नेताका फोटो खिच्ने नरेश: ‘फोटो प्याकेज’ साढे तीन लाखसम्ममा बिक्री
नेपालको राजनीतिक परिवर्तनको साक्षी मात्र बसेनन् नरेश श्रेष्ठ। चार दशकको फोटो पत्रकारिता करिअरमा उनले ती परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरी संग्रह समेत गरेका छन्।
एसएलसी पास गरेपछि आईए पढ्न २०३८ सालमा पूर्वी नेपालको सुनसरीबाट काठमाडौं आउँदा नरेश श्रेष्ठले फोटो पत्रकार बन्छु भन्ने सोचेका थिएनन्। त्यो वेला क्यामेरा धनीमानीको शोखको सामग्री थियो। किसानका छोरा नरेशका लागि त्यो रहरभन्दा परको विषय थियाे। नागरिकताको प्रमाणपत्र बनाउँदा, परीक्षाको फारम भर्दा र कहिलेकाहीं चाडबाडमा मात्र फोटो खिचाउने समय थियो त्यो।
काठमाडौं आएपछि आम नेपालीको जस्तै संघर्षका दिन शुरू भए। पत्रकार बन्ने सपनाले पत्रकारिताको कक्षासम्म पुर्यायो। तर‚ पढाइमा मात्र केन्द्रित हुने सुविधा उनलाई थिएन। किसान परिवारका उनलाई घरबाट काठमाडौंमा बस्ने‚ पढ्ने खर्च धान्न सक्ने अवस्था थिएन। “घरबाट माग्न पनि गाह्रो हुने, राजधानीको बसाइमा पढ्न‚ लेख्न खर्चको अभाव हुने गर्थ्यो‚” नरेशले काठमाडौंका शुरूआती दिन सम्झिए।
त्यही अप्ठ्यारा दिनले उनलाई फोटोग्राफीसम्म पुर्याए। “कामको खोजीमा थिएँ‚” नरेशले सुनाए, “साथीले फोटो स्टुडियोमा काम गर्छस् भनेर सोध्यो, मैले हुन्छ भनें।” काठमाडौं छिरेको एक वर्षपछि २०३९ सालमा उनले पहिलो पटक क्यामेरा के समाए, त्यसयता उनको क्यामेरासँग साथ छुट्टिएको छैन।
फोटोग्राफीमा दिलचस्पी
राजनीतिमा चासो राख्ने नरेश कलेज पढ्दा विद्यार्थी संगठनसँग नजिकिए। क्याम्पसमा हुने कार्यक्रममा उपस्थिति जनाउन थाले। तर, फोटो स्टुडियोमा काम गर्ने उनी सबै कार्यक्रममा भने जान पाउँदैथे। गएका वेला पनि कहिले कार्यक्रम सकिसकेको हुन्थ्यो त कहिले कार्यक्रम मध्यभाग पुगिसकेको हुन्थ्यो।
क्षेत्रपाटीस्थित फोटो स्टुडियोमा काम गर्दा क्यामेरा चलाउन जानिसकेका थिए। वेलावेला विभिन्न संगठनका कार्यक्रममा फोटो खिच्थे। ती फोटो संग्रह गरेर राख्थे। यी कामले उनमा फोटोग्राफीप्रति दिलचस्पी बढिसकेको थियो।
काठमाडौंमा अडिन स्टुडियो छिरेका नरेशका लागि फोटोग्राफी आकर्षणमा मात्र सीमित रहेन। जिउने आधार नै बनाउनुपर्छ भन्ने लाग्यो। त्यसपछि २०४२ सालमा बागबजारमा एबीसी फोटो स्टुडियो खोले।
स्टुडियोमा फोटो खिच्ने काम त थियो नै, उनलाई विभिन्न कार्यक्रमहरूमा गएर फोटो खिच्ने बानी परिसकेको थियो। यस्तैमा विभिन्न राजनीतिक दलहरूले प्रजातन्त्र पुन:स्थापनाका लागि विभिन्न कार्यक्रम गर्न थाले। उनी त्यहाँ पनि पुग्थे। २०४६ सालमा जनआन्दोलन भयो। नरेशले आन्दोलनका फोटो खिचे।
यसरी सङ्कलन गरेका फोटो उनले एबीसी फोटो स्टुडियो बाहिर प्लाइबोर्डमा टाँसेर राखे। त्यो फोटो हेर्न मान्छेको घुइँचो लाग्यो। स्टुडियोको चर्चा फैलिंदै गयो। एबीसी फोटो स्टुडियो नेताको फोटो पाइने ठाउँ भनेर चिनिंदै गएको नरेश बताउँछन्। त्यति वेला निस्किने साप्ताहिक र मासिक पत्रिकाले उनीसँग फोटो माग्थे। यसले फोटो खिच्नुपर्ने रहेछ भन्ने लागेको उनी बताउँछन्।
