‘प्रदेशबाट हामीले हाम्रो काम गर्ने तरीका देखाउने चाहिं हो, तर प्रदेशलाई खारेज गर्ने नै हो। प्रदेश संरचना यही पाँच वर्षभित्रै खारेज गर्छौं।’
प्रदेश सभाको चुनाव सम्पन्न भएसँगै सातै प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू कसरतमा छन्। बागमती प्रदेश सभामा प्रतिनिधित्व गरेका सात दलमध्ये प्रमुख चार दल मुख्यमन्त्रीका दाबेदार मानिएका छन्।
चुनावअघिको गठबन्धन भत्किएसँगै नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक देखिएको छ। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद चाहिन्छन्। प्रदेश सभामा कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदूर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
संघीय सरकारमा रहेका एमाले र माओवादीलाई बागमतीमा सरकार गठन गर्न राप्रपाका आवश्यक पर्छ। त्यस्तै, विपक्षमा रहेका कांग्रेस र एकीकृत समाजवादीलाई पनि राप्रपा विना सरकार गठन गर्न आवश्यक संख्या पुग्दैन।
यस्तो वेलामा राप्रपाले बागमतीमा मुख्यमन्त्रीको दाबी गरेको छ। बागमतीमा राप्रपा संसदीय दलका नेता उद्धव थापा आफ्नो पार्टी निर्णायक भएकाले मुख्यमन्त्रीको दाबी रहेको बताउँछन्। थापा आफू मुख्यमन्त्री बनेर प्रदेश संरचना खारेज गर्नतिर लाग्ने बताउँछन्। राप्रपा संसदीय दलका नेता थापासँग हिमालखबरका लागि सरिता दाहालले गरेको संक्षिप्त संवाद:
बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गर्दै आउनुभएको छ। गठबन्धनबाट मुख्यमन्त्री पाउने सम्भावना कति छ?
प्रदेशमा सरकार गठनमा हामी निर्णायक शक्ति हौं। यसैले पनि सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी छ। हामी जता समर्थन गर्छौं, उतैको सरकार बन्ने अवस्था छ। हाम्रो १३ जना प्रदेश सभा सदस्य रहेको हैसियत देखाउनका लागि पनि सरकारको नेतृत्व गर्न पाउनुपर्छ। परिस्थितिजन्य कुरालाई कसैले रोक्न सक्दो रहेनछ। अहिले केन्द्रदेखि प्रदेशसम्म हेर्दा त्यसै खालको परिस्थिति सिर्जना भएको छ।
हामी पनि सक्षम छौं। देश र जनताको पक्षमा काम गर्ने जिम्मेवारी अब राप्रपाको हो। राप्रपाको अलग पहिचान सहित जनताको सरोकारसँग सम्बन्ध राख्न जनमत प्राप्त भएको छ। राप्रपाले पनि जनताको मर्म बुझ्न सक्छ र सेवा दिन सक्छ भन्ने उदाहरण हामी यो प्रदेशबाट दिन चाहन्छौं। यसका लागि हाम्रो नेतृत्वको सरकार आवश्यक छ, त्यसैले हाम्रो दाबी हो।
राप्रपा नै प्रदेश तहको संरचना आवश्यक छैन, खारेज गर्नुपर्छ भनिरहेको छ। फेरि मुख्यमन्त्रीको दाबी गर्न कसरी सुहाउँछ?
हो, हाम्रो मुख्य अजेन्डा प्रदेश तहको संरचनाको खारेजी हो। आज पनि हाम्रो अजेन्डा हो, प्रदेश खारेज गर्नुपर्छ नै। राप्रपाको अलग दृष्टिकोणबारे अब नेपाली जनतालाई बुझाई राख्न आवश्यक भए जस्तो लाग्दैन। राजसंस्था, हिन्दूराष्ट्र र संघीयता खारेजीका तीन वटा मुद्दाकै कारण हामी अरू पार्टीभन्दा फरक छौं। तर, हामीमाथि जुन कमजोर आकलन छ, त्यो चिर्ने चुनौती बाँकी छ।
राप्रपाले यो कुरा उठाएको मात्रै हो। सरकारमा आउनै सक्दैनन्, राप्रपाको हैसियतै छैन भन्नेहरूलाई हामीले कामै गरेर देखाउनु छ। त्यसैले विरोध मात्रै गरेको हो भन्ने खालका कुराको जवाफ दिन हामीले प्रदेश सरकारमा दाबी गरेका हौं। हामी यस्तो गर्न सक्छौं भनेर आफ्नो हैसियत देखाउन प्रदेश सरकारमा जानैपर्छ र हामी जान्छौं यस पटक।
सरकारमा पुगेपछि प्राथमिकताका अरू अजेन्डा के के छन्?
