तर यो त्यत्तिकै सजिलै आउने अवस्था होइन। बौद्ध दर्शनको अध्ययन गर्दा युद्ध वा कुनै पनि प्रकारका द्वन्द्व जस्ता नराम्रा कुराको उत्पत्ति नै किन हुन्छ र त्यसको निराकरण कसरी गर्न सकिन्छ भन्नेमा बढी ध्यान दिएको देखिन्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमाथि वा एक पक्षबाट अर्को पक्षमाथि अन्याय, अत्याचार तथा दमन गर्ने मनस्थिति नै किन बन्छ?
यदि यस्ता मनस्थिति उत्पन्न हुने अवस्था नै नल्याइदिने हो भने कुनै पनि प्रकारको मनमुटाव हुँदैन। कुनै पनि व्यक्तिको गहनाका रूपमा रहेको र बौद्ध दर्शनले ‘चतुर्ब्रह्मविहार’ भनिएको मैत्री, करुणा, मुदिता र उपेक्षाको भाव विकास गर्न सकियो भने शायदै मात्र द्वन्द्व हुन्छ।
त्यस्तै, बुद्धद्वारा निर्दिष्ट शीलको पालनाले पनि व्यक्ति र समाजलाई समझदार बनाउँछ। शील लगायतका आदर्श तथा नैतिकताका कुरा नै बौद्ध धर्म-दर्शन होइन, तर यिनै कुराको जगमा बौद्ध धर्मऔदर्शनको अभ्यास गरिन्छ।
बौद्ध स्थलहरूमा शान्तिपूर्ण वातावरण हुन्छ। गौतम बुद्धलाई कोलाहलपूर्ण वातावरण मन नपर्ने मात्रै होइन, विहारमा होहल्ला गर्ने नयाँ भिक्षुहरूलाई ‘माछा बजारमा जस्तो होहल्ला’ गरेको भनेर हप्काएको प्रसङ्ग पनि पाइन्छ। शान्त मनस्थितिमा मन स्थिर हुने र होशपूर्वक जिउँदा जीवन र जगत्लाई बुझ्न सघाउँछ। निश्चित ठाउँमा पलेटी कसेर बस्दा मात्र ध्यान लाग्ने होइन, हिंड्दा, डुल्दा, दैनिक काम गर्दा पनि ध्यानावस्थामा नै हुनुलाई असल मानिन्छ।
बौद्ध स्थलमा शान्त वातावरण हुनु पनि अनिवार्य मानिन्छ। र, स्वभावतः बौद्धहरूमा शान्त वातावरणमा बस्ने संस्कार नै बसिसकेको हुन्छ। यस्तो वातावरण देखेर पनि बुद्धलाई ‘शान्ति’ सँग जोडेर हेरेको हुनुपर्छ।
यससँगै ‘पीस स्टडी’ भनेर विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गराइन्छ। यस्तो अध्ययन लुम्बिनी बौद्ध विश्वविद्यालयमै पनि शुरू भएको छ। तर, यी अध्ययन अध्यापनले बुद्ध र बौद्ध अध्ययनसँग खासै सम्बन्ध राखेको पाइँदैन। दुई देश वा पक्षबीच युद्ध भइरहेको थियो, कुनै उपायले युद्ध स्थगन भई शान्ति कायम हुँदैमा त्यसलाई बुद्ध र बौद्ध धर्मसँग जोड्न जरुरी छैन।
संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा खटिने नेपाली सेना बुद्ध र बौद्ध धर्मदर्शनबाट निर्देशित छैन र यो त्यस्तो खालको मिशन पनि होइन। त्यसैले गौतम बुद्धको जन्मभूमिबाट आएको शान्ति सेना जस्ता शब्दहरूको प्रयोग सस्तो लोकप्रियताका लागि बुद्धको नाम भजाउनु मात्रै हो।