दिदीबहिनी पुजिने माघे सकराती
![दिदीबहिनी पुजिने माघे सकराती](https://www.himalkhabar.com/uploads/posts/800X600/Maghi_1673786966.jpg)
मगर समुदायले माघे सकराती पर्वमा दिदीबहिनी तथा पितृहरूलाई पुज्ने गर्दछ।
देविका घर्ती मगरमध्यपहाडी क्षेत्रमा बाक्लो बसोबास रहेको मगर समुदाय नेपालका प्रायः क्षेत्रमा छरिएर रहेका छन्। नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगरहरूले माघे संक्रान्तिलाई ‘माघे सकराती’ नाममा परापूर्वकालदेखि धूमधामका साथ मनाउँदै आएका छन्। उनीहरूले यस चाडलाई ‘माहाई सकरात’ पनि भन्दछन्। नेपाल सरकारले २०६५ मा माघे संक्रान्ति मगर समुदायको पनि राष्ट्रिय पर्व हुने भनी निर्णय गरेको छ।
माघे सकराती माघ १ गते मनाइए पनि मगर समुदायमा यसको रौनक एक साताअघिदेखि लाग्दछ। सकरातीका लागि आवश्यक पर्ने पात टिप्ने, तरुल खन्ने, पिंडालुको बन्दोबस्त गर्ने, घर सरसफाइ आदि एक साताअघिदेखि नै गरिन्छ। यो पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व छ।
चेलीबेटीको पूजा
माघे सकरातीको बिहान पुरुषहरू नुहाइधुवाइ गरेर केही नखाई कुल देवता र पितृको पूजा गर्छन्। त्यसपछि चेलीबेटीको पूजा गर्ने चलन छ। पूजा सकिएपछि चेलीबेटीलाई टीका लगाइदिएर गच्छे अनुसारको दक्षिणा तथा उपहारका साथै मीठोमसिनो खानेकुरा दिइन्छ। जसलाई निस्रो/निर्सो/मिस्रा/माना भनिन्छ। निस्रोका रूपमा चामल‚ तरुल, पिंडालु, फलफूल, मिठाई, खानेकुरा र दक्षिणा थालमा राखेर दिने चलन छ।
घरमा उपस्थित दिदीबहिनीहरूको पूजा गरिसकेपछि गाउँका चेलीबेटीलाई पूजा गर्न उनीहरूको घर घरमा जानुपर्दछ। उनीहरूलाई पनि मिस्रा दिइन्छ। विवाहित चेलीको घर घरमा पुगेर मिस्रा बाँड्ने चलन छ। टाढा रहेका चेलीहरूका लागि माघ महीनासम्म मिस्रा बाँडिन्छ।
माघे सकरातीका अवसरमा विवाहित महिलाहरू माइत गएर लामो समय बस्छन्। सकरातीको दिन चेलीलाई कुनै पनि काममा लगाउनु हुँदैन भन्ने मान्यता छ। त्यसैले उक्त दिन चेलीले माइतमा कुनै काम गर्दैनन्। माइतीले चेलीको घरमा केही पनि खानु हुँदैन भन्ने मान्यता पनि छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/maghe%20sakarati/maghe%20sakarati%20magar_1.jpg)
पितृको पूजा
आदिवासी जनजातिहरूमा पितृ पुज्ने चलन छ। कुल, पितृ रिसाएमा परिवारमा अपशकुन हुने तथा अन्नबाली उत्पादन हुँदैन भन्ने मान्यता छ।
मगरहरूले माघे सकरातीमा मृत्यु भएका आफन्तको अस्तु बगाउने, जलाउने र दान गर्ने गर्छन्। मृत्यु भएका व्यक्तिको कुनै सामान वा लत्ताकपडा रिडी नदीमा बगाउने तथा शव गाडिएको ठाउँबाट हड्डी निकालेर त्रिवेणी, दोभान वा नदीनालामा लगी जलाइदिने गर्दछन्। साथै, दिवङ्गत आफन्तको सम्झनामा चेलीबेटीलाई दान दक्षिणा दिने चलन छ। यसो गरे दिवङ्गत व्यक्तिको आत्माले पुण्य प्राप्त गर्दछ भन्ने विश्वास छ।
सकरातीमा रमाइलो
अविवाहित चेलीहरू सकरातीको बिहानै उठेर खोला, नदी वा धारामा नुहाइधुवाइ गर्छन्। उनीहरू घर आएपछि बुबाआमा र दाजुभाइले मिस्रा चढाएर पुज्छन्। त्यसपछि समूह बनाएर घर घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन्। घरबेटीले प्रत्येक समूहलाई सालको पातको टपरीमा एक चामल, गहुँ र फापरको रोटी सहित केही रुपैयाँ दिन्छन्। मस्यान्द्रा माग्दै घर घरमा डुल्ने कामलाई नै ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ।