सुशासन भनेको के हो भन्ने कुरा हामी शासनबाटै देखाउँछौं। भ्रष्टाचारमुक्त बनेर सत्ता सञ्चालन कसरी गर्ने भनेर देखाउने र त्यहीभित्रै बसेर संघीयता खारेज गर्ने काम गर्छौं। यही कुरा उठाउँदै हामी संसद्सम्म आइपुगेका हौं, अब पनि यही हो हाम्रो मुद्दा। प्रदेश सरकारमा रहेर हामी पाँच वर्षभित्र प्रदेश संरचना खारेज गरेर देखाउँछौं। आम नागरिकलाई अनावश्यक ऋणको भारी बोकाउने प्रदेश संरचना कामै छैन। यो बुझाइ पनि हामीले नै सिर्जना गरेका हौं, हामीले नै यसलाई पार लगाउनुपर्छ।
प्रदेश सरकारले पहिलो कार्यकालमा गरेका कामले पनि प्रदेशको महत्त्व देखिएको छ। अब कसरी यसको औचित्य छैन भन्न मिल्छ र?
प्रदेश तहमा पहिलो कार्यकालमा राम्रो काम गर्न सकेन। अहिले पनि यसको महत्त्वको गुणगान गाउने भन्दै औचित्यमाथि प्रश्न उठाउने धेरै छन्। हामी सरकारमा गएरै यसको फोहोर फाल्नेछौं। हामी जतिन्जेल काम गर्छौं, राम्रो गर्छौं। प्रदेश सरकारबाट राप्रपाको उपस्थितिलाई राम्रो देखाउन हामी उत्साही छौं।
हामीले सञ्चालन गरेको सरकार कस्तो हुन्छ भनेर देखाउँछौं। भ्रष्टाचारीलाई कारबाही गर्ने काम पनि गर्छौं। नीति-नियम अनुसार काम गर्दै प्रदेश आवश्यक छैन भनेर खारेजीको मार्गमा पनि जानेछौं। त्यसैले प्रदेश सरकारबाट राप्रपा कस्तो हो भनेर देखाउँदै यसलाई खारेज गर्छौं भनेका हौं। त्यसैले प्रदेश तह खारेजीको मागसँगै सरकारमा जान खोजेका हौं।
भ्रष्टाचारको अन्त्य, सुशासनलाई मुद्दा बनाउनुभएको छ। यति काम गर्नुभयो भने त प्रदेश सरकारको पनि औचित्य देखिएला। अनि खारेजी नै किन नि?
हामीले प्रदेश सरकारमा राम्रो काम गर्यौं भन्दैमा यो तह चाहिन्छ भन्ने हैन। हामीले राप्रापको कामकारबाहीको तौरतरीका पो प्रदेशबाट देखाउने भनेका हौं। हामीले भ्रष्टाचारको अन्त्य हुँदा, सुशासन हुँदा जनतालाई कसरी राहत मिल्छ भन्ने देखाउन पनि प्रदेश सरकार एउटा माध्यम बनाउने भनेका हौं।
हामीले राम्रो गरेर प्रदेश टिकाउने भनेको छैन। प्रदेशमा राम्रो काम गरेर यही सिको अन्यत्र पनि गर्न सकिन्छ। प्रदेशबाट हामीले हाम्रो काम गर्ने तरीका देखाउने चाहिं हो, तर प्रदेशलाई खारेज गर्ने नै हो। प्रदेश संरचना यही पाँच वर्षभित्रै खारेज हुन्छ। राप्रपाले मुलुकमा संघीयता खारेज गरेरै छोड्छ।
त्यही संरचना खारेजीको अजेन्डा लिने अनि त्यही सरकारको नेतृत्व गर्ने, विरोधाभास भएन र?
राजनीति सरल अङ्कगणित जस्तो विषय हैन। सरल अङ्कगणितमा दुई र दुई जोड्दा चार हुन्छ, तर राजनीतिमा कहिलेकाहीं दुई र दुई जोड्दा पाँच पनि हुन्छ, कहिलेकाहीं दुई र दुई जोड्दा तीन पनि हुन्छ। त्यसैले यो राजनीतिक कुरा हो। त्यही अनुसार बुझेर हामीले प्रदेश खारेजीको कुरा गरेका हौं। हामी यहीभित्र बस्छौं र यसको खारेजी गर्छौं।
प्रदेश सरकारमा दाबी गर्ने नै हो भने कि प्रदेश संरचना स्वीकार गर्नु कि त सत्तामाथिको लालच नराख्नु भन्ने कुरा छ। फोहोर सफा गर्न बाहिर बसेर सम्भव छैन, त्यो ठाउँमा पस्नैपर्छ।
अर्को कुरा, हामी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफलमा छौं। हामी पार्टीको निर्देशन मान्छौं। अहिले तपाईंहरू त्यहाँ जाने कुरा छैन, अहिले सरकार बनाउन नसके नबनोस्, बाहिरै बस्नुस् भन्ने आदेश आयो भने हामी सत्ता बाहिर बस्छौं। होइन, त्यहाँको स्रोत र साधन चाहिं अर्कोले चलाउने, त्यसको शक्तिको प्रयोग चाहिं अर्काले गर्ने हामी चाहिं खालि मूकदर्शक बन्ने मात्रै नगरौं।
संसद्मा राम्रो उपस्थिति हुँदा अगाडि बढेर जनतालाई राप्रपाले के गर्न सक्छ भनेर देखाउने अवसरलाई उपयोग गर्दै प्रदेशलाई खारेज गर्नेतर्फ जानु भन्ने खालको कुरा पार्टीमा बनेको छ। अब अरू पार्टीका साथीहरूले हामीलाई त्यही खालको महसूस गर्छन् भने हामी उहाँहरूसँग वार्तामा बस्छौं। उहाँहरू हाम्रो उपस्थितिलाई महसूस गर्नुहुन्न भने हामी सरकारमा जाँदैनौं।
मुख्यमन्त्री नपाए राप्रपा प्रदेशमा सरकारमा सहभागी हुन्छ कि हुँदैन?
हामी सत्तामा नजान पनि सक्छौं। हाम्रो उपस्थिति दलहरूले महसूस गरे भने हाम्रो समर्थन रहन्छ, नत्र हामी बाहिरै बस्छौं। तर, हामी सत्तामा जाँदा र नजाँदा हाम्रा अजेन्डा उही हुनेछन्। हामीले चुनावी तयारीका लागि मैदानमा जाँदा नै भनेका थियौं, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो। अहिले यो मुलुकको सबैभन्दा ठूलो समस्या भनेकै भ्रष्टाचार हो। यसलाई नियन्त्रण गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। हामी बेइमानी गर्दैनौं, भ्रष्टाचार गर्दैनौं। बेथिति र अनियमिततालाई उखेल्ने नै हाम्रो मुख्य गन्तव्य हो।
जनतालाई सबैभन्दा समस्याग्रस्त बनाउने विषय नै भ्रष्टचार हो, बेथिति हो, सुशासनको अभाव हो। राजनीतिक दलभित्र र कर्मचारीतन्त्रभित्रको भ्रष्टचारको जालो नहटेसम्म सुशासन सम्भव छैन। फेरि पनि भन्छु- संघीयता जनतालाई ऋण बोकाउने भार थप्ने अखडा हो। जनता सधैं ऋण बोकेर निमुखा बन्ने, शासकहरू सधैं शोषण गरिरहने, यो राप्रपालाई सह्य छैन।