किन चिन्ने हाम्रा हिमाल?
हिमाल छ र हामी छौं, हाम्रो स्वाभिमान छ। कवि माधवप्रसाद घिमिरेले भने जस्तै- उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे!
विदेशी पर्वतारोहीहरू नेपाल आउँछन्, हाम्रै सेर्पाको काँध चढेर नाउँ कमाउँछन्, जान्छन्। हामी वाल्ल परेर रमिता हेरिरहन्छौं। खुबै गर्यौं भने हामी हिमालको गीत गाउँछौं, कविता लेख्छौं र हिमाली सौन्दर्यको धाक दिन्छौं। हिमालको विशालताको गुण गाएर हामी आफैं मक्ख पर्छौं। वास्तवमा, हामीलाई आफ्नै हिमालको भौगोलिक स्थितिको केही ज्ञान छ?
२०२१ चैतमा प्रकाशित रूपरेखा पत्रिकामा भूगोलविद् हर्क गुरुङले यस्तो लेखेका रहेछन्। बडो खेदका साथ स्विकार्नुपर्छ, आजसम्म पनि अवस्था बदलिएको छैन। युगौंदेखि सभ्यता र समयको साक्षी बनेर उभिरहेका हिमालचुली हाम्रै लागि अपरिचित छन्। हामी नेपाली किन आफ्नै हिमाल चिन्दैनौं?
जवाफ भूगोलसँग जोडिएको हुन सक्छ, जहाँका झण्डै आधा जति नागरिक तराईमा बस्छन्; जसकोे दिनचर्यामा हिमालको सोझो साइनो हुँदैन; आँगनबाट हिमाल पनि देखिन्न। जवाफ भोकसँग पनि जोडिएको हुन सक्छ। करीब १७ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको ‘भोजनभन्दा भोक मीठो’ मान्ने नेपाली समाजमा हिमाल ‘शोखिन’ वस्तु तथा सेवाहरूकै सूचीमा परिरहेको हुन सक्छ।
बाँकी विश्वका लागि हाम्रा हिमचुली साहस, सौन्दर्य, अध्यात्म र रहस्यका विम्ब रहे पनि हाम्रा लागि दैनन्दिन जीवनसँग जोडिएका प्राकृतिक उपहार हुन्, जुन मुलुककै आर्थिक उन्नयनको बलियो आधार बन्न सक्छन्। विज्ञहरू आर्थिक विकासका अन्य क्षेत्रभन्दा पर्यटन र त्यसमा पनि हिमालबाटै देशको कायापलट गर्न सकिने विश्वास गर्छन्। तर, अहिलेसम्म हामीले यसको न्यून लाभ मात्र लिन सकेका छौं। कारण स्पष्ट छ- हामी हिमालसँग झ्याम्मिएनौं।
हिमाल चिन्ने पहिलो शर्त यसको नाम, उचाइ र भौगोलिक अवस्थिति थाहा पाउनु हो। त्यसपछि आउँछ, यसको प्रयोग अर्थात् हिमाल उक्लन सिक्ने अभ्यास। अन्य खेलमा विश्वसँग स्पर्धा गर्ने नेपालीले साहसी खेल पर्वतारोहण चाहिं किन नसिक्ने? पर्वतारोहण र पदयात्रा पथप्रदर्शन हाम्रा हकमा रोजगारीका विशाल स्रोत समेत बन्न सक्छन्। यसका लागि विद्यालयले पाठ्यक्रममै व्यवस्था गरेर अनि संघीयसँगै स्थानीय सरकारहरूले पनि बढीभन्दा बढी युवालाई तालीमको अवसर दिएर जनशक्ति तयार पार्न सक्छन्।
यस विषयमा पनि हर्क गुरुङले प्रष्टसँग लेखेका छन्, ‘पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक स्वरूप हो। ...आफ्नो देशलाई राम्ररी चिन्ने हो भने नेपालीले पनि पर्वतारोहण अपनाउनुपरेको छ।’ त्यसो हो भने पर्वतीय पर्यटन मार्फत ‘रोयल्टी’ असुल्ने ध्याउन्नमा मात्र लागेको सरकारले नेपालीलाई ‘आफ्नै देश चिनाउने’ यो अभियानमा गम्भीरतासाथ लाग्नैपर्छ।
सात करोड वर्ष पुरानो यो हिमालय शृङ्खला तुलनात्मक रूपमा सबैभन्दा युवा भूसंरचना हो। एशियाकै ‘वाटर टावर’ मानिएको हिमालय क्षेत्र नेपाल र दक्षिणएशियाले प्रयोग गरिरहेको पानीको मुख्य स्रोत हो। मौसम र मनसुन हिमालका दुई पक्ष हुन्। हामीले बुझ्नुपर्छ, बंगालको खाडीबाट आउने मनसुनी वायुलाई यहाँका हिमालले रोकिदिएकै कारण हाम्रो मनसुनमा थप अप्रत्याशित बदलाव आइरहेका छैनन्। यहाँको जैविक विविधताले नेपाललाई हिमाली क्षेत्रकै महत्त्वपूर्ण अध्ययन केन्द्र बनाइरहेको छ। तराईलाई खाद्य भण्डार बनाउने मात्र नभई देशलाई उज्यालो युगमा फर्काउने पनि हाम्रै हिमाली जलस्रोत हुन्।
हिमाल बुझ्नु भनेको हिमाली क्षेत्रमा आइरहेका सङ्कट पनि चिन्नु हो, हिमाली नागरिकका मर्मसँग तादात्म्य राख्नु हो। साहित्यकार रुडयार्ड किप्लिङले भनेका छन्, ‘पर्वत जानु भनेको आमा भेट्न जानु हो।’ तर, अहिले आमा सन्चो देखिन्नन्। यसै पनि बढ्दो विश्वव्यापी तापक्रमले हाम्रा हिमाल र हिमाली समुदायले कहिल्यै नदेखेको, नभोगेको नियति सामना गरिरहेछन्। त्यसमाथि यो यस्तो भूगोल हो, जहाँ वेलाबखत भूगर्भीय हलचल भइरहन्छ, भूकम्प आइरहन्छ। आधुनिक विकासका नाममा अहिले जसरी जथाभावी दोहनतन्त्र चलाइँदै छ, त्यसले हामीलाई झनै भयानक विपत्तर्फ डोर्याइरहेको छ।
पछिल्ला दशकमा बेहोर्नुपरेको सिन्धुपाल्चोकको जुरे पहिरो, मनाङ र मेलम्चीका जस्ता विकराल बाढी र भूकम्पीय क्षतिको प्रमुख कारण हामी नै हौं। न हामीले हिमाली बस्तीको भौगर्भिक संवेदनशीलता बुझेर त्यसै अनुसार विपत्को नियन्त्रणको तयारी गरेका छौं न आफ्ना अतिक्रामक गतिविधिमा रोक लगाएका छौं। हिमाली क्षेत्रको पर्यावरणबारे जानकार जयन्त बन्दोपाध्याय त यति वेला हिन्दूकुश हिमालय क्षेत्र खास गरी दक्षिणएशियाली देशहरूबीचको भूराजनीतिसँगै भूकम्पको पनि ‘हटस्पट’ बनेको तर्क गर्छन्।
सरकारले हिमाली क्षेत्रमा भइरहेको वातावरण विनाशका काम तत्काल रोक्नुपर्छ, चाहे त्यो सरकारकै तर्फबाट भएको होस् वा निजी क्षेत्रबाट। पानी र पर्यटन नेपालको आर्थिक विकासका आधारशिला हुन्, तर पर्वत भन्ने बित्तिकै जहाँबाट जसरी भए पनि पर्यटक बटुल्ने र पानी भन्ने बित्तिकै जथाभावी विद्युत् निकाल्ने सोच बदल्नुपर्छ।
यसका लागि सरकारले हिमाली क्षेत्रको सन्तुलित उपयोगका लागि पर्यावरणवाद निर्देशित स्पष्ट नीति बनाउनुपर्छ। जसले बाँकी विश्वलाई पनि हाम्रा चासो र चिन्ताप्रति एकाकार गराउन सकोस्। यसमा नेपाललाई विश्वकै नेतृत्व गर्ने अवसर पनि छ। कोभिड-१९ महामारीका कारण हुन नसकेको ‘सगरमाथा संवाद शिखर सम्मेलन’ ब्युँताउनु खास गरी हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर विश्वमञ्चलाई बुझाउने महत्त्वपूर्ण पहल हुन सक्छ।
हिमालसँगको साक्षात्कार सन्निकट सङ्कटबीचको यस्तो साध्य हो, जसबाट मानव र प्रकृतिको अटुट सम्बन्धलाई पुनःपरिभाषित गर्न सकियोस्। प्रकृतिसँगको प्रेम र सहअस्तित्व जारी राख्न सकियोस्। अन्यथा प्रकृतिको प्रतिशोधको प्रतीक्षा बाहेक हामी केही गर्न सक्तैनौं। हिमाल छ र हामी छौं, हाम्रो स्वाभिमान छ। कवि माधवप्रसाद घिमिरेले भने जस्तै- उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे!
(हिमालको २०७९ पुस अङ्कबाट।)