नुहाएर फर्किंदा बाटोमा पर्ने बारीबाट भर्खरै उम्रिएको जौको बोट उखेलेर ल्याउँछन्। मस्यान्द्रा खेल्ने क्रममा घरबेटीको निधारमा अबीर र कानमा अघि उखेलेर ल्याएको जौ लगाइदिएर पैसा माग्ने चलन छ। डाँठ निस्कनुभन्दा अगाडिको पात मात्र भएको जौको बिरुवालाई झोम्पलेनी भनिन्छ। अबीर र झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो गच्छे अनुसार दान-दक्षिणा दिने गर्दछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/maghe%20sakarati/maghe%20sakarati%20magar_3.jpg)
मस्यान्द्रा खेलेर सङ्कलन गरिएका सामग्री‚ निस्रो बोकेर कुनै दिन ती समूहका युवतीहरू ‘माघ खान’ (वनभोज जस्तै) गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउनुपर्छ भन्ने मान्यता रहेकाले उनीहरूले दिनभरमा ५/६ पटकसम्म विभिन्न परिकार बनाएर खान्छन्। दिन ढल्दै गएपछि गाउँको चौतारामा भेला भएर होम्पई (परम्परागत नृत्य) नाच्छन्।
होम्पई नाच्दा युवती डोकोभित्र पस्छन्। र‚ काठबाट बनाइएका टाउको, हात हल्लाउँदै फनफनी नाच्छन्। डोकोलाई सारी–चोलो‚ पोते‚ तिलहरी र चुरा लगायतका गहनाले सजाइएको हुन्छ। नृत्य र मेला हेर्न गाउँका मान्छे चौतारीमा भेला हुन्छन्। मेलामा कसैले पिङ खेल्छन्, कसैले धनुकाँड खेल्छन्, कसैले नाच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन्।
युवतीहरूको होम्पई नाच सकिएपछि पुरुषहरूले ‘पैस्यारु’ नाच्छन्। झ्याली, मादल, पैजन, छिनछिने लगायत बाजागाजा बजाई गोलो आकार बनाएर पैस्यारु नाचिन्छ। सिकारुहरूले नाइकेलाई पछ्याउँदै नाच्छन्। पैस्यारु २२ प्रकारको हुन्छ।
यस्तै‚ सकरातीको साँझपख बूढापाकाहरू जम्मा भई दुःख-सुखका कुरा गीत मार्फत बताउँछन्। भाका मिलाएर गाउने त्यस गीतलाई श्याम्भो भनिन्छ। श्याम्भो गाउनेहरू घर घर गई खानपिन गर्दै रमाइलो गर्दछन्। श्याम्भो दुई-तीन दिनसम्म गाइन्छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/maghe%20sakarati/maghe%20sakarati%20magar_2.jpg)
सकराती दिन युवाहरू भेला भएर खुला चौर वा बारीमा गएर धनुकाँडले तारो हान्ने खेल खेल्छन्। निशानामा जसले लगाउँछ त्यही व्यक्ति विजयी हुन्छन्। पहिले पहिले बन्दूकले समेत निशाना लगाउने गरिन्थ्यो। अहिले गरिंदैन। निशाना लगाउन सक्ने व्यक्तिलाई तीतेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाउने चलन छ। तारो हान्ने खेललाई मगर समुदायको सैन्य कौशलतासँग समेत जोडेर हेरिन्छ। उहिले तारो हान्ने खेलमा जितेर विवाह गर्ने चलन समेत थियो। त्यति वेला पुरुष मात्र तारो हान्ने खेलमा सहभागी हुन्थे। अहिले महिलाहरू पनि सहभागी हुने गर्दछन्। तारो हानेर विवाह गर्ने चलन भने लगभग हराइसकेको छ।
सकरातीको अवसरमा रैंया फोर्ने, पुतली जलाउने, रङ दलेर रमाइलो गर्ने चलन पनि छ। चाडपर्वमा गरिने कतिपय ससाना गतिविधिहरू अहिले लोप हुने अवस्थामा छन्। ती चलन नयाँ पुस्ताको रोजाइमा नपरेकाले पनि यस्तो भएको हुन सक्छ। त्यसैले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका यस्ता चाडपर्वको महत्त्वबारे नयाँ पुस्तालाई जानकारी गराउँदै संरक्षणमा ध्यान दिनुपर्छ।