आफूले खिचेका फोटो पत्रिकामा छापिन थालेपछि नरेश स्टुडियोमा मात्र अडिरहन सकेनन्। २०५२ सालमा एक दैनिक पत्रिकामा ३५ सय रुपैयाँमा जागीरे भए। केही समय पत्रिकाको जागीर र स्टुडियोलाई सँगसँगै अगाडि बढाए। तर‚ सधैं सम्भव थिएन। फोटो पत्रकारिताको मोहले स्टुडियोलाई राम्ररी समय दिन नसकेपछि उनले स्टुडियो बन्द गरे।
चार दशकको फोटोग्राफी यात्रामा नरेशले नेपालको राजनीतिमा धेरै उथलपुथल देखे। उथलपुथलको साक्षी बनेर त्यसलाई क्यामेरामा कैद गर्न पाउँदा नरेश आफूलाई भाग्यमानी ठान्छन्। “क्षमताले भ्याएसम्म इतिहासको अभिलेखन गर्न पाएँ‚” उनी भन्छन्‚ “पहिलो र दोस्रो जनआन्दोलन‚ राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना‚ संविधानसभाको चुनाव, राष्ट्रपतिको निर्वाचनको साक्षी भई त्यसलाई क्यामेरामा कैद गर्न पाएँ।”
काममा कठिनाइ
“अहिलेको जस्तो फोटो खिच्न सहज थिएन,” नरेश आफ्ना शुरूआती दिन सम्झिन्छन्‚ “प्रहरीदेखि पञ्चायत समर्थकसँग बचेर फोटो खिच्नुपर्थ्यो। कहाँ, कतिखेर कस्ता कार्यक्रम हुँदै छ भन्ने थाहा पाउनै कठिन थियो।”
राजनीतिक दलमाथि प्रतिबन्ध, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितता थिएन। पत्रपत्रिका कम प्रकाशन हुन्थे। फोटो खिच्ने सहज वातावरण त थिएन नै, सीमित सीप, स्रोतसाधन र उपकरणका अभावले पनि त्यो वेला कतिपय महत्त्वपूर्ण घटनाको फोटो खिच्न नपाएको उनी बताउँछन्। नरेश भन्छन्‚ “फोटो खिच्न प्रहरीदेखि डराउनुपर्थ्यो। प्रतिबन्धका कारण खुलेर फोटो खिच्न जोखिम थियो। क्यामेरा खोस्नेदेखि कुटपिटसम्म हुने सक्थ्यो।”
२०४६ सालको जनआन्दोलन सफल भएपछि केही सहज भयो। दोस्रो जनआन्दोलनमा अझै सहज तरीकाले फोटो खिच्न पाएको उनी सम्झिन्छन्। “२०४६ सालको जस्तो सकस नभए पनि आन्दोलनका फोटो खिच्न कहाँ सजिलो हुन्छ!” नरेश भन्छन्‚ “पानीका फोहोरा, अश्रुग्यास, ढुङ्गा, लाठीचार्जबाट बच्दै फोटो खिच्नुपर्थ्यो। खाना खाने ठेगान हुँदैनथ्यो। जति वेला जे पनि भइहाल्ने।”
अहिले संविधानमै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता छ। स्रोतसाधन छ‚ सीप सिक्ने ठाउँ छन्। यद्यपि‚ अहिलेका फोटो पत्रकारले खिचेको फोटोमा उनको चित्त बुझ्दैन। “राम्रो फोटो रातारात प्राप्त हुँदैन। यसका लागि अध्ययन, अनुसन्धान, धैर्य र लगनशीलता आवश्यक हुन्छ‚” नरेश भन्छन्‚ “फोटो पत्रकारिताका लागि ज्ञान‚ सीप पहिलो शर्त हो। अहिलेका फोटो पत्रकारले खिचेका कतिपय फोटोमा मेहनत नपुगेको, फोटो छनोटमा ध्यान नपुगेको देखिन्छ।”
त्यसैले फोटो पत्रकारका सीप विकास‚ हकअधिकार लागि नेपाल फोटो पत्रकार महासंघ स्थापना गरिएको नरेश बताउँछन्। उनी त्यस संगठनका महासचिव हुन्।
स्मरणीय पल
नरेशले राजनीतिक र साहित्यिक व्यक्तित्वहरूलाई आफ्ना क्यामेरामा कैद गरेका छन्। राजनीतिक व्यक्तित्व मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, केपी शर्मा ओली, बाबुराम भट्टराई, पुष्पकमल दाहाल लगायतको फोटो कैद गरेका छन्। यस्तै‚ पारिजात‚ राष्ट्रकवि माधवप्रसाद घिमरे‚ सत्यमोहन जोशी लगायत साहित्यकार तथा लेखकका फोटो उनीसँग छन्।
आफूले गरेका कामको कसैले प्रशंसा गरिदिए जोकोही खुशी हुन्छ। नरेशलाई पनि तिम्रो काम राम्रो भएको र भविष्यमा राम्रो नतीजा दिन्छ भनेर कसैले भनिदिंदा गर्व महसूस नहुने कुरै भएन। त्यसैले राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीले ‘तपाईंले राम्रो काम गर्नुभएको छ‚ बधाई’ भनेको उनी सम्झिन्छन्।
यस्तै‚ पूर्व प्रधानमन्त्री ओली, नेपाल लगायत नेताले ‘ए नरेशजी‚ पुराना फोटो पाऊँ न’ भन्ने गरेको उनले सुनाए। उच्च पदमा पुगिसकेका व्यक्तिहरूले यसरी फोटो माग्दा आफूले राम्रो काम गरेको रहेछु भन्ने लाग्ने नरेश बताउँछन्। उनले खिचेका एमाले नेता जीवराज आश्रितको फोटो हुलाक टिकटमा छापिएको थियो। हुलाकले उक्त फोटो पाँच हजार रुपैयाँमा किनेको उनले बताए।
नरेशलाई पहिले पुराना फोटो भविष्यमा महत्त्वपूर्ण हुन्छन् भन्ने थाहा थिएन। “शुरूआती दिनमा फोटोको महत्त्व बुझ्न सकिनँ‚” उनी भन्छन्‚ “विगतका फोटो खोजिंदो रहेछ।” पुराना फोटोको कपिराइट, रोयल्टी पनि लाग्ने थाहा पाएपछि आफूसँग भएको फोटोको मूल्य थाहा पाएको नरेश बताउँछन्। कतिपय व्यक्ति नरेशसँग भएका पुराना फोटो माग्न आउँछन्। तर‚ फोटोको उचित मूल्याङ्कन नभए उनी दिंदैनन्।
नरेशले १० रुपैयाँदेखि साढे तीन लाख रुपैयाँसम्म फोटो बिक्री गरेका छन्। एक दशक पहिले नै उनले साढे तीन लाख रुपैयाँमा ‘फोटो प्याकेज’ बेचेका थिए। कतिपयले भने पैसा दिन्छु भनी लगेर नदिएको अनुभव पनि उनीसँग छ। “साथीभाइले फोटो मागेर लैजाने तर पैसा नदिने गरेको घटना धेरै छन्‚” उनी भन्छन्‚ “व्यापारमा उधारो जानुलाई स्वाभाविक हो भनेर बसें।”
फोटोमा भइरहेको पाइरेसी र फोटो सित्तैमा पाइन्छ भन्ने मानसिकता चिर्नुपर्नेमा नरेशको जोड छ। पुराना फोटोलाई सुरक्षित राख्न राष्ट्रिय संग्रहालयले ध्यान दिनुपर्ने उनको माग छ। कुनै घटना वा विषयवस्तु चित्रणलाई फोटोले जति यथार्थ र निष्पक्ष अरू कसैले नगर्ने नरेश बताउँछन्। “फोटो भावी पुस्तालाई राखिदिने सहज अमूल्य दस्तावेज हो‚” उनी भन्छन्‚ “तर फोटो सित्तैमा पाइने वस्तु हो भन्ने मानसिकता छ। यसले फोटोको महत्त्वलाई घटाएको छ।”
एनालगबाट डिजिटल
फोटोग्राफीमा चार दशक बिताउँदा नरेशले यस क्षेत्रका धेरै प्रविधिसँग साक्षात्कार गरेका छन्।
“उहिले आर्थिक अवस्था कारण महँगो क्यामेरा पनि लिइनँ, एनालग क्यामेराबाट खिच्ने, महँगो रिल पनि चलाउँदैनथें,” नरेश त्यो समय सम्झिन्छन्‚ “पहिलो रिललाई डार्क रुममा लगरे इन्लार्जर मशिनमा राखेर फोटो प्रिन्ट गर्नुपर्थ्यो, कम्तीमा १५ मिनेटदेखि आधा घण्टासम्म लाग्थ्यो। अहिले त केही मिनेटमै फोटोको नतीजा हेर्न पाइन्छ।”
एनालगबाट डिजिटल युगसम्म पुग्दा पनि नरेशको फोटोग्राफीको यात्रा रोकिएको छैन। उनी अहिले पनि त्यही क्षेत्रमा रमिरहेका छन्। फोटो खिच्नकै लागि उनी करीब ५० जिल्ला पुगिसकेका छन्। उनले राजनीतिक‚ साहित्यिक‚ सांस्कृतिक क्षेत्रका फोटो सँगालेका छन्।
“जिन्दगीमा धनसम्पत्ति थुपार्नेभन्दा पनि फोटो संग्रहमा ध्यान दिएँ,” नरेश आफ्नो कामको समीक्षा गर्दै भन्छन्‚ “फोटो नै मेरो जीवन बनेको छ